काठमाडौं । पाकिस्तानमा क्रिकेट खेलका क्रममा मोटरसाइकलमा सवार एक व्यक्तिले स्टेडियमबाहिरै एक हातले बल समातेपछि सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ। ब्याटरले प्रहार गरेको बल बाउन्ड्री पार गर्दै सडकमा पुगेपछि मोटरसाइकलको पछाडि बसेका ती व्यक्तिले अविश्वसनीय तरिकाले बल समातेका हुन्। यो घटना पाकिस्तानको मिंगोरास्थित स्वात प्रिमियर लिगअन्तर्गत जीकेआर डिआर र स्वात स्ट्राइकर्सबीचको खेलमा भएको हो। प्रतियोगितामा टेप लगाइएको बल प्रयोग गरी १० ओभरका खेल सञ्चालन गरिन्छ। जीकेआर डिआरको ब्याटिङका क्रममा छैटौँ ओभरमा ब्याटरले शक्तिशाली प्रहार गरेपछि बल मैदानको सीमा पार गर्दै बाहिर सडकतर्फ पुगेको थियो। त्यही बेला सडकमा गुडिरहेको मोटरसाइकलको पछाडि बसेका व्यक्तिले बल समात्ने मौका पाए। उनले बायाँ हातले चालकको काँध समातेर सन्तुलन मिलाउँदै दायाँ हात फैलाएर एकैपटक बल नियन्त्रणमा लिए। उनको यो असाधारण क्याच देखेर मैदानमा उपस्थित दर्शकसमेत अचम्मित भएका थिए। केही दर्शक अविश्वासमा हेरिरहेका थिए भने एक समर्थक खुसीले उफ्रिँदै दुवै हात माथि उठाएर उत्सव मनाइरहेका देखिन्छन्। घटनाको भिडियो सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। क्रिकेट समर्थकले यसलाई क्रिकेट इतिहासकै उत्कृष्ट क्याचमध्ये एक भन्दै प्रतिक्रिया दिएका छन्। एक दर्शकले यसलाई ‘क्रिकेट इतिहासकै महान् क्याच’ भनेका छन् भने अर्काले ‘एक अर्बमा एकपटक हुने घटना’ भन्दै टिप्पणी गरेका छन्। अस्ट्रेलियाली खेल पत्रकार तथा क्रिकेट समर्थक एन्ड्र्यु म्याककोर्म्याकले पनि यस घटनालाई खेलकुदमा देखिएका सबैभन्दा असाधारण घटनामध्येको एक बताएका छन्। उनले बल प्रहार हुने समय, मोटरसाइकलको उपस्थिति र यात्रुले एक हातले बल समात्न सफल भएको संयोगलाई अविश्वसनीय भनेका छन्। स्वात प्रिमियर लिगका आयोजकले पछि ती व्यक्तिको पहिचान पत्ता लगाएका थिए। तर उनले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन्। आयोजकले उनको साहस र उत्कृष्ट प्रतिक्रियाको सम्मान गर्दै नगद पुरस्कारसमेत दिएका छन्। क्याचबारे ती व्यक्तिले आफू क्रिकेटमा रुचि राख्ने र बल आउँदै गरेको देखेपछि मोटरसाइकल चालकलाई टाउको झुकाउन भन्दै आफूले बल समात्ने बताएको जानकारी दिएका छन्। उनले यो सबै भगवान्को कृपाले सम्भव भएको प्रतिक्रिया दिएका छन्।
स्टेडियमबाट बाहिरिएको बल मोटरसाइकलमा गइरहेका यात्रुले समातेपछि सबै चकित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






