Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बढ्यो घरजग्गा कारोबार

Share:WhatsAppFacebookX (Twitter)Telegram
बढ्यो घरजग्गा कारोबार
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । देशको अर्थतन्त्र अपेक्षित गतिमा चलायमान हुन नसकिरहेका बेला घरजग्गा कारोबारमा भने सुधारको संकेत देखिन थालेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा घरजग्गा कारोबारबाट प्राप्त हुने सरकारी राजस्वमा उल्लेख्य वृद्धि भएपछि लामो समयदेखि सुस्त रहेको रियल इस्टेट बजारमा चहलपहल बढ्न थालेको संकेत मिलेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिक मसान्तसम्म घरजग्गा कारोबारबाट सरकारले १८ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो राजस्व ११ अर्ब ९२ करोड रुपैयाँ मात्रै थियो । यसरी एक वर्षको अवधिमा घरजग्गा कारोबारबाट प्राप्त राजस्व ६ अर्ब ३३ करोड रुपैयाँ अर्थात् ५३.१० प्रतिशतले बढेको छ । घरजग्गा कारोबारमा देखिएको यो वृद्धिले पछिल्लो समय यस क्षेत्रमा सुधार हुँदै गएको संकेत गरे पनि बजारले पुरानै गति समातिसकेको निष्कर्षमा पुग्न भने हतार हुने व्यवसायीहरूको भनाइ छ । विशेष गरी जग्गाको कित्ताकाट प्रक्रियामा गरिएको सहजता, अंशबण्डा तथा अन्य कानुनी प्रक्रियामा भएको सहजीकरण र कारोबारका लागि बनेको अनुकूल वातावरणले राजस्व वृद्धिमा योगदान पुर्‍याएको देखिन्छ । चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांक हेर्दा असोजमा घरजग्गा कारोबारबाट प्राप्त राजस्वमा सबैभन्दा ठूलो वृद्धि देखिएको छ । गत आर्थिक वर्षको असोजमा दुई अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही महिनामा सात अर्ब रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो । भूमि व्यवस्था तथा अभिलेख विभागको विवरणअनुसार गत आर्थिक वर्षको साउनमा तीन अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षको साउनमा यस्तो राजस्व बढेर तीन अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, गत वर्षको भदौमा तीन अर्ब १४ करोड रुपैयाँ संकलन भएकामा चालु आर्थिक वर्षको भदौमा चार अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । असोजमा भने राजस्व संकलनमा असाधारण वृद्धि देखिएको छ । गत वर्षको दुई अर्ब ४६ करोड रुपैयाँको तुलनामा चालु वर्षको असोजमा सात अर्ब रुपैयाँ राजस्व उठेको छ । तर, कात्तिक महिनामा भने यस्तो वृद्धि कायम रहन सकेन । गत वर्षको कात्तिकमा दुई अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु वर्षको सोही महिनामा दुई अर्ब ६८ करोड रुपैयाँ मात्रै उठेको छ । अर्थात् कात्तिकमा गत वर्षको तुलनामा राजस्व संकलन केही घटेको छ । यसले पहिलो चार महिनाको समग्र राजस्व वृद्धिमा असोज महिनाको योगदान निकै ठूलो रहेको देखाउँछ । कित्ताकाट सहज हुँदा कारोबारमा सुधारघरजग्गा कारोबारमा सुधार आउनुको प्रमुख कारणमध्ये जग्गाको कित्ताकाट प्रक्रियामा गरिएको सहजतालाई मानिएको छ । सरकारले जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्थालाई खुकुलो बनाएपछि लामो समयदेखि रोकिएका तथा प्रक्रियागत जटिलतामा अल्झिएका कारोबार अघि बढ्न थालेका हुन् । जग्गाको कित्ताकाट सहज नहुँदा साना टुक्रामा जग्गा बिक्री गर्ने, अंशबण्डा गर्ने तथा पारिवारिक सम्पत्ति छुट्याउने कामसमेत प्रभावित हुँदै आएको थियो । यसले घरजग्गा बजारमा कारोबारको चक्रलाई सुस्त बनाएको थियो । सरकारले अघिल्लो आर्थिक वर्षको साउनदेखि कित्ताकाट खुला गरेपछि यस्ता प्रक्रियामा केही सहजता आएको छ । हाल देशभरका