काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नजिक पुगेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकामा कात्तिक मसान्तसम्म २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख कायम भएको हो । विनिमय दरमा भएको नाफाले ऋण दायित्व केही घटेको हो । यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८ प्रतिशत हो । २०७८ सालको जनगणनाअनुसार कात्तिक मसान्तसम्म सार्वजनिक ऋणको प्रतिव्यक्ति भार एक लाख दुई हजार पुगेको छ । कुल सार्वजनिक ऋणमध्ये कात्तिक मसान्तसम्म वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख पुगेको छ भने आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रहेको छ, जुन वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । त्यसमा कात्तिक मसान्तसम्म एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख ऋण प्राप्त भएको छ । सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख प्राप्त गर्न बाँकी छ । यसमध्ये आन्तरिक ऋणतर्फ दुई खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ रु दुई खर्ब १९ अर्ब ४३ करोड ३५ लाख परिचालन गर्न बाँकी रहेको छ । सार्वजनिक ऋणको सावाँ तथा ब्याज भुक्तानीमा सरकारले चालु आर्थिक वर्षका लागि चार खर्ब १७ अर्ब ८८ करोड बराबर बजेट विनियोजन गरेको छ । जसमध्ये कात्तिक मसान्तसम्ममा एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख ऋण भुक्तानी भएको छ । कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च दुई दशमलव १४ प्रतिशत रहेको छ । ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीमा एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ । निर्यात बढ्दासमेत घटेन व्यापार घाटानेपालबाट हुने वस्तु तथा सेवाको निर्यात बढ्दासमेत व्यापार घाटामा कमी आएको छैन । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमास (साउन-कात्तिक) सम्मको तथ्यांकअनुसार नेपालबाट भएको वस्तु तथा सेवाको निर्यात एक खर्ब ३४ अर्ब रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार यो निर्यात गत आव २०८२/८३ को सोही अवधिको तुलनामा भने ४३ दशमलव ४८ प्रतिशतले बढी हो । गत आवको पहिलो चार महिनामा यस्तो निर्यात ९३ अर्ब रुपैयाँको थियो । नेपालबाट भएको निर्यात उल्लेख्य रूपमा बढेको देखिए पनि व्यापार घाटामा भने कमी आएको छैन । नेपालले चालु आवको पहिलो चार महिनामा कुल ६ खर्ब ६८ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ । यस्तो व्यापार घाटा गत आवको सोही अवधिको तुलनामा पाँच खर्ब १५ अर्ब रुपैयाँमा यो वर्ष २९ दशमलव ६५ प्रतिशतले बढेको पनि तथ्यांकले देखाएको छ । यो वर्षको साउनदेखि कात्तिकसम्ममा आठ खर्ब ३० अर्ब रुपैयाँको वस्तु तथा सेवाको आयात गरेको छ । यस्तो आयात चालु आवमा ३१ दशमलव ७७ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार गत वर्षको सोही अवधिमा नेपालमा भएको आयात ६ खर्ब नौ अर्ब रुपैयाँ रहेको थियो । नेपालले चालु आवको चार महिनामा गरेको वैदेशिक व्यापारको तथ्यांक भने नौ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । यस्तो व्यापार गत आवको सात खर्ब दुई अर्बको तुलनामा ३३ प्रतिशतले बढेको पनि देखिएको छ । नेपालले गरेको यस्तो वैदेशिक व्यापारमा आयातको हिस्सा ८५ दशमलव ६९ प्रतिशत छ भने निर्यातको हिस्सा १४ दशमलव ३१ प्रतिशत रहेको पनि विभागको तथ्यांकले देखाउँछ । विभागको तथ्यांकअनुसार नेपालमा पछिल्लो चार महिनामा सबैभन्दा धेरै कच्चा भटमासको तेल आयात भएको छ । चार महिनामा ६२ अर्ब रुपैयाँको कच्चा भटमास आयात भएको हो । नेपालमा दोस्रो धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । पछिल्ल्लो चार महिनामा डिजेलमा ५९ अर्ब र तेस्रोमा पेट्रोल ३४ अर्ब रुपैयाँ रहेको विभागको तथ्यांकमा उल्लख छ । निर्यातमा पनि भटमासकै तेल सबैभन्दा धेरै हुने गरेको छ । यो अवधिमा ६१ अर्बको भटमास तेल निर्यात भएको हो । पहिलो चौमासिक अवधिमा वस्तु आयात झण्डै दुई खर्ब रुपैयाँले बढेको छ । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म वस्तु आयात आठ खर्ब तीन अर्ब नौ करोड रुपैयाँ बराबर भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.७७ प्रतिशत धेरै हो । यी हुन् धेरै आयात र निर्यात भएका वस्तुभटमास, पेट्रोल र डिजेलपछि पछिल्लो चार महिनामा २९ अर्ब ४७ करोडको खाना पकाउने ग्यास आयात भएको छ । चार महिनामा स्पन्ज आइरन २२ अर्ब २६ करोड र स्मार्ट फोन २० अर्ब ६८ करोड बराबरको आयात भएको तथ्यांक छ । चार महिनामा चार अर्ब २२ करोडको सुन आयात भएको छ । पहिलो चार महिनामा बढी निर्यात भएका वस्तुको पहिलो नम्बरमा सोयाबिन तेल रहेको छ । जुन ६१ अर्ब ३४ करोड बराबरको भएको छ । कार्पेट निर्यात तीन अर्ब ८९ करोडको भएको छ । अलैँची निर्यात तीन अर्ब ४४ करोडको भएको छ । जुटको निर्यात तीन अर्ब ३१ करोडको भएको छ । सूर्यमुखी तेल दुई अर्ब ७८ करोडको भएको छ । पाम तेल दुई अर्ब ६९ करोड बराबरको भएको भन्सार विभागको तथ्यांक छ । १३७ भन्दा धेरै देशसँग व्यापार, अधिकांशसँग घाटाको सौदाकात्तिकसम्म कुल १३७ भन्दा धेरै देशसँग वैदेशिक व्यापार भएको छ । जसमध्ये भारत र चीन नेपालका मुख्य व्यापार साझेदार हुन् । भारतबाट नेपालमा चार खर्ब ६२ अर्बको वस्तु भित्रिएको छ । नेपालबाट एक खर्ब १२ अर्बको वस्तु भारततर्फ निर्यात भएको छ । भारतसँग चार महिनामा तीन खर्ब ४९ अर्ब बराबरको व्यापार घाटा छ । चीनबाट यस वर्ष एक खर्ब ६४ अर्बको सामान नेपाल आएको छ । नेपालबाट भने एक अर्ब रुपैयाँ बराबरको मात्र वस्तु निर्यात भएको तथ्यांक छ । अर्जेन्टिना तेस्रो व्यापार साझेदार मुलुक बनेको छ । यस मुलुकबाट ४२ अर्ब ९५ करोड बराबरको वस्तु भित्रिएको छ । साउदी अरेबियाबाट ११ अर्ब ८० करोडको सामान नेपालमा आयात भएको छ । ब्राजिलबाट १० अर्ब ८३ करोड र अमेरिकाबाट १० अर्ब ४८ करोडको वस्तु भित्रिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ । तुलनात्मक रूपमा अमेरिका र नेपालबीच व्यापार घाटा कम छ । किनकि चार महिनामा नेपालबाट सात अर्ब ८५ करोड बराबरको वस्तु अमेरिका निर्यात भएको छ । चार महिनामा साढे पाँच अर्बको धानचामल आयातचालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे पाँच अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा पाँच अर्ब ४१ करोड ४८ लाख २१ हजार रुपैयाँ बराबरको ६८ हजार २२७ टन (६ करोड ८२ लाख २७ हजार ३९९ किलो) धानचामल आयात भएको छ । साउनदेखि कात्तिक मसान्तसम्म वैदेशिक व्यापार तथ्यांकअनुसार गत आव २०८२/८३ को सोही अवधिको तुलनामा धानचामल आयात परिमाणमा ६३.१६ र मूल्यमा ४६.८३ प्रतिशत भारी गिरावट आएको छ । गत आव पहिलो चार महिनामा १० अर्ब १८ करोड ४९ लाख नौ हजार बराबरको एक लाख ८५ हजार १९८ टन धानचामल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा चालु आव सोही अवधिमा धानचामल आयात परिमाण एक लाख १६ हजार ९७० टन र मूल्य चार अर्ब ७७ करोड ८८ हजार रुपैयाँ घटेको हो । चालु आव साउन–कात्तिक अवधिमा एक अर्ब तीन करोड ६९ लाख ९६ हजार रुपैयाँ बराबरको २२ हजार ९०२ टन धान मात्रै आयात भएको छ ।
सार्वजनिक ऋण ३० खर्बनजिक

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






