Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
ललितपुरमा अन्तर्राष्ट्रिय आर्किटेक्चर सम्मेलन ‘पाथफाइन्डर’ सम्पन्न
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । ऐतिहासिक वास्तुकला, परम्परागत शिल्पकला र आधुनिक निर्माण प्रविधिबीचको सम्बन्धबारे छलफल गर्दै अन्तर्राष्ट्रिय वास्तुकला सम्मेलन ‘पाथफाइन्डर सिम्पोजियम २०२६’ सम्पन्न भएको छ । ललितपुरको पुल्चोकमा भएको कार्यक्रममा स्पेन, भारत र इटालीका साथै नेपालका आर्किटेक्ट तथा प्रविधि विशेषज्ञहरूले आफ्ना अनुभव साझा गरेका थिए । ‘एक्सप्लोरिङ आइडियाज, इन्स्पायरिङ डिजाइन’ मूल नारासहित आयोजित सम्मेलनमा ऐतिहासिक सम्पदाको मौलिकता जोगाउने उपाय, निर्माण सामग्रीमा भएका नयाँ प्रयोग र आधुनिक प्रविधिले डिजाइनमा ल्याएका परिवर्तनबारे चर्चा भएको थियो । कार्यक्रममा नेपालका आर्किटेक्ट, इन्टेरियर डिजाइनर, प्राज्ञिक क्षेत्र तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो । भिक्ट्रिफाइड टायल ब्राण्ड लामिनारको आयोजनामा सम्पन्न कार्यक्रमका मुख्य वक्ता स्पेनका आर्किटेक्ट पाउ मिलेट लोपेजले बार्सिलोनास्थित विश्वप्रसिद्ध साग्रादा फामिलिया चर्चको निर्माणमा हासिल गरेको अनुभव सुनाए । चर्चको प्राविधिक कार्यालयमा प्रमुख आर्किटेक्टका रूपमा पाँच वर्ष काम गरेका उनी छवटा केन्द्रीय टावरको डिजाइन तथा निर्माण व्यवस्थापनमा संलग्न थिए । उनले ऐतिहासिक परिकल्पनालाई कायम राख्दै आधुनिक इन्जिनियरिङ र निर्माण विधि अपनाउनु जटिल तर महत्त्वपूर्ण काम भएको बताए । सन् १८८२ मा निर्माण सुरु भएको साग्रादा फामिलियालाई एन्टोनी गौडीले विशिष्ट स्वरूप दिएका थिए । गौडीको सन् १९२६ मा निधन भए पनि उनको परिकल्पनाअनुसार निर्माण अघि बढिरहेको छ । लोपेजले गौडीले प्रकृतिका आकार र संरचनाबाट प्रेरणा लिएको उल्लेख गर्दै नयाँ सिर्जना गर्दा इतिहास र मौलिक पहिचानलाई बिर्सन नहुनेमा जोड दिए । साग्रादा फामिलिया कुनै एक व्यक्तिको उपलब्धि मात्र नभई धेरै पुस्ताका आर्किटेक्ट, इन्जिनियर र निर्माणकर्मीको साझा प्रयास भएको उनको भनाइ थियो । गौडीको निधनको सय वर्ष पुगेको सन् २०२६ मा चर्चको सबैभन्दा अग्लो टावरको बाहिरी संरचना पूरा भएको विषय पनि कार्यक्रममा उठाइएको थियो । लामो समयदेखि चलिरहेको यस निर्माणले पुस्तौँसम्म एउटै लक्ष्यमा काम गर्ने प्रतिबद्धताको उदाहरण प्रस्तुत गरेको लोपेजले बताए । उनले समय, स्रोत र निर्माण प्रविधिका चुनौतीबीच पनि परियोजनाको मूल उद्देश्यलाई केन्द्रमा राखेर निर्णय गरिएको अनुभव सुनाए । लोपेजले गौडीले प्रयोग गरेका प्लास्टरका नमुना र ज्यामितीय अध्ययनले पुरानो डिजाइन बुझ्न तथा त्यसलाई आधुनिक प्रविधिसँग जोड्न सहयोग गरेको बताए । स्पेनको गृहयुद्धमा कतिपय अभिलेख नष्ट भए पनि जोगाइएका नमुनाका करिब १६ हजार टुक्रालाई डिजिटल रूपमा अध्ययन गरेर निर्माणलाई निरन्तरता दिन सकिएको अनुभव उनले प्रस्तुत गरे । ठूला परियोजनाको सफलताका लागि डिजाइनसँगै योजना, व्यवस्थापन र विभिन्न विशेषज्ञबीचको समन्वय आवश्यक हुने पनि उनले स्पष्ट पारे । लोपेज भारतीय आर्किटेक्ट अमेय दलालसँग मिलेर गुजरातको कच्छस्थित ‘सोमैया कला विद्या आर्टिजन्स युनिभर्सिटी’ परियोजनामा पनि संलग्न छन् । उक्त परियोजनामा स्थानीय निर्माण सामग्री र परम्परागत सीपलाई आधुनिक वास्तुकलासँग जोड्ने प्रयास भइरहेको उनले जानकारी दिए । यस अनुभवले मौलिक शिल्पकला र नयाँ प्रविधिलाई एकअर्काको विकल्प नभई पूरकका रूपमा लिनुपर्ने सन्देश दिएको थियो । कार्यक्रमको अध्यक्षता गरेका नेपाली आर्किटेक्ट तथा सहरी योजनाविद् वीरेश शाहले निर्माण सामग्रीको उत्पादनमा भइरहेका परिवर्तनबारे आर्किटेक्ट र डिजाइनर जानकार रहनुपर्ने बताए । नेपालमा समेत उच्च गुणस्तरका सिरेमिक टायललगायत सामग्रीको उत्पादन विस्तार भइरहेको सन्दर्भ उल्लेख गर्दै उनले प्रविधि, डिजाइन र उद्योगबीचको सहकार्यबाट नयाँ सम्भावना खुल्ने धारणा राखे । उनका अनुसार उत्पादन प्रक्रियाको ज्ञानले डिजाइनरलाई सामग्री छनोटमा मात्र होइन, नयाँ उत्पादनको विकासमा समेत सहभागी हुन सहयोग गर्छ । इटालीको सिस्टम सेरामिक्सका फ्रान्चेस्को पियानीले सिरेमिक उत्पादनमा डिजिटल प्रिन्टिङ, स्वचालन र ठूला आकारका स्ल्याब निर्माण प्रविधिबारे प्रस्तुति दिए । रोटोकोलर, लाम्जिया, सुपरफास्ट र क्रिएडिजिटजस्ता प्रविधिले सिरेमिक सामग्रीको आकार, डिजाइन र प्रयोगको दायरा विस्तार गरेको उनले बताए । पहिले भुइँ र भित्तामा सीमित यस्ता सामग्री अहिले भवनको बाहिरी आवरण, किचन काउन्टरटप, फर्निचर तथा विभिन्न आन्तरिक संरचनामा समेत प्रयोग हुन थालेका छन् । आधुनिक प्रविधिले परियोजनाको आवश्यकताअनुसार फरक रङ, बनावट र आकारका सामग्री तयार गर्न सहज बनाएको उनको भनाइ थियो । उनका अनुसार ठूला सिरेमिक स्ल्याबले फराकिलो सतहमा जोडाइका रेखा कम देखिने बनाउँछन् । डिजिटल प्रिन्टिङले मार्बल र प्राकृतिक ढुंगाको रङ तथा धर्सालाई सूक्ष्म रूपमा प्रस्तुत गर्न सम्भव बनाएको छ । आगामी दिनमा उत्पादन प्रणाली थप स्वचालित र लचिलो हुने तथा आवश्यकताअनुसार सामग्री तयार गर्ने सम्भावना बढ्ने पियानीले उल्लेख गरे । त्यस्तै, इटालीको कलरोबिया ग्रुपका एलेसियो लोन्डीले सिरेमिक सामग्रीको रङ, सतह र बनावटमा विकसित प्रविधिबारे जानकारी दिए । उनले विशेष ग्लेज, ग्रिट्स तथा डिजिटल सजावट सामग्री प्रयोग गरेर प्राकृतिक ढुंगाजस्तै देखिने सतह, त्रिआयामिक बनावट र प्रकाशअनुसार फरक प्रभाव दिने डिजाइन तयार गर्न सकिने बताए । नयाँ उत्पादनको विकासका लागि मेसिन निर्माता, सामग्री उत्पादक, आर्किटेक्ट र डिजाइनरबीच निरन्तर अनुसन्धान तथा सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे । लोन्डीले आधुनिक सिरेमिक डिजाइनमा म्याट फिनिस, टेराकोटा, टेराजो र प्राकृतिक सामग्रीबाट प्रेरित सतहप्रति चासो बढेको बताए । उत्पादनको गुणस्तर र विश्वसनीयता कायम राख्न निरन्तर परीक्षण, अनुसन्धान र प्राविधिक सुधार आवश्यक पर्ने उनले औँल्याए । नयाँ डिजाइन विकास गर्ने काम कुनै एक कम्पनीको प्रयासबाट मात्र नभई उत्पादक, प्रविधि आपूर्तिकर्ता र डिजाइनरहरूको सहकार्यबाट अघि बढ्ने उनको भनाइ थियो । आयोजक लामिनारका अनुसार कम्पनीले टायल उत्पादनमा सिस्टम सेरामिक्सको क्रिएडिजिट डिजिटल प्रिन्टर तथा कलरोबिया ग्रुपका ग्लेज, ग्रिट्स र डिजिटल सजावट सामग्री प्रयोग गर्दै आएको छ । यसले अन्तर्राष्ट्रिय स्तरका उत्पादन प्रविधि नेपाली उद्योगमा पनि प्रयोग भइरहेको सन्दर्भलाई सम्मेलनसँग जोडेको थियो । मुख्य प्रस्तुतिपछि लोपेज, भारतीय आर्किटेक्ट अमेय दलाल र अध्यक्ष शाहबीच अन्तरक्रिया भएको थियो । छलफलमा ऐतिहासिक वास्तुकलाको संरक्षण, स्थानीय शिल्पकलाको उपयोग र नयाँ निर्माण सामग्रीको उपयुक्त छनोटबारे विचार आदानप्रदान गरियो । आयोजकका अनुसार सम्मेलनको उद्देश्य नेपाली आर्किटेक्ट तथा डिजाइनरलाई अन्तर्राष्ट्रिय अनुभवसँग परिचित गराउँदै नेपालकै आवश्यकता र पहिचानअनुसार नयाँ प्रविधिको प्रयोग गर्ने अवसरबारे संवाद बढाउनु हो । कार्यक्रममा तीन सयभन्दा बढी आर्किटेक्चर एवं निर्माण क्षेत्रका विज्ञहरूको सहभागिता थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चितवनमा ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण
Latest NewsJust now

