Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विश्व हल्लाउने वित्तीय लुट

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व हल्लाउने वित्तीय लुट
Photo / Coverage: नेपालन्युज

२० जुलाई २०१६ मा अमेरिकी न्याय मन्त्रालयले एउटा यस्तो कानुनी कदम चाल्यो, जसको असर मलेसियाको राजनीतिक नेतृत्वमा मात्र सीमित रहेन, विश्वको वित्तीय प्रणालीसमेत कठघरामा उभियो। मन्त्रालयअन्तर्गतको सम्पत्ति जफत तथा पुनः प्राप्ति गर्ने निकायले मलेसियाको सरकारी लगानी कोष ‘वानएमडीबी’ बाट दुरुपयोग भएको भनिएको रकमले खरिद गरिएका सम्पत्ति जफत गर्न अदालतमा निवेदन दर्ता गर्‍यो। निवेदनमा उल्लेखित रकम, कारोबार र सम्पत्तिको सूची सामान्य भ्रष्टाचारको घटनाभन्दा निकै ठूलो थियो। न्युयोर्क र लस एन्जलसका महँगा घर, बेभर्ली हिल्सका सम्पत्ति, बहुमूल्य चित्रकला, विलासी गहना, निजी विमान र मनोरञ्जन उद्योगमा गरिएको लगानीसम्म त्यसको वित्तीय पदचिह्न फैलिएको थियो। अनुसन्धानकर्ताहरूले सरकारी विकास कोषबाट हराएको रकम अन्तर्राष्ट्रिय बैंकिङ प्रणाली हुँदै कसरी व्यक्तिगत सम्पत्तिमा परिणत भयो भन्ने विवरण सार्वजनिक गरिरहेका थिए। सरकारी कोषबाट निस्किएको पैसा कसरी विश्वका प्रतिष्ठित बैंक, अपतटीय कम्पनी, राजनीतिक सम्बन्ध र मनोरञ्जन उद्योगसम्म पुग्यो? यति ठूलो कारोबार भइरहँदा नियमन गर्ने निकायहरू किन समयमै रोक्न असफल भए? अमेरिकी न्याय मन्त्रालयका अनुसार सन् २००९ देखि २०१५ सम्म वानएमडीबीसँग सम्बन्धित उच्च अधिकारी र उनीहरूका सहयोगीहरूले कम्तीमा ४ अर्ब ५० करोड अमेरिकी डलर दुरुपयोग गरेका थिए। यो रकम मलेसियाका जनताको आर्थिक विकासका लागि परिचालन हुनुपर्ने सार्वजनिक सम्पत्ति थियो। तर त्यसको ठूलो हिस्सा अन्तर्राष्ट्रिय वित्तीय कारोबार, घुस, सम्पत्ति खरिद र व्यक्तिगत विलासितामा प्रयोग भएको अनुसन्धानले देखाएको थियो। यो प्रकरणको सबैभन्दा असाधारण पक्ष के थियो भने रकम दुरुपयोग भएको कोष कुनै निजी कम्पनी वा अपरिचित वित्तीय समूहको थिएन। त्यो मलेसिया सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था थियो। त्यसको राजनीतिक संरचनाको केन्द्रमा देशका प्रधानमन्त्री नै थिए। सरकारको विकास योजनाका रूपमा सुरु भएको संस्था कसरी अन्तर्राष्ट्रिय वित्तीय अपराधको जालोमा फस्यो? सरकारी कोषबाट निस्किएको पैसा कसरी विश्वका प्रतिष्ठित बैंक, अपतटीय कम्पनी, राजनीतिक सम्बन्ध र मनोरञ्जन उद्योगसम्म पुग्यो? यति ठूलो कारोबार भइरहँदा नियमन गर्ने निकायहरू किन समयमै रोक्न असफल भए? वानएमडीबी प्रकरण केवल मलेसियाको भ्रष्टाचारको कथा थिएन। यो राज्यसत्ताको नियन्त्रण, अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीको कमजोरी, राजनीतिक संरक्षण र विश्वव्यापी सम्पत्ति शुद्धीकरणको एउटा असाधारण उदाहरण थियो। मलेसियाको संसद् भवन। स्रोत: युवे अरानास, विकिमिडिया कमन्स। एउटा विकास कोषको जन्म यसको कथा सन् २००८ बाट सुरु हुन्छ। मलेसियामा लामो समयदेखि सत्तामा रहेको युनाइटेड मलायस नेसनल अर्गनाइजेसन (यूएमएनओ) नेतृत्वको बारिसन नेसनल गठबन्धनले आर्थिक विकास र राजनीतिक स्थायित्वलाई आफ्नो शासनको मुख्य आधार बनाएको थियो। सन् २००९ अप्रिलमा प्रधानमन्त्री बनेका नजिब रजाकले देशको अर्थतन्त्रलाई नयाँ लगानी, पूर्वाधार र अन्तर्राष्ट्रिय साझेदारीमार्फत विस्तार गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारे। यसअघि सन् २००८ मा तेरेङ्गानु इन्भेस्टमेन्ट अथोरिटी नामक लगानी संस्थाको अवधारणा अघि आएको थियो। पछि सङ्घीय सरकारले त्यसलाई आफ्नो नियन्त्रणमा लिएर राष्ट्रिय विकास कोषको स्वरूप दिने निर्णय गर्‍यो। सन् २००९ मा त्यसको नाम परिवर्तन गरी वान मलेसिया डेभलपमेन्ट बेरहाड अर्थात् वानएमडीबी राखियो। संस्था मलेसियाको अर्थ मन्त्रालयको पूर्ण स्वामित्वमा थियो। यसको उद्देश्य ऊर्जा, घरजग्गा, पूर्वाधार र अन्य रणनीतिक क्षेत्रमा लगानी आकर्षित गर्नु तथा देशको दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्‍याउनु थियो। मलेसियाको अर्थतन्त्रलाई विश्व बजारसँग जोड्ने उद्देश्यले स्थापना भएको कोषले सुरुवाती चरणमै अन्तर्राष्ट्रिय साझेदारी र ठूलो लगानीको बाटो रोज्यो। तर ती साझेदारीमध्ये एउटा सम्बन्धले भविष्यको वित्तीय सङ्कटको ढोका खोल्यो। नजिब प्रधानमन्त्री मात्र थिएनन्, अर्थमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका थिए। उनी वानएमडीबीको सल्लाहकार बोर्डका अध्यक्षसमेत बने। यसले संस्थाको निर्णय प्रक्रियामा राजनीतिक नेतृत्वको प्रत्यक्ष प्रभाव स्थापित गर्‍यो। यही संरचना पछि विवादको एउटा प्रमुख आधार बन्यो। सार्वजनिक कोषको सञ्चालनमा व्यावसायिक स्वतन्त्रता, पारदर्शिता र प्रभावकारी निगरानी आवश्यक थियो। तर संस्थाको उच्च राजनीतिक सम्बन्ध, ऋण उठाउने क्षमता र निर्णय प्रक्रियामाथिको सीमित सार्वजनिक निगरानीले जोखिम बढाउँदै लग्यो। मलेसियाको अर्थतन्त्रलाई विश्व बजारसँग जोड्ने उद्देश्यले स्थापना भएको कोषले सुरुवाती चरणमै अन्तर्राष्ट्रिय साझेदारी र ठूलो लगानीको बाटो रोज्यो। तर ती साझेदारीमध्ये एउटा सम्बन्धले भविष्यको वित्तीय सङ्कटको ढोका खोल्यो। मलेसियाको राजधानी क्वालालम्पुरको व्यावसायिक क्षेत्र। स्रोत: विकिमिडिया कमन्स पहिलो ठूलो कारोबार पेट्रोसाउदीसँग सेप्टेम्बर २००९ मा वानएमडीबीले साउदी अरबमा आधारित निजी कम्पनी पेट्रोसाउदी इन्टरनेसनलसँग संयुक्त लगानी सम्झौता गर्‍यो। सम्झौताअनुसार वानएमडीबीले एक अर्ब अमेरिकी डलर नगद लगानी गरेर संयुक्त कम्पनीमा ४० प्रतिशत हिस्सा लिने र पेट्रोसाउदीले तुर्कमेनिस्तान तथा अर्जेन्टिनाका ऊर्जा परियोजनासम्बन्धी अधिकार उपलब्ध गराएर ६० प्रतिशत हिस्सा लिने व्यवस्था थियो। ऊर्जा क्षेत्रमा ठूलो सम्भावना देखिएको उक्त परियोजना मलेसियाको अन्तर्राष्ट्रिय लगानी विस्तार गर्ने आकर्षक अवसरका रूपमा प्रस्तुत गरिएको थियो। तर अमेरिकी न्याय मन्त्रालयले सन् २०१७ मा दायर गरेको विस्तृत सम्पत्ति जफतसम्बन्धी उजुरीले यस कारोबारको अर्को पाटो सार्वजनिक गर्‍यो। उक्त उजुरीअनुसार वानएमडीबीले संयुक्त लगानीमा पठाएको एक अर्ब डलरमध्ये ७० करोड डलर पेट्रोसाउदीको स्वामित्वमा रहेको कम्पनी मानगई गुडस्टार लिमिटेड नामक संस्थाको स्विस बैंक खातामा पुगेको थियो। अनुसन्धानकर्ताहरूका अनुसार उक्त कम्पनी झोलोको नियन्त्रणमा थियो। प्रारम्भिक चरणमै एक अर्ब डलरभन्दा बढी रकम वानएमडीबीको घोषित लगानी उद्देश्यभन्दा फरक दिशामा गएको अमेरिकी अनुसन्धानको निष्कर्ष थियो। झोलोको वास्तविक नाम लो टेक जो थियो। उनी मलेसियाका प्रभावशाली राजनीतिक तथा व्यावसायिक परिवारसँग निकट सम्बन्ध राख्ने युवा वित्तीय मध्यस्थकर्ता थिए। उनी कुनै निर्वाचित पदमा थिएनन्, न त वानएमडीबीका औपचारिक उच्च अधिकारी नै थिए। तर अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंकर र राजनीतिक नेतृत्वबीच सम्बन्ध स्थापित गर्न सक्ने उनको क्षमताले उनलाई असाधारण प्रभावशाली बनाएको थियो। अमेरिकी उजुरीले सन् २०११ को मेदेखि अक्टोबरसम्म थप करिब ३३ करोड डलर पनि गुडस्टारको खातामा पठाइएको दाबी गरेको थियो। यसरी प्रारम्भिक चरणमै एक अर्ब डलरभन्दा बढी रकम वानएमडीबीको घोषित लगानी उद्देश्यभन्दा फरक दिशामा गएको अमेरिकी अनुसन्धानको निष्कर्ष थियो। यस कारोबारमा सबैभन्दा महत्त्वपूर्ण प्रश्न पैसा कहाँ गयो भन्ने मात्र थिएन। त्यो पैसा पठाउन कसले निर्णय गर्‍यो, बैंकहरूलाई कुन विवरण दिइयो र संस्थाको आन्तरिक निगरानीले यस्तो कारोबार कसरी स्वीकार गर्‍यो भन्ने पनि थियो। मलेसियाको सार्वजनिक कोषबाट निस्किएको रकम स्विट्जरल्यान्डको बैंकिङ प्रणालीमा पुगिसकेको थियो। तर मलेसियाका अधिकांश नागरिकलाई त्यसबारे कुनै जानकारी थिएन। मलेसियाको केन्द्रीय बैंक। स्रोत: काइह्सु ताइ, विकिमिडिया कमन्स झोलो पदबिनाको शक्ति वानएमडीबी प्रकरणका सबैभन्दा रहस्यमय पात्रमध्ये एक थिए झोलो। मलेसियाको पेनाङमा जन्मिएका लोले उच्च शिक्षा विदेशमा हासिल गरेका थिए। अमेरिका र मध्यपूर्वका धनी तथा प्रभावशाली परिवारसँग उनको सम्पर्क विस्तार हुँदै गएको थियो। राजनीतिक परिवारसँगको निकटता र अन्तर्राष्ट्रिय सामाजिक सम्बन्धले उनलाई वित्तीय कारोबारमा सहज पहुँच प्रदान गरेको थियो। उनको शक्ति कुनै औपचारिक सरकारी पदबाट आएको थिएन। त्यो व्यक्तिगत सम्बन्ध, पहुँच र विश्वासको सञ्जालबाट बनेको थियो। लोले अन्तर्राष्ट्रिय वित्तीय संस्था, लगानीकर्ता र मलेसियाली राजनीतिक नेतृत्वबीच मध्यस्थता गरेको अमेरिकी अभियोजन पक्षको दाबी थियो। उनीमाथि सरकारी कोषको रकम विभिन्न कम्पनी र खातामार्फत अन्यत्र पठाउने योजनामा प्रमुख भूमिका खेलेको आरोप लाग्यो। सरकारी संस्थाको कुनै औपचारिक पदमा नरहेको व्यक्तिले त्यसको अर्बौँ डलरको वित्तीय कारोबारमा यति ठूलो प्रभाव कसरी प्राप्त गर्न सक्यो? यही प्रश्नको उत्तर खोज्दै जाँदा अनुसन्धान मलेसियाबाट सिङ्गापुर, स्विट्जरल्यान्ड, हङकङ, संयुक्त अरब इमिरेट्स र अमेरिकासम्म फैलियो। उनको जीवनशैली पनि क्रमशः असाधारण बन्दै गएको थियो। महँगा पार्टी, अन्तर्राष्ट्रिय सेलिब्रेटीसँगको सम्बन्ध, विलासी होटल, निजी विमान र विश्वका महँगा सम्पत्तिमा उनको उपस्थिति चर्चित भयो। यी गतिविधिको वास्तविक वित्तीय स्रोत के थियो भन्ने प्रश्न त्यतिबेला व्यापक रूपमा उठेको थिएन। लोले आफ्नो पहुँचलाई व्यक्तिगत सम्पत्तिमा बदल्न खोजेको अभियोजन पक्षको दाबी थियो। उनको भूमिकाले एउटा गम्भीर संस्थागत प्रश्न जन्मायो। सरकारी संस्थाको कुनै औपचारिक पदमा नरहेको व्यक्तिले त्यसको अर्बौँ डलरको वित्तीय कारोबारमा यति ठूलो प्रभाव कसरी प्राप्त गर्न सक्यो? यही प्रश्नको उत्तर खोज्दै जाँदा अनुसन्धान मलेसियाबाट सिङ्गापुर, स्विट्जरल्यान्ड, हङकङ, संयुक्त अरब इमिरेट्स र अमेरिकासम्म फैलियो। मलेसियाको पुत्राजयस्थित अर्थ मन्त्रालयको भवन। स्रोत: फिलिप नालाङ्गन, विकिमिडिया