काठमाडौं, कात्तिक २८। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सको यात्रा समूह चरणमै समाप्त भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित भएपछि विराटनगर प्लेअफ दौडबाट बाहिरिएको हो। यससँगै प्रतियोगिताको प्लेअफमा पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान सुरक्षित गरेका छन्। यता पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर किंग्सको यात्रा भने समूह चरणमै सीमित भएको छ। विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीको जितमा ओपनर डार्सी शर्ट र आसिफ शेखले समान ४५ रनको योगदान दिए। त्यस्तै अलि शेखले २७ रन बनाउँदा सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै अविजित २५ रन जोडे। ११ बलको सामना गरेका जोराले ३ छक्का र १ चौका प्रहार गरे। अन्तिम ओभरमा रुवेन ट्रम्पलमानले छक्का प्रहार गर्दै लुम्बिनीलाई जित दिलाए। बलिङतर्फ विराटनगरका अपराजित पौडेलले सर्वाधिक २ विकेट लिए। चरिथ असलंका र रुपेश सिंहले समान १ विकेट हात पारे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। विराटनगरका लागि चरिथ असलंकाले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ४३ बलमा ६ छक्का र १ चौकासहित ६४ रन बनाए। शुभम रञ्जानेले अविजित ३१ रनको योगदान दिए भने इमरान शेखले २४ र लोकेश बमले १५ रन जोडे। २४ रन बनाएका इमरान रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिएका थिए। लुम्बिनीका बलरमध्ये किशोर महतोले २ विकेट लिए भने अभिशेष गौतम र रुवेन ट्रम्पलमानले समान १ विकेट हात पारे। लुम्बिनीसँगको हारसँगै विराटनगरको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ भने लुम्बिनीले महत्त्वपूर्ण जित निकाल्दै प्रतियोगिताको अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ।
विराटनगर पराजित भएपछि लुम्बिनी सहित प्लेअफमा पुग्ने टोलीको टुङ्गो लाग्यो

Read Complete Original Article
Published originally on जनताटाइम्स






