सरकारको छ महिनाको कार्यकाल: निजी क्षेत्रको अपेक्षा, अर्थतन्त्रका चुनौती र आर्थिक कूटनीतिको सम्भावना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार गठन भएको छ महिना पूरा भएको छ । युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र साह नेतृत्वको सरकारले नीतिगत स्थिरता, कानुन संशोधन र आर्थिक सुधारलाई प्राथमिकता दिएको बताउँदै आएको छ । तर सुस्त माग, कमजोर लगानीको मनोबल, प्राकृतिक विपद्ले सिर्जना गरेको आर्थिक क्षति र निजी क्षेत्रको विश्वास बढाउने चुनौती कायमै छन् । नेपाल उद्योग वाणिज्य महासंघले वर्तमान सरकारको कार्यशैली, निजी क्षेत्रसँगको संवाद, वित्तीय विषयमा अनुसन्धान तथा कारबाहीको प्रक्रिया, आर्थिक कूटनीतिको प्रभावकारिता र अर्थतन्त्रलाई चलायमान बनाउने उपायलाई कसरी हेरिरहेको छ ? यी विषयमा केन्द्रित रहेर कर्पोरेट खबरले महासंघका अध्यक्ष अञ्जन श्रेष्ठसँग कुराकानी गरेको छ । प्रस्तुत छ, श्रेष्ठसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश : राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार गठन भएको छ महिना पूरा भएको छ । देशले युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र साहलाई पाएको छ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारको छ महिनाको कार्यकाललाई कसरी मूल्याङ्कन गरेको छ ? लामो समयदेखि हाम्रो मुख्य अपेक्षा नीतिगत स्थिरता हो । सरकार परिवर्तन भइरहँदा नीति पनि स्थिर हुन सकेन । अहिलेको सरकारले स्थिर नीति दिन्छ भन्ने हाम्रो अपेक्षा छ । सरकार गठन भएलगत्तै पहिलो दिन १६ वटा ऐन संशोधन गरियो । त्यसपछि सरकारले आफ्ना कार्ययोजना अघि बढायो । नीति तथा कार्यक्रम र बजेट पनि आयो । अहिले सरकारसँग हाम्रो संवाद र छलफल जारी छ । निजी क्षेत्रका तर्फबाट हामीले ४२ वटा ऐन संशोधन गर्नुपर्ने सुझाव दिएका थियौँ । अर्थमन्त्रीले पनि हालै एक कार्यक्रममा १६६ वटा ऐन संशोधन गर्ने विषय उल्लेख गर्नुभएको थियो । मन्त्रालयहरूको काम हेर्दा ऐन संशोधनका लागि मन्त्रीहरू सक्रिय भएको देखिन्छ । सरकारले चालु वर्षलाई ऐन संशोधनको वर्षका रूपमा अघि बढाउने र त्यसपछि कार्यान्वयनमा जोड दिने सोच बनाएको देखिन्छ । तर, कानुन संशोधन मात्र पर्याप्त हुँदैन । निजी क्षेत्रसँग अझ गहन र नियमित संवाद आवश्यक छ । हामीले उद्योग तथा व्यवसायसँग सम्बन्धित ऐन, कम्पनी ऐन, औद्योगिक नीति र बौद्धिक सम्पत्ति अधिकार सम्बन्धी कानुन संशोधनका विषयमा सरकारलाई सुझाव दिएका छौँ । ट्रेडमार्क, पेटेन्ट र डिजाइन सम्बन्धी कानुनलाई पनि सुधार गर्नुपर्ने आवश्यकता छ । प्रधानमन्त्री कार्यालयले ऐन संशोधनका विषयमा सुझाव मागेपछि महासंघले ३६ बुँदे सुझाव दिएको छ । लगानी प्रक्रियालाई सहज बनाउने विषयमा पनि सुझाव तयार गरेका छौँ । प्रधानमन्त्रीसँग निजी क्षेत्रका समस्या समाधान गर्न छुट्टै संयन्त्र बनाउने विषयमा समेत छलफल भइरहेको छ । अहिले बजारमा माग कमजोर छ । त्यसले लगानीकर्ताको आत्मविश्वास घटाएको छ । नयाँ लगानीका क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता छ । त्यसमाथि भोटेकोसी, कालीगण्डकी करिडोर र बुढीगण्डकी क्षेत्रमा भएका प्राकृतिक विपद्ले व्यवसायीको मनोबलमा थप असर पारेका छन् । कतिपयले ज्यान, परिवार, सम्पत्ति र व्यवसाय गुमाएका छन् । ती क्षेत्रमा कारोबार गर्ने अन्य नेपाली व्यवसायीको बजार पनि खुम्चिएको छ । उधारोमा गएको रकम उठाउनसमेत चुनौती थपिएको छ । यसैले सरकार र निजी क्षेत्रबीच सहकार्य अझ घनिभूत बनाउनुपर्छ । व्यवसायीको विश्वास बढाउने, माग विस्तार गर्ने र लगानीको वातावरण सुधार्ने कामलाई प्राथमिकता दिन आवश्यक छ । सरकारले ऐन संशोधन र नीतिगत सुधारको प्रक्रिया अघि बढाएको छ । तर निजी क्षेत्रको आत्मविश्वास अपेक्षा अनुसार बढ्न सकेको देखिँदैन । व्यवसायी माथि भइरहेको अनुसन्धान र धरपकडले पनि लगानीको वातावरण प्रभावित पारेको हो ? यस विषयमा हामीले सरकारलाई स्पष्ट रूपमा भनिसकेका छौँ । वित्तीय विषयलाई हेर्दा त्यसलाई सुरुमै अपराधीकरण गर्ने दृष्टिकोण अपनाउनु हुँदैन । वित्तीय अनियमितता र आपराधिक कार्यबीचको भिन्नता छुट्याएर निष्पक्ष अनुसन्धान हुनुपर्छ । व्यवसायीलाई अनुसन्धानका क्रममा अनावश्यक रूपमा त्रसित बनाउने अवस्था आउनु हुँदैन । कानुनमै आवश्यक व्यवस्था गरेर, उपयुक्त अवस्थामा अग्रिम जमानतजस्ता विकल्प उपलब्ध गराउन सकिन्छ कि भन्ने हाम्रो सुझाव छ । यसले अनुसन्धान प्रक्रियालाई कमजोर बनाउने होइन, व्यवसायीलाई कानुनी प्रक्रियाप्रति विश्वास दिलाउने काम गर्छ । कुनै पनि विषयमा पहिले राम्रोसँग अनुसन्धान हुनुपर्छ । अनुसन्धानका विवरण चुहाउने र तथ्य स्थापित हुनुअघि नै सञ्चार माध्यममा दोषीका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति रोकिनुपर्छ । सम्बन्धित व्यक्तिको कुरा सुन्ने, प्रमाणको मूल्याङ्कन गर्ने र त्यसपछि मात्रै कानुनअनुसार निर्णय लिने प्रक्रिया आवश्यक छ । वास्तवमै गम्भीर अपराध भएको अवस्थामा कानुनअनुसार कारबाही हुनुपर्छ । तर वित्तीय प्रकृतिका कतिपय विषयलाई आवश्यकताअनुसार आर्थिक जरिवाना वा अन्य उपयुक्त कानुनी उपायबाट सम्बोधन गर्न सकिन्छ । सबै विषयलाई एउटै ढङ्गले हेर्दा व्यवसाय र समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्न सक्छ । अनुसन्धान र कारबाहीको प्रक्रिया निष्पक्ष हुनुपर्छ भन्नुभयो । तर सुशासन कायम गर्ने र आर्थिक अपराध नियन्त्रण गर्ने सरकारको जिम्मेवारी पनि छ । भ्रष्टाचार नियन्त्रण र निजी क्षेत्रको मनोबलबीच सन्तुलन कसरी कायम गर्न सकिन्छ ? सुशासन र आर्थिक अनुशासन आवश्यक छन् । निजी क्षेत्र पनि कानुनभन्दा माथि हुनु हुँदैन । तर अनुसन्धानको प्रक्रिया निष्पक्ष, पारदर्शी र प्रमाणमा आधारित हुनुपर्छ । कुनै व्यक्तिमाथि आरोप लाग्दैमा उसलाई दोषी ठहर गर्न मिल्दैन । कानुनी प्रक्रिया स्पष्ट भयो, अनुसन्धान व्यवस्थित भयो र निर्णय प्रमाणका आधारमा भयो भने व्यवसायीले पनि आफ्नो जिम्मेवारी बुझ्छन्। यसले सरकारप्रतिको विश्वास बढाउँछ । सरकारको उद्देश्य अपराध नियन्त्रण गर्ने र आर्थिक गतिविधिलाई व्यवस्थित बनाउने हुनुपर्छ । अनिश्चितता र भयको वातावरण सिर्जना भयो भने त्यसले लगानीको निर्णयमा असर पार्न सक्छ । प्राकृतिक विपद्ले प्रभावित क्षेत्रका व्यवसायीलाई उधारो उठाउन र कारोबार निरन्तरता दिन कठिनाइ भएको बताउनुभयो । यस समस्याको समाधानका लागि महासंघले के गरिरहेको छ ? प्राकृतिक विपद्ले प्रभावित क्षेत्रमा व्यवसायीले ठूलो क्षति बेहोरेका छन् । कतिपयले आफ्नो व्यवसाय र सम्पत्ति गुमाएका छन् । ती क्षेत्रमा सामान बिक्री गरेका अन्य जिल्लाका व्यवसायीको रकम पनि अड्किएको छ । बजार नै प्रभावित भएपछि पुरानो उधारो उठाउन कठिन हुन्छ । यस समस्यालाई सम्बोधन गर्न महासंघले उधारो कारोबारसम्बन्धी कानुनको मस्यौदा अन्तिम चरणमा पुर्याएको छ । त्यसलाई सरकारसमक्ष पेस गर्ने तयारी छ । आवश्यक प्रक्रिया पूरा भएमा निजी विधेयकका रूपमा संसद्मा प्रस्तुत गर्ने विषयमा पनि हामी काम गरिरहेका छौँ । उधारो कारोबारलाई व्यवस्थित गर्ने कानुनी आधार तयार भयो भने व्यवसायीबीचको कारोबारमा विश्वास बढ्छ । रकम भुक्तानी, दायित्व र विवाद समाधानका विषय स्पष्ट हुन्छन् । यसका लागि सरकारसँग सहकार्य र संवादलाई अझ प्रभावकारी बनाउनुपर्छ । पछिल्लो समय आर्थिक कूटनीतिको चर्चा बढेको छ । सरकारले अर्थतन्त्र विस्तार गर्ने, विदेशी लगानी आकर्षित गर्ने र गैरआवासीय नेपालीको लगानी भित्र्याउने लक्ष्य राखेको छ । आर्थिक कूटनीतिलाई व्यवहारमा प्रभावकारी बनाउन के गर्नुपर्छ ? आजको विश्वमा आर्थिक कूटनीति अत्यन्त महत्त्वपूर्ण विषय बनेको छ । पहिले देशहरूबीच सैन्य शक्ति र हतियारको प्रतिस्पर्धा बढी चर्चामा हुन्थ्यो । अहिले अर्थतन्त्र, बजार, व्यापार र लगानीका क्षेत्रमा पनि ठूलो प्रतिस्पर्धा छ । चीन, अमेरिका र भारतलगायत मुलुकले आ–आफ्नो आर्थिक रणनीतिअनुसार काम गरिरहेका छन् । आर्थिक कूटनीतिको उद्देश्य आफ्नो देशको अर्थतन्त्रलाई बलियो बनाउनु, आन्तरिक बजारको क्षमता बढाउनु र बाह्य बजारमा पहुँच विस्तार गर्नु हो । नेपालले पनि यसलाई प्राथमिकतामा राख्नुपर्छ ।