Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

रुग्ण उद्योग ब्यूँताउने सरकारी तयारीमा दलहरूको मत: कतै समर्थन, कतै निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
रुग्ण उद्योग ब्यूँताउने सरकारी तयारीमा दलहरूको मत: कतै समर्थन, कतै निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने सुझाव
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । दशकौँदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीसँगै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच यस विषयमा बहस सुरु भएको छ । केही दलले यसलाई राष्ट्रिय उत्पादन, रोजगारी र आर्थिक वृद्धिका लागि सकारात्मक कदम भनेका छन् भने केहीले निजी क्षेत्रलाई विश्वासमा लिएर व्यावसायिक योजना सहित अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । राज्यको अर्बौँ रुपैयाँ लगानी भएका उद्योग वर्षौँदेखि बन्द रहँदा तिनको सम्पत्ति उपयोगविहीन बनेको छ । कुनै समय स्वदेशी उत्पादन र रोजगारीको आधार मानिएका उद्योगहरू अहिले जीर्ण संरचना, पुराना मेसिन र कमजोर व्यवस्थापनका कारण सञ्चाल नबाहिर छन् । सरकारले यस्ता उद्योगको अवस्था अध्ययन गर्दै पुन: सञ्चालनको सम्भावना खोज्न थालेपछि तिनलाई कसरी अघि बढाउने भन्ने विषय फेरि चर्चामा आएको हो । प्रधानमन्त्री बालेन्द्र साहले निर्वाचनका क्रममा नै बन्द सरकारी उद्योग सञ्चालन गरेर स्वदेशी उत्पादन बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । चुनावी अभियानका क्रममा उनले विभिन्न उद्योगको स्थलगत भ्रमण समेत गरेका थिए । उदयपुर सिमेन्ट उद्योगको भ्रमणका क्रममा उनले भनेका थिए, “यी उद्योगहरू हाम्रा गौरव हुन्, यिनलाई सरकारले नै संरक्षण गरेर चलाउनुपर्छ ।” चुनावी प्रतिबद्धता अनुसार सरकारले रुग्ण उद्योग पुन: सञ्चालन गर्ने तयारी अघि बढाएपछि अब ती उद्योगको वास्तविक अवस्था, आवश्यक लगानी, प्रविधि, बजार र सञ्चालन मोडालिटीबारे अध्ययन भइरहेको छ । तर, उद्योग सञ्चालनको जिम्मेवारी सरकार आफैँले लिने वा निजी क्षेत्रलाई सहभागी गराउने भन्ने विषयमा भने राजनीतिक दलहरूको धारणा फरक–फरक देखिएको छ । सरकार गठनलगत्तै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीको पोसाक स्वदेशमै उत्पादन गर्ने योजना सार्वजनिक गरेका थिए । चैत १७ गते प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले भनेका थिए, “नेपाल प्रहरीले लगाउने पोसाक अब नेपालकै उद्योगमा उत्पादन गरिनेछ ।” सरकारले रुग्ण उद्योग पुन: सञ्चालन गर्ने निर्णय कार्यान्वयन गर्नु अघि तिनको वर्तमान अवस्था र आर्थिक सम्भाव्यताको मूल्याङ्कन अघि बढाएको छ । गोरखकाली रबर उद्योग, हेटौँडा कपडा उद्योग, बुटवल धागो कारखाना, जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरिन्ड एन्ड म्याग्नेसाइटलाई पुन: सञ्चालनमा ल्याउन सरकारले प्रारम्भिक काम अघि बढाएको हो । उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट उद्योग हाल सञ्चालनमा रहे पनि कमजोर अवस्थामा छन् । तिनलाई आधुनिक प्रविधि र व्यवस्थापनमार्फत कसरी सबल बनाउने भन्ने विषयमा पनि अध्ययन भइरहेको छ । यी अध्ययनले कुन उद्योग पुन: सञ्चालन गर्न सकिन्छ, कहाँ थप लगानी आवश्यक पर्छ, कुन उद्योगलाई निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्न सकिन्छ र कुन उद्योगको विद्यमान मोडालिटी परिवर्तन गर्नुपर्छ भन्ने निर्णयका लागि आधार तयार गर्ने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) तथा निजी क्षेत्रको सहभागिता मार्फत उद्योग सञ्चालन गर्ने विकल्प पनि चर्चामा छ । सरकारी सम्पत्तिको संरक्षण गर्दै निजी क्षेत्रको पुँजी, प्रविधि र व्यवस्थापकीय क्षमता उपयोग गर्न सकिने सम्भावना भए पनि त्यसका लागि पारदर्शी प्रक्रिया र स्पष्ट सम्झौता आवश्यक हुनेछ । उद्योगमन्त्री भन्छन् : उत्पादन र निर्यात बढाउने लक्ष्य उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले रुग्ण उद्योग पुन: सञ्चालन गर्ने सरकारको उद्देश्य उद्योगका ढोका खोल्नुमा मात्रै सीमित नरहेको बताएका छन् । उनले सरकारको लक्ष्य प्रतिस्पर्धी उद्योग निर्माण, उत्पादन र निर्यात वृद्धि तथा रोजगारी सिर्जना गर्ने भएको दाबी गरेका छन् । “हाम्रो लक्ष्य केवल उद्योग खोल्नु मात्रै होइन, प्रतिस्पर्धी उद्योग बनाउनु हो । केवल व्यापार बढाउनु होइन, उत्पादन र निर्यात बढाउनु हो । केवल रोजगारी खोज्नु मात्रै होइन, रोजगारी सिर्जना गर्नु हो । र केवल आर्थिक वृद्धि होइन, सम्मानजनक र दिगो समृद्धि हासिल गर्नु हो,” मन्त्री साहले भनेका छन् । उनले औद्योगिक विकासमा निजी क्षेत्रलाई पनि सँगै लिएर अघि बढ्ने सरकारको योजना रहेको बताएका छन् । “यो यात्रामा हामीले निजी क्षेत्रलाई पनि सँगै लैजान्छौँ । उद्योग स्थापना गर्न कानून बाधक भएका ठाउँमा कानून सुधार गर्छौँ । जहाँ प्रक्रिया बाधक छ, त्यहाँ प्रक्रिया सरल गर्छौँ । जहाँ समन्वयको कमी छ, त्यहाँ समन्वय गर्छौँ,” उनले भनेका छन् । रुग्ण उद्योग पुन: सञ्चालन गर्ने सरकारको निर्णयलाई राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्ण समर्थन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको रुग्ण उद्योग पुन: सञ्चालन गर्ने योजनालाई समर्थन गरेको छ । रास्वपाका प्रवक्ता समेत रहेका सांसद जगदीश खरेलले बन्द उद्योग सञ्चालन गर्दा अर्थतन्त्रमा सकारात्मक सन्देश जाने र निजी क्षेत्रलाई समेत प्रोत्साहन मिल्ने बताएका छन् । “सरकारले दूरदृष्टि राखेर नै रुग्ण उद्योग पुन: सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले बन्द भएका उद्योग चलाउँदा सकारात्मक सन्देश पनि जान्छ । सरकारले चलाएको उद्योग राम्रो भयो भने निजी क्षेत्रलाई पनि प्रोत्साहन मिल्छ । रोजगारी सिर्जना हुन्छ, उत्पादन बढ्छ । यसले अर्थतन्त्रलाई नै बलियो बनाउँछ,” खरेलले भनेका छन् । उनले रुग्ण उद्योग पुन: सञ्चालन गर्ने विषयमा आफ्नो पार्टीको धारणा सरकारको योजनासँग मिल्ने बताएका छन् । “यही मान्यताका साथ सरकारले रुग्ण उद्योग पुन: सञ्चालन गर्ने तयारी गरेको हो । यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा पनि यही हो । हाम्रै पार्टीको सरकार हो । त्यसैले सरकारको धारणामा स्वतन्त्र पार्टीको पूर्ण सहमति छ,” उनले भनेका छन् । निजी क्षेत्रलाई विश्वासमा