Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

वाम एकताको बहस फेरि सतहमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
वाम एकताको बहस फेरि सतहमा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कमजोर परिणाम, बदलिँदो राजनीतिक शक्ति सन्तुलन र कम्युनिष्ट आन्दोलनको भविष्यबारे जारी चिन्ताबीच नेपालका क्रियाशील वाम दलहरूबीच एकता र सहकार्यको बहस फेरि सतहमा आएको छ । तर, वाम दलका शीर्ष नेताहरूको अभिव्यक्ति र व्यवहारबीच देखिएको अन्तर, नेतृत्वको प्रतिस्पर्धा तथा विगतको तीक्ततापूर्ण विभाजनले एकताको सम्भावनाले अझै दिशा लिन भने सकेको छैन । त्यसो त नेपाली राजनीतिमा वाम एकताको बहस नयाँ होइन । कुनै समय मुलुकको राजनीतिमा निर्णायक शक्ति बनेका वाम दलहरू पछिल्ला राजनीतिक घटनाक्रम र निर्वाचन परिणामबाट कमजोर बन्दै गएपछि सहकार्य र एकताको आवश्यकता महसुस गर्न थालेका छन् । विशेषगरी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच विकसित हुँदै गएको सहकार्यले वाम राजनीतिमा नयाँ सम्भावना र संशय दुवै देखिएको छ । अर्कोतर्फ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा औपचारिक रूपमै सक्रिय भएसँगै दुई दलबीचको एकताको सम्भावनाले केही आशा देखिएको छ । किनभने नेकपाका संयोजक पुष्पकमल दाहालले पूर्वराष्ट्रपति भण्डारीको नेतृत्वमा वाम एकताको आशय पटक–पटक सार्वजनिक गर्दै आउनुभएको छ । प्रदेश सरकारमा सहकार्यदेखि आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा सम्भावित चुनावी तालमेलसम्मका विषयमा छलफल अघि बढिरहेका बेला पार्टी एकताकै सम्भावनाबारे पनि रहेको दुवै नेताहरूको दाबी छ । वाम एकताको बहस पुनः सक्रिय हुनुको प्रमुख कारण पछिल्ला निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले बेहोरेको कमजोर परिणाम हो । कुनै समय संसद्मा ६० प्रतिशतसहित बलियो उपस्थिति र देशव्यापी संगठनात्मक आधार भएका वामपन्थी दलहरू अहिले राजनीतिक प्रतिस्पर्धामा आफ्नो प्रभाव जोगाउन संघर्षरत छन् । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनले झण्डै दुईतिहाइ संसदीय शक्ति हासिल गरेको थियो । त्यसबेला दुवै पार्टीले प्राप्त गरेको जनमतले नेपालमा कम्युनिष्ट शक्तिको राजनीतिक भविष्यप्रति ठूलो आशा जगाएको थियो । चुनावी गठबन्धनपछि २०७५ सालमा दुई पार्टीबीच औपचारिक एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो । यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा एउटा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको थियो । तर, पार्टी एकताको उत्साह लामो समय टिक्न सकेन । नेतृत्व व्यवस्थापन, शक्ति बाँडफाँट, सरकार सञ्चालनको शैली र वैचारिक विषयमा उत्पन्न विवादले पार्टीभित्र गम्भीर संकट निम्तियो । अन्ततः आन्तरिक विवाद र राजनीतिक घटनाक्रमका कारण तीन वर्षमै नेकपा विभाजनको अवस्थामा पुग्यो । पछिल्लो निर्वाचनको परिणामले वाम जनाधारलाई थप उजागर गरेको छ । नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनः एकीकृत गर्ने अभियानमा दाहालले पछिल्लो समय जोड दिँदै आउनुभएको छ । विगतका राजनीतिक घटनाक्रम, राष्ट्रिय स्वाधीनता र कम्युनिष्ट आन्दोलनमाथि देखिएका चुनौतीको सामना गर्न वामपन्थी शक्तिहरू एक ठाउँमा उभिन आवश्यक रहेको उहाँको तर्क छ । तर, वाम एकताको पछिल्लो बहसले अहिलेसम्म स्पष्ट राजनीतिक आकार भने लिन सकेको छैन । कतिपय एजेण्डाहरूमा भने एमाले र नेकपा एक ठाउँमा देखिएको छन् । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका काम कारबाहीविरुद्ध दुवै दलको समान धारणा छ । मुख्यगरी संविधान, लोकतन्त्र र विधिको शासनविरुद्ध वर्तमान सरकारका क्रियाकलाप केन्द्रित बनेको दुवै दलको समान धारणा छ । यस्तै, आसन्न स्थानीय र प्रदेशसभा चुनाव एकैपटक गर्न नहुनेमा पनि दुवै दलको एकमत छ । यस्तै, संविधानको व्यवस्थाअनुसार स्थानीय र प्रदेशसभाका जनप्रतिनिधिहरूले पाँच वर्ष कार्यकाल पूरा गर्न पाउनुपर्ने विषयमा पनि दुई दल एक ठाउँमा छन् । वाम एकताको पछिल्लो बहसमा सबैभन्दा बढी चर्चामा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालबीचको सम्बन्ध छ । विगतमा एक-अर्काका कटु