काठमाडौं । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै यादवलाई विभागको नेतृत्व सुम्पिएका हुन्। यादव यसअघि महोत्तरीको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। उनलाई गत मंसिर ४ गते अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो। यसअघि विभागको महानिर्देशक रहेका निर्मल ढकाललाई वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको थियो। ढकालको सरुवापछि रिक्त रहेको महानिर्देशक पदमा यादवलाई जिम्मेवारी दिइएको हो। यसैगरी, अर्थमन्त्री वाग्लेले सहसचिव नीता शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा सहमहालेखाको जिम्मेवारीमा खटाउने निर्णय गरेका छन्। मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थ मन्त्रालयमा सरुवा भएकी शर्मालाई महालेखा नियन्त्रक कार्यालयमा पठाइएको हो। महालेखा नियन्त्रक कार्यालयमा कार्यरत सहमहालेखा नियन्त्रक दीपक लामिछाने गृह मन्त्रालयमा सरुवा भएपछि रिक्त रहेको स्थानमा शर्मालाई जिम्मेवारी दिइएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव नियुक्त

Read Complete Original Article
Published originally on नेपालन्युज






