काठमाडौं । वरिष्ठ गायिका तथा गीतकार पद्मावती सिंह र गायिका सुनन्दा माथेमाका गीत तथा म्युजिक भिडियो प्रस्तुत गर्दै काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा ‘पद्मावती-सुनन्दा सांगीतिक साँझ’ सम्पन्न भएको छ । साहित्यिक पत्रकार संघद्वारा शनिबार आयोजित कार्यक्रममा दुवै गायिकाले आफ्ना चर्चित गीत प्रत्यक्ष प्रस्तुत गर्नुका साथै विभिन्न म्युजिक भिडियो प्रदर्शन गरिएको थियो । सिंहले ‘साँझको याम थियो’ र ‘धेरै दिनपछि’ तथा माथेमाले ‘साउने झरी’ र नेपाल भाषाको ‘समा यायेत’ गीत गाउनुभएको थियो । वरिष्ठ सर्जक एवं चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यता तथा संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खरेलले नेपाली गीतसंगीतमा दुवै गायिकाको योगदानको प्रशंसा गर्नुभयो । उहाँले पारिवारिक सांगीतिक परम्परालाई नयाँ पुस्ताले निरन्तरता दिनु सुखद् पक्ष भएको बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा र साहित्यकार उषा शेरचनले दुवै गायिकाका सिर्जना तथा प्रस्तुतिको प्रशंसा गर्नुभएको थियो । सो अवसरमा साहित्यिक पत्रकार संघले गायिका सिंह र माथेमालाई माला तथा कदरपत्रसहित सम्मान गरेको थियो । साहित्यकार मञ्जिला अनिलले सञ्चालन गरेको कार्यक्रममा संगीत, साहित्य तथा कला क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।
सांगीतिक साँझमा गुञ्जिए पद्मावती र सुनन्दा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