राजनीतिक प्रतिस्पर्धी बनेका यी दुई नेता अहिले सहकार्यको सम्भावना खोजिरहेका छन् । प्रदेश सरकार गठन र सञ्चालनमा दुवै पक्षबीच विकसित भएको सहकार्यले आगामी राजनीतिक समीकरणका लागि आधार तयार पार्ने संकेत गरेको छ । एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य विस्तार हुँदै गएको छ । दुवै पार्टीका तल्ला तहका कमिटीलाई सम्भावित चुनावी तालमेलको आधार तयार गर्न अनौपचारिक निर्देशनसमेत दिइएको छ । एकताको बहसमा नेतृत्वको प्रश्न सबैभन्दा पेचिलोनेपालमा कम्युनिष्ट पार्टीहरूबीच एकता हुन नसक्नुको प्रमुख कारणमध्ये नेतृत्व व्यवस्थापनलाई महत्त्वपूर्ण मानिन्छ । विचार, सिद्धान्त र राजनीतिक कार्यक्रमका विषयमा सहमति जुटाउन सकिए पनि नेतृत्व कसले गर्ने, पार्टीको अध्यक्ष ‘को’ बन्ने, संसदीय दलको नेता ‘कसलाई’ बनाउने र सरकार सञ्चालनमा ‘कसको’ भूमिका निर्णायक हुने भन्ने प्रश्नले विगतका एकता प्रयासहरूलाई प्रभावित पार्दै आएको छ । २०७५ सालको नेकपा एकताको अनुभव यसको ज्वलन्त उदाहरण हो । त्यतिबेला ओली र दाहालबीच आलोपालो सरकारको नेतृत्व गर्ने समझदारीदेखि पार्टी सञ्चालनमा शक्ति सन्तुलन कायम गर्ने विषयसम्म सहमति भएको थियो । तर, ती सहमति कार्यान्वयनको विषयमा विवाद उत्पन्न भएपछि पार्टीभित्र अविश्वास बढ्दै गयो । अन्ततः नेतृत्वबीचको शक्ति संघर्षले पार्टी विभाजन भयो । एमालेमा ओलीको नेतृत्व स्थापित छ । नेकपामा दाहालको नेतृत्व छ । एकीकृत समाजवादीबाट आएका नेताहरू, माओवादी पृष्ठभूमिका नेताहरू र अन्य कम्युनिष्ट घटकहरूको पनि आ-आफ्नै राजनीतिक महत्त्वाकांक्षा र संगठनात्मक दाबी छन् । सहकार्यबारे फरक मतवाम एकताको बहस सतहमा आए पनि सहज भने छैन । एमाले र नेकपाबीच प्रदेश सरकारमा भएको सहकार्यलाई दुवै दलका सबै नेताले समान रूपमा स्वीकार गर्न सकेका छैनन् । विशेषगरी पार्टीको संस्थागत निर्णय प्रक्रियालाई बेवास्ता गरेर शीर्ष नेताहरूबीच मात्र सहमति गर्ने प्रवृत्तिप्रति नेता तथा कार्यकर्ता पंक्तिमा असन्तुष्टि देखिएको छ । अर्कोतर्फ, एमालेभित्र नेतृत्व परिवर्तन र संगठनात्मक पुनर्गठनको बहस पनि जारी छ । यस्तो अवस्थामा बाह्य पार्टीसँगको एकता वा सहकार्यले आन्तरिक राजनीतिक समीकरणलाई कसरी प्रभावित पार्छ भन्ने विषयले थप जटिलता सिर्जना गर्ने सम्भावना छ । वामपन्थी शक्तिबीच एकता अपरिहार्य : संयोजक दाहालनेकपाका संयोजक पुष्पकमल दाहालले मुलुकलाई अग्रगामी दिशामा लैजान वामपन्थी शक्तिबीच एकता आवश्यक रहेको जिकिर गर्नुभएको छ । विगतदेखि नै आफू वामपन्थी शक्तिलाई एकताबद्ध बनाउने प्रयासमा लागिरहेको जिकिर गर्नुभएका दाहालले यसअघिका त्रुटि सच्याएर अघि बढ्न सबैले प्रण गर्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘हिजोको असफलताबाट पाठ सिकेर फेरि एकपटक कम्युनिष्ट एकताको झण्डा उठाउनुपर्छ ।’ दाहालले कम्युनिष्ट आन्दोलनको संरक्षण, समाजवादको लक्ष्य र राष्ट्रिय स्वाधीनताको सवाललाई एकताको आधारका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ । नेताहरूबीच तीक्तता कायमैमुलुकका दुई प्रमुख वाम दलहरूबीच सहकार्य र एकताको बहस चलिरहेको बेला दुवै दलका नेता तथा कार्यकर्ताहरूमा तीक्तता भने कायमै छ । नेकपाका नेता वर्षमान पुनले नेकपा एमाले अहिले निकै हतासमा देखिएको टिप्पणी गर्दै भन्नुभयो, ‘अहिले यसो कम्युनिष्ट आन्दोलनमा हेर्‍यो भने अब कहिले सकिँदैन, अब बर्बाद भयो भन्ने मानसिकता बढी देखिन्छ । अझ हाम्रो पंक्तिमा भन्दा एमालेका साथीहरूमा अलि बढी त्यो छ । जहाँ गयो भने पनि पार्टी मिलाऊँ, गठबन्धन गरौँ, छिटो एकता गरौँ, के गर्ने हो जहाँ गए पनि लौ कमरेड लाग्नुपर्‍यो भन्ने । त्यो लेभलको हतासा पनि हुन जरुरी छैन ।’ नेता पुनको टिप्पणीमा एमालेका नेताहरूले भने प्रतिवाद गरेका छन् । एमाले नेता नवराज सिलवालले वर्तमान राजनीतिक परिस्थितिमा माओवादीसँगको एकता वा सहकार्यबाट कुनै ठोस परिणाम नआउने जिकिर गर्दै अहिलेको अवस्थामा एकताले ‘कुनै लछारपाटो नलाग्ने’ टिप्पणी गर्नुभएको छ । यस्तै, एमालेका नेता सूर्य थापाले वर्षमान पुनको अभिव्यक्ति आत्मरति भएको टिप्पणी गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर
Latest NewsJust now

मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर

म्याग्दी । बिहानको उज्यालोसँगै म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर शेरपुञ्जाको व्यस्तता सुरु हुन्छ । धवलागिरि गाउँपालिका–३ मुना घर भएका उनी एक वर्षदेखि बङ्गुरपालनमा निरन्तर खटिएका छन् । लामो... ...

रातोपाटी
सोमबारको मौसम पूर्वानुमान: हिमाली भेगमा हल्का हिमपात हुन सक्ने
Latest NewsJust now

सोमबारको मौसम पूर्वानुमान: हिमाली भेगमा हल्का हिमपात हुन सक्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन। महाशाखाले जारी गरेको मौसम विश्लेषणमा हाल कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक... ...

रातोपाटी
बढ्यो घरजग्गा कारोबार
Latest NewsJust now

बढ्यो घरजग्गा कारोबार

काठमाडौं । देशको अर्थतन्त्र अपेक्षित गतिमा चलायमान हुन नसकिरहेका बेला घरजग्गा कारोबारमा भने सुधारको संकेत देखिन थालेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा घरजग्गा कारोबारबाट प्राप्त हुने सरकारी राजस्वमा उल्लेख्य वृद्धि भएपछि लामो समयदेखि सुस्त रहेको रियल इस्टेट बजारमा चहलपहल बढ्न थालेको संकेत मिलेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक ...

हिमालय टाइम्स
राष्ट्रपति भवनमा स्वागतदेखि द्विपक्षीय भेटवार्तासम्म : यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका
Latest NewsJust now

राष्ट्रपति भवनमा स्वागतदेखि द्विपक्षीय भेटवार्तासम्म : यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरूले भरिएको छ। सार्वजनिक कार्यतालिका अनुसार सोमबार बिहान १०:०० बजे... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement