Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

विपद्को नायक लियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
विपद्को नायक लियो
Photo / Coverage: नेपालन्युज

बाढीले बस्ती बगाएको थियो। घरका भग्नावशेष नदीको भेलसँगै टाढाटाढासम्म पुगेका थिए। कतै माटो र ढुंगाको थुप्रो थियो, कतै नदीले बगाएर ल्याएका काठ र संरचनाका टुक्रा। मानिसहरू आफ्ना आफन्तको खोजीमा भौँतारिरहेका थिए। कोही अस्पतालमा नाम र तस्बिर बोकेर पुगेका थिए, कोही नदी किनार र बगरमा घण्टौँ हिँडिरहेका थिए। उद्धारकर्मीहरू पनि हराएका मानिसको कुनै चिह्न भेटिन्छ कि भन्ने आशामा जोखिमपूर्ण क्षेत्रमा खोजी गरिरहेका थिए। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि देखिएको दृश्य यही थियो। बाढीले रसुवा, नुवाकोटसहितका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो। बाढीको बहावले मानिस, घर, सवारीसाधन र संरचना बगायो। धेरै परिवारका सदस्य सम्पर्कविहीन भए। उनीहरूको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय उद्धारकर्ता र विभिन्न निकायका टोली परिचालित भए। त्यही कठिन खोजी अभियानमा एउटा विशेष टोली पनि थियो, जसको नेतृत्व मानिसले गरे पनि खोजीको मुख्य जिम्मेवारी एउटा कुकुरले सम्हालिरहेको थियो। त्यो कुकुर थियो, नेपाल प्रहरीको तालिमप्राप्त ल्याब्राडोर जातको ‘लियो’। मानिसको आँखाले देख्न नसक्ने, माटो र भग्नावशेषले छोपिएका स्थानमा लुकेका अवशेष पत्ता लगाउन लियो आफ्नो सुँघ्ने क्षमताको प्रयोग गरिरहेको थियो। उद्धार टोलीले जहाँ पुगेर खोजी कठिन ठान्थ्यो, त्यहाँ लियोले गन्ध पछ्याउँदै सम्भावित स्थान पहिचान गर्न सहयोग गर्थ्यो। उसले दिएको संकेतका आधारमा उद्धारकर्मीले खोजीलाई केन्द्रित गर्थे। नुवाकोटका विभिन्न स्थानमा गरिएको खोजीका क्रममा लियोले दुईवटा शव, मानव कंकाल र शरीरका विभिन्न अंग फेला पार्न सहयोग गरेको थियो। बाढीले छुट्याएका परिवारलाई आफन्तको अवस्थाबारे जानकारी दिनु, पहिचान र कानुनी प्रक्रिया अघि बढाउन सहयोग गर्नु तथा बेपत्ताको खोजीलाई थप प्रभावकारी बनाउनु त्यतिबेलाको मुख्य चुनौती थियो। यस्तो अवस्थामा लियोले गरेको काम सामान्य पशु व्यवहार थिएन। त्यो लामो तालिम, अनुशासन, प्रशिक्षकसँगको तालमेल र असाधारण घ्राण क्षमताको परिणाम थियो। भोटेकोशी बाढीपछि करिब २० दिन प्रभावित क्षेत्रमा खोजीमा खटिएको लियोलाई यस वर्ष नेपाल प्रहरीले सर्वोत्कृष्ट प्रहरी कुकुर घोषणा गरेको छ। कुकुर तिहारको अवसर पारेर कात्तिक २२ गते नेपाल प्रहरी केनाइन कार्यालयमा आयोजित कार्यक्रममा लियोलाई पदक प्रदान गरी सम्मान गरिएको हो। नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक ओम रानाले लियोलाई पदक प्रदान गरेका थिए। लियोको सम्मान एउटा कुकुरले पाएको पुरस्कार मात्र होइन। विपद्का बेला मानिसको पहुँच र क्षमताले भ्याउन नसक्ने स्थानमा तालिमप्राप्त जनावरले कसरी जीवनरक्षक भूमिका खेल्न सक्छ भन्ने कुराको पनि सार्वजनिक पहिचान हो। प्रहरीको पोसाक लगाएका मानिससँगै खटिएर जोखिमपूर्ण क्षेत्रमा काम गर्ने लियोको योगदानले उद्धार अभियानमा केनाइन अर्थात् तालिमप्राप्त प्रहरी कुकुरको महत्त्वलाई फेरि चर्चामा ल्याएको छ। बाढीको भग्नावशेषमा लियोको खोजी भोटेकोशी बाढीपछि उद्धार टोलीका लागि सबैभन्दा ठूलो चुनौती बेपत्ताको खोजी थियो। बाढीको पानी घट्दै गए पनि त्यसले छाडेको क्षति सहजै हट्ने अवस्थामा थिएन। नदी किनारमा थुप्रिएका ढुंगा, माटो, काठ र अन्य भग्नावशेषले खोजी कार्य कठिन बनाएका थिए। कतिपय स्थानमा मानिस हिँड्नसमेत जोखिमपूर्ण थियो। बाढीले बगाएर ल्याएका सामग्रीको थुप्रोभित्र मानिसको शरीर वा त्यसका अवशेष हुन सक्ने भएकाले हरेक सम्भावित स्थानमा सावधानीपूर्वक खोजी गर्नुपर्ने अवस्था थियो। बाढीपछि मानिसको खोजी गर्दा उद्धारकर्मीले दृश्य निरीक्षण, स्थानीयको सूचना, नदीको बहाव र बगाएर ल्याएका वस्तुको अवस्थालगायतका आधारमा सम्भावित स्थान पहिचान गर्छन्। तर माटोले पुरिएका, ढुंगामुनि छोपिएका वा भग्नावशेषभित्र अड्किएका अवशेष आँखाले देख्न सम्भव हुँदैन। यस्तो अवस्थामा तालिमप्राप्त कुकुरको घ्राण क्षमता उपयोगी हुन्छ। लियोलाई यही कामका लागि परिचालन गरिएको थियो। नेपाल प्रहरी केनाइन कार्यालयबाट ल्याइएको लियोले बाढी प्रभावित नुवाकोटका विभिन्न स्थानमा खोजी गरेको थियो। उसले बिदुर, अर्चले, शान्तिबजार, मेलुङ जलविद्युत् आयोजना क्षेत्र, ढुंगे, देविघाट, बेत्रावती, भैँसे र बट्टारलगायतका क्षेत्रमा खोजी अभियानमा सहयोग गरेको थियो। ती स्थानमा बाढीले बगाएर ल्याएका सामग्री, भत्किएका संरचना र नदी किनारका विभिन्न भागमा खोजी गरिएको थियो। मेलुङ जलविद्युत् आयोजनाको कर्मचारी आवास क्षेत्रमा एउटा सानो मानव अंग फेला पार्न लियो र अर्को कुकुर कालुले सहयोग गरेका थिए। बट्टारस्थित सोलार हाउस क्षेत्रमा पनि मानव हातको हत्केलाको भाग फेला परेको थियो। उद्धार टोलीले यस्तो संकेतलाई आधार बनाएर थप खोजी र संकलनको काम अघि बढाएको थियो। बाढीपछि लियो एक्लै परिचालित थिएन। नेपाल प्रहरीले विभिन्न स्थानमा अन्य तालिमप्राप्त कुकुर पनि खटाएको थियो। रसुवाको तिमुरे र घट्टेखोलामा बेल्जियन शेफर्ड जातको रकी र जर्मन शेफर्ड जातको जम्बोलाई बाढी आएको दिनमै परिचालन गरिएको थियो। उनीहरूले पनि शव र मानव शरीरको एक अंग फेला पार्न सहयोग गरेका थिए। त्यसैगरी बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट जर्मन शेफर्ड जातको दिप्सीलाई चितवन आसपासको क्षेत्रमा परिचालन गरिएको थियो। दिप्सीले दमौली गोलाघाट क्षेत्रमा दुईवटा शव पत्ता लगाउन सहयोग गरेको प्रहरी अभिलेखमा उल्लेख छ। यसरी भोटेकोशी बाढीपछि नेपाल प्रहरीका विभिन्न केनाइन टोली उद्धार अभियानमा खटिएका थिए। लियोले नुवाकोट क्षेत्रमा देखाएको सक्रियता, निरन्तर काम र खोजीमा पुर्‍याएको योगदानका आधारमा उसलाई यस वर्षको उत्कृष्ट प्रहरी कुकुरका रूपमा छनोट गरिएको हो। लियोको कामको मूल्याङ्कन गर्दा उसले कति वस्तु वा शव फेला पार्‍यो भन्ने संख्या मात्र पर्याप्त हुँदैन। खोजीका लागि पुगेको स्थानको अवस्था, जोखिम, कामको निरन्तरता, प्रशिक्षकसँगको समन्वय र कठिन परिस्थितिमा देखाएको कार्यक्षमता पनि महत्त्वपूर्ण हुन्छ। बाढीले तहसनहस बनाएको क्षेत्रमा लामो समयसम्म परिचालित भएर उसले देखाएको सक्रियताले नै यो सम्मानको आधार तयार गरेको हो। गन्धबाट पहिचान गर्ने क्षमता मानिसका लागि गन्ध सामान्य अनुभूति हो। तर कुकुरका लागि गन्ध संसार बुझ्ने प्रमुख माध्यममध्ये एक हो। मानिसले आँखाले हेरेर, कानले सुनेर र अन्य इन्द्रियको सहायताले वातावरण बुझ्छ। कुकुरले भने गन्धका सूक्ष्म अंशबाट पनि वरपरको अवस्थाबारे धेरै सूचना प्राप्त गर्न सक्छ। यही प्राकृतिक क्षमतालाई तालिममार्फत उपयोगी सीपमा रूपान्तरण गरिन्छ। मानव शरीरबाट निरन्तर विभिन्न जैविक पदार्थ र गन्धका कण बाहिर निस्किरहेका हुन्छन्। जीवित मानिसको शरीर, पसिना, छाला तथा अन्य जैविक प्रक्रियाबाट निस्कने गन्ध र मृत्यु भएपछि शरीरमा हुने परिवर्तनका क्रममा उत्पन्न हुने गन्ध फरक हुन सक्छन्। तालिमप्राप्त कुकुरलाई यस्ता गन्ध पहिचान गर्न अभ्यास गराइन्छ। त्यसपछि उसले खोजीका क्रममा गन्धको संकेत पछ्याएर सम्भावित स्थानमा पुग्न सक्छ। बाढी वा पहिरोमा मानिस पुरिएको अवस्थामा उद्धारकर्मीले बाहिरबाट हेरेर अवस्था पहिचान गर्न सक्दैनन्। भग्नावशेषभित्र पसेर खोजी गर्नु जोखिमपूर्ण हुन सक्छ। कतिपय स्थानमा ठूलो ढुंगा, काठ र माटोको थुप्रो हटाउन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा कुकुरले सम्भावित स्थान पहिचान गरिदिएपछि उद्धार टोलीको समय र श्रम बच्न सक्छ। सबै ठाउँमा अन्धाधुन्ध उत्खनन गर्नुभन्दा कुकुरले संकेत गरेको क्षेत्रमा केन्द्रित भएर खोजी गर्न सकिन्छ। खोजी तथा उद्धारमा प्रयोग हुने कुकुरले मानिसको शरीरको गन्ध पहिचान गरेर आफ्नो प्रशिक्षकलाई निश्चित संकेत दिन्छ। त्यो संकेत बस्ने, भुक्ने, खोतल्ने वा निश्चित स्थानमा अडिएर देखाउने हुन सक्छ। कुकुरको तालिम र कार्यपद्धतिअनुसार संकेत फरक हुन सक्छ। प्रशिक्षकले संकेतको अर्थ बुझेर उद्धार टोलीलाई जानकारी दिन्छन्। त्यसपछि प्राविधिक टोलीले आवश्यक उपकरण प्रयोग गरी उत्खनन वा थप खोजी गर्छ। यसको अर्थ कुकुरले आफैँ शव निकाल्छ वा उद्धारको सम्पूर्ण काम सम्पन्न गर्छ भन्ने होइन। उसले खोजीको सम्भावित स्थान पत्ता लगाउन सहयोग गर्छ। त्यसपछि मानिस र उपकरणको सहायताले उद्धार, संकलन, पहिचान र कानुनी प्रक्रिया पूरा गरिन्छ। लियोले भोटेकोशी बाढीमा गरेको काम पनि यही प्रक्रियाको एउटा उदाहरण हो। कुकुरको घ्राण क्षमता अत्यन्त विकसित हुन्छ। तर त्यसको प्रभावकारिता केवल प्राकृतिक क्षमतामा निर्भर हुँदैन। तालिम, स्वास्थ्य, उमेर, वातावरण, प्रशिक्षकसँगको सम्बन्ध र काम गर्ने अवस्थाले पनि परिणाम निर्धारण गर्छ। कुकुर थाकेको छ, अत्यधिक गर्मी वा चिसो छ, वातावरणमा अन्य गन्धको प्रभाव बढी छ वा खोजी क्षेत्र असुरक्षित छ भने उसको कार्यक्षमता प्रभावित हुन सक्छ। त्यसैले उद्धारमा कुकुर परिचालन गर्दा उसको शारीरिक अवस्था, कामको अवधि र आरामलाई ध्यान दिनुपर्छ। लामो समयसम्म निरन्तर काम गराउँदा थकानका कारण गन्ध पहिचान गर्ने क्षमतामा असर पर्न सक्छ। खोजी टोलीले कुकुरको व्यवहार र संकेतलाई ध्यानपूर्वक नियाल्नुपर्छ। लियोजस्ता तालिमप्राप्त कुकुरको काम प्रभावकारी बनाउन प्रशिक्षक र कुकुरबीचको तालमेल निर्णायक हुन्छ। चार कुकुरबाट सुरु भएको सेवा नेपाल प्रहरीमा कुकुर परिचालनको इतिहास आजको जस्तो विस्तृत थिएन। अपराध अनुसन्धान र सुरक्षा प्रयोजनका लागि कुकुर प्रयोग गर्ने अभ्यास सुरु हुँदा प्रहरीसँग सीमित संख्या र जनशक्ति मात्र थियो। नेपाल प्रहरीको आधिकारिक विवरणअनुसार विसं २०२६ मा पाँच जना प्रहरी कर्मचारी तालिमका लागि मलेसिया गएका थिए। उनीहरूले तालिम प्राप्त दुईवटा जर्मन शेफर्ड जातका कुकुर नेपाल ल्याएका थिए। नेपालमै खरिद गरिएका त्यही जातका थप दुई कुकुरसहित जम्मा चारवटा कुकुरबाट प्रहरीको केनाइन सेवा सुरु भएको थियो। प्रारम्भमा कुकुरको प्रयोग मुख्यतः अपराध अनुसन्धान र सुरक्षा प्रयोजनमा केन्द्रित थियो। समयक्रममा विस्फोटक पदार्थ, हातहतियार तथा लागुऔषध पहिचान र विपद्का बेला मानिसको खोजी तथा उद्धारमा समेत यसको प्रयोग विस्तार हुँदै गयो। प्रहरीको आवश्यकता र कुकुरबाट प्राप्त सफलतालाई ध्यानमा राखेर संस्थागत संरचना पनि परिवर्तन हुँदै आएको छ। विसं २०३२ मा प्रहरी प्रधान कार्यालयमा प्रहरी कुकुर शाखाका रूपमा औपचारिक संरचना स्थापना गरिएको थियो। त्यतिबेला प्रहरी नायब निरीक्षकसहित १० जनाको दरबन्दी कायम गरिएको थियो। विसं २०४७ मा केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालय र पाँचवटै तत्कालीन विकास क्षेत्रमा कुकुर शाखा स्थापना गरी सेवा विस्तार गरियो। विसं २०७५ मा केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालयलाई केनाइन महाशाखाका रूपमा स्तरोन्नति गरियो भने विसं २०७८ मा नेपाल प्रहरी केनाइन कार्यालयको संरचना विकास गरियो। चारवटा कुकुरबाट सुरु भएको सेवा अहिले देशभर फैलिएको छ। नेपाल प्रहरीका अनुसार हाल देशभरका १३ स्थानबाट १०७ वटा तालिमप्राप्त कुकुर परिचालन भइरहेका छन्। यी कुकुरलाई विभिन्न कामका लागि छुट्टाछुट्टै तालिम दिइन्छ। कुनै कुकुर लागुऔषध पहिचानमा दक्ष हुन्छन्, कुनै विस्फोटक पदार्थ खोजीमा, कुनै अपराध अनुसन्धानका लागि गन्ध पछ्याउन र कुनै विपद्मा हराएका तथा पुरिएका मानिस पत्ता लगाउन प्रयोग गरिन्छन्। केनाइन सेवा विस्तार हुनुको कारण पनि स्पष्ट छ। अपराध अनुसन्धानमा भौतिक प्रमाणको महत्त्व बढ्दै गएको छ। विमानस्थल र सीमा नाकामा अवैध वस्तुको ओसारपसार रोक्न थप प्रभावकारी सुरक्षा प्रणाली आवश्यक छ। त्यस्तै, भूकम्प, बाढी र पहिरोजस्ता विपद्को जोखिम रहेको नेपालमा खोजी तथा उद्धारका लागि विशेष सीप भएका जनशक्ति र साधनको आवश्यकता निरन्तर