स्याङ्जा । स्थानीयलाई सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्याङ्जाका तीन स्थानीय तहमा निर्माण थालिएका आयुर्वेद औषधालयका भवन ६ वर्षसम्म पनि पूरा भएका छैनन् । आँधीखोला गाउँपालिका–५ सेतिदोभान, अर्जुनचौपारी गाउँपालिका–५ आरुचौर र वालिङ नगरपालिका–१ धनुबाँसेमा निर्माणाधीन भवन अलपत्रजस्तै बनेका छन् । ६ वर्षअघि सम्झौता भएर निर्माण सुरु भएको भवन पूर्ण हुन सकेको छैन । सम्झौताअनुसार दुई वर्षमा सम्पन्न हुनुपर्ने सेतिदोभान र आरुचौरका भवनको काम आधा हाराहारी मात्रै भएको छ । डेढ वर्षमा सम्पन्न गर्ने गरी ठेक्का लगाइएको धनुबाँसेको भवनमा पनि अपेक्षित प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्ती र लापरबाहीका कारण स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको पूर्वाधार निर्माण प्रभावित भएको स्थानीयको आरोप छ । सेतिदोभान र आरुचौरका आयुर्वेद औषधालय निर्माणका लागि भ्याली/बाबुरत्न जेभी ललितपुरले २०७७ फागुन ११ गते सम्झौता गरेको थियो । त्यस्तै, खहरेधनुबाँसे आयुर्वेद औषधालय निर्माणका लागि सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनले २०७७ फागुन १९ गते संघीय सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन एकाइ पोखरासँग सम्झौता गरेको इन्जिनियर योगेन्द्र बास्ताकोटीले जानकारी दिए । बास्ताकोटीका अनुसार सेतिदोभानको प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माणका लागि सात करोड ८२ लाख ७१ हजार ५६६ रुपैयाँ १३ पैसा र आरुचौरको आयुर्वेद औषधालय भवन निर्माणका लागि दुई करोड २९ लाख ७८ हजार ८७६ रुपैयाँ ४३ पैसामा सम्झौता भएको थियो । सम्झौता भएको करिब छ वर्ष पुग्न लाग्दा सेतिदोभानमा ६५ प्रतिशत र आरुचौरमा ५० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । दुवै आयोजनाको वित्तीय प्रगति भने ४४ प्रतिशत रहेको छ । भवनको ढलान र प्लास्टरको काम सकिए पनि अन्य काम अझै बाँकी छन् । त्यस्तै, वालिङ–१ धनुबाँसेस्थित आयुर्वेद औषधालयको भवन निर्माणका लागि एक करोड ७९ लाख १२ हजार ४७० रुपैयाँ तीन पैसामा सम्झौता भएको थियो । तर, म्याद सकिँदासमेत आधा काम मात्रै भएको इन्जिनियर लक्ष्मण लम्सालले बताए । निर्माण कार्य अघि बढाउन कार्यालयले पटकपटक पत्राचार गरे पनि निर्माण कम्पनीले अपेक्षित प्रगति नगरेको लम्सालको भनाइ छ । तोकिएको समयमा काम सम्पन्न नभएपछि कार्यालयले ठेक्का तोड्ने सूचनासमेत जारी गरेको उनले जानकारी दिए । धनुबाँसेमा पछिल्लो डेढ वर्षदेखि निर्माण कम्पनीले कामै नगरेको बताइएको छ । भवन निर्माणमा भएको ढिलाइको असर स्थानीयले पाउने स्वास्थ्य सेवामा समेत परेको छ । धनुबाँसे आयुर्वेद औषधालयका प्रमुख हरिप्रसाद अर्यालका अनुसार औषधालयले भाडाको घरबाट सामान्य स्वास्थ्य परीक्षण, औषधोपचार र परामर्श सेवा मात्रै दिँदै आएको छ । भवन र आवश्यक पूर्वाधार नहुँदा मेडिकल योग, शिरोधारा तथा आयुर्वेदिक औषधि निर्माणलगायतका सेवा सञ्चालन गर्न नसकिएको अर्यालले बताए । भवन अभावले औषधालयको सेवा विस्तार र प्रभावकारितामा समेत बाधा पुगेको उनको भनाइ छ । सेतिदोभान र आरुचौरमा पछिल्लो समय केही निर्माण गतिविधि भए पनि धनुबाँसेमा लामो समयदेखि काम रोकिएको छ । तीनवटै भवन समयमै निर्माण नहुँदा स्थानीयले पाउनुपर्ने आयुर्वेदिक स्वास्थ्य सेवा प्रभावित भएको छ । भवन निर्माण पूरा नहुँदासम्म औषधालयहरूले भाडाका घरबाट सीमित सेवा दिनुपर्ने बाध्यता कायमै रहने देखिएको छ ।
सम्झौता भएको ६ वर्ष बित्दा पनि बनेनन् स्याङ्जाका ३ आयुर्वेद औषधालयका भवन

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






