Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

विश्व सिक्सजीको तयारीमा, नेपाल अझै फाइभजीमै अल्झियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्व सिक्सजीको तयारीमा, नेपाल अझै फाइभजीमै अल्झियो
Photo / Coverage: टेक्नोलोजी खबर

-सदिक्षा आचार्य विश्व दूरसञ्चार क्षेत्र छैटौँ पुस्ताको मोबाइल प्रविधि (सिक्सजी) विकासको तयारीमा जुटिरहेका बेला नेपाल भने पाँचौँ पुस्ताको मोबाइल प्रविधि (फाइभ जी) व्यावसायिक रूपमा सञ्चालन गर्नै सङ्घर्ष गरिरहेको छ। विकसित मुलुकहरू सिक्स जीको प्राविधिक मापदण्ड, पूर्वाधार र सम्भावित प्रयोगबारे अनुसन्धान तथा विकासमा अघि बढिसक्दा नेपालमा भने फाइभ जी सेवा कहिलेदेखि सञ्चालन हुन्छ भन्ने अझै निश्चित हुन सकेको छैन। सिक्सजी मोबाइल दूरसञ्चार प्रविधिको छैटौँ पुस्ता हो। यो फाइभजीभन्दा तीव्र गति, न्यून लेटेन्सी (डाटा आदानप्रदानमा लाग्ने समय), उच्च विश्वसनीयता र व्यापक कनेक्टिभिटी प्रदान गर्ने लक्ष्यसहित विकास भइरहेको प्रविधि हो। यसले इन्टरनेटको गति बढाउने मात्र नभई कृत्रिम बौद्धिकता (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी), रोबोटिक्स, स्वचालित सवारीसाधन, दूरचिकित्सा तथा अत्याधुनिक औद्योगिक प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सिक्सजी प्रविधिमा सञ्चार प्रणाली र कृत्रिम बौद्धिकताको एकीकरण, वास्तविक समयमै वस्तुको पहिचान तथा स्थान निर्धारण, होलोग्राफिक सञ्चार र भौतिक तथा डिजिटल संसारबीचको अन्तरसम्बन्धलाई थप विकसित बनाउने लक्ष्य राखिएको छ। तर, विश्व दूरसञ्चार क्षेत्र नयाँ पुस्ताको प्रविधितर्फ अघि बढिरहँदा नेपालमा भने अघिल्लो पुस्ताको प्रविधि फाइभजीकै व्यावसायिक सुरुवात अन्योलमा छ। नेपाल टेलिकमले सन् २०२३ मा काठमाडौं र पोखरामा फाइभजी प्रविधिको परीक्षण गरेको थियो। परीक्षण सुरु भएको लामो समय बितिसक्दा पनि व्यावसायिक सेवा सञ्चालन हुन सकेको छैन। आवश्यक नीतिगत निर्णय, फ्रिक्वेन्सी व्यवस्थापन, उपकरण खरिद र लगानीसम्बन्धी प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सेवा विस्तार रोकिएको हो। परीक्षण भएको तीन वर्ष बित्दा पनि व्यावसायिक सुरुवात अनिश्चित, फ्रिक्वेन्सी र नीतिगत अन्योलले लगानी रोकियो नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी सेवाका लागि आवश्यक फ्रिक्वेन्सी व्यवस्थापन तथा वितरणको प्रक्रिया अघि बढाएको बताउँदै आएको छ। सन् २०२६ जुनमा प्राधिकरणले फाइभ जीका लागि फ्रिक्वेन्सी वितरणको तयारी पूरा भएको जनाएको थियो। सेवा प्रदायकले आवश्यक फ्रिक्वेन्सी प्राप्त गरेपछि सेवा सञ्चालनको प्रक्रिया अघि बढाउन सक्ने प्राधिकरणको भनाइ थियो। प्राधिकरणका सहप्रवक्ता प्रदीप पौडेलका अनुसार फाइभजी सञ्चालनका लागि नियामक निकायले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण काम फ्रिक्वेन्सी उपलब्ध गराउनु हो। त्यसको प्रक्रिया अघि बढिसकेको र छिट्टै वितरण गर्ने तयारी भइरहेको उनले बताए। ‘फाइभजी फ्रिक्वेन्सी वितरणको प्रक्रिया अहिले अन्तिम