चितवनमा ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण

चितवन – नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको सहकार्यमा आइक्याम्पफोर चितवन र सपोर्ट एण्ड केयर पुन:स्थापना केन्द्रले ३ हजार २८२ जनाको नि:शुल्क आँखा परीक्षण गरेको छ । शिविरमा मोतियाबिन्दु पहिचान भएका ३०३ जनाको नि:शुल्क शल्यक्रिया गरिएको छ । भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार मंसिर १ देखि ५ गतेसम्म जिल्लाका ८ […] ...

काठमाण्डुपाटी
भारतको भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Latest NewsJust now

भारतको भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्री शाह नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किएका हुन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार भारतको राजकीय भ्रमणमा गएका थिए। नेपाल फर्किएका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो ...

केन्द्रबिन्दु
पिपिपी मोडेलमा लगानी गर्न सकिए कोशीलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ -मुख्यमन्त्री कार्की
Latest NewsJust now

पिपिपी मोडेलमा लगानी गर्न सकिए कोशीलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ -मुख्यमन्त्री कार्की

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन, जलविद्युत र कृषि क्षेत्रमा पिपिपी मोडेलमा लगानी गर्न सकिए कोशी प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताएका छन् । सोमबार विराटनगरमा कोशी प्रदेश सरकार र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारी हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्कीले अहिले पनि लगानी सम्मेलनमा गरिएको प्रतिबद्धता पूरा गर्न नीतिगत भन्दा पनि मनसायगत समस्या रहेको बताए । उनले प्रदेश ...

केन्द्रबिन्दु
चोटले थला पारेको करिअर, इख र अनुशासनले बनायो एनपीएलको सर्वोत्कृष्ट खेलाडी
Latest NewsJust now

चोटले थला पारेको करिअर, इख र अनुशासनले बनायो एनपीएलको सर्वोत्कृष्ट खेलाडी

हेटौँडा । नेपाल प्रिमियर लिग (एनपीएल)का सर्वोत्कृष्ट खेलाडी बनेका मकवानपुरका रिजन ढकालले अनुशासन, कडा मेहनत र निरन्तरताका साथ अघि बढे सफलता सम्भव हुने बताएका छन् । राष्ट्रिय क्रिकेट टोलीका सदस्य... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement