काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद ज्वाला संग्रौलाले सांसदहरूको विदेश भ्रमण उपलब्धिमूलक हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले विदेश भ्रमणको विरोध नभई राज्य कोषबाट हुने खर्चको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिएकी हुन्। देशको आर्थिक अवस्था कमजोर रहेका बेला जनताले तिरेको करबाट हुने भ्रमण घुमघाममा मात्र सीमित हुन नहुने उनको भनाइ छ। भ्रमणबाट प्राप्त हुने उपलब्धिबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्ने उनले उल्लेख गरेकी छन्। पार्टीभित्रैबाट विदेश भ्रमण र सरकारी खर्चबारे प्रश्न उठ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उनले महामन्त्री विपिन आचार्यले आफ्नो सुझावलाई सकारात्मक रूपमा ग्रहण गरेकोमा धन्यवाद दिएकी छन्। जनताले गरेको विश्वास र मतको सम्मान गर्दै नेता तथा जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा जोड दिँदै संग्रौलाले विदेश भ्रमणमा जाने टोलीलाई शुभकामना समेत दिएकी छन्।
विदेश भ्रमणको औचित्य पुष्टि गर्न सांसद संग्रौलाको माग

Read Complete Original Article
Published originally on नेपालन्युज






