काठमाडौं। काठमाडौं महानगरपालिकाले सहरको वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्र समेटेर कार्यक्रम अघि बढाउने भएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलोको प्रयोग, हरियाली विस्तार र प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिए । महानगरपालिकाले वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ को मस्यौदासमेत तयार पारेको छ । विभागले तयार गरेको कार्ययोजनामा सडकको धुलो, सवारीसाधनबाट निस्कने धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली विस्तार र जनस्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइएको छ । प्रमुख राईका अनुसार महानगरपालिका नसर्ने रोग र चोटपटकबाट नागरिकलाई जोगाउन प्रतिबद्ध विश्वका सहरहरूको सञ्जालको सदस्यसमेत हो । विश्व स्वास्थ्य सङ्गठन र ब्लुमवर्ग फिलान्थ्रोपिजसँगको सहकार्यमा सञ्चालन हुने कार्यक्रममध्ये वायु प्रदूषण नियन्त्रण पनि एक हो । “भौगोलिक बनावटका कारण वायु प्रदूषणको असर हामीले पनि भोग्नुपरेको छ । साझा प्रयत्नबाट यसलाई घटाउन चाहन्छौँ”, उनले भने । कार्ययोजनाको पहिलो उद्देश्य वायु प्रदूषण रोकथाम तथा न्यूनीकरणका लागि नीतिगत, कानुनी, संस्थागत र आर्थिक व्यवस्था सुदृढ गर्नु रहेको छ । यसअन्तर्गत महानगरपालिकाका विद्यमान नीति, नियम, कार्यविधि तथा मापदण्डको समीक्षा र परिमार्जन गर्ने, प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ पुनरावलोकन गर्ने तथा विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रलाई लक्षित गरी विशेष व्यवस्था गर्ने उल्लेख छ । विद्युतीय सवारीसाधन र विद्युतीय चुलोजस्ता स्वच्छ प्रविधिको प्रयोगलाई पनि प्रोत्साहन गरिनेछ । सबै कार्यक्रम एउटै विभागबाट सञ्चालन गर्न सम्भव नहुने भएकाले विषयगत जिम्मेवारीअनुसार महानगरपालिकाका ३२ वटै वडा कार्यालयसहित विभिन्न विभाग र आयोजनालाई जिम्मेवारी तोकिएको प्रमुख राईले बताए । यातायात तथा सडक सुरक्षा योजना, सार्वजनिक निर्माण विभाग, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, स्वास्थ्य विभाग, शिक्षा विभाग र सूचना प्रविधि विभागलाई पनि कार्ययोजनाअनुसार जिम्मेवारी दिइएको छ । महानगरपालिकाका अनुसार कार्ययोजनामा केही काम तत्कालै सुरु गरी निरन्तर सञ्चालन गर्ने, केही महिनाभित्र, केही एक वर्षभित्र र केही दुईदेखि पाँच वर्षको अवधिमा पूरा गर्ने लक्ष्य राखिएको छ ।
वायु गुणस्तर सुधार्न काठमाडौं महानगरका २७ रणनीतिक क्षेत्र

Read Complete Original Article
Published originally on नेपालन्युज






