Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/लयमा फर्किंदै जनजीवन

लयमा फर्किंदै जनजीवन

Share:WhatsAppFacebookX (Twitter)Telegram
लयमा फर्किंदै जनजीवन

नेपालीहरूको महान् चाड दशैँ सकिएको छ । अनेक आपद र पीडाहरू सहँदै र झेल्दै नेपालीहरूको पारिवारिक पुनर्मिलनको यो पर्वलाई जुन रूपमा भए पनि मनाउनु संस्कारगत परिचय हो । यो समयमा मानिसहरूले आफ्नो वैमनष्यता, शत्रुभाव आदिलाई बिर्सेर मिलनको एक अवसरका रूपमा लिने गरेका छन् । हुन त विविध भूगोलमा रहेका विविध समुदायमा परिचित नेपालीहरूको विधिताभित्र मनाइने सबै चाडपर्व, उत्सवहरू वास्तवमै सामाजिक सद्भाव र एकताका प्रतीक भएका छन् । केही गलत मनसायका केही मानिस भने यो आत्मीयता र सद्भावनालाई खलल पार्ने उद्यमा संलग्न देखिन्छ । तर आमनेपालीहरूले आफ्नो परम्परागत सद्भावलाई खलल पार्न दिएका छैनन् । बडादशैँ सुरु हुनुपूर्व देशको मूल मियो राजनीतिमा अनेक परिघटना भएका थिए । ती मध्ये चर्चायोग्य घटनाका रूपमा दशैँको केही अगाडि नेपाली कांग्रेसको एक पक्षले आफ्नो १५औं माधिवेशन सम्पन्न गरेको थियो । ठूलो उत्साहका साथ काठमाडौंमा सम्पन्न भएको त्यस महाधिवेहनबाट नेपाली कांग्रेसको यो पक्षले आफ्नो केन्द्रीय कार्यासमितिको छनौट गर्‍यो । युवाहरूको बाहुल्य रहने गरी गठन भएको यस कार्यसमितिमा पाको उमेरका चिरीबाबु महर्जन निर्वाचित हुनुभएको छ । समावेशिताका आधारमा भएको यस कार्यसमितिमा गुरु घिमिरे जस्ता केही व्यक्तिले पराजय व्यहोर्नु परेको पनि थियो । जे होस् एकपक्षको महाधिवेशन सम्पन्न भइसकेको छ तर अर्को पक्ष भने समेटिन नसकेको अवस्थामा सबैलाई समेटेर लानुपर्ने र कांग्रेसको पुरानो साख फर्काउनुपर्ने जिम्मेवारी भने यस कार्यसमितिको समेत काँधमा आएको छ । विगतभन्दा केही मलिनो जस्तो भएर गयो यसपटकको दशैँ । मलिन मनमा उत्साह आउँदैन । डेढ महिना जतिअघि नेपालमा महाप्रलयकारी बाढी आएर धनजनको ठूलो क्षति भएको थियो । यसबाट पीडित भएका परिवार, सरकार र गैरसरकारी संस्थाहरूले दिएको राहतका भरले दैनिकी गुजार्नुपर्ने अवस्थामा रहेका बेला उनीहरूलाई दशैँको कुनै उत्साह हुने कुरै भएन । बाँकी केही मानिस सहयोग र सहानुभूतिका लागि त्यतै जुटेका हुँदा उनीहरूले पनि मानिसको दुःख, वेदनाप्रति सहानुभूति, संवेदना प्रकट गर्न त्यतै जुटे र सरकारको ध्यान त्यतै केन्द्रित भयो । अर्कोतिर व्यापार–व्यवसाय सञ्चालन गरेर आर्जन गर्नेहरूका लागि अहिलेको दशैँ उत्साहपूर्ण रूपमा सम्पन्न हुनसकेन । भोटेकोशीमा प्रलयकारी बाढी आएपछि व्यापारिक कन्टेनरहरू त्यही बाढीको लपेटामा परे र चीनतिरै भएका मालबाहक कन्टेनर नेपाल प्रवेश गर्न पाएनन् । दैनिक उपभोगका सामग्रीहरूको मूल्यवृद्धिको असहनीय पीडा त छँदैछ । यसले गर्दा यसपटकको दशैँमा विगत वर्षमा जसरी व्यापार हुनसकेन । वर्षमा एकपटक दशैँतिहारमा गरेको व्यापारले नै वर्षभरिको मुनाफाको बहुप्रतिशत धानिन्छ भन्ने उनीहरूको व्यापारिक मान्यता यसपटक सफल हुन पाएन । वर्षभरिमा हुने व्यापारको ३५ प्रतिशत दशैँमा नै हुनेगर्छ भन्ने व्यापारीहरूको मनोदशा एकातिर, अर्कातिर महाप्रलयकारी बाढी र यसको प्रभाव देशभरिका अन्य नागरिकहरूमा छाएको दुःखको काहालिलाग्दो शोकले दशैँको खुशी खोसिन पुगेकै हो । त्यतिमात्र होइन दशैँभन्दा केही अगाडि चार-पाँच दिनसम्मको निरन्तरको वर्षाले ठूलो क्षति पुर्‍यायो । मानवीय क्षति भयो तर भोटेकोशीको बाढीको छायाँमा उक्त बाढीपहिरो ओझेलमा पर्‍यो । भोटेकोशीपछि बूढीगण्डकीमा सोही प्रकृतिको बाढी आयो । केही मानवीय क्षतिसँगै अन्य भौतिक क्षति भयो । त्यो पनि भोटेकोशीको बाढीको ओझेलमा पर्‍यो । मनसुन सकिँदो अवस्थामा दशैँका मुखमा भएको निरन्तरको वर्षाले काठमाडौं उपत्यकाबाट दशैँमा घर जानेहरूको बाटो छेकियो । उपत्यकाबाट बाहिरिने बाटाहरू बाढीपहिरोमा परेर यातायात अवरुद्ध भयो । मौसम पूर्वानुमान महाशाखाले पहिलेदेखि सचेत गराएको हुँदा ठूलो मानवीय क्षति हुनपाएन । दशैँमा उपत्यकाबाट बाहिरिनेहरूका लागि त्यसै यात्रा कष्टकर हुन्छ । टिकट नपाउने, भिडभाड हुने, बाटो अवरुद्ध हुनेजस्ता समस्या प्रत्येक दशैँमा आइपर्ने नै भए । साथै सधैंका झैँ यसपटक पनि यातायात दुर्घटना भएका केही समाचारहरू आए । दुर्घटनाहरूमा परेर केही संख्यामा मानवीय क्षति भयो भने भौतिक क्षति हुनपुग्यो । दशैँ सम्पूर्ण नेपालीहरूको राष्ट्रिय पर्व हो । त्यसकारण घर छोडेर बाहिर बसेकाहरू वर्षको एकपटक घर सम्झेर र आफ्ना मान्यजन मातापिताहरू सम्झेर घर फर्किने गर्छन् । विदेशमा बस्नेहरूले समेत बिदा मिलाएर घर आउने गरेको पाइन्छ । दशैँको लामो बिदा र कर्मचारीहरूलाई अतिरिक्त एक महिनाबराबरको दशैँ खर्च दिने परम्पराको कतिले विरोध गरेको सुनियो । पहिले अन्य विभिन्न समुदायका चाडपर्वहरूमा बिदा दिने चलन थिएन । पछि यिनलाई पनि राष्ट्रिय पर्वका रूपमा मान्यता दिएर बिदा दिन थालिएको छ तर जति यस्ता कुराहरूमा सरकार उदार बन्दै गएको छ आलोचनाका आवाजहरू अझै बढ्दै जानुले प्रायोजित रहस्य छ भनेर धेरैले भन्ने गरेका छन् । यसपटकको दशैँमा यस्ता केही आवाज फाट्टफुट्ट सुनिए तर प्रभाव देखिएन । माओवादी सशस्त्र विद्रोहका बेला रोपिएको यसखालको विरोधको बिउ यसपछि झाँगिएको हो । अब २०८३ सालको बडादशैँको समापन भइसकेको छ । दशैँमा घर गएका मानिसहरू बिस्तारै उपत्यका फर्किन थालेका छन् । अबको १५ दिनपछि पुनः अर्को महान् पर्व तिहार नेपालीहरूका घरआँगनमा आउँदैछ । त्यसबीचको समयलाई सबैले आफ्नो जागिर व्यापार-व्यवसाय तथा आ-आफ्नो संलग्नताका क्षेत्रमा उपयोग गर्ने नै छन् । दशैँको मौका पारेर केही कालाबजारीहरूले आफ्ना व्यापार व्यवसायमा अन्धाधुन्द मूल्यवृद्धि गरी सर्वसाधारणको ढाड भाँच्ने काम भयो । उपभोग्य सामानहरूको मूल्य डेडी वृद्धि गरेर बिक्रीवितरण भयो । सरकारले अनुगमन गरेको, बद्मासी गर्नेहरूलाई कारबाही गरेको र मूल्य नियन्त्रण गरेको भन्ने खालका समाचारहरू खासै सुनिएनन् । जुनजुन अवस्था सामुमा आइपर्‍यो त्यही-त्यही अवस्थाको सामना गरेर नागरिकहरूले पर्व मनाएका छन् । यो अनुभवका आधारमा सरकारले बजारमूल्य नियन्त्रण गरेर आगामी दीपावलीलगायतका पर्वहरूमा सुव्यवस्था कायम गरोस् । दीपावलीका बेला अत्यधिक मात्रामा खपत हुने फलफूल, सुख्खा फल तथा फूलमालाहरूमा नेपालीहरूको ठूलो खर्च हुनेगर्छ र व्यापारीहरूले तिनमा मौकाको फाइदा उठाउने गरी दोब्बर मूल्य कायम गर्ने गर्छन् । सरकारले यसतर्फ सचेतता अपनाउनुपर्छ । नागरिकहरूको अपेक्षा पनि यही नै हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