मालपोत कार्यालयमार्फत जग्गाको अंशबण्डा, मोही बाँडफाँट, सार्वजनिक बाटो तथा सरकारी जग्गासँग सम्बन्धित कित्ताकाट लगायतका काम भइरहेका छन् । यी प्रक्रियामा आएको सहजताले जग्गा व्यवस्थापन र स्वामित्व हस्तान्तरणसम्बन्धी काम अघि बढाउन सहयोग पुगेको देखिन्छ । कित्ताकाटसम्बन्धी अवरोध कम भएपछि बजारमा कारोबारका लागि आवश्यक आधार तयार भएको व्यवसायीहरूको बुझाइ छ । यद्यपि, कित्ताकाट खुला हुँदैमा घरजग्गा बजार तत्कालै पुरानै अवस्थामा फर्किने अवस्था नरहेको उनीहरूको भनाइ छ । तीन वर्ष अघिको उत्साह अझै फर्किएनराजस्व संकलनमा उल्लेख्य सुधार देखिए पनि घरजग्गा व्यवसायीहरूले अहिलेको बजारलाई पूर्णरूपमा सुधार भएको अवस्था मान्न तयार छैनन् । उनीहरूका अनुसार कारोबारमा केही चहलपहल बढेको भए पनि तीन वर्ष अघिको जस्तो उत्साह र लगानीको वातावरण अझै फर्किएको छैन । घरजग्गा क्षेत्रमा ठूलो परिमाणमा निजी क्षेत्रको लगानी रहेको छ । यस क्षेत्रमा हुने कारोबारले जग्गा किनबेचमा मात्रै सीमित नभई निर्माण, बैंक तथा वित्तीय संस्था, निर्माण सामग्री, ढुवानी, श्रम बजार र अन्य सेवा क्षेत्रलाई समेत प्रभाव पार्ने गर्छ । त्यसैले घरजग्गा बजारमा सुधार आउँदा समग्र अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिन्छ । तर, व्यवसायीहरूका अनुसार एक–दुई महिनाको तथ्यांकका आधारमा मात्रै बजारको वास्तविक अवस्था मूल्यांकन गर्न सकिँदैन । कारोबारमा आएको सुधार दीर्घकालीन हो वा केही समयका लागि मात्र हो भन्ने कुरा आगामी महिनाहरूको तथ्यांकले स्पष्ट पार्नेछ । घरजग्गा कारोबारबाट प्राप्त सरकारी राजस्वमा सुधार आउने क्रम गत आर्थिक वर्षदेखि नै सुरु भएको देखिन्छ । अर्थतन्त्र सुस्त रहेको अवस्थामा पनि गत आर्थिक वर्षभरि घरजग्गा कारोबारबाट प्राप्त राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा २४ प्रतिशतले बढेको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा देशभरका मालपोत कार्यालयबाट कुल ६० अर्ब ७३ करोड ७२ लाख ३२ हजार ७७० रुपैयाँ राजस्व संकलन भएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ११ अर्ब ६० करोड रुपैयाँ बढी हो । यसअघि प्रायः आर्थिक वर्षको अन्तिम महिनामा घरजग्गा कारोबार र राजस्व संकलन उच्च हुने गरेको थियो । तर, गत आर्थिक वर्षको चैतदेखि नै राजस्व संकलन क्रमशः बढ्दै गएको देखिएको थियो । यही प्रवृत्तिले चालु आर्थिक वर्षमा पनि घरजग्गा कारोबार थप चलायमान हुने अपेक्षा गरिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा देखिएको ५३.१० प्रतिशतको राजस्व वृद्धिले घरजग्गा बजारमा सुधारको सम्भावना बलियो बनाएको छ । विशेषगरी कित्ताकाट प्रक्रियामा सहजता आएपछि कारोबारका लागि बाटो खुलेको र गत आर्थिक वर्षदेखि सुरु भएको सुधारले निरन्तरता पाउन थालेको संकेत देखिएको छ । यद्यपि, कात्तिकमा राजस्व संकलन केही घट्नु र व्यवसायीहरूले अझै तीन वर्ष अघिको जस्तो उत्साह नफर्किएको बताउनुले बजारमा पूर्ण सुधार आइनसकेको पनि स्पष्ट पार्छ । अबका महिनामा कारोबारको गति कस्तो रहन्छ भन्ने कुराले घरजग्गा बजारको आगामी दिशा निर्धारण गर्नेछ । समग्रमा, घरजग्गा कारोबारमा देखिएको पछिल्लो सुधारले लामो समयदेखि सुस्त रहेको रियल इस्टेट क्षेत्र पुनः चलायमान हुने आशा जगाएको छ । सरकारले नीतिगत स्थिरता कायम गर्दै जग्गा व्यवस्थापन र कारोबार प्रक्रियालाई थप सहज बनाउन सके यस क्षेत्रको गतिविधि विस्तार हुनुका साथै सरकारी राजस्व र समग्र अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर
Latest NewsJust now