बढिरहेको छ। प्रहरी कुकुरलाई केवल सुरक्षाकर्मीको सहायक जनावरका रूपमा हेर्न मिल्दैन। उनीहरू विशेष तालिम प्राप्त कार्यटोलीका सदस्य हुन्। उनीहरूको परिचालन, हेरचाह, स्वास्थ्य परीक्षण, खानपान, आराम र तालिमका लागि छुट्टै व्यवस्था आवश्यक हुन्छ। प्रहरीको केनाइन कार्यालयले यही व्यवस्थापन र दक्ष जनशक्ति विकासको जिम्मेवारी सम्हाल्दै आएको छ। एउटै कुकुर, फरक जिम्मेवारी प्रहरीले परिचालन गर्ने सबै कुकुरको काम एउटै हुँदैन। कुकुरको जात, स्वभाव, शारीरिक क्षमता, सिक्ने गति र घ्राण क्षमताका आधारमा तालिमको क्षेत्र निर्धारण गरिन्छ। कुनै कुकुर अपराधीको पदचिह्न वा घटनास्थलमा भेटिएको गन्ध पछ्याउन सक्षम हुन्छन्। कुनै विस्फोटक पदार्थ पहिचान गर्न अभ्यस्त हुन्छन्। कुनै लागुऔषधको गन्ध छुट्याउन तालिम प्राप्त हुन्छन् भने कुनै खोजी तथा उद्धारका लागि प्रयोग गरिन्छन्। अपराध अनुसन्धानमा प्रयोग हुने कुकुरलाई ट्र्याकर डग भनिन्छ। घटनास्थलमा फेला परेको गन्धयुक्त वस्तु वा अन्य सुरक्षित प्रमाण सुँघाएर कुकुरलाई सम्भावित गन्तव्य वा व्यक्तिको गन्ध पछ्याउन लगाइन्छ। घटनास्थलमा धेरै मानिसको आवतजावत भएको छैन र गन्धयुक्त प्रमाण सुरक्षित छ भने यस्तो कुकुरले अनुसन्धानलाई महत्त्वपूर्ण दिशा दिन सक्छ। प्रहरीको केनाइन कार्यालयले घटनास्थलमा रहेको गन्धयुक्त प्रमाण सुरक्षित राख्न र सम्भव भएसम्म छिटो कुकुर परिचालन गर्नुपर्ने उल्लेख गरेको छ। हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्ने कुकुरलाई बम डगका रूपमा चिनिन्छ। उनीहरूलाई विस्फोटक पदार्थमा प्रयोग हुने रासायनिक वस्तुको गन्ध पहिचान गर्न तालिम दिइन्छ। विमानस्थल, सार्वजनिक कार्यक्रम, विशिष्ट व्यक्तिको आवागमन, सरकारी कार्यालय, सवारीसाधन र संवेदनशील स्थानमा यस्ता कुकुर परिचालन गरिन्छन्। विस्फोट हुनुअघि नै शंकास्पद वस्तु पहिचान गर्न सके ठूलो जनधनको क्षति रोक्न सकिन्छ। लागुऔषध पहिचान गर्ने कुकुरलाई विभिन्न प्रकारका लागुऔषधको गन्ध छुट्याउन सिकाइन्छ। विमानस्थल, सीमा नाका, होटल, गोदाम र शंकास्पद स्थानमा यस्ता कुकुरको प्रयोग गरिन्छ। मानिसले सामान्य रूपमा पहिचान गर्न नसक्ने गरी लुकाइएका पदार्थ पत्ता लगाउन उनीहरूको भूमिका उपयोगी हुन्छ। सामान, झोला, सवारीसाधन र भण्डारणस्थलमा सुँघेर कुकुरले संकेत दिएपछि प्रहरीले थप जाँच गर्छ। खोजी तथा उद्धारमा प्रयोग हुने कुकुरको काम भने फरक हुन्छ। उनीहरूलाई भग्नावशेष, माटो, ढुंगा वा अन्य सामग्रीमुनि पुरिएका मानिसको गन्ध पहिचान गर्न तालिम दिइन्छ। बाढीले बगाएका मानिस, पहिरोमा पुरिएका व्यक्ति, भूकम्पले भत्काएका संरचनाभित्र फसेका मानिस र अन्य विपद्मा हराएका व्यक्तिको खोजीमा उनीहरूको प्रयोग हुन्छ। लियो यही विधामा काम गर्ने प्रहरी कुकुर हो। कुकुरको जातअनुसार क्षमता र काम गर्ने तरिका फरक हुन सक्छ। ल्याब्राडोर जातका कुकुर स्वभाव, सिक्ने क्षमता र काममा केन्द्रित हुन सक्ने विशेषताका कारण विभिन्न खोजी तथा पहिचानका काममा प्रयोग गरिन्छन्। जर्मन शेफर्डलाई बहुआयामिक कामका लागि तालिम दिन सकिन्छ। बेल्जियन शेफर्ड पनि सक्रियता, चुस्ती र कार्यक्षमताका कारण सुरक्षा तथा खोजी अभियानमा प्रयोग हुने जातमध्ये पर्छ। तर जातले मात्र कुकुरलाई सफल बनाउँदैन। तालिम र अभ्यास महत्त्वपूर्ण हुन्छ। एउटै जातका सबै कुकुर एउटै काममा दक्ष हुन्छन् भन्ने हुँदैन। कुन कुकुरलाई कुन काममा परिचालन गर्ने भन्ने निर्णय उसको स्वभाव, स्वास्थ्य, रुचि र सिक्ने क्षमताका आधारमा गरिन्छ। तालिम, अनुशासन र प्रशिक्षकसँगको सम्बन्ध प्रहरी कुकुरको काम बाहिरबाट हेर्दा सुँघ्ने र संकेत दिने जस्तो सरल देखिए पनि त्यसका पछाडि लामो अभ्यास हुन्छ। कुकुरलाई निश्चित गन्धसँग परिचित गराउने, त्यसलाई अन्य गन्धबाट छुट्याउन सिकाउने, संकेत दिने तरिका विकास गर्ने र विभिन्न वातावरणमा काम गर्न अभ्यस्त बनाउने प्रक्रिया तालिमको मुख्य हिस्सा हो। प्रहरी केनाइन कार्यालयले आधारभूत कुकुर व्यवस्थापन, विस्फोटक पदार्थ पहिचान, लागुऔषध खोजी, अपराध अनुसन्धानमा ट्र्याकर कुकुरको प्रयोग, मानव खोजी तथा उद्धार र आधारभूत पशु स्वास्थ्यसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। यसका साथै कुकुर परिचालन गर्ने प्रहरी कर्मचारीका लागि पनि विशेष तालिम र अनुशिक्षण आवश्यक हुन्छ। कुकुरलाई तालिम दिनु भनेको आदेश दिएर काम गराउनु मात्र होइन। उसको व्यवहार बुझ्नु, डर र तनावको अवस्था पहिचान गर्नु, कामप्रतिको रुचि कायम राख्नु र सही संकेतलाई प्रोत्साहन गर्नु पनि त्यसको हिस्सा हो। कुकुरले कुनै गन्ध पहिचान गर्दा प्रशिक्षकले त्यसलाई कसरी प्रतिक्रिया दिन्छन् भन्ने कुराले पनि आगामी अभ्यासमा प्रभाव पार्छ। प्रशिक्षक र कुकुरबीचको सम्बन्ध समयसँगै बलियो हुँदै जान्छ। दैनिक अभ्यास, खानपान, हिँडडुल, खेल र कामका क्रममा बनेको विश्वासले कुकुरलाई परिचित वातावरणबाहिर पनि सहज रूपमा काम गर्न मद्दत गर्छ। विपद् प्रभावित क्षेत्रजस्तो अपरिचित र तनावपूर्ण ठाउँमा यो सम्बन्ध अझ महत्त्वपूर्ण हुन्छ। लियोको भोटेकोशी अभियानमा पनि उसको प्रशिक्षक र उद्धार टोलीसँगको तालमेल निर्णायक थियो। बाढी प्रभावित क्षेत्रमा माटो, पानी, ढुंगा र अन्य वस्तुको गन्ध मिसिएको हुन्छ। मानिस र उद्धार उपकरणको आवतजावतले वातावरण थप जटिल बनाउँछ। यस्तो अवस्थामा कुकुरलाई खोजीमा केन्द्रित राख्न प्रशिक्षकले उसको संकेत, थकान र व्यवहार निरन्तर नियाल्नुपर्छ। कुकुरलाई मानिसजस्तै लामो समयसम्म निरन्तर काममा लगाउन सकिँदैन। केही समय काम गरेपछि आराम आवश्यक हुन्छ। शारीरिक थकान, तापक्रम, पानीको उपलब्धता, खानपान र स्वास्थ्य अवस्थाले काम गर्ने क्षमतामा प्रभाव पार्छ। त्यसैले खोजी टोलीले पालो मिलाएर कुकुर परिचालन गर्नुपर्छ। कामको गुणस्तर कायम राख्न विश्राम पनि तालिम र परिचालनकै महत्त्वपूर्ण हिस्सा हो। प्रहरी कुकुरको स्वास्थ्य परीक्षण, खोप, नियमित खानपान र उपचारमा पनि विशेष ध्यान दिनुपर्छ। सेवामा प्रवेश गराउनुअघि कुकुरको स्वास्थ्य परीक्षण गरिन्छ। रक्त परीक्षण, एक्सरे, आवश्यक खोप र उमेरअनुसारको जुकाको औषधि दिएपछि मात्र तालिम प्रक्रियामा सहभागी गराइन्छ। काम गर्ने क्षमताको नियमित मूल्याङ्कन पनि आवश्यक हुन्छ। कुकुरको सेवाकाल सधैँ एकनासको हुँदैन। उमेर बढ्दै जाँदा वा स्वास्थ्य तथा कार्यक्षमतामा कमी आएपछि उनीहरूलाई सक्रिय सेवाबाट अवकाश दिनुपर्ने हुन्छ। नेपाल प्रहरीले काम गर्न नसक्ने अवस्थामा पुगेका कुकुरको अवकाश व्यवस्थापनका लागि छुट्टै समिति बनाएको छ। कार्यक्षमता मूल्याङ्कनपछि अवकाश पाउने कुकुरलाई इच्छुक व्यक्तिले जिम्मा लिन सक्ने व्यवस्था पनि छ। यसले प्रहरी सेवामा जनावरको उपयोग मात्र होइन, सेवापछि उनीहरूको हेरचाहको प्रश्न पनि जोडिएको देखाउँछ। विपद् व्यवस्थापनमा बढ्दो आवश्यकता नेपाल भौगोलिक बनावट र मौसमी अवस्थाका कारण बाढी, पहिरो, हिमपहिरो र भूकम्पको उच्च जोखिममा रहेको देश हो। हिमाली क्षेत्रमा हिमपात र हिमपहिरो, पहाडी क्षेत्रमा पहिरो तथा तराईमा डुबान र बाढीले वर्षेनी जनधनको क्षति पुर्‍याउँछन्। जलवायु परिवर्तनसँगै वर्षाको तीव्रता, नदीको बहाव र पहाडी भूभागमा हुने जोखिमबारे थप चिन्ता बढिरहेको छ। यस्ता विपद्मा पहिलो प्राथमिकता मानिसको जीवन बचाउनु हो। त्यसका लागि सुरक्षाकर्मी, स्थानीय समुदाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली र उद्धार उपकरण परिचालित हुन्छन्। तर सबै घटनामा मानिसले मात्र खोजी गर्न सक्ने अवस्था हुँदैन। भत्किएका संरचना, माटोको थुप्रो, साँघुरा ठाउँ र जोखिमपूर्ण भूभागमा तालिमप्राप्त कुकुरले महत्त्वपूर्ण सहयोग पुर्‍याउन सक्छन्। २०७२ सालको भूकम्पपछि नेपालमा खोजी तथा उद्धारमा तालिमप्राप्त कुकुरको उपयोगबारे सार्वजनिक चासो बढेको थियो। भूकम्पले भत्काएका संरचनामा मानिस पुरिएको अवस्थामा कुकुरको घ्राण क्षमताबाट सम्भावित स्थान पहिचान गर्न सकिन्छ। त्यसपछि उद्धार टोलीले उपकरण प्रयोग गरी भग्नावशेष हटाउने र मानिसको अवस्था पत्ता लगाउने काम गर्छ। भोटेकोशी बाढीमा पनि यही आवश्यकता देखियो। बाढीले बगाएर ल्याएको माटो, ढुंगा र संरचनाको थुप्रोमा मानिसका शरीर वा अवशेष लुकेका हुन सक्थे। नदी किनारको लामो क्षेत्र, भत्किएका संरचना र दुर्गम स्थानमा सबै ठाउँमा एकैपटक मानिस परिचालन गरेर खोजी गर्न सम्भव थिएन। यस्तो अवस्थामा तालिमप्राप्त कुकुरको प्रयोगले खोजीलाई थप लक्षित बनाउन सहयोग गर्‍यो। यस विपद्मा नेपाल प्रहरीका अतिरिक्त सशस्त्र प्रहरी बलका केनाइन टोली पनि परिचालित भएका थिए। सशस्त्र प्रहरीका कुकुरले प्रभावित क्षेत्रका विभिन्न स्थानमा खोजी गरी शव पत्ता लगाउन सहयोग गरेका थिए। उद्धार अभियानमा प्रहरी र सशस्त्र प्रहरीका कुकुरले पहिचान गरेका स्थानमा उद्धार टोलीले उत्खनन तथा संकलन गरेको थियो। यसले विपद् व्यवस्थापनमा केनाइन टोली एकल निकायको विषय नभई सुरक्षा निकायबीचको समन्वयको विषय भएको देखाउँछ। भोटेकोशी बाढीपछि दक्षिण कोरियाली उद्धार टोलीले पनि तालिमप्राप्त कुकुरसहित नेपाल आएर खोजीमा सहयोग गरेको थियो। विदेशी उद्धार टोलीसँग आएका कुकुरको परिचालनले विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग र विशेषज्ञताको आवश्यकता पनि देखायो। ठूलो विपद्मा स्थानीय स्रोतसाधनले मात्र पर्याप्त नपुग्न सक्छ। त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्धार क्षमता, तालिम र उपकरणबीच समन्वय हुनु आवश्यक छ। तर कुकुरको प्रयोगले सबै समस्या समाधान गर्छ भन्ने होइन। पानीको तीव्र बहाव, अत्यधिक वर्षा, हावाको दिशा, वातावरणमा मिसिएका विभिन्न गन्ध र भग्नावशेषको अवस्थाले खोजी प्रभावित गर्न सक्छ। नदीले बगाएर टाढा पुर्‍याएको शरीरको गन्ध पहिचान गर्न कठिन हुन सक्छ। धेरै मानिसको आवतजावत भएको ठाउँमा पनि गन्ध छुट्याउन चुनौती हुन्छ। त्यसैले कुकुरले दिएको संकेतलाई अन्य प्रमाण र प्राविधिक विधिसँग मिलाएर मात्र निष्कर्षमा पुग्नुपर्छ। १०७ कुकुरको जिम्मेवारी नेपाल प्रहरीमा हाल १०७ वटा तालिमप्राप्त कुकुर परिचालनमा रहेको विवरण सार्वजनिक गरिएको छ। ती कुकुर देशभरका १३ स्थानमा रहेका केनाइन इकाइमार्फत काम गर्छन्। प्रहरी केनाइन सेवा काठमाडौंको महाराजगन्जस्थित केन्द्रीय कार्यालयमा मात्र सीमित छैन। प्रदेश प्रहरी कार्यालय, विमानस्थल सुरक्षा इकाइ र अन्य संवेदनशील क्षेत्रमा पनि यसको उपस्थिति छ। विमानस्थलमा लागुऔषध र विस्फोटक पदार्थ पहिचान गर्ने कुकुर परिचालन गरिन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रमुख विमानस्थलमा सुरक्षा जाँचका क्रममा कुकुरको प्रयोग हुँदै आएको छ। सीमा नाकामा अवैध वस्तुको ओसारपसार नियन्त्रण र यात्रुको सुरक्षाका लागि पनि केनाइन टोली परिचालित हुन्छन्। विशिष्ट व्यक्तिको सुरक्षा, सार्वजनिक समारोह, संवेदनशील प्रतिष्ठान र विशेष सुरक्षा कारबाहीमा पनि प्रहरी कुकुरको प्रयोग हुन्छ। उनीहरूले विस्फोटक पदार्थको सम्भावित जोखिम पहिचान गर्न सहयोग गर्छन्। कुनै शंकास्पद वस्तु भेटिएमा त्यसलाई सुरक्षित रूपमा जाँच गर्ने र आवश्यक सुरक्षा प्रक्रिया अघि बढाउने काम प्रहरीको हुन्छ। अपराध अनुसन्धानमा पनि कुकुरको प्रयोग बढ्दै गएको छ। हत्या, चोरी, डकैती वा अपहरणजस्ता घटनामा घटनास्थलमा भेटिएको गन्धयुक्त प्रमाणका आधारमा कुकुर परिचालन गर्न सकिन्छ। तर यस्तो अनुसन्धानमा घटनास्थल सुरक्षित राख्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ। धेरै मानिसको आवतजावत, पानी वा वर्षाले गन्ध नष्ट हुनु र प्रमाणको उचित संरक्षण नहुनुले कुकुरको काममा असर पार्न सक्छ। त्यसैले कुकुरको संकेतलाई अनुसन्धानको अन्तिम प्रमाणका रूपमा लिन मिल्दैन। त्यसलाई अनुसन्धानको एउटा सहायक आधारका रूपमा प्रयोग गरिन्छ। कुकुरले कुनै व्यक्तिको घर वा स्थानमा पुगेर संकेत दिएको आधारमा मात्रै कसैलाई दोषी ठहर गर्न मिल्दैन। त्यसपछि अन्य भौतिक प्रमाण, बयान, डिजिटल विवरण र कानुनी प्रक्रियाबाट अनुसन्धान अघि बढाउनुपर्छ। प्रहरीको केनाइन सेवा विस्तारसँगै जनशक्ति र पूर्वाधारको आवश्यकता पनि बढेको छ। कुकुरलाई तालिम दिने प्रशिक्षक, परिचालक, पशु चिकित्सक, नियमित स्वास्थ्य परीक्षण, सुरक्षित आवास, खानपान र आवश्यक उपकरणको व्यवस्था हुनुपर्छ। विपद्का बेला दुर्गम क्षेत्रमा छिटो परिचालन गर्न यातायात र हवाई सहयोगको व्यवस्था पनि महत्त्वपूर्ण हुन्छ। देशभर १०७ वटा कुकुर परिचालन हुनु आफैँमा सकारात्मक उपलब्धि हो। तर विपद्को जोखिम, भौगोलिक विस्तार र सुरक्षा चुनौतीका आधारमा यो संख्या पर्याप्त छ कि छैन भन्ने प्रश्न पनि उठ्छ। कुन प्रदेशमा कति कुकुर छन्, कुन कामका लागि कति जनशक्ति तयार छ, विपद्का बेला कति समयभित्र टोली परिचालन गर्न सकिन्छ र आवश्यक उपकरण कति उपलब्ध छन् भन्ने विषयमा नियमित मूल्याङ्कन आवश्यक छ। लियोको सम्मानले उठाएको प्रश्न कुकुर तिहार नेपाली समाजमा कुकुरप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा स्थापित छ। हिन्दू परम्परामा कुकुरलाई यमदूतका रूपमा समेत मानिन्छ। घरपालुवा कुकुरदेखि सडकमा बस्ने कुकुरसम्मलाई माला लगाइदिने, टीका लगाउने र मीठो खानेकुरा दिने चलन छ। तर प्रहरी सेवामा रहेका तालिमप्राप्त कुकुरका लागि कुकुर तिहारको अर्थ अझ फराकिलो छ। उनीहरूले वर्षभरि गरेको कामको मूल्याङ्कन र सम्मान गर्ने अवसर पनि यही दिन बनेको छ। लियोलाई पदक प्रदान गर्नुको अर्थ उसले गरेको कामलाई औपचारिक रूपमा स्वीकार गर्नु हो। विपद्को समयमा उसले दिएको योगदानलाई प्रहरी संगठनले संस्थागत सम्मान दिएको छ। यसले प्रहरी सेवामा जनावरको भूमिका र उनीहरूको योगदानबारे समाजलाई जानकारी गराउने अवसर पनि सिर्जना गरेको छ। लियोको कथा एउटा सफल उद्धार अभियानको कथा मात्र होइन। यसले मानिस र जनावरबीचको सहकार्यको महत्त्व पनि देखाउँछ। मानिसले तालिम दिन्छ, कामको निर्देशन गर्छ र जोखिम व्यवस्थापन गर्छ। कुकुरले आफ्नो प्राकृतिक क्षमताको उपयोग गरेर मानिसले सहजै पत्ता लगाउन नसक्ने संकेत पहिचान गर्छ। दुवैको सीप र तालमेलबाट खोजी अभियान प्रभावकारी हुन्छ। तर प्रहरी कुकुरको योगदानलाई वर्षमा एक दिन माला र पदकमा मात्र सीमित राख्नु हुँदैन। उनीहरूको नियमित स्वास्थ्य परीक्षण, पोषण, सुरक्षित आवास, तालिम र अवकाशपछिको हेरचाहलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ। जोखिमपूर्ण क्षेत्रमा काम गर्दा कुकुरको सुरक्षाका लागि आवश्यक उपकरण र उपचारको व्यवस्था हुनुपर्छ। उद्धार अभियानमा खटिने कुकुरको कामको अवधि, विश्राम र स्वास्थ्य अवस्थाको अभिलेख व्यवस्थित राख्नुपर्छ। अर्कोतर्फ, केनाइन सेवाको क्षमता विस्तार गर्दा सबै काम एउटै कुकुरबाट गराउने सोच राख्नु हुँदैन। खोजी तथा उद्धार, लागुऔषध पहिचान, विस्फोटक पदार्थ खोजी र अपराध अनुसन्धानका लागि फरक सीप आवश्यक हुन्छ। त्यसअनुसार कुकुर छनोट, तालिम र परिचालन हुनुपर्छ। विपद् जोखिम भएका जिल्लामा आवश्यकताअनुसार तालिमप्राप्त टोलीको पहुँच बढाउनुपर्छ। नेपालमा विपद् व्यवस्थापनका लागि आधुनिक उपकरणको आवश्यकता पनि उत्तिकै छ। ड्रोन, भूगर्भीय खोजी उपकरण, सञ्चार प्रणाली, उद्धार सामग्री र तालिमप्राप्त जनशक्तिसँगै केनाइन टोलीलाई पनि समन्वित रूपमा परिचालन गर्न सकिए खोजीको प्रभावकारिता बढ्न सक्छ। कुकुरले सम्भावित स्थान पहिचान गर्ने, ड्रोनले भूभागको दृश्य जानकारी दिने र प्राविधिक टोलीले आवश्यक उपकरण प्रयोग गरेर उत्खनन गर्ने प्रणाली विकास गर्न सकिन्छ। यसका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय तह र अन्य उद्धार निकायबीच नियमित संयुक्त अभ्यास आवश्यक छ। विपद् आएपछि मात्र टोली परिचालन गर्नेभन्दा विपद् हुनुअघि नै तयारी, तालिम र समन्वयको अभ्यास गर्नु प्रभावकारी हुन्छ। लियोले भोटेकोशी बाढीमा देखाएको क्षमता यही तयारीको परिणाम हो। विसं २०७८ देखि नेपाल प्रहरीको खोजी तथा उद्धार कार्यमा सहयोग गर्दै आएको लियोले विभिन्न चुनौतीपूर्ण घटनामा काम गरेको छ। यसपटक बाढी प्रभावित क्षेत्रमा