एनपीएलको तेस्रो संस्करण आजबाट : उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
ताजा खबरJust now

एनपीएलको तेस्रो संस्करण आजबाट : उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। ...

हाम्राकुरा
वामपन्थी नेता लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित
ताजा खबरJust now

वामपन्थी नेता लुला चौथो कार्यकालका लागि ब्राजिलको राष्ट्रपतिमा निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भा कडा प्रतिस्पर्धाबीच चौथो कार्यकालका लागि पुनः निर्वाचित भएका छन् । निर्वाचन अधिकारीहरूले उनको विजयको औपचारिक घोषणा गरेका बीबीसीले जनाएको छ । सन् १९८८ मा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेका उमेदवारले दोस्रो चरणमा पुनरागमन गर्दै राष्ट्रपति निर्वाचन जितेको यो पहिलो घटना भएको बताइएको छ । लुलालाई ५१.७५ प्रतिशत मत ब्राजिलको निर्वाचन आयोगका ...

केन्द्रबिन्दु
माथिल्लो सडक सुनसान, सुरुङमा चाप
ताजा खबरJust now

माथिल्लो सडक सुनसान, सुरुङमा चाप

काठमाडौँ, कात्तिक ९ गते । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा सवारी साधनको चाप बढ्दै गर्दा काठमाडौँबाट पृथ्वी राजमार्गलाई जोड्ने थानकोट नागढुङ्गाको पुरानो सडक भने हिजोआज सुनसादेखिएको... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play