सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी स्टार्टअप ह्याकाथन कार्यक्रम सञ्चालनका लागि इच्छुक संस्था तथा आयोजकसँग आवेदन माग गरेको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले मंगलबार एक सूचना पुन: प्रकाशन गर्दै कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग प्राप्त गर्न प्रतिस्पर्धामा सहभागी हुन चाहने संस्था तथा आयोजकलाई आवेदन दिन आग्रह गरेको हो। मन्त्रालयको चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालन गर्न लागिएको सूचनामा उल्लेख छ। यसका लागि मन्त्रालयले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी सम्मेलन, प्रदर्शनी तथा स्टार्टअप ह्याकाथन अनुदान कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ (संशोधनसहित)’ अनुसार आवेदन माग गरेको हो। इच्छुक संस्था तथा आयोजकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन मन्त्रालयको इमेल ठेगाना info@mosti.gov.np मार्फत वा मन्त्रालयमा प्रत्यक्ष उपस्थित भएर पेस गर्न सकिनेछ। आवेदनसँगै कार्यविधिको दफा ७ मा उल्लेख गरिएका आवश्यक विवरण तथा प्रमाणित कागजात संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ। कार्यक्रमसम्बन्धी विस्तृत कार्यविधि मन्त्रालयको वेबसाइट www.mosti.gov.np बाट प्राप्त गर्न सकिनेछ। मन्त्रालयले यसअघि प्राप्त भएका निवेदन र नयाँ सूचनाअनुसार प्राप्त हुने निवेदनलाई एकैसाथ छनोट प्रक्रियामा समावेश गरी छनोटसम्बन्धी काम अघि बढाइने पनि स्पष्ट पारेको छ। कार्यक्रम प्रदेशस्तर वा राष्ट्रियस्तरमध्ये कुन स्तरमा सञ्चालन गर्ने हो, आवेदनमा खुलाउनुपर्ने सूचनामा उल्लेख छ। The post स्टार्टअप ह्याकाथन कार्यक्रमका लागि आवेदन माग, मंसिर ८ गतेसम्म म्याद appeared first on Technology Khabar.
स्टार्टअप ह्याकाथन कार्यक्रमका लागि आवेदन माग, मंसिर ८ गतेसम्म म्याद

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