कमन्स अर्बौँ डलरको ऋण र गोल्डम्यान स्याक्स वानएमडीबीको आर्थिक विस्तार सरकारी पुँजीमा मात्र निर्भर थिएन। उसले अन्तर्राष्ट्रिय बजारबाट ठूलो परिमाणमा ऋण उठाउन थाल्यो। यसक्रममा अमेरिकी लगानी बैंक गोल्डम्यान स्याक्स महत्त्वपूर्ण साझेदार बन्यो। सन् २०१२ र २०१३ मा गोल्डम्यान स्याक्सले वानएमडीबीका लागि तीनवटा ऋणपत्र निष्कासन तथा बिक्री व्यवस्थापन गर्‍यो। यी कारोबारबाट कुल ६ अर्ब ५० करोड अमेरिकी डलर जुटाइएको थियो। ऋणपत्र भनेको लगानीकर्ताबाट ऋण उठाउने वित्तीय साधन हो। कम्पनी वा सरकारले निश्चित ब्याज तिर्ने र निर्धारित समयमा मूलधन फिर्ता गर्ने प्रतिबद्धतासहित यस्ता ऋणपत्र जारी गर्छन्। वानएमडीबीले विकास परियोजनाका लागि ऋण उठाएको थियो। तर पछि अमेरिकी अनुसन्धानले ती ऋणपत्रबाट उठाइएको रकमको ठूलो हिस्सा अन्यत्र पठाइएको आरोपसहित विस्तृत वित्तीय विवरण सार्वजनिक गर्‍यो। ठूलो सरकारी ऋण कारोबारमा बैंकको आन्तरिक जोखिम मूल्याङ्कन, ग्राहक पहिचान र वित्तीय निगरानी अत्यन्तै कठोर हुनुपर्ने हो। तर वानएमडीबी कारोबारमा बैंकका आफ्नै नियन्त्रण प्रणाली र वरिष्ठ अधिकारीहरूको भूमिकामाथि गम्भीर प्रश्न उठे। गोल्डम्यान स्याक्सका पूर्ववरिष्ठ अधिकारी टिम लेइस्नर र रोजर एनजी यस कारोबारका प्रमुख पात्र बने। लेइस्नर दक्षिणपूर्वी एसियामा गोल्डम्यान स्याक्सका वरिष्ठ अधिकारी थिए। एनजी पनि बैंकका प्रबन्ध निर्देशक थिए। अमेरिकी अभियोजन पक्षका अनुसार उनीहरूले झोलो र अन्य व्यक्तिसँग मिलेर वानएमडीबीको रकम दुरुपयोग गर्ने तथा सरकारी अधिकारीहरूलाई घुस दिने योजनामा भूमिका खेलेका थिए। अमेरिकी न्याय मन्त्रालयले उनीहरूको योजनामार्फत मलेसिया र अबुधाबीका सरकारी अधिकारीहरूलाई एक अर्ब डलरभन्दा बढी घुस दिने षड्यन्त्र भएको अभियोगमा उल्लेख गरेको थियो। यसको उद्देश्य वानएमडीबीसँग सम्बन्धित आकर्षक वित्तीय कारोबार प्राप्त गर्नु र कायम राख्नु थियो। गोल्डम्यान स्याक्सले यी तीनवटा ऋणपत्र कारोबार र सम्बन्धित अन्य कामबाट आफ्ना विभिन्न विभागमार्फत ६० करोड डलरभन्दा बढी आम्दानी गरेको अमेरिकी नियामकीय कागजातमा उल्लेख छ। सामान्यतया यति ठूलो सरकारी ऋण कारोबारमा बैंकको आन्तरिक जोखिम मूल्याङ्कन, ग्राहक पहिचान र वित्तीय निगरानी अत्यन्तै कठोर हुनुपर्ने हो। तर वानएमडीबी कारोबारमा बैंकका आफ्नै नियन्त्रण प्रणाली र वरिष्ठ अधिकारीहरूको भूमिकामाथि गम्भीर प्रश्न उठे। यस प्रकरणले अन्तर्राष्ट्रिय लगानी बैंकहरूको एउटा असहज वास्तविकता सार्वजनिक गर्‍यो। ठूलो कारोबारबाट प्राप्त हुने नाफा र त्यसका लागि पालना गर्नुपर्ने नैतिक तथा कानुनी जिम्मेवारीबीचको द्वन्द्वमा कतिपय संस्थाले आफ्नो निगरानी प्रणाली प्रभावकारी बनाउन सकेनन्। वानएमडीबी प्रकरणको अनुसन्धान पुनः सुरु भएपछि सन् २०१८ जुलाईमा मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक पक्राउ परेका थिए। स्रोत: विकिमिडिया कमन्स पैसा कहाँ पुग्यो? वानएमडीबीको रकमको अन्तर्राष्ट्रिय यात्रा वित्तीय अपराध अनुसन्धानको सबैभन्दा जटिल पक्ष थियो। रकम एउटै खाताबाट अर्को खातामा सिधै पठाइएको थिएन। विभिन्न देशमा दर्ता गरिएका कम्पनी, बैंक खाता, ऋण सम्झौता र लगानी संरचनामार्फत त्यसलाई घुमाइएको थियो। यस्ता कम्पनीमध्ये केही वास्तविक व्यावसायिक गतिविधिभन्दा पनि स्वामित्व लुकाउन र कारोबारको वास्तविक उद्देश्य अस्पष्ट बनाउन प्रयोग भएको अमेरिकी अनुसन्धानको आरोप थियो। अमेरिकी न्याय मन्त्रालयका कागजातले वानएमडीबीको रकमबाट खरिद गरिएका वा त्यससँग जोडिएका विभिन्न सम्पत्ति पहिचान गरेका थिए। त्यसमा न्युयोर्क र लस एन्जलसका महँगा अपार्टमेन्ट, बेभर्ली हिल्सका घर, निजी विमान, कलाकृति, गहना र अन्य विलासी सम्पत्ति समावेश थिए। यसको एउटा चर्चित उदाहरण हलिउड चलचित्र ‘द वुल्फ अफ वाल स्ट्रिट’ थियो। अमेरिकी न्याय मन्त्रालयले वानएमडीबीबाट ४ अर्ब ५० करोड डलरभन्दा बढी रकम दुरुपयोग भएको दाबी गरेको थियो। यो चलचित्र निर्माणमा संलग्न रेड ग्रानाइट पिक्चर्सका सहसंस्थापक रिजा अजिज नजिब रजाकका सौतेनी छोरा थिए। अमेरिकी अनुसन्धानले चलचित्र निर्माणमा प्रयोग भएको रकमको एउटा हिस्सा वानएमडीबीबाट दुरुपयोग गरिएको पैसासँग सम्बन्धित रहेको आरोप लगायो। चलचित्रको कथा नै वित्तीय ठगी, लोभ र विलासी जीवनशैलीको संसारसँग सम्बन्धित थियो। विडम्बना के थियो भने यसको निर्माणमा प्रयोग भएको भनिएको रकम पनि अर्को अन्तर्राष्ट्रिय वित्तीय घोटालाको अनुसन्धानसँग जोडियो। यसका अतिरिक्त झोलोले कलाकृति, महँगा सम्पत्ति र मनोरञ्जन क्षेत्रका विभिन्न कारोबारमा रकम खर्च गरेको अमेरिकी उजुरीमा उल्लेख थियो। अमेरिकी न्याय मन्त्रालयले वानएमडीबीबाट ४ अर्ब ५० करोड डलरभन्दा बढी रकम दुरुपयोग भएको दाबी गरेको थियो। यसको अर्थ सबै रकम कुनै एउटै व्यक्तिको खातामा पुगेको वा सबै सम्पत्ति एउटै कारोबारबाट खरिद भएको भन्ने होइन। रकम विभिन्न चरण, व्यक्ति र संस्थामार्फत परिचालन भएको अनुसन्धानको निष्कर्ष थियो। प्रधानमन्त्रीको खातामा पुगेको ६८ करोड डलर सन् २०१५ मा यो प्रकरण मलेसियाको राजनीतिक सङ्कटमा परिणत भयो। त्यसअघि नै वानएमडीबी ऋणको भुक्तानी गर्न सङ्घर्ष गरिरहेको थियो। जनवरी २०१५ मा करिब ५५ करोड डलरको ऋण भुक्तानी छुटेको खबर सार्वजनिक भएपछि संस्थाको वित्तीय अवस्थामाथि प्रश्न उठ्न थाले। सरकारी कोषको लगानी, ऋण र अन्तर्राष्ट्रिय कारोबारबारे छानबिनको माग बढ्यो। मार्च २०१५ मा सरकारले विशेष अनुसन्धान टोली गठन गर्‍यो। राष्ट्रिय लेखापरीक्षण विभागले पनि संस्थाको वित्तीय अवस्थाबारे अध्ययन सुरु गर्‍यो। तर सबैभन्दा ठूलो राजनीतिक विस्फोट जुलाई २०१५ मा भयो। मलेसियाका महान्यायाधिवक्ताले जनवरी २०१६ मा उपलब्ध अनुसन्धानका आधारमा उक्त रकम चन्दा भएको र त्यसको ठूलो हिस्सा फिर्ता गरिएको भन्दै नजिबलाई सफाइ दिए। तर त्यस निर्णयले विवाद समाप्त भएन। २ जुलाईमा द वाल स्ट्रिट जर्नल र सारावक रिपोर्टले वानएमडीबीसँग सम्बन्धित भनिएको करिब ७० करोड डलर नजिब रजाकको व्यक्तिगत बैंक खातामा पुगेको विवरण सार्वजनिक गरे। पछि सार्वजनिक भएका बैंकिङ अभिलेख र अमेरिकी अनुसन्धानले यस कारोबारको वित्तीय स्रोतबारे थप विवरण दिए। नजिबको खातामा पुगेको रकममध्ये करिब ६८ करोड १० लाख डलरको स्रोत वानएमडीबीसँग सम्बन्धित रहेको अमेरिकी अभियोजन पक्षको दाबी थियो। यो रकम व्यक्तिगत खातामा किन पुग्यो भन्ने प्रश्नले मलेसियाको राजनीति हल्लायो। नजिबले आफूले प्राप्त गरेको रकम साउदी अरबका शाही परिवारका एक सदस्यबाट आएको राजनीतिक चन्दा भएको दाबी गरे। मलेसियाका महान्यायाधिवक्ताले जनवरी २०१६ मा उपलब्ध अनुसन्धानका आधारमा उक्त रकम चन्दा भएको र त्यसको ठूलो हिस्सा फिर्ता गरिएको भन्दै नजिबलाई सफाइ दिए। तर त्यस निर्णयले विवाद समाप्त भएन। बरु अनुसन्धानको नेतृत्व गरिरहेका महान्यायाधिवक्ता अब्दुल घानी पातेललाई जुलाई २०१५ मा पदबाट हटाइयो। मन्त्रिपरिषद् पुनर्गठन गर्दै नजिबका आलोचक उपप्रधानमन्त्री मुहिद्दिन यासिनलाई पनि पदबाट हटाइयो। वानएमडीबीमाथिको संसदीय छानबिनको नेतृत्व गरिरहेका सांसदसमेत सरकारी जिम्मेवारीमा पुगे। मलेसियामा सरकार समर्थक र विरोधीबीचको राजनीतिक ध्रुवीकरण तीव्र हुँदै गयो। सडक प्रदर्शन, नागरिक अभियान र सञ्चारमाध्यममा वानएमडीबी प्रमुख बहसको विषय बन्यो। यी निर्णयले सरकारी अनुसन्धानको स्वतन्त्रतामाथि थप प्रश्न उठायो। आलोचकहरूले सत्ताले आफ्नैविरुद्ध उठेको अनुसन्धान नियन्त्रण गर्न खोजेको आरोप लगाए। नजिबले भने आफूविरुद्धका आरोप अस्वीकार गर्दै आएका थिए। यसबीच मलेसियामा सरकार समर्थक र विरोधीबीचको राजनीतिक ध्रुवीकरण तीव्र हुँदै गयो। सडक प्रदर्शन, नागरिक अभियान र सञ्चारमाध्यममा वानएमडीबी प्रमुख बहसको विषय बन्यो। पर्दापछाडिका दस्तावेज यो प्रकरणको अन्तर्राष्ट्रिय खुलासामा पत्रकारिता र भित्री सूचनाको महत्त्वपूर्ण भूमिका रह्यो। ब्रिटिस पत्रकार क्लेयर रेकासल ब्राउनले सञ्चालन गरेको सारावक रिपोर्टले वानएमडीबीका कारोबारबारे निरन्तर खोजमूलक समाचार प्रकाशित गरिरहेको थियो। अर्कोतर्फ द वाल स्ट्रिट जर्नलका टम राइट, ब्राड्ली होपलगायतका पत्रकारले बैंकिङ अभिलेख, कम्पनीको स्वामित्व र विभिन्न देशमा भएका वित्तीय कारोबारको विस्तृत अनुसन्धान गरे। यस अनुसन्धानमा पेट्रोसाउदीका पूर्वकर्मचारी तथा निर्देशक जेभियर जुस्टोबाट प्राप्त सूचनाले पनि महत्त्वपूर्ण भूमिका खेल्यो। जुस्टोसँग पेट्रोसाउदीको आन्तरिक कारोबारसम्बन्धी दस्तावेज थिए। उनले ती सामग्री बाहिर ल्याउने क्रममा कम्पनीका आन्तरिक सूचनाहरू पत्रकारसम्म पुग्ने बाटो खुलेको थियो। थाइल्यान्डमा उनलाई पछि पक्राउ गरियो र मलेसियामा रहेका कम्पनीसँग सम्बन्धित आरोपमा मुद्दा चलाइयो। शक्तिशाली सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाको संलग्नतामा विकसित भएको कारोबारसमेत दस्तावेज, बैंक अभिलेख र स्वतन्त्र पत्रकारिताको सहायताले सार्वजनिक बहसमा ल्याउन सकिन्छ। यी दस्तावेजले सार्वजनिक गरेको वित्तीय विवरणले अन्तर्राष्ट्रिय अनुसन्धानलाई नयाँ दिशा दियो। सन् २०१६ मा द वाल स्ट्रिट जर्नलका पत्रकार टम राइट र ब्राड्ली होपसहितको टोलीलाई पुलित्जर पुरस्कारको खोजमूलक पत्रकारिता विधामा अन्तिम प्रतिस्पर्धीका रूपमा छनोट गरियो। उनीहरूको अनुसन्धानले सात देशमा फैलिएको वित्तीय कारोबार, राजनीतिक सम्बन्ध र सरकारी कोषको दुरुपयोगलाई सार्वजनिक गरेको थियो। यो घटनाले एउटा महत्त्वपूर्ण तथ्य स्थापित गर्‍यो। शक्तिशाली सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाको संलग्नतामा विकसित भएको कारोबारसमेत दस्तावेज, बैंक अभिलेख र स्वतन्त्र पत्रकारिताको सहायताले सार्वजनिक बहसमा ल्याउन सकिन्छ। अमेरिकी अनुसन्धानको प्रवेश मलेसियाभित्र राजनीतिक विवाद र संस्थागत अनुसन्धान चलिरहेकै बेला अमेरिकाले आफ्नो वित्तीय प्रणाली हुँदै प्रवेश गरेको वानएमडीबीको रकमबारे अनुसन्धान अघि बढायो। २० जुलाई २०१६ मा अमेरिकी न्याय मन्त्रालयले वानएमडीबीबाट दुरुपयोग भएको रकमले खरिद गरिएका सम्पत्ति जफत गर्न पहिलो ठूलो कानुनी प्रक्रिया सार्वजनिक गर्‍यो। अमेरिकी कानुनअन्तर्गत नागरिक सम्पत्ति जफतसम्बन्धी उजुरीमा आपराधिक मुद्दामा व्यक्तिलाई दोषी प्रमाणित गर्नु अनिवार्य हुँदैन। गैरकानुनी रकमबाट खरिद गरिएको सम्पत्तिमाथि कानुनी दाबी गरेर त्यसलाई जफत गर्न सकिन्छ। त्यसैले अमेरिकी अनुसन्धानको यो प्रक्रिया मलेसियाभन्दा बाहिर रहेका सम्पत्तिको वित्तीय स्रोत पत्ता लगाउने महत्त्वपूर्ण माध्यम बन्यो। अमेरिकी न्याय मन्त्रालयले सन् २०१६ देखि विभिन्न चरणमा दायर गरेका सम्पत्ति जफतसम्बन्धी मुद्दामा कुल १ अर्ब ७० करोड डलरभन्दा बढी मूल्यका सम्पत्ति जफत गर्ने प्रयास गरेको जनाएको थियो। अमेरिकी अनुसन्धानले न्युयोर्क, लस एन्जलस र अन्य क्षेत्रमा रहेका सम्पत्ति पहिचान गर्दै अन्तर्राष्ट्रिय बैंकिङ अभिलेखका आधारमा रकमको स्रोत खोज्न थाल्यो। अमेरिकी न्याय मन्त्रालयले सन् २०१६ देखि विभिन्न चरणमा दायर गरेका सम्पत्ति जफतसम्बन्धी मुद्दामा कुल १ अर्ब ७० करोड डलरभन्दा बढी मूल्यका सम्पत्ति जफत गर्ने प्रयास गरेको जनाएको थियो। त्यसपछि थप उजुरीहरू दर्ता भए। यसले मलेसियाको राजनीतिक विवादलाई अन्तर्राष्ट्रिय कानुनी अनुसन्धानमा रूपान्तरण गर्‍यो। सन् २०१८ मा चुनावले बदलिएको सत्ता वानएमडीबी प्रकरणले मलेसियाको राजनीतिमा निर्णायक प्रभाव पार्‍यो। सन् २०१८ को आमनिर्वाचनमा नजिब नेतृत्वको बारिसन नेसनल गठबन्धन पराजित भयो। सन् १९५७ मा स्वतन्त्रता प्राप्त गरेयता निरन्तर सत्तामा रहेको गठबन्धनले पहिलोपटक केन्द्र सरकारको नेतृत्व गुमायो। यस परिवर्तनको नेतृत्व पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले गरेका थिए। उनी विपक्षी गठबन्धन पाकातान हरापानको नेतृत्व गर्दै चुनावी मैदानमा फर्किएका थिए। महाथिर कुनै समय नजिबकै राजनीतिक परम्पराका शक्तिशाली नेता थिए। तर वानएमडीबी प्रकरणपछि उनी नजिबका सबैभन्दा प्रभावशाली आलोचक बने। निर्वाचनको परिणामले मलेसियाको राजनीतिमा नयाँ अध्याय खोल्यो। नजिबले प्रधानमन्त्री पद गुमाए। नयाँ सरकारले वानएमडीबीको अनुसन्धान पुनः सुरु गर्‍यो र विभिन्न स्थानमा छापा मारेर दस्तावेज तथा सम्पत्ति नियन्त्रणमा लिन थाल्यो। अमेरिकी न्याय मन्त्रालयले झोलो र रोजर एनजीमाथि सम्पत्ति शुद्धीकरण तथा विदेशी सरकारी अधिकारीलाई घुस दिनेसम्बन्धी अभियोग लगायो। यसअघि अगस्ट २०१८ मा टिम लेइस्नरले अमेरिकी अदालतमा आफ्नो दोष स्वीकार गरिसकेका थिए। मे २०१८ मा नजिबसँग सम्बन्धित विभिन्न निवासमा प्रहरीले छापा मार्‍यो। अनुसन्धानका क्रममा नगद, गहना, घडी र विलासी सामानहरू बरामद गरिएको विवरण सार्वजनिक भयो। जुलाई २०१८ मा नजिब पक्राउ परे र उनीमाथि आपराधिक विश्वासघात तथा शक्तिको दुरुपयोगसम्बन्धी आरोपमा मुद्दा अघि बढ्यो। सेप्टेम्बर २०१८ मा उनीमाथि वानएमडीबीसँग सम्बन्धित २ अर्ब ३० करोड मलेसियन रिङ्गिटको कारोबारबारे शक्तिको दुरुपयोगका चार र सम्पत्ति शुद्धीकरणका २१ अभियोग लगाइयो। यसरी एउटा सरकारी विकास कोषको वित्तीय विवाद अन्ततः देशको प्रधानमन्त्रीलाई अदालतमा पुर्‍याउने घटनामा परिणत भयो। गोल्डम्यान स्याक्सको कानुनी सङ्कट वानएमडीबी प्रकरणले नजिबको राजनीतिक भविष्य मात्र समाप्त गरेन। विश्वकै प्रतिष्ठित लगानी बैंकहरूमध्ये एक गोल्डम्यान स्याक्सलाई पनि गम्भीर कानुनी सङ्कटमा पुर्‍यायो। नोभेम्बर २०१८ मा अमेरिकी न्याय मन्त्रालयले झोलो र रोजर एनजीमाथि सम्पत्ति शुद्धीकरण तथा विदेशी सरकारी अधिकारीलाई घुस दिनेसम्बन्धी अभियोग लगायो। यसअघि अगस्ट २०१८ मा टिम लेइस्नरले अमेरिकी अदालतमा आफ्नो दोष स्वीकार गरिसकेका थिए। लेइस्नरले आफू र अन्य व्यक्तिहरू वानएमडीबी कारोबारसँग जोडिएको घुस तथा रकम शुद्धीकरण योजनामा संलग्न भएको स्वीकार गरेका थिए। उनले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए। अप्रिल २०२२ मा रोजर एनजी अमेरिकी अदालतबाट दोषी ठहर भए। मार्च ९, २०२३ मा उनलाई १० वर्षको जेल सजाय सुनाइयो। वानएमडीबी कारोबारसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा बैंकको मलेसियाली सहायक कम्पनीको भूमिकाबारे आपराधिक दायित्व स्वीकार गर्ने व्यवस्था भयो। लेइस्नरले दोष स्वीकार गरे पनि उनको मुद्दाको अन्तिम सजायको अवस्था एनजीको जस्तो थिएन। उनी अमेरिकी अनुसन्धानमा सहयोगी साक्षी बनेका थिए। झोलो भने पक्राउबाट जोगिँदै आएका थिए। उनीमाथि अमेरिकामा अभियोग लागे पनि नोभेम्बर २०२६ सम्म सार्वजनिक रूपमा उनी पक्राउ परेको पुष्टि भएको छैन। अक्टोबर २०२० मा गोल्डम्यान स्याक्सले अमेरिकी अभियोजन तथा नियामकीय निकायहरूसँग सम्झौता गर्‍यो। वानएमडीबी कारोबारसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा बैंकको मलेसियाली सहायक कम्पनीको भूमिकाबारे आपराधिक दायित्व स्वीकार गर्ने व्यवस्था भयो। अमेरिका, बेलायत, सिङ्गापुर र अन्य निकायसँगको समन्वयमा बैंकले २ अर्ब ९० करोड डलरभन्दा बढी रकम भुक्तानी गर्न सहमति जनायो। मलेसिया सरकारले गोल्डम्यान स्याक्ससँग छुट्टै सम्झौता गर्दै करिब ३ अर्ब ९० करोड डलर बराबरको आर्थिक समाधान प्राप्त गर्ने व्यवस्था गर्‍यो। यसमा कम्तीमा २ अर्ब ५० करोड डलरको निश्चित सम्पत्ति पुनः प्राप्ति र थप १ अर्ब ४० करोड डलर बराबरको सम्पत्ति फिर्ता हुने सुनिश्चिततासम्बन्धी प्रावधान समावेश थियो। यो सम्झौताले बैंकको वित्तीय र कानुनी जिम्मेवारी स्थापित गर्‍यो। तर यसले एउटा ठूलो प्रश्न पनि छाड्यो। यति ठूलो कारोबारलाई सम्भव बनाउने बैंकको आन्तरिक नियन्त्रण प्रणाली किन प्रभावकारी हुन सकेन? नजिब अदालतमा एउटा ऐतिहासिक फैसला नजिब रजाकविरुद्धका मुद्दाहरू एउटै थिएनन्। वानएमडीबीसँग सम्बन्धित विभिन्न कारोबार, त्यसको सहायक कम्पनी एसआरसी इन्टरनेसनल र सरकारी रकमको दुरुपयोगबारे अलग-अलग अभियोग लगाइएको थियो। २८ जुलाई २०२० मा क्वालालम्पुर उच्च अदालतले एसआरसी इन्टरनेसनलसँग सम्बन्धित ४ करोड २० लाख रिङ्गिट दुरुपयोग गरेको अभियोगमा नजिबलाई दोषी ठहर गर्‍यो। अदालतले उनलाई शक्तिको दुरुपयोग, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरणका सात अभियोगमा दोषी ठहर गर्दै १२ वर्ष जेल र २१ करोड रिङ्गिट जरिवाना सुनायो। नजिबलाई १५ वर्ष जेल सजाय र ११ अर्ब ४० करोड रिङ्गिटभन्दा बढी जरिवाना सुनाइयो। जेल सजायहरू एकैसाथ गणना हुने व्यवस्था गरियो। त्यसैले उनले १५ वर्ष जेल बस्नुपर्ने भयो। ८ डिसेम्बर २०२१ मा पुनरावेदन अदालतले फैसला सदर गर्‍यो। २३ अगस्ट २०२२ मा सङ्घीय अदालतले अन्तिम पुनरावेदन खारेज गरेपछि उनी जेल चलान भए। सन् २०२४ मा मलेसियाको राजकीय क्षमादान बोर्डले उनको जेल सजाय १२ वर्षबाट घटाएर ६ वर्ष र जरिवाना २१ करोडबाट घटाएर ५ करोड रिङ्गिट बनायो। यो एसआरसी प्रकरण थियो, वानएमडीबीको मुख्य कारोबारसँग सम्बन्धित मुद्दा होइन। त्यसको मुख्य मुद्दा भने अदालतमा विचाराधीन थियो। २६ डिसेम्बर २०२५ मा क्वालालम्पुर उच्च अदालतले नजिबलाई वानएमडीबीसँग सम्बन्धित २ अर्ब ३० करोड रिङ्गिटको कारोबारमा शक्तिको दुरुपयोगका चार र सम्पत्ति शुद्धीकरणका २१ अभियोगमा दोषी ठहर गर्‍यो। अदालतले अभियोजन पक्षले सबै २५ अभियोग शङ्कारहित रूपमा प्रमाणित गरेको निष्कर्ष निकाल्यो। नजिबलाई १५ वर्ष जेल सजाय र ११ अर्ब ४० करोड रिङ्गिटभन्दा बढी जरिवाना सुनाइयो। जेल सजायहरू एकैसाथ गणना हुने व्यवस्था गरियो। त्यसैले उनले १५ वर्ष जेल बस्नुपर्ने भयो। तर त्यो सजाय एसआरसी प्रकरणको बाँकी सजायपछि मात्र सुरु हुने आदेश थियो। नजिबले आफूविरुद्धको फैसला स्वीकार गरेका छैनन्। उनले सन् २०२५ डिसेम्बर २९ मा फैसलाविरुद्ध पुनरावेदन दर्ता गरे। यसरी मलेसियाको इतिहासमा पहिलोपटक देशको नेतृत्व गरिसकेको व्यक्ति सरकारी विकास कोषसँग सम्बन्धित अर्बौँ रिङ्गिटको आर्थिक अपराधमा दोषी ठहर भयो। क्षमादान, जेल र कानुनी विवाद नजिबको कानुनी अवस्थाले सन् २०२६ मा अर्को नयाँ मोड लियो। १८ सेप्टेम्बर २०२६ मा मलेसियाको क्षमादान बोर्डले एसआरसी प्रकरणमा बाँकी जेल सजाय घरमै नजरबन्दमा बसेर पूरा गर्न दिने सर्तसहितको क्षमादानसम्बन्धी निर्णय सार्वजनिक गर्‍यो। त्यसका लागि ५ करोड रिङ्गिट जरिवाना भुक्तानी गर्नुपर्ने सर्त राखिएको थियो। यो निर्णयले वानएमडीबीको मुख्य मुद्दामा सुनाइएको १५ वर्षको सजाय स्वतः समाप्त गर्दैनथ्यो। १४ अक्टोबर २०२६ मा उच्च अदालतले वानएमडीबी प्रकरणको १५ वर्षे सजाय कार्यान्वयन रोक्न नजिबले दिएको निवेदन अस्वीकार गर्‍यो। उनको पक्षले पुनरावेदन अदालत जाने तयारी गरेको बतायो। त्यसपछि नोभेम्बर ६ मा अर्को कानुनी विवाद सार्वजनिक भयो। एसआरसी प्रकरणको जरिवाना भुक्तानी र घरमै नजरबन्दको आदेश कार्यान्वयन गर्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयले कानुनी स्पष्टता आवश्यक रहेको भन्दै प्रक्रिया अस्थायी रूपमा रोक्न माग गर्‍यो। यस घटनाले वानएमडीबी प्रकरणको राजनीतिक र कानुनी प्रभाव अझै समाप्त नभएको देखाउँछ। भ्रष्टाचारको अभियोग, दोषसिद्धि, राजकीय क्षमादान र अदालतको अधिकारबीचको सम्बन्धले मलेसियाको संस्थागत संरचनालाई निरन्तर परीक्षण गरिरहेको छ। यसले नजिबको एसआरसी सजाय कहिले र कसरी पूरा हुने भन्ने प्रश्नलाई फेरि अदालत र कार्यपालिकाबीचको विवादमा पुर्‍याएको छ। त्यसको असर वानएमडीबी प्रकरणको सजाय कहिले सुरु हुन्छ भन्ने विषयमा पनि पर्न सक्छ। नोभेम्बर ९, २०२६ सम्म यो विवादको अन्तिम न्यायिक समाधान भइसकेको छैन। यस घटनाले वानएमडीबी प्रकरणको राजनीतिक र कानुनी प्रभाव अझै समाप्त नभएको देखाउँछ। भ्रष्टाचारको अभियोग, दोषसिद्धि, राजकीय क्षमादान र अदालतको अधिकारबीचको सम्बन्धले मलेसियाको संस्थागत संरचनालाई निरन्तर परीक्षण गरिरहेको छ। हराएको रकमको खोजी वानएमडीबी प्रकरणको एउटा महत्त्वपूर्ण उपलब्धि दुरुपयोग भएको रकमको केही हिस्सा फिर्ता ल्याउनु पनि हो। अमेरिकी न्याय मन्त्रालयले सन् २०१६ देखि सुरु गरेको सम्पत्ति जफत तथा पुनः प्राप्ति प्रक्रियामार्फत विभिन्न देशमा रहेका सम्पत्ति पहिचान र नियन्त्रणमा लिइयो। अगस्ट २०२१ मा अमेरिकाले मलेसियालाई थप ४५ करोड २० लाख डलर फिर्ता पठाएको घोषणा गर्‍यो। त्यसबेला अमेरिकी निकायले फिर्ता गरिएको कुल रकम १ अर्ब २० करोड डलरभन्दा बढी पुगेको जनाएको थियो। १३ जुन २०२४ मा अमेरिकाले थप १५ करोड ६० लाख डलर मलेसियालाई फिर्ता पठायो। त्यससँगै अमेरिकी न्याय मन्त्रालयले वानएमडीबीसँग सम्बन्धित रकममध्ये करिब १ अर्ब ४० करोड डलर मलेसियालाई फिर्ता गरिसकेको जनाएको थियो। सार्वजनिक कोषको व्यवस्थापन, राजनीतिक नेतृत्वमाथिको निगरानी, बैंकहरूको ग्राहक पहिचान र अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरण नियन्त्रणजस्ता विषयमा वानएमडीबी एउटा महत्त्वपूर्ण चेतावनी बन्यो। यो सम्पत्ति पुनः प्राप्ति प्रक्रिया अमेरिकामा मात्र सीमित थिएन। सिङ्गापुर, स्विट्जरल्यान्ड, हङकङ र अन्य देशका नियामक तथा अनुसन्धान निकायले पनि रकम र सम्पत्ति पहिचान गर्न सहयोग गरेका थिए। यस प्रकरणमा फिर्ता भएको सम्पत्ति र जफत गर्ने प्रयासमा रहेको सम्पत्ति एउटै होइन। विभिन्न मुद्दामा सम्पत्ति नियन्त्रण, अन्तिम जफत र रकम फिर्ता गर्ने प्रक्रिया अलग-अलग चरणमा अघि बढेका थिए। मलेसियाले पनि आफ्नो वित्तीय प्रणालीमा सुधार र अनुसन्धानलाई निरन्तरता दिनुपर्ने दबाब सामना गर्‍यो। सार्वजनिक कोषको व्यवस्थापन, राजनीतिक नेतृत्वमाथिको निगरानी, बैंकहरूको ग्राहक पहिचान र अन्तर्राष्ट्रिय सम्पत्ति शुद्धीकरण नियन्त्रणजस्ता विषयमा वानएमडीबी एउटा महत्त्वपूर्ण चेतावनी बन्यो। संस्थाहरू किन असफल भए? वानएमडीबी प्रकरणको गहिरो विश्लेषण गर्दा यसलाई केही व्यक्तिको लोभ र गलत निर्णयमा मात्र सीमित गर्न सकिँदैन। यसको पहिलो कमजोरी राजनीतिक संरचनामै थियो। प्रधानमन्त्री, अर्थमन्त्री र कोषको सल्लाहकार बोर्डको नेतृत्व एउटै व्यक्तिमा केन्द्रित हुँदा स्वतन्त्र निगरानी कमजोर हुने अवस्था बन्यो। संस्थाको वित्तीय निर्णय र राजनीतिक नेतृत्वबीच पर्याप्त दूरी थिएन। दोस्रो कमजोरी संस्थागत पारदर्शितामा थियो। कोषले ठूलो परिमाणमा ऋण उठाइरहेको थियो, अन्तर्राष्ट्रिय साझेदारी गरिरहेको थियो र विभिन्न देशमा लगानी गरिरहेको थियो। तर सार्वजनिक लेखापरीक्षण, व्यवस्थापन र वित्तीय विवरणमाथिको निगरानी प्रभावकारी हुन सकेन। मलेसियाको संसद्को सार्वजनिक लेखा समितिले सन् २०१६ मा सार्वजनिक गरेको प्रतिवेदनले वानएमडीबीको व्यवस्थापन र नियन्त्रण प्रणालीमा गम्भीर कमजोरी औँल्याएको थियो। समितिले विशेषगरी पेट्रोसाउदीसँगको संयुक्त लगानी, ऋणको स्रोत, केम्यान आइल्यान्ड्समा रहेको भनिएको लगानी, लेखापरीक्षण संस्थामा भएका परिवर्तन र सरकारी रकमको प्रयोगबारे प्रश्न उठाएको थियो। बैंकले ठूलो आम्दानी गरिरहेको कारोबारमा आफ्नै वरिष्ठ कर्मचारीको भूमिकाबारे पर्याप्त निगरानी गर्न नसकेको अमेरिकी फेडरल रिजर्भले समेत औँल्याएको थियो। समितिको प्रतिवेदनले कम्पनीको सञ्चालक समिति, व्यवस्थापन र सरकारी निगरानीबीचको सम्बन्धमा सुधार आवश्यक रहेको देखाएको थियो। तेस्रो कमजोरी अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा थियो। अर्बौँ डलरका कारोबार विभिन्न देशका बैंक हुँदै भइरहेका थिए। तर ग्राहक पहिचान, वास्तविक लाभग्राहीको खोजी र राजनीतिक रूपमा प्रभावशाली व्यक्तिसँग सम्बन्धित कारोबारको जोखिम मूल्याङ्कन प्रभावकारी हुन सकेन। गोल्डम्यान स्याक्सको प्रकरणले बैंकको आन्तरिक नियन्त्रण प्रणाली कति कमजोर हुन सक्छ भन्ने देखायो। बैंकले ठूलो आम्दानी गरिरहेको कारोबारमा आफ्नै वरिष्ठ कर्मचारीको भूमिकाबारे पर्याप्त निगरानी गर्न नसकेको अमेरिकी फेडरल रिजर्भले समेत औँल्याएको थियो। चौथो कमजोरी राजनीतिक जवाफदेहितामा थियो। जब अनुसन्धान प्रधानमन्त्रीसम्म पुग्ने सम्भावना देखियो, अनुसन्धान अधिकारी हटाइए, मन्त्रिपरिषद् पुनर्गठन भयो र सरकारी संस्थामाथि राजनीतिक दबाब परेको आरोप लाग्यो। यसले भ्रष्टाचार नियन्त्रणका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने देखायो। अनुसन्धान गर्ने निकाय स्वतन्त्र हुनुपर्छ र सत्तामा रहेका व्यक्तिसमेत अनुसन्धानको दायराभन्दा बाहिर हुनु हुँदैन। यो केवल मलेसियाको कथा होइन वानएमडीबी प्रकरणले विश्वको वित्तीय प्रणालीलाई पनि एउटा असहज प्रश्न सोधेको छ। कुनै देशको सार्वजनिक सम्पत्ति अर्को देशको बैंकिङ प्रणाली हुँदै निजी सम्पत्तिमा परिणत हुँदा त्यसको जिम्मेवारी कसको हुन्छ? रकम मलेसियाबाट निस्कियो। कारोबार स्विट्जरल्यान्ड, सिङ्गापुर र हङकङसम्म पुग्यो। अन्तर्राष्ट्रिय बैंकहरूले ऋण उठाउन सहयोग गरे। अमेरिकी वित्तीय प्रणालीमा रकम प्रवेश गर्‍यो। अमेरिकामै सम्पत्ति खरिद भए। मनोरञ्जन उद्योगमा लगानी भयो। सार्वजनिक सम्पत्तिको दुरुपयोगले मलेसियाको राजनीतिक इतिहास परिवर्तन गर्‍यो। देशको