काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निर्देशनअनुसार मिठाईको सोकेशमा बिक्रीका लागि राखिएका मिठाईको विवरण खुल्ने लेबल राख्न थालिएको छ। विभागले जारी गरेको निर्देशन कार्यान्वयन गर्दै हालसम्म देशभरका १७९ मिठाई पसल तथा भण्डारले सोकेशमा अनिवार्य विवरणसहितको लेबल राख्न सुरु गरेका छन्। विभागका अनुसार उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षण गर्ने उद्देश्यले २०८३ कात्तिक ११ गतेदेखि लागू हुने गरी मिठाई व्यवसायीहरूलाई यस्तो निर्देशन जारी गरिएको हो। निर्देशनअनुसार मिठाई व्यवसायीले बिक्रीका लागि राखेका मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ तथा मिश्रण, कुन तेल वा घिउमा तयार गरिएको हो, उपभोग गरिसक्नुपर्ने मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। यी विवरण मिठाई राखिएको सोकेश वा काउन्टरमा सबै ग्राहकले सहजै देख्न सक्ने गरी राख्नुपर्ने विभागले जनाएको छ। यसबाट उपभोक्ताले आफूले खरिद गर्न लागेको मिठाईमा प्रयोग भएका सामग्री, उपभोग गर्न मिल्ने अवधि र मूल्यबारे जानकारी पाउनेछन्। विभागले कात्तिक १७ गतेसम्म मातहतका कार्यालयहरूबाट प्राप्त विवरणअनुसार देशभरका १७९ मिठाई पसल तथा भण्डारले निर्देशन कार्यान्वयन गरिसकेको जनाएको छ। बाँकी व्यवसायी पनि नयाँ व्यवस्था कार्यान्वयन गर्ने प्रक्रियामा रहेको विभागको भनाइ छ। विभागले कार्यान्वयन गर्ने व्यवसायहरूको नाम तथा विवरण सार्वजनिक गर्ने र थप व्यवसायले व्यवस्था लागू गर्दै गएपछि अद्यावधिक सूची पुनः प्रकाशन गर्ने जनाएको छ। विभागले निर्देशन पालना नगर्ने व्यवसायीलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ। साथै, विभाग वा मातहतका कार्यालयबाट व्यवसायको खाद्य स्वच्छताको अवस्थाका आधारमा स्तरीकरण गरी ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्न पनि आग्रह गरिएको छ। नयाँ व्यवस्थाले मिठाईको गुणस्तर, प्रयोग भएका सामग्री, उपभोग अवधि र मूल्यबारे उपभोक्तालाई बिक्रीस्थलमै जानकारी उपलब्ध गराउने अपेक्षा गरिएको छ।
विभागको निर्देशनपछि मिठाई पसलमा लेबल राख्न थालियो, १७९ पसलले गरे कार्यान्वयन

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार



.jpg)
![कार्यभार सम्हाल्न नेपालका लागि भारतीय राजदूत दलेला काठमाडौँमा [तस्बिरसहित]](https://hamrakura.com/uploads/news/images/sudhakar-dalela-indian-ambassador-to-nepal.jpg)