लिनुपर्छ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले रुग्ण उद्योग पुन: सञ्चालन गर्ने सरकारी तयारीलाई सकारात्मक रूपमा लिए पनि निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पुराना उद्योग खोल्ने निर्णयसँगै अहिले सञ्चालनमा रहेका उद्योगको अवस्थालाई पनि सरकारले ध्यान दिनुपर्ने बताएका छन् । “रुग्ण उद्योग खोल्नु आफैँमा राम्रो हो । तर हामीकहाँ तन्दुरुस्त भएकै उद्योगहरू रुग्ण हुन थालिसके । यसमा सरकारले ध्यान दिएको छैन । त्यसै रुग्ण उद्योग पुन: सञ्चालन गर्ने भनेर मात्रै हुँदैन । अहिले भएकालाई पनि राम्रोसँग चलाउन नसक्ने अनि पुराना उद्योग पनि सञ्चालन गर्छु भन्दा सबै लथालिङ हुन सक्छ । यसमा सरकारले ख्याल गर्नुपर्छ,” आङदेम्बेले भनेका छन् ।उनले उद्योग सञ्चालनमा सरकारको भूमिका नीतिगत सहजीकरण र निजी क्षेत्रसँगको सहकार्यमा केन्द्रित हुनुपर्ने बताएका छन् । “सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर उद्योग चलाउनुपर्छ । सरकारले नीति–नियम बनाउने हो, उद्योग आफैँ चलाउने होइन । तर सरकारले चलाउने हो भने पनि त्यसको मोडालिटी स्पष्ट हुनुपर्छ,” उनले भनेका छन् ।आङदेम्बेले निजी क्षेत्रलाई विश्वासमा नलिई उद्योग सञ्चालन गर्ने प्रयास प्रभावकारी नहुने धारणा राखेका छन् । “सरकारले निजी क्षेत्रलाई विश्वासमा नलिइकन उद्योग सञ्चालन गर्छु भन्नु पनि दुर्भाग्य हो । निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ । सरकार र निजी क्षेत्रबीच समझदारीमा अघि बढ्न सकियो भने यसले नतिजा पनि राम्रो दिन्छ, सन्देश पनि राम्रो दिन्छ,” उनले भनेका छन् । उद्योग पुन: सञ्चालनसँगै दिगोपनमा ध्यान दिनु पर्छ : नेकपा एमाले नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले रुग्ण उद्योग पुन: सञ्चालन गर्ने सरकारी पहललाई सकारात्मक भन्दै बन्द उद्योग ब्यूँताउनेसँगै सञ्चालनमा रहेका उद्योगलाई रुग्ण हुनबाट जोगाउनुपर्ने बताएका छन् । उनले उद्योग पुन: सञ्चालन गर्नु अघि बन्द हुनुका कारण पहिचान गरी आर्थिक सम्भाव्यता, प्रविधि, बजार र प्रभावकारी सञ्चालन मोडालिटी तय गर्नु पर्ने तर्क गरेका छन् । “रुग्ण उद्योगहरू पुन: सञ्चालन गर्ने सरकारी पहललाई म सकारात्मक रूपमा हेर्छु । तर हामी बन्द भएका उद्योग पुन: सञ्चालन गर्ने चर्चा त गरिरहेका छौँ, अहिले सञ्चालनमा रहेका उद्योगहरू भोलि रुग्ण नबनून् भन्नका लागि के गरिरहेका छौँ ? हामीले यी दुवै प्रश्नलाई सँगसँगै हेर्नुपर्छ,” नेम्वाङले भनेका छन् । उनले कमजोर व्यवस्थापन, राजनीतिक हस्तक्षेप, पुरानो प्रविधि, उत्पादन लागत र बजारको समस्याले उद्योगहरू धराशायी भएको उल्लेख गर्दै सबै उद्योगलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताएका छन् । कतिपय उद्योग आधुनिक प्रविधिसहित सञ्चालन गर्न सकिने, कतिपयलाई निजी क्षेत्रसँगको साझेदारीमा अघि बढाउन सकिने उनको धारणा छ । “सरकार हरेक उद्योगको सञ्चालक बन्न आवश्यक छैन । सामान्य व्यावसायिक उद्योगमा निजी क्षेत्रको लगानी, प्रविधि र व्यवस्थापकीय क्षमतालाई प्राथमिकता दिनुपर्छ । तर राष्ट्रिय आवश्यकता र आपूर्ति सुरक्षाका दृष्टिले आवश्यक क्षेत्रमा सरकारले पनि स्पष्ट औचित्यसहित सहभागिता जनाउन सक्छ,” उनले भनेका छन् । नेम्वाङले उद्योग पुन: सञ्चालनसँगै समग्र औद्योगिक वातावरण सुधार गर्नुपर्नेमा जोड दिएका छन् । प्रशासनिक झन्झट, पूर्वाधारको अभाव, नीतिगत अनिश्चितता र बजारका समस्यामा सुधार नगरी उद्योग दिगो बन्न नसक्ने उनको भनाइ छ । इलामको चिया, अलैँची, अदुवा र दुग्धजन्य उत्पादनको उदाहरण दिँदै उनले प्रशोधन, गुणस्तर प्रमाणीकरण र बजार पहुँच विस्तारबाट उत्पादन तथा रोजगारी बढाउन सकिने बताएका छन् । नेम्वाङले रुग्ण उद्योगमा लगानी गर्दा सार्वजनिक रकमको प्रतिफल सुनिश्चित गर्नुपर्ने र निश्चित अवधिपछि उपलब्धिको मूल्याङ्कन गर्नुपर्ने बताएका छन् । “अबको आवश्यकता सरकारले कति उद्योग चलायो भनेर गन्नेभन्दा पनि सरकारको नीतिका कारण कति उद्योग सञ्चालनमा आए, कति टिके र कति नयाँ उद्योग जन्मिए भनेर मूल्याङ्कन गर्ने हो । अर्थतन्त्र बलियो बनाउने कुरा उद्योगको स्वामित्वमा मात्र होइन, त्यसले गर्ने उत्पादन, सिर्जना गर्ने रोजगारी र समाजलाई दिने प्रतिफलमा निर्भर हुन्छ,” उनले भनेका छन् । तीन पक्षको अपनत्व आवश्यक : नेपाली कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीका सांसद समेत रहेका पूर्वउद्योगमन्त्री मातृका यादवले सरकारले पुराना उद्योग पुन: सञ्चालन गर्ने तयारीलाई सकारात्मक कदमका रूपमा लिएका छन् । तर उनले घोषणा मात्रै नभई कार्यान्वयनमा जोड दिएका छन् । “सरकारले पुराना उद्योग फेरि सञ्चालन गर्छ भने राम्रो कदम हो । तर सरकारले भन्नका लागि मात्रै नभएर काम पनि गरोस् भन्ने हाम्रो कुरा हो । उद्योग सञ्चालन भयो भने रोजगारी सिर्जना हुन्छ, उत्पादन बढ्छ र यसले समग्र अर्थतन्त्रलाई पनि बलियो बनाउँछ,” यादवले भनेका छन् । आफू उद्योगमन्त्री हुँदा पनि बन्द उद्योग सञ्चालन गर्ने प्रयास गरेको स्मरण गर्दै उनले विगतमा यस्ता योजनाले निरन्तरता पाउन नसकेको बताएका छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले पनि रुग्ण उद्योग सञ्चालनको प्रयास गरेको उल्लेख गर्दै यादवले अहिलेको सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन् । “म उद्योगमन्त्री हुँदा पनि पुराना उद्योगहरू बन्द थिए, तर कर्मचारीहरू भने थिए । उनीहरूले राज्यबाट तलबभत्ता मात्रै लिइरहेका थिए । मैले त्यो काम बन्द गरेँ । हाम्रो अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पनि रुग्ण उद्योग पुन: सञ्चालन गर्ने धेरै प्रयास गर्नुभयो, तर काम गर्ने वातावरण बनेन । म पनि मन्त्रीबाट बाहिरिनुपर्‍यो र हाम्रो अध्यक्ष नेतृत्वको सरकार पनि ढल्यो । अहिलेको सरकारले पुराना उद्योग सञ्चालन गर्छ भने हामी सहयोग गर्छौँ ।” पूर्व मन्त्री यादवले उद्योग पुन: सञ्चालनमा सरकार र निजी क्षेत्रसँगै सर्वसाधारणको पनि अपनत्व आवश्यक रहेको पक्षलाई जोड दिएको छ । उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न श्रमिक, स्थानीय समुदाय र उपभोक्ताको हितलाई समेत ध्यान दिनुपर्ने उनको धारणा छ । “मलाई के लाग्छ भने, सरकारले मात्रै भन्दा पनि सरकार, निजी क्षेत्र र सर्वसाधारण तीनै पक्षको अपनत्वमा उद्योग चलायो भने प्रभावकारी हुन्छ, ” उनले