साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले अर्को कम्पनी जेडस्केलरलाई ४३ अर्ब ९० करोड डलरको पूर्ण सेयर कारोबारमार्फत अधिग्रहण गर्ने भएको छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर सुरक्षा कम्पनी अधिग्रहण हो। कृत्रिम बुद्धिमताको विकाससँगै साइबर जोखिम थप जटिल बन्दै गइरहेका बेला यस क्षेत्रमा काम गर्ने दुई ठूला कम्पनी एक हुन लागेका हुन्। सम्झौताको खबर सार्वजनिक भएपछि प्रि–मार्केट कारोबारमा जेडस्केलरको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले बढेर २३४.६६ डलर पुगेको थियो। तर यो मूल्य प्रस्तावित प्रतिकित्ता २६०.४१ डलरभन्दा कम थियो। यसैबीच, क्राउडस्ट्राइकको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको थियो। आईजी ग्रुपका प्रमुख प्राविधिक विश्लेषक एक्सेल रुडोल्फले कारोबारको आकार र दुवै कम्पनीको महत्त्वलाई हेर्दा प्रतिस्पर्धासम्बन्धी नियामक निकायले छानबिन गर्न सक्ने बताए। तर नियामकहरूले यो सम्झौता रोक्ने नै छन् भनेर अहिले नै निष्कर्ष निकाल्नु हतार हुने उनको भनाइ छ। उनले भने, ‘नियामकहरूले यी दुई कम्पनीको व्यवसायबीच कति समानता देख्छन् र सम्झौतापछि ग्राहकका लागि प्रतिस्पर्धी विकल्प वास्तवमै घट्छन् कि घट्दैनन् भन्ने मुख्य विषय हुनेछ।’ यो सम्झौताले क्राउडस्ट्राइकको कम्प्युटर, सर्भर र अन्य उपकरणको सुरक्षा गर्ने प्रविधिलाई जेडस्केलरको कर्मचारीले एप्लिकेसन र तथ्याङ्कमा पहुँच प्राप्त गर्दा सुरक्षा प्रदान गर्ने प्रविधिसँग जोड्नेछ। यसबाट सरकारी निकाय र व्यावसायिक संस्थाका लागि अझ व्यापक साइबर सुरक्षा प्लेटफर्म तयार हुनेछ। रोयटर्सका अनुसार विश्वभरका व्यावसायिक संस्थाले दिनप्रतिदिन जटिल बन्दै गएका साइबर आक्रमणको सामना गरिरहेका छन्। कृत्रिम बुद्धिमताको विकासले सफ्टवेयरका कमजोरी पहिचान गर्न र तिनको दुरुपयोग गर्न सहज बनाएको छ। यसले साइबर जोखिम पहिचान र रोकथाम गर्ने उपकरणको माग पनि बढाएको छ। हालै हवाई सेवा, बैंक तथा सरकारी निकायका प्रणालीमा देखिएका अवरोध र व्यापक प्रयोगमा रहेका जाभा तथा पीएचपी सफ्टवेयरमा भेटिएका गम्भीर कमजोरीले महत्त्वपूर्ण डिजिटल पूर्वाधारको सुरक्षाबारे चिन्ता थप बढाएका छन्। यो अधिग्रहणले साइबर सुरक्षा क्षेत्रमा बढिरहेको कम्पनी एकीकरणको प्रवृत्तिलाई पनि देखाउँछ। धेरै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराउन कम्पनीहरू ठूला बन्न खोजिरहेका छन् भने ग्राहकले पनि आफूले प्रयोग गर्ने सुरक्षा सेवा प्रदायकको सङ्ख्या घटाउन चाहिरहेका छन्। यस सम्झौताबाट क्राउडस्ट्राइकले जेडस्केलरका करिब आठ हजार नयाँ ग्राहकसम्म पहुँच पाउनेछ। ती ग्राहकले अहिले क्राउडस्ट्राइकका उत्पादन प्रयोग गर्दैनन्। जेडस्केलरका ग्राहकमा युनिलिभर र युनाइटेड एयरलाइन्सजस्ता ठूला कम्पनी पनि छन्। सम्झौताअनुसार जेडस्केलरका सेयरधनीले आफूसँग भएको प्रत्येक सेयरबापत क्राउडस्ट्राइकका १.१३५ कित्ता सेयर पाउनेछन्। यो प्रस्ताव जेडस्केलरको पछिल्लो कारोबार मूल्यभन्दा करिब ३४ प्रतिशत बढी हो। अधिग्रहण प्रक्रिया पूरा भएपछि संयुक्त कम्पनीमा क्राउडस्ट्राइकका सेयरधनीको करिब ८४ प्रतिशत स्वामित्व हुनेछ। यो प्रक्रिया सन् २०२७ को दोस्रो छमाहीमा पूरा हुने अपेक्षा गरिएको छ। संयुक्त कम्पनीको नेतृत्व क्राउडस्ट्राइकका प्रमुख कार्यकारी अधिकृत जर्ज कुर्ट्जले गर्नेछन्। जेडस्केलरका प्रमुख कार्यकारी अधिकृत जय चौधरीले भने जेडस्केलरको व्यवसाय सञ्चालनलाई निरन्तरता दिनेछन् र क्राउडस्ट्राइकको सञ्चालक समितिमा पनि सहभागी हुनेछन्। अधिग्रहण प्रक्रिया पूरा नभएसम्म दुवै कम्पनीले छुट्टाछुट्टै सञ्चालन जारी राख्नेछन्। केही निश्चित परिस्थितिमा जेडस्केलरले सम्झौताबाट पछि हटेमा उसले क्राउडस्ट्राइकलाई एक अर्ब ४० करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरिएको छ। प्रतिस्पर्धी कम्पनीको प्रस्ताव स्वीकार गरेर सम्झौताबाट पछि हट्ने अवस्था पनि यसमा समावेश छ। क्राउडस्ट्राइकका अनुसार यो सम्झौताले कम्पनीको सम्भावित बजारको आकार १८५ अर्ब डलरभन्दा बढीले विस्तार गर्नेछ। यसबाट साइबर सुरक्षा उत्पादन तथा सेवाका विभिन्न क्षेत्रमा कम्पनीको उपस्थिति बलियो हुनेछ। संयुक्त कम्पनीले वार्षिक १० अर्ब डलरभन्दा बढीको आवर्ती आम्दानीबाट कारोबार सुरु गर्ने अपेक्षा गरिएको छ। यसमध्ये जेडस्केलरको योगदान करिब तीन अर्ब ९० करोड डलर हुनेछ। क्राउडस्ट्राइकले अधिग्रहण प्रक्रिया पूरा भएको ३० महिनाभित्र वार्षिक आम्दानीमा करिब एक अर्ब डलर थप हुने अपेक्षा गरेको छ। यस कारोबारमा क्राउडस्ट्राइकलाई क्वालिस्ट पार्टनर्स, जेपी मोर्गन र बैंक अफ अमेरिका सेक्युरिटिजले सल्लाह दिइरहेका छन्। जेडस्केलरलाई भने बीडीटी एन्ड एमएसडी पार्टनर्स, सिटीग्रुप र गोल्डम्यान स्याक्सले सल्लाह दिइरहेका छन्। The post साइबर जोखिम बढ्दै जाँदा क्राउडस्ट्राइकले ४४ अर्ब डलरमा जेडस्केलर किन्ने appeared first on Technology Khabar.
साइबर जोखिम बढ्दै जाँदा क्राउडस्ट्राइकले ४४ अर्ब डलरमा जेडस्केलर किन्ने

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






