गृह मन्त्रालयले वैदेशिक रोजगारी तथा विदेश पठाउने नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी सोही दिनदेखि काम थाल्ने निर्णय गरेको हो। कार्यदलले करारमा उल्लेख भएभन्दा फरक काममा लगाउने, तोकिएको तलब तथा सेवा-सुविधा नदिने र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा विदेश पठाउने गतिविधिको अनुगमन गर्नेछ। कन्सल्टेन्सीमार्फत हुने ठगी र भिजिट भिसाको आवरणमा हुने मानव तस्करीमा संलग्न व्यक्ति वा समूह पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने कार्यादेश पनि दिइएको छ। बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय मन्त्री रामजी यादवसहित गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सहभागी थिए। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख र नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको पनि सहभागिता थियो। विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन नोभेम्बर १३ मा संयुक्त अरब इमिरेट्स पुगेका गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा स्थानीय नेपाली समुदायसँग छलफल गरेका थिए। छलफलमा वैदेशिक रोजगारीका क्रममा नेपाली नागरिक ठगी र श्रम शोषणमा परेको विषय उठेपछि उनले तत्काल कदम चाल्ने प्रतिबद्धता जनाएका थिए। गृह मन्त्रालयले ठगी र श्रम शोषण नियन्त्रणका लागि सम्बन्धित निकायबीचको समन्वय बढाउने जनाएको छ। मन्त्रालयले रोजगारीको प्रलोभनमा नपर्न र विदेश जानुअघि आधिकारिक प्रक्रिया, करारका सर्त तथा गन्तव्य मुलुकको कानुनी व्यवस्थाबारे बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।
वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न गृह मन्त्रालयले बनायो विशेष कार्यदल

Read Complete Original Article
Published originally on पर्दाफास