भनेका छन् । सामाजिक सञ्जालमा होइन, व्यवहारमा उद्योग चलाउनुपर्छ : श्रम संस्कृति पार्टी श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले पुराना उद्योग सञ्चालन गर्ने सरकारी तयारीलाई सकारात्मक संकेतका रूपमा लिएका छन् । उनले आफ्नो पार्टीले यस काममा सरकारलाई सहयोग गर्ने बताएका छन् । “राम्रो कामलाई राम्रो भन्नुपर्छ । सरकारले पुराना उद्योग चलाउन खोज्नु राम्रो संकेत हो । श्रम संस्कृति पार्टीले पुराना उद्योग चलाउने काममा सरकारलाई सहयोग गर्छ । तर रुग्ण उद्योग चलाउने भनेपछि चलाउनुपर्‍यो । सामाजिक सञ्जालमा मात्रै उद्योग चलाएर हुँदैन । अल्गोरिदममा मात्रै उद्योग चलाउने भनेर हुँदैन । फिल्डमा चलाउनुपर्छ,” उनले भनेका छन् । राईले विश्वका विभिन्न देशमा सरकारले उद्योग सञ्चालन गरेको उदाहरण दिँदै सरकारले उद्योगलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके निजी क्षेत्रलाई समेत प्रेरणा मिल्न सक्ने तर्क गरेका छन् ।“नेपालमा मात्रै होइन, विश्वका धेरै देशहरूमा सरकारले उद्योग चलाएर उदाहरण बनेका छन् । सरकारले राम्रोसँग उद्योग चलायो भने निजी क्षेत्रलाई पनि प्रेरणा मिल्छ । त्यसका साथै सरकारले निजी क्षेत्रलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्छ,” उनले भनेका छन् । सरकारले उद्योग चलाउनु भन्दा निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउनुपर्छ : राष्ट्रिय प्रजातन्त्र पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुग्ण उद्योग पुन: सञ्चालन गर्ने योजनालाई नराम्रो नभने पनि सरकार आफैँ उद्योग सञ्चालक बन्नु भन्दा निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण निर्माणमा केन्द्रित हुनुपर्ने धारणा राखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधिसभाकी प्रमुख सचेतक खुस्बु ओलीले उद्योग सञ्चालनको योजना स्पष्ट र व्यावसायिक हुनुपर्ने बताएकी छन् ।“सरकार आफैँले उद्योग चलाउने होइन । सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने हो । निजी क्षेत्रलाई उद्योग चलाउने वातावरण सरकारले बनाउने हो । त्यस्तै, विदेशबाट आउने एफडीआईलाई सरकारले प्रोत्साहन गर्ने हो,” ओलीले भनेकी छन् ।उनले पुराना उद्योग पुन: सञ्चालन गर्ने निर्णय सकारात्मक हुन सक्ने भए पनि पुरानै मेसिन, संरचना र प्रविधिबाट प्रतिस्पर्धी बजारमा टिक्न कठिन हुने बताएकी छन् ।“पुराना उद्योग पुन: सञ्चालन गर्ने विषय नराम्रो नै होइन । तर पुराना मेसिन, पुराना संरचना, पुरानो टेक्नोलोजीकै आधारमा अहिलेको प्रतिस्पर्धात्मक बजारमा प्रतिस्पर्धा गर्न सक्दैन,” उनले भनेकी छन् ।ओलीले उद्योग पुन: सञ्चालन गर्नु मात्रै पर्याप्त नहुँने तर्क गरेकी छन् । त्यसबाट आम्दानी हुने आधार, आवश्यक लगानी, जनशक्ति र सञ्चालन शैलीबारे पनि स्पष्ट योजना आवश्यक रहेको तर्क गरेकी छन् ।“सरकारले पुराना उद्योग सञ्चालन गर्नका लागि मात्रै सञ्चालन गरेर भएन । त्यसको आम्दानीको पनि कुरा आउँछ । त्यसैले पुराना उद्योगलाई नयाँ टेक्नोलोजी, प्रविधि, म्यानपावर र नयाँ शैलीमा चलाउने हो भने ठीकै छ । तर पुरानै शैलीमा सञ्चालन गर्ने हो भने फेरि पनि ती