लामो समयसम्म खटिएर दुईवटा शव, मानव कंकाल र शरीरका विभिन्न अंग पत्ता लगाउन सहयोग गरेपछि उसले सर्वोत्कृष्ट प्रहरी कुकुरको सम्मान पाएको छ। बाढीले धेरै परिवारलाई पीडामा छाड्यो। बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि हरेक सूचना महत्त्वपूर्ण थियो। त्यस्तो कठिन समयमा लियोले दिएको संकेतले उद्धार टोलीलाई खोजीको दिशा पहिल्याउन सहयोग गर्‍यो। उसको कामले हराएका सबै मानिस भेटिए भन्ने होइन, तर कठिन परिस्थितिमा खोजी अभियानलाई थप प्रभावकारी बनाउन सकिन्छ भन्ने प्रमाणित गर्‍यो। कुकुर तिहारमा लियोलाई दिइएको पदक त्यसैले एउटा जनावरको सम्मानमा सीमित छैन। यो विपद्का बेला अग्रपंक्तिमा खटिने उद्धारकर्मी, प्रशिक्षक र उनीहरूसँग काम गर्ने तालिमप्राप्त कुकुरहरूको सामूहिक योगदानको पहिचान हो। मानिसको पहुँच नपुग्ने ठाउँमा गन्ध पछ्याउँदै खोजी गर्ने लियोले देखाएको क्षमताले विपद् व्यवस्थापनमा विज्ञान, तालिम र प्रकृतिबीचको सहकार्य कति महत्त्वपूर्ण छ भन्ने सन्देश दिएको छ। भोटेकोशीको बाढीले छाडेको पीडा अझै धेरै परिवारको स्मृतिमा ताजा छ। तर त्यही विपद्को कठिन खोजी अभियानमा लियोले गरेको कामले एउटा कुरा स्पष्ट पारेको छ- उद्धारका लागि मानवीय साहससँगै विशेष तालिम, उपयुक्त प्रविधि र जनावरको प्राकृतिक क्षमताको उपयोग पनि उत्तिकै आवश्यक छ। यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर बनेको लियोले यही योगदानका कारण सम्मान पाएको हो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजामा केराको थम्बाको व्यापार
Latest NewsJust now

लक्ष्मीपूजामा केराको थम्बाको व्यापार

विराटनगर। झिलिमिलीको चाड तिहार पर्व सुरू भएको छ। दीपावलीको उज्यालोसँगै नेपाली समाजमा विभिन्न सांस्कृतिक परम्परा र विधिहरू जोडिएका छन्, जसमध्ये लक्ष्मीपूजाका दिन घर र पसलको मूलढोकामा केराको थम्बा (बोट) गाड्नु एक प्रमुख धार्मिक अनुष्ठान मानिन्छ। यही धार्मिक आस्था र परम्परालाई व्यापारमा बदलेर सुनसरीका विजयकुमार मेहता विगत पाँच वर्षदेखि विराटनगरका बजारमा केराको थम्बा विक्री गरिरहेका छन्। तिहारको दोस्रो दिन अर्थात् लक्ष्मीपूजाको बिहानै विराटनगरका ...

नेपालन्युज
व्यावसायिक सयपत्री खेती गर्दै आएका कृषकमा उत्साह
Latest NewsJust now

व्यावसायिक सयपत्री खेती गर्दै आएका कृषकमा उत्साह

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक २२ गते । व्यावसायिक सयपत्री खेती गर्दै आएका पाल्पाका कृषकहरुको बारीमा ढकमक्क फूल फक्रिएको छ । तिहारका लागि सयपत्री टिप्न र माला तयार गर्नमा व्... ...

गोरखापत्र
साइबर ब्युरोमा पुगे कांग्रेस सह-महामन्त्री शिवाकोटी
Latest NewsJust now

साइबर ब्युरोमा पुगे कांग्रेस सह-महामन्त्री शिवाकोटी

काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरो पुगेर हाजिर भएका छन्। उनले आफूसँगै कानुन व्यवसायीहरू पनि लिएर गएका थिए । साइबर ब्युरोभित्र उनलाई मात्रै छिर्न दिएर कानुन व्यवसायीलाई रोकेको दाबी उनीनिकटले गरेका छन्। शिवाकोटीले कानुन व्यवसायीलाई समेत साथमा लैजान खोजेका थिए। आइतबार शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो […] ...

काठमाण्डुपाटी
पाँच मिनेटमा एक माइल दौडिँदै चार रुबिक्स क्युब मिलाएर विश्वकीर्तिमान
Latest NewsJust now

पाँच मिनेटमा एक माइल दौडिँदै चार रुबिक्स क्युब मिलाएर विश्वकीर्तिमान

बेलायतका एक धावकले दौड र पजल समाधान गर्ने सीपलाई एकसाथ प्रयोग गर्दै अनौठो विश्वकीर्तिमान कायम गरेका छन् । बेलायती धावक जर्ज स्कोलीले एक माइल दौड पूरा गर्ने क्रममा चारवटा रुबिक्स क्युब मिलाएर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन् । स्कोलीले गत १२ अक्टोबरमा क्यानडाको टोरन्टोस्थित सेन्ट्रल टेक हाई स्कुलको दौड ट्र्याकमा यो कीर्तिमान बनाएका थिए । उनले चारवटा रुबिक्स क्युब मिलाउँदै ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play