मजदुरीबाट सिकेको सीपबाट उद्यमी बनेका मेघबहादुर

म्याग्दी । बिहानको उज्यालोसँगै म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित बङ्गुर फार्ममा मेघबहादुर शेरपुञ्जाको व्यस्तता सुरु हुन्छ । धवलागिरि गाउँपालिका–३ मुना घर भएका उनी एक वर्षदेखि बङ्गुरपालनमा निरन्तर खटिएका छन् । लामो... ...

रातोपाटी
वाम एकताको बहस फेरि सतहमा
Latest NewsJust now

वाम एकताको बहस फेरि सतहमा

काठमाडौं । गत फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कमजोर परिणाम, बदलिँदो राजनीतिक शक्ति सन्तुलन र कम्युनिष्ट आन्दोलनको भविष्यबारे जारी चिन्ताबीच नेपालका क्रियाशील वाम दलहरूबीच एकता र सहकार्यको बहस फेरि सतहमा आएको छ । तर, वाम दलका शीर्ष नेताहरूको अभिव्यक्ति र व्यवहारबीच देखिएको अन्तर, नेतृत्वको प्रतिस्पर्धा तथा विगतको तीक्ततापूर्ण विभाजनले एकताको सम्भावनाले अझै दिशा लिन भने सकेको छैन । त्यसो ...

हिमालय टाइम्स
सोमबारको मौसम पूर्वानुमान: हिमाली भेगमा हल्का हिमपात हुन सक्ने
Latest NewsJust now

सोमबारको मौसम पूर्वानुमान: हिमाली भेगमा हल्का हिमपात हुन सक्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन। महाशाखाले जारी गरेको मौसम विश्लेषणमा हाल कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक... ...

रातोपाटी
राष्ट्रपति भवनमा स्वागतदेखि द्विपक्षीय भेटवार्तासम्म : यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका
Latest NewsJust now

राष्ट्रपति भवनमा स्वागतदेखि द्विपक्षीय भेटवार्तासम्म : यस्तो छ प्रधानमन्त्रीको सोमबारको कार्यतालिका

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को भ्रमणको दोस्रो दिन अर्थात् सोमबारको कार्यतालिका उच्चस्तरीय भेटवार्ता तथा औपचारिक कार्यक्रमहरूले भरिएको छ। सार्वजनिक कार्यतालिका अनुसार सोमबार बिहान १०:०० बजे... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement