पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत निरीक्षण गरी प्रभावित क्षेत्रको अवस्था र स्थानीयवासीका समस्या बुझेका छन्। लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्याएपछि स्थानीय आवागमन, सडक यातायात र सिँचाइ सेवा प्रभावित हुँदै आएको छ। पहिरो प्रभावित क्षेत्र पुगेका मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न जोखिम, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका हुन्। स्थलगत निरीक्षणपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मत, दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइएको थियो। मन्त्री श्रेष्ठले पहिरोको दिगो समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको बताए। सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरो नियन्त्रणको काम तत्काल अघि बढाउनुपर्नेमा जोड दिँदै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। मन्त्री श्रेष्ठले स्थानीय समस्या र आवश्यकताको वास्तविक अवस्था बुझ्न स्थलगत निरीक्षण महत्त्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधार संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
सुनछाप पहिरो नियन्त्रणका लागि एकीकृत योजना अघि बढाइने

Read Complete Original Article
Published originally on नेपालन्युज





.jpg)
