काठमाडौं । सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ। नेपाली सेनाले २०३२ सालदेखि सैनिक कल्याणकारी कोषमार्फत उनीहरूका लागि शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार कोषको योगदान सैनिक परिवारको कल्याणमा मात्र सीमित नभई सरकारका शिक्षा, स्वास्थ्य, सीप विकास र सामाजिक सुरक्षासम्बन्धी प्रयासमा समेत सहयोगी बनेको छ। हाल १० लाख हिताधिकारीले ती सुविधा तथा सुहलियत लिएका छन्। त्यस्तै करिब ४० हजार विद्यार्थी सैनिक विद्यालयमा छात्रवृत्तिमा अध्ययनरत छन् भने करिब एक लाख १० हजारभन्दा बढी सकलदर्जा सहुलियतपूर्ण ऋणबाट लाभान्वित भइसकेका छन्। सैनिक कल्याणकारी कोष सैनिक परिवारलाई सुविधा उपलब्ध गराउने संयन्त्रमात्र नभई शिक्षा, स्वास्थ्य, सीप, रोजगारी र उद्यमशीलतामार्फत राष्ट्रका लागि दक्ष तथा आत्मनिर्भर नागरिक उत्पादन गर्ने संस्थागत माध्यमका रूपमा स्थापित भएको छ। सैनिक परिवारका सन्ततिलगायत सर्वसाधारणलाई गुणस्तरीय, सहुलियतपूर्ण तथा समान शैक्षिक अवसर उपलब्ध गराउँदै चिकित्सा, प्राविधिक र कृषिलगायतका क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्रिय जनशक्ति विकासमा कोषले योगदान पुर्याउँदै आएको उल्लेख छ। सेनाले सुलभ, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै विशिष्टीकृत उपचार, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा परिचालनमार्फत राष्ट्रिय स्वास्थ्य प्रणालीलाई समेत सघाएको छ। हिताधिकारीको सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य तथा दुर्घटना बीमा, विपद् राहत, सहुलियतपूर्ण आवास, घडेरी तथा सवारीसाधन कर्जामार्फत सैनिक र तिनका परिवारको जीवनस्तर सुधारमा सैनिक कल्याणकारी कोषले निरन्तर योगदान दिँदै आएको छ। कुनै पनि राष्ट्रको सुरक्षा व्यवस्था सुदृढ बनाउन सैन्य सङ्गठनको व्यावसायिक क्षमता, दक्षता र मनोबल जति महत्त्वपूर्ण हुन्छ, सैनिक तथा तिनका परिवारको सामाजिक सुरक्षा र कल्याण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। राष्ट्र र नागरिकको सुरक्षामा आफ्नो जीवनको महत्त्वपूर्ण समय समर्पण गर्ने सैनिक तथा सेवाबाट अवकाशप्राप्त गरेपछि पनि सम्मानजनक, सुरक्षित र आत्मनिर्भर जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो। यही दायित्वलाई संस्थागत रूपमा सम्बोधन गर्दै नेपाली सेनाले २०३२ सालदेखि सैनिक कल्याणकारी कोषमार्फत बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। सामाजिक सुरक्षा र आर्थिक सहुलियत शिक्षा, स्वास्थ्य र रोजगारीका अतिरिक्त हिताधिकारीको सामाजिक तथा आर्थिक सुरक्षालाई पनि कोषले प्राथमिकता दिएको छ। गम्भीर रोगका बिरामीका लागि स्वास्थ्य बीमा, कर्तव्यपालनका क्रममा मृत्यु भएका सैनिकका परिवारका लागि दुर्घटना बीमा तथा दैवी र प्राकृतिक प्रकोपबाट प्रभावित हिताधिकारीलाई आर्थिक राहत उपलब्ध गराइँदै आएको छ। सहुलियतपूर्ण आवास तथा घडेरी कर्जा, सवारीसाधन खरिदका लागि सहुलियत ऋण र अन्य आर्थिक सहायता कार्यक्रमले सैनिक परिवारको आर्थिक सुरक्षा र जीवनस्तर सुधारमा सहयोग पुर्याएका छन्। हालसम्म करिब एक लाख १० हजारभन्दा बढी सकलदर्जा सहुलियतपूर्ण ऋणबाट लाभान्वित भइसकेका छन्। सैनिकको सेवाअवधि समाप्त भए पनि उनीहरू र परिवारप्रतिको संस्थागत जिम्मेवारी निरन्तर रहन्छ भन्ने मान्यतालाई यी कार्यक्रमले व्यवहारमा उतारेका छन्।
सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्ति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