हाम्रा राजदूत तथा कूटनीतिक नियोगहरूले आर्थिक एजेन्डासहित काम गर्नुपर्छ । विदेशस्थित नेपाली नियोगले आफू कार्यरत देशमा नेपालको निर्यात बढाउन, नेपाली वस्तुको प्रवद्र्धन गर्न, लगानी आकर्षित गर्न र आर्थिक सहकार्य विस्तार गर्न स्पष्ट लक्ष्य लिनुपर्छ । राजदूतले आफ्नो कार्यकालमा नेपालको आर्थिक विकासका लागि के काम गरे भन्ने विषय मापन गर्न सकिने व्यवस्था हुनुपर्छ । उदाहरणका लागि, चार वर्षको कार्यकाल पूरा गर्दा कुन क्षेत्रमा लगानीको सम्भावना पहिचान भयो, नेपाली उत्पादनको बजार पहुँच कति विस्तार भयो र कुन आर्थिक सहकार्य अघि बढ्यो भन्ने विवरणसहित प्रतिवेदन प्रस्तुत गर्न सक्नुपर्छ । राजनीतिक कूटनीतिको आफ्नै महत्त्व छ । तर अब त्यससँगै आर्थिक कूटनीतिलाई पनि प्रभावकारी बनाउनुपर्छ । आयात प्रतिस्थापन गर्नुका साथै निर्यात बढाउनु नेपालको आवश्यकता हो । त्यसका लागि विदेशस्थित नेपाली नियोग, निजी क्षेत्र र गैरआवासीय नेपालीबीच सहकार्य हुनुपर्छ । विदेशमा रहेका नेपालीलाई सरकारले आर्थिक विकासको साझेदारका रूपमा उपयोग गर्ने भनिरहेको छ । गैरआवासीय नेपालीको लगानी र उनीहरूको सञ्जालबाट नेपालले कसरी लाभ लिन सक्छ ?विदेशमा रहेका नेपालीको संख्या ठूलो छ । उनीहरूसँग पूँजी मात्रै होइन, ज्ञान, सीप, अनुभव र अन्तर्राष्ट्रिय बजारसँगको सम्बन्ध पनि छ । यी सबै पक्षलाई नेपालको आर्थिक विकासमा उपयोग गर्न सकिन्छ । उनीहरूले नेपालमा लगानी गर्न सक्छन्। नेपाली वस्तु तथा सेवाको विदेशमा प्रवद्र्धन गर्न सक्छन् । आफ्नो देशमा नेपाली उत्पादनका लागि बजार खोज्न र विदेशी लगानीकर्तालाई नेपालबारे जानकारी दिन पनि उनीहरूले भूमिका खेल्न सक्छन् । विदेशमा रहेका नेपालीलाई केवल लगानीकर्ताका रूपमा मात्र होइन, नेपालको आर्थिक सम्भावना चिनाउने साझेदारका रूपमा पनि हेर्नुपर्छ । त्यसका लागि लगानी प्रक्रिया सरल, नीतिगत व्यवस्था स्पष्ट र लगानीकर्ताको विश्वास बलियो हुनुपर्छ। सरकारले निजी क्षेत्र र गैरआवासीय नेपालीसँग समन्वय गरेर काम गर्न आवश्यक छ । नेपालले निर्यात बढाउने र विदेशी लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ । तर लगानीकर्ताले नीतिगत अनिश्चितता, प्रशासनिक झन्झट र बजारको सीमिततालाई चुनौतीका रूपमा उठाउँदै आएका छन् । यी समस्या समाधान गर्न कुन क्षेत्रमा सुधार आवश्यक छ ? लगानी आकर्षित गर्न सबैभन्दा पहिले नीतिगत स्थिरता र विश्वास आवश्यक हुन्छ । लगानीकर्ताले लामो समयका लागि योजना बनाउँछन् । त्यसैले नियम र नीतिमा बारम्बार परिवर्तन हुने अवस्था रह्यो भने लगानीको निर्णय प्रभावित हुन्छ । कानुन संशोधन गर्दा व्यवसाय गर्न सहज हुने व्यवस्था, स्पष्ट प्रक्रिया र समयमै सेवा उपलब्ध गराउने प्रणालीमा ध्यान दिनुपर्छ । निजी क्षेत्रसँग नियमित छलफल गरेर वास्तविक समस्या पहिचान गर्नुपर्छ । लगानी प्रक्रियामा अनावश्यक झन्झट कम गर्न र सरकारी निकायबीच समन्वय बढाउन आवश्यक छ । त्यस्तै, नेपालले कुन वस्तु तथा सेवामा प्रतिस्पर्धात्मक लाभ लिन सक्छ भन्ने पहिचान गर्नुपर्छ । नेपाली उत्पादनको गुणस्तर, उत्पादन क्षमता र बजार पहुँच सुधार नगरी निर्यात बढाउन कठिन हुन्छ । आर्थिक कूटनीतिलाई पनि यिनै लक्ष्यसँग जोडेर अघि बढाउनुपर्छ । अहिले नेपालको अर्थतन्त्र सुस्त छ र बजारमा माग कमजोर रहेको तपाईंले उल्लेख गर्नुभयो । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले तत्काल कुन विषयलाई प्राथमिकता दिनुपर्छ ? अहिले सबैभन्दा आवश्यक कुरा निजी क्षेत्रको विश्वास बढाउनु र बजारमा माग विस्तार गर्नु हो । माग कमजोर हुँदा व्यवसायले उत्पादन र लगानी बढाउन चाहँदैनन् । त्यसैले नयाँ आर्थिक गतिविधि सिर्जना गर्ने, लगानीका सम्भावित क्षेत्र पहिचान गर्ने र निजी क्षेत्रसँग सहकार्य गर्ने काम आवश्यक छ । प्राकृतिक विपद्ले प्रभावित व्यवसायलाई पुन: सञ्चालन गर्न सहयोग गर्ने, उधारो कारोबारका समस्या समाधान गर्ने र कानुनी प्रक्रिया स्पष्ट बनाउने विषय पनि महत्त्वपूर्ण छन् । सरकारले ऐन संशोधन गरिरहेको छ, जुन सकारात्मक पक्ष हो। तर त्यसको प्रभाव व्यवसाय गर्ने वातावरणमा देखिनुपर्छ । निजी क्षेत्रसँग नियमित संवाद, नीतिगत स्थिरता र लगानीको विश्वास बढाउने काम सँगसँगै अघि बढेमा अर्थतन्त्रलाई गति दिन सकिन्छ । सरकारले निजी क्षेत्रका वास्तविक समस्या बुझेर समाधानमा सहकार्य गर्नुपर्छ । The post सरकारको छ महिनाको कार्यकाल: निजी क्षेत्रको अपेक्षा, अर्थतन्त्रका चुनौती र आर्थिक कूटनीतिको सम्भावना appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

विपत्बिच बढ्यो विद्युत् निर्यात
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक ९ गते । भोटेकोशी र बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका बिच पनि नेपालको विद्युत् निर्यातमा भने सकारात्मक सुधार देखिएको छ । नेपाल विद्युत् प... ...

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री बालेन उद्घाटनका लागि अपराह्न त्रिवि क्रिकेट मैदान जाने... ...

चाँदीजस्तो देखिने सेतो धातुसहित चार जनालाई पक्राउ
काठमाडौं । कारको फल्स बटममा लुकाएर ल्याएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी भान्जी ...

प्रधानमन्त्री शाह एनपीएल उद्घाटनमा सहभागी हुने
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्घाटनमा सहभागी हुने बताइन् । कीर्तिपुर जानुअघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्घाटन दिउँसो ५ बजे हुनेछ । ...


