नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई प्रत्येक महिनाको आम्दानी र दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण १० कार्यदिनभित्र पेस गर्न निर्देशन दिएको छ। प्राधिकरणले आर्थिक ऐन, २०८३ को दफा ५ को उपदफा ५ अनुसार यस्तो विवरण माग गरेको हो। यससम्बन्धी सूचना जारी गर्दै प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को सम्पूर्ण विवरण तथा चालु आर्थिक वर्षको असोज मसान्तसम्म नियमअनुसार नेपाल सरकारको राजस्व खातामा दाखिला गरेको दूरसञ्चार सेवा दस्तुरसँग सम्बन्धित आवश्यक कागजातसहितको विवरण पेस गर्न भनेको छ। यो विवरण प्राधिकरणमा पेस गर्नुपर्नेछ। सूचनामार्फत सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) लाई समेत जानकारी गराइएको छ। प्राधिकरणले माग गरेको विवरणमा प्रत्येक महिनाको छुट्टाछुट्टै आम्दानी र दस्तुरको हिसाब समावेश गर्नुपर्नेछ। यसअन्तर्गत इन्टरनेट बिक्रीबापतको आय, मर्मतसम्भारबापतको आय, उपकरण बिक्रीबापतको आय, अन्य आय र कुल आम्दानी खुलाउनुपर्नेछ। यस्तो छ विवरण बुझाउनुपर्ने फारामको ढाँचा त्यस्तै, दाखिला गरिएको टीएससी रकम, दाखिला मिति, तोकिएको समयभन्दा ढिलो बुझाइएको भए लागेको ब्याज र जम्मा दाखिला रकमसमेत उल्लेख गर्नुपर्ने सूचनामा जनाइएको छ। प्राधिकरणले प्रत्येक महिनाको विवरण छुट्टाछुट्टै तयार गरी पेस गर्न भनेको छ। सूचनाअनुसार विवरण पेस गर्ने सम्बन्धमा पहिलो पटक २०८३ मंसिर २ गते सूचना प्रकाशित गरिएको हो। सूचना नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जारी गरेको हो। The post सेवा प्रदायकलाई १० दिनभित्र विवरण बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन appeared first on Technology Khabar.
सेवा प्रदायकलाई १० दिनभित्र विवरण बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