चरणमा छ। यसअघि हामीले फोरजी सेवाको गुणस्तर सुधार गर्न आवश्यक काम गरेका थियौँ। अब फाइभजीका लागि पनि प्रक्रिया अगाडि बढाउँछौँ। सेवा प्रदायकहरूलाई आवश्यक परेमा फ्रिक्वेन्सी लिन सक्ने व्यवस्था गर्छौँ,’ उनले भने। प्राधिकरणले सन् २०२६ अगस्टमा दूरसञ्चार सेवा प्रदायकलाई प्रमुख सहरी क्षेत्रबाट चरणबद्ध रूपमा फाइभजी सेवा विस्तार गर्ने कार्ययोजना पेस गर्न निर्देशन दिएको थियो। नेपाल टेलिकमले काठमाडौंमा फाइभजी उपकरण जडान गरिसकेको र परीक्षण तथा व्यावसायिक सञ्चालनका लागि आवश्यक स्वीकृतिको प्रतीक्षामा रहेको विवरण सार्वजनिक गरेको छ। तर, नेपाल टेलिकमको फाइभजी विस्तारसम्बन्धी प्रक्रिया अझै अध्ययनकै चरणमा छ। कम्पनीका सहायक प्रवक्ता नवीन मिश्रले प्राधिकरणबाट आवश्यक निर्देशन तथा मार्गदर्शन प्राप्त भएपछि मात्रै सेवा विस्तारको मोडेल र योजना टुङ्गो लाग्ने बताए।‘यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट आवश्यक निर्देशन तथा मार्गदर्शन आउने अपेक्षा गरेका छौँ। ती निर्देशन प्राप्त भएपछि स्पेक्ट्रमलगायत आवश्यक विषय टुङ्गो लाग्छन्। त्यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे सोहीअनुसार योजना बनाउँछौँ। अहिले हामी अध्ययनकै चरणमा छौँ,’ उनले भने। टेलिकमले फाइभ जी विस्तारका लागि कति लगानी आवश्यक पर्छ भन्ने विषयसमेत अहिलेसम्म निश्चित गरेको छैन। प्राधिकरणबाट प्राप्त हुने स्पेक्ट्रम, कम्पनीको व्यावसायिक आवश्यकता, व्यावसायिक नीति र कुन–कुन क्षेत्रमा सेवा विस्तार गर्ने भन्ने विश्लेषणपछि मात्रै लगानीको अनुमान गर्न सकिने मिश्रले बताए। उनका अनुसार कुन मोडेलमा जाने र कुन–कुन प्रविधि प्रयोग गर्ने भन्ने विषयमा पनि विस्तृत अध्ययन आवश्यक छ। ‘यी विषयको अध्ययन पूरा भइसकेपछि सोहीअनुसार योजना सार्वजनिक गर्छौँ। अहिले ती विषयहरू टुङ्गो लागिसकेका छैनन्,’ उनले भने। एनसेलको पाँच अर्ब लगानी प्रस्ताव, सरकारसँग माग्यो नीतिगत सुनिश्चितता निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि फाइभजी परीक्षण तथा दूरसञ्चार पूर्वाधार विस्तारमा लगानी गर्ने प्रतिबद्धता जनाउँदै आएको छ। कम्पनीले फाइभजी परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउन प्राधिकरणसँग अनुमति मागे पनि हालसम्म अनुमति पाएको छैन। एनसेलले फाइभजी विस्तारका लागि करिब ४५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने आकलन गरेको छ। त्यसमध्ये तत्काल पाँच अर्ब रुपैयाँ खर्च गर्न आफू तयार रहेको कम्पनीको भनाइ छ। तर, त्यसका लागि आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउनुका साथै २०८६ पछिको व्यावसायिक सञ्चालन निरन्तरताबारे सरकारले स्पष्ट गर्नुपर्ने कम्पनीको माग छ। ‘हामी पाँच अर्ब रुपैयाँ खर्च गर्न तयार छौँ। तर, हामीलाई फ्रिक्वेन्सी दिनुपर्‍यो र २०८६ पछिको निरन्तरता के हुन्छ भन्ने सुनिश्चित हुनुपर्‍यो भनेर सरकारलाई भनिरहेका छौँ। त्यसमा सरकारको तर्फबाट सकारात्मक प्रतिक्रिया केही पनि आएको छैन,’ एनसेलका प्रतिनिधिले बताए। कम्पनीका अनुसार २५ वर्षे अनुमतिपत्रको अवधि समाप्त भएपछि टावर, भवनलगायत दूरसञ्चार पूर्वाधारसम्बन्धी सम्पत्ति सरकारको स्वामित्वमा जाने व्यवस्थाले थप लगानीको वातावरण प्रभावित भएको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन र सम्पत्ति धितो राख्न कठिनाइ हुँदा नयाँ प्रविधिमा लगानी जुटाउन चुनौती थपिएको कम्पनीको भनाइ छ। ‘एनसेलको हकमा २०८६ को बाटो स्पष्ट भयो भने चुनौती केही पनि छैन। हामी डाटा सेन्टर, फाइभजी लगायतका नयाँ प्रविधिमा लगानी गर्न तयार छौँ,’ कम्पनीका प्रतिनिधिले भने। सरकारले दीर्घकालीन सञ्चालनको सुनिश्चितता गरेमा फाइभजीसँगै सिक्सजी र अन्य डिजिटल सेवामा समेत लगानी गर्न सकिने कम्पनीको भनाइ छ। यसले नेपालमा फाइभजी विस्तारको समस्या फ्रिक्वेन्सी वितरणमा मात्र सीमित नरहेको देखाउँछ। सेवा प्रदायकले प्रविधिमा ठूलो लगानी गर्नुअघि त्यसको प्रतिफल र व्यावसायिक निरन्तरताको सुनिश्चितता खोजिरहेका छन्। विशेषगरी एनसेलले उठाएको २०८६ पछिको सञ्चालन निरन्तरता, पूर्वाधारको स्वामित्व र ऋण परिचालनको विषय नीतिगत रूपमा स्पष्ट हुन सकेको छैन। फ्रिक्वेन्सी उपलब्ध गराउने जिम्मा प्राधिकरणको, लगानी गर्ने दायित्व सेवा प्रदायकको फाइभजी सेवा सञ्चालनको विषय प्रविधि उपलब्धताको मात्र विषय होइन। फ्रिक्वेन्सी वितरण, उपकरण खरिद, पूर्वाधार निर्माण, लगानीको प्रतिफल र उपभोक्ताको खरिद क्षमतासमेत यसका महत्त्वपूर्ण पक्ष हुन्। दूरसञ्चार क्षेत्रमा लगानीको प्रतिफल सुनिश्चित नहुँदा सेवा प्रदायकहरू नयाँ प्रविधिमा ठूलो लगानी गर्न हिचकिचाइरहेका छन्। प्राधिकरणका सहप्रवक्ता पौडेल भने फाइभजी विस्तारका लागि पूर्वाधारको हिसाबले नेपालमा ठूलो समस्या नरहेको बताउँछन्। उनका अनुसार दूरसञ्चार नेटवर्कको मुख्य आधारका रूपमा रहेको ब्याकबोन फाइबर नेटवर्क विस्तार भइसकेको छ। अन्य पूर्वाधारका हिसाबले पनि सेवा सञ्चालन गर्न नसकिने अवस्था छैन। तर, सेवा प्रदायकले अपेक्षाकृत रूपमा लगानी बढाउन नसकेकाले थप लगानी आवश्यक रहेको उनको भनाइ छ। ‘फाइभजी विस्तारमा ठूलो लगानी आवश्यक पर्ने भएकाले सेवा प्रदायकहरूलाई केही दबाब भने छ। तर, लगानी गर्नै नसक्ने अवस्था होइन। उनीहरूले लगानी गरेर सेवा सुरु गर्न सक्छन्। त्यसबाट नयाँ बजार र अवसरसमेत सिर्जना हुन्छन्,’ पौडेलले भने। उनका अनुसार प्राधिकरणले फ्रिक्वेन्सी उपलब्ध गराएपछि सेवा कहिले र कसरी सुरु गर्ने भन्ने विषय सेवा प्रदायकको आफ्नै योजना र व्यावसायिक निर्णयमा निर्भर हुनेछ। त्यसैले फ्रिक्वेन्सी वितरणसँगै सेवा प्रदायकले पनि लगानी र सेवा विस्तारको योजना अघि बढाउनुपर्ने उनको भनाइ छ। विश्वमा सिक्सजीको मापदण्ड बनाउने तयारी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) ले सिक्सजी प्रविधिको विकासका लागि ‘आईएमटी–२०३०’ नामक रूपरेखा अघि सारेको छ। यसले सिक्स जीको प्राविधिक मापदण्ड विकास र कार्यान्वयनका लागि आधार तयार पारेको छ। आईटीयूको योजनाअनुसार सन् २०२७ देखि सम्भावित सिक्सजी प्रविधिका प्रस्ताव मूल्याङ्कन प्रक्रिया अघि बढ्नेछ। सन् २०३० सम्ममा यसको अन्तिम प्राविधिक मापदण्ड स्वीकृत गर्ने लक्ष्य राखिएको छ। यद्यपि, यसको अर्थ विश्वभर सिक्सजी सेवा सञ्चालनमा आइसकेको भने होइन। अहिले विभिन्न देशका अनुसन्धान संस्था, प्रविधि कम्पनी र दूरसञ्चार निकायहरू यसको विकास तथा मानकीकरणमा केन्द्रित छन्। प्राधिकरणका सहप्रवक्ता पौडेलका अनुसार फाइभजीबाट सिक्सजीतर्फ जाने प्रक्रिया क्रमिक रूपमा अघि बढ्ने हो। अहिले सिक्स जीको पूर्ण प्राविधिक मापदण्डसमेत तयार भइसकेको छैन। विश्वका विभिन्न देश तथा विश्वविद्यालयमा यससम्बन्धी अनुसन्धान भइरहेको छ। ‘फाइभजीबाट सिक्सजीतर्फ जाने प्रक्रिया क्रमिक रूपमा अघि बढ्ने हो। अहिले सिक्सजीको पूर्ण मापदण्डसमेत तयार भइसकेको छैन। यो अनुसन्धानकै चरणमा छ। विश्वका विभिन्न देश तथा विश्वविद्यालयहरूमा यससम्बन्धी अनुसन्धान भइरहेका छन्,’ उनले भने। नेपालको प्राथमिकता फोर जी सुधार र फाइभ जी सञ्चालन नेपालका लागि अहिलेको प्रमुख चुनौती सिक्सजीको तयारीभन्दा पनि फाइभजी सेवाको व्यावसायिक सुरुवात र विद्यमान फोर जी सेवाको गुणस्तर सुधार हो। देशका सबै क्षेत्रमा भरपर्दो मोबाइल इन्टरनेट, पर्याप्त पूर्वाधार र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता अझै कायम छ। दूरसञ्चार क्षेत्रका विज्ञहरूले विद्यमान फोरजी सेवाको गुणस्तर सुधार नगरी नयाँ प्रविधिमा मात्रै केन्द्रित हुँदा उपभोक्ताले अपेक्षित लाभ प्राप्त गर्न नसक्ने बताउँदै आएका छन्। फाइभजीका लागि आवश्यक लगानी, पूर्वाधार र बजारको माग सुनिश्चित नगरी सेवा विस्तार गर्दा सेवा प्रदायकलाई आर्थिक भार पर्न सक्ने चुनौती पनि छ। फाइभजी प्रविधिले उच्च गतिको इन्टरनेट उपलब्ध गराउने मात्र नभई उद्योग, स्वास्थ्य, कृषि, यातायात, शिक्षा र सार्वजनिक सेवामा नयाँ सम्भावना खोल्न सक्छ। विशेषगरी स्मार्ट सहर निर्माण, औद्योगिक स्वचालन, दूरचिकित्सा र वास्तविक समयमा तथ्याङ्क आदानप्रदान गर्न यसको महत्त्वपूर्ण भूमिका रहनेछ। त्यसैले नेपालले सिक्सजीको विश्वव्यापी विकासबाट लाभ लिन अहिलेबाटै दूरसञ्चार नीति, प्रविधिगत अनुसन्धान, दक्ष जनशक्ति, साइबर सुरक्षा र डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने देखिन्छ। नयाँ पुस्ताको प्रविधि भित्र्याउने योजनासँगै विद्यमान दूरसञ्चार पूर्वाधारको क्षमता विस्तार र सेवाको गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता छ। विश्वले सिक्सजीको मापदण्ड निर्माण गर्ने तयारी गरिरहँदा नेपालले भने फाइभजीको व्यावसायिक सुरुवातका लागि आवश्यक प्रक्रिया टुङ्ग्याउन सकेको छैन। प्राधिकरणले फ्रिक्वेन्सी वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइरहेको छ भने सेवा प्रदायकहरू लगानी, व्यावसायिक मोडेल र नीतिगत सुनिश्चितताको पर्खाइमा छन्। यही अन्योल लम्बिँदै गए नेपालले विश्व दूरसञ्चार प्रविधिको विकाससँगै अघि बढ्ने अवसर गुमाउन सक्ने चुनौती छ। The post विश्व सिक्सजीको तयारीमा, नेपाल अझै फाइभजीमै अल्झियो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
TechnologyJust now

नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

विपदको जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत समयमै पूर्वसूचना पुर्याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रडकास्ट प्रणाली (सीबीएस) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ। सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा सोमबार उक्त प्रणालीको परीक्षण गरिएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा ...

टेक्नोलोजी खबर
आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न : अब कामना सेवा क्यापिटल हुने
TechnologyJust now

आकाश क्यापिटलको आठौँ वार्षिक साधारण सभा सम्पन्न : अब कामना सेवा क्यापिटल हुने

८ मंसिर, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर अधिग्रहण गरी आफ्नो सहायक कम्पनीका रूपमा कायम गरेसँगै कम्पनीको संस्थागत संरचना र व्यावसायिक यात्रामा नयाँ चरण सुरु भएको छ। यसै सन्दर्भमा कम्पनीको आठौँ वार्षिक साधारण सभा मिति २०८३ मंसिर ७ गते सोमबार बिहान ११:०० बजे कम्पनीको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा सम्पन्न भएको छ। […] The post आकाश क्यापिटलको ...

आइसिटी फ्रेम
साइबर जोखिम बढ्दै जाँदा क्राउडस्ट्राइकले ४४ अर्ब डलरमा जेडस्केलर किन्ने
TechnologyJust now

साइबर जोखिम बढ्दै जाँदा क्राउडस्ट्राइकले ४४ अर्ब डलरमा जेडस्केलर किन्ने

साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले अर्को कम्पनी जेडस्केलरलाई ४३ अर्ब ९० करोड डलरको पूर्ण सेयर कारोबारमार्फत अधिग्रहण गर्ने भएको छ। यो अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर सुरक्षा कम्पनी अधिग्रहण हो। कृत्रिम बुद्धिमताको विकाससँगै साइबर जोखिम थप जटिल बन्दै गइरहेका बेला यस क्षेत्रमा काम गर्ने दुई ठूला कम्पनी एक हुन लागेका हुन्। सम्झौताको खबर सार्वजनिक भएपछि प्रि–मार्केट कारोबारमा जेडस्केलरको सेयर मूल्य २० प्रतिशतभन्दा बढीले ...

टेक्नोलोजी खबर
काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने
TechnologyJust now

काठमाडौं महानगरपालिकाले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौं’ अभियान, १३८ वटा रिचार्ज पिट बनाइने

८ मंसिर, काठमाडौं। काठमाडौं महानगरपालिकाले जलवायु परिवर्तन कार्य सप्ताहको अवसर पारेर जमिन पुनःभरण (रिचार्ज काठमाडौं) अभियान सुरु गरेको छ । सोमबार राष्ट्रिय सभा गृह परिसरबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा र काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रिचार्ज पिटमा पानी हालेर अभियानको सुरुवात गरेका हुन् । अभियान उद्घाटन गर्दै […] The post काठमाडौं महानगरपालिकाले ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement