सन् २०३५ सम्म विश्वभर प्रयोग हुने नेटवर्क ट्राफिकमध्ये ४४ प्रतिशत हिस्सा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी गतिविधिले ओगट्ने नोकियाले प्रक्षेपण गरेको छ। फिनल्यान्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार एआई एजेन्ट, स्वचालित मेसिन, रोबोट र कनेक्टेड उपकरणको प्रयोग बढ्दै जाँदा विश्वव्यापी नेटवर्क ट्राफिकमा ठूलो परिवर्तन आउनेछ। प्रतिवेदनले सन् २०२६ को तुलनामा सन् २०३५ सम्म कुल नेटवर्क ट्राफिक चार गुणाले बढेर प्रतिमहिना ३ हजार ७८९ एक्साबाइट पुग्ने अनुमान गरेको छ। यसमध्ये ४४ प्रतिशत ट्राफिक एआईले सिर्जना गर्ने नोकियाको प्रक्षेपण छ। नोकियाका अनुसार भविष्यमा एआई प्रणालीले डेटा डाउनलोड गर्ने मात्र नभई ठूलो परिमाणमा डेटा अपलोड गर्ने र वास्तविक समयमै प्रतिक्रिया दिने आवश्यकता बढाउनेछ। यसले अहिले मुख्यतः डाउनलोडमा केन्द्रित भएर निर्माण गरिएका नेटवर्कमा थप दबाब सिर्जना गर्नेछ। एआई एजेन्टको ट्राफिक १६० गुणाले बढ्ने प्रतिवेदनअनुसार सन् २०३५ सम्म एजेन्टिक एआई (आफैँ निर्णय गरेर विभिन्न काम गर्न सक्ने एआई प्रणाली) बाट सिर्जना हुने नेटवर्क ट्राफिक सन् २०२६ को तुलनामा १६० गुणाले बढ्नेछ। त्यस्तै, भौतिक एआई (फिजिकल एआई) सम्बन्धी ट्राफिक १०५ गुणाले बढ्ने अनुमान छ। टेलिकम्स डटकमकमा अनुसार रोबोट र स्वचालित सवारीसाधनजस्ता भौतिक एआई प्रणालीले आफ्नो वरपरको वातावरणसँग अन्तरक्रिया गर्न नेटवर्कमार्फत निरन्तर डेटा आदानप्रदान गर्नुपर्ने हुन्छ। यस्तो प्रविधिबाट सिर्जना हुने ट्राफिकको ९० प्रतिशतभन्दा बढी हिस्सा सन् २०३५ सम्म अपलिंक अर्थात् उपकरणबाट नेटवर्कतर्फ जाने डाटा हुने नोकियाको अनुमान छ। यसले नेटवर्कमा डाटा अपलोड क्षमता, कम विलम्बता (ल्याटेन्सी) र तत्काल प्रतिक्रिया दिन सक्ने क्षमताको आवश्यकता बढाउनेछ। भविष्यका नेटवर्कले मानिसका साथै निरन्तर डाटा आदानप्रदान गर्ने मेसिनलाई समेत सेवा दिनुपर्ने नोकियाको निष्कर्ष छ। एआई डेटा प्रशोधन नेटवर्कको किनारसम्म पुग्ने एआईको बढ्दो प्रयोगसँगै डाटा प्रशोधन कहाँ गर्ने भन्ने विषयमा पनि परिवर्तन आउने प्रतिवेदनमा उल्लेख छ। हाल अधिकांश एआई ट्राफिक केन्द्रीय क्लाउड पूर्वाधारमार्फत प्रशोधन हुने भए पनि भविष्यमा एज र मेट्रो कोर पूर्वाधारको भूमिका बढ्नेछ। नोकियाका अनुसार सन् २०३५ सम्म एज र मेट्रो कोर पूर्वाधारले कुल एआई-नेटिभ ट्राफिकको ३६ प्रतिशत हिस्सा व्यवस्थापन गर्नेछन्। कम विलम्बता, डाटा सुरक्षासम्बन्धी आवश्यकता र थप प्रभावकारी एआई मोडेलको विकासले प्रयोगकर्ता तथा उपकरणनजिकै डाटा प्रशोधन गर्ने प्रवृत्ति बढाउने कम्पनीको अनुमान छ। यसरी विभिन्न स्थानमा फैलिएको एआई प्रशोधन पूर्वाधारलाई प्रतिवेदनले ‘एआई ग्रिड’ नाम दिएको छ। त्यस्तै, फिक्स्ड वायरलेस एक्सेस (एफडब्लूए) ले पनि मोबाइल नेटवर्कको प्रयोग बढाउनेछ। सन् २०३५ सम्म उपभोक्ताले प्रयोग गर्ने कुल सेलुलर ट्राफिकमध्ये एक तिहाइभन्दा बढी हिस्सा एफडब्लूएबाट सिर्जना हुने नोकियाको प्रक्षेपण छ। नोकियाकी प्रमुख प्रविधि तथा एआई अधिकृत पल्लवी महाजनले एआईले नेटवर्कमा डाटा ट्राफिकको मात्रा मात्र नभई नेटवर्कबाट अपेक्षा गरिने क्षमतासमेत परिवर्तन गरिरहेको बताएकी छन्। उनका अनुसार भविष्यको एआई विकासका लागि कम्प्युटिङ क्षमता जत्तिकै नेटवर्कको तयारी पनि महत्त्वपूर्ण हुनेछ। त्यसैले बढ्दो अपलिंक ट्राफिक, छिटो प्रतिक्रिया र वितरित डेटा प्रशोधनलाई ध्यानमा राखेर नेटवर्क पूर्वाधार स्तरोन्नति गर्नुपर्ने नोकियाको सुझाव छ। प्रतिवेदनले एआई र कनेक्टिभिटीको विकास एकअर्कासँग जोडिएको निष्कर्ष निकालेको छ। एआईको प्रयोग विस्तार हुँदै जाँदा त्यसलाई आवश्यक क्षमता, गति र कम विलम्बता उपलब्ध गराउन दूरसञ्चार नेटवर्कको संरचनासमेत परिवर्तन गर्नुपर्ने नोकियाको भनाइ छ। The post सन् २०३५ सम्म विश्वको नेटवर्क ट्राफिकको ४४ प्रतिशत एआईबाट हुने नोकियाको प्रक्षेपण appeared first on Technology Khabar.
सन् २०३५ सम्म विश्वको नेटवर्क ट्राफिकको ४४ प्रतिशत एआईबाट हुने नोकियाको प्रक्षेपण

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