दशकौँ पुरानो सत्तारूढ गठबन्धन पराजित भयो। पूर्वप्रधानमन्त्री जेल पुगे। यसको अर्थ भ्रष्टाचार अब राष्ट्रिय सीमाभित्र सीमित छैन। राज्यको कोषबाट दुरुपयोग भएको रकम अन्तर्राष्ट्रिय बैंक, कम्पनी र सम्पत्ति बजारको जटिल सञ्जालमा प्रवेश गर्न सक्छ। यस्तो अवस्थामा कुनै एक देशको अनुसन्धान निकायले मात्र सम्पूर्ण वित्तीय प्रवाह पत्ता लगाउन सक्दैन। अन्तर्राष्ट्रिय कानुनी सहयोग, बैंकिङ पारदर्शिता र सम्पत्तिको वास्तविक स्वामित्व पहिचान गर्ने व्यवस्था अनिवार्य हुन्छ। वानएमडीबीले विश्वका प्रतिष्ठित वित्तीय संस्थासमेत नियमन, जोखिम मूल्याङ्कन र नैतिक जिम्मेवारीबाट मुक्त हुन नसक्ने देखायो। इतिहासले छाडेको प्रश्न वानएमडीबी प्रकरणको अनुसन्धानले धेरै पात्रलाई अदालतसम्म पुर्‍यायो। केही दोषी ठहर भए, केहीले आफ्नो दोष स्वीकार गरे, केही सम्पत्ति जफत भए र केही रकम मलेसियालाई फिर्ता गरियो। तर यसका सबै प्रश्नको उत्तर प्राप्त भइसकेको छैन। झोलो कहाँ छन्? अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा संलग्न सबै मध्यस्थकर्ताको भूमिका कति थियो? दुरुपयोग भएको सम्पूर्ण रकम फिर्ता ल्याउन सम्भव छ? राजनीतिक संरक्षण र वित्तीय कारोबारबीचका सबै सम्बन्ध सार्वजनिक भइसकेका छन्? यी प्रश्नको उत्तर अझै खोज्न बाँकी छ। एउटा तथ्य भने स्थापित भइसकेको छ। वानएमडीबीको नाममा उठाइएको ऋण र सार्वजनिक सम्पत्तिको दुरुपयोगले मलेसियाको राजनीतिक इतिहास परिवर्तन गर्‍यो। देशको दशकौँ पुरानो सत्तारूढ गठबन्धन पराजित भयो। पूर्वप्रधानमन्त्री जेल पुगे। विश्वकै ठूला लगानी बैंकमध्ये एकले अर्बौँ डलरको कानुनी सम्झौता गर्नुपर्‍यो। अन्तर्राष्ट्रिय अनुसन्धानले सरकारी कोषको रकम विश्वभर फैलिएका सम्पत्तिमा कसरी बदलिन सक्छ भन्ने देखायो। विकासका नाममा उठाइएको पैसा जब सीमित राजनीतिक शक्ति, कमजोर संस्थागत नियन्त्रण र अपारदर्शी वित्तीय सञ्जालको अधीनमा पुग्छ, तब विकास कोष नै राज्यको सबैभन्दा ठूलो जोखिम बन्न सक्छ। वानएमडीबीको स्थापना मलेसियालाई आर्थिक रूपमा समृद्ध बनाउने उद्देश्यले भएको थियो। तर यसको इतिहासले एउटा फरक वास्तविकता उजागर गर्‍यो। विकासका नाममा उठाइएको पैसा जब सीमित राजनीतिक शक्ति, कमजोर संस्थागत नियन्त्रण र अपारदर्शी वित्तीय सञ्जालको अधीनमा पुग्छ, तब विकास कोष नै राज्यको सबैभन्दा ठूलो जोखिम बन्न सक्छ। अन्ततः वानएमडीबीको सबैभन्दा ठूलो विडम्बना यही थियो- मलेसियाको भविष्य निर्माण गर्न स्थापना गरिएको संस्थाले आफ्नै देशको राजनीतिक विश्वास, आर्थिक प्रतिष्ठा र संस्थागत विश्वसनीयतामाथि गहिरो चोट पुर्‍यायो। त्यसको मूल्य हराएको अर्बौँ डलरमा मात्र सीमित रहेन। यसले एउटा देशलाई आफ्नो राज्यसत्ता कसको नियन्त्रणमा हुनुपर्छ भन्ने प्रश्न फेरि सोध्न बाध्य बनायो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दशौँ राष्ट्रिय खेलकुदको ट्रफी र टर्च जुम्लासम्म पुग्ने
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको ट्रफी र टर्च जुम्लासम्म पुग्ने

सुर्खेत। कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल सञ्चालन भइरहेका बेला ट्रफी र टर्च ¥याली सुरु भएको छ। नेपालका चर्चित खेलाडी सम्मिलित टोलीले कर्णालीका विभिन्न जिल्लामा दशौँ राष्ट्रिय खेलकुदको ट्रफी र टर्चसहित ¥याली गर्ने भएको हो। ¥याली दैलेखको शिरस्थानबाट औपचारिक रूपमा सुरु भएर कालीकोट हुँदै जुम्लासम्म पुग्नेछ। ¥याली टोलीमा कर्णालीका स्थानीय धावक हरिबहादुर रोकाया, १३औँ दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता कराते ...

लुम्बिनी सञ्चार
दशौँ खेलकुदको महिला क्रिकेटमा तीन टोली सेमिफाइनलमा
Latest NewsJust now

दशौँ खेलकुदको महिला क्रिकेटमा तीन टोली सेमिफाइनलमा

सुर्खेत। कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन्। शुक्रबार भएको खेलमा आर्मीले सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले तथा एपिएफले मधेस प्रदेशलाई ८० रनले पराजित गर्दै समूह विजेताका रूपमा अन्तिम चारमा स्थान बनाए। यसअघि नै समूह ‘सी’ बाट बागमती प्रदेश सेमिफाइनलमा पुगिसकेको छ। प्रतियोगितामा तीन समूहका विजेता र उत्कृष्ट एक ...

लुम्बिनी सञ्चार
मुस्ताङको लोमन्थाङमा भारतीय सहयोगमा बनेको छात्रावास उद्घाटन
Latest NewsJust now

मुस्ताङको लोमन्थाङमा भारतीय सहयोगमा बनेको छात्रावास उद्घाटन

काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ मा रहेको श्री दिव्य दीप माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवन उद्घाटन गरिएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा.राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा छात्रावास भवनको उद्घाटन गरेका हुन् । भारत सरकारको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत उक्त छात्रावास निर्माण गरिएको हो । […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement