काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला नयाँ चलचित्र ‘पच्चीस पच्चीस’मा अनुबन्धित हुनुभएको छ । सुव्रत आचार्यको निर्देशनमा निर्माण हुनलागेको यस चलचित्रमा निरौला अभिनेत्रीका रूपमा जोडिनुभएको हो । चलचित्र निर्माण पक्षले दीपाश्रीलाई स्वागत गर्दै उहाँको तस्वीरसहितको पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा ‘वेलकम अन बोर्ड’ उल्लेख गर्दै उहाँलाई चलचित्रको टिममा स्वागत गरिएको छ । चलचित्रमा जोडिन पाउँदा उत्साहित देखिएकी दीपाश्रीले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्नुभएको छ । उहाँले ‘नयाँ काम, नयाँ उमंग’ भन्दै निर्देशक सुव्रत आचार्य, निर्माता कर्ण कार्की तथा चलचित्र परिवारप्रति आभार व्यक्त गर्नुभएको छ । ‘नयाँ काम, नयाँ उमंग । धन्यवाद निर्देशक सुव्रत जी, निर्माता कर्ण जी अनि सबै ‘पच्चीस पच्चीस’ चलचित्र परिवारलाई । जय होस्,’ उहाँले लेख्नुभएको छ । कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुनलागेको चलचित्रका निर्माता कर्ण कार्की हुनुहुन्छ । यसअघि चलचित्रमा अभिनेता प्रमोद अग्रहरि र अभिनेत्री खुशी कार्की अनुबन्धित भइसक्नुभएको छ । दीपाश्रीको प्रवेशसँगै चलचित्रको कलाकार टोली थप विस्तार भएको छ । अभिनयसँगै निर्देशनमा समेत आफ्नो पहिचान बनाउनुभएकी दीपाश्रीको सहभागिताले ‘पच्चीस पच्चीस’प्रति दर्शकको चासो बढ्ने निर्माण पक्षको अपेक्षा छ । नेपाली कलाक्षेत्रमा दशकौंदेखि सक्रिय दीपाश्री निरौला कुशल अभिनयसँगै सुपरहिट चलचित्रहरूको सफल निर्देशनका लागि चिनिनुहुन्छ ।
सुव्रतको ‘पच्चीस पच्चीस’ मा दीपाश्री

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






