काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो। सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहिबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ। मन्त्रालयका खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् भने विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्य-सचिवको जिम्मेवारी दिइएको छ। अनौपचारिक अध्ययनअनुसार इ-एमआईएस प्रणालीमा २ लाखभन्दा बढी विद्यार्थीका विवरणहरू दोहोरिएका छन्। यसरी प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्य कोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोषाक, पाठ्यापुस्तक तथा अन्य सेवा-सुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको शिक्षा तथा खेलकुद मन्त्रीले बताए । “हामीले यस विषयलाई गम्भीरताका साथ हेरेका छौँ। यसरी दोहोरो विवरण भरेर रकम दुरुपयोग भइरहेको देखिन्छ। अब यसबारे थप छानबिन गरेर दोषीलाई कारबाही हुन्छ,” मन्त्री पोखरेलले भने । गठित समितिले इ-एमआईएस प्रणालीमा यति ठूलो संख्यामा विवरण दोहोरिनुको प्राविधिक कमजोरी वा नियतवश गरिएको बद्मासीबारे विस्तृत अध्ययन गर्नेछ। गलत तथ्याङ्क पेश गरेर राज्य कोषको दुरुपयोग गर्ने विद्यालय, व्यवस्थापक वा जिम्मेवार व्यक्तिलाई हदैसम्मको कारबाहीका लागि मन्त्रालय समक्ष सिफारिस गर्ने स्पष्ट कार्यादेश समितिलाई दिइएको छ। प्रणालीमा रहेका दोहोरो र फर्जी विवरणहरू हटाएर इ-एमआईएसलाई पूर्ण रूपमा पारदर्शी, सुरक्षित र वास्तविक तथ्याङ्कमा आधारित बनाउन मन्त्रालयले यो कदम चालेको बताएको छ। The post करिब दुई लाख विद्यार्थीको विवरण फर्जी, भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
करिब दुई लाख विद्यार्थीको विवरण फर्जी, भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन

Read Complete Original Article
Published originally on कर्पोरट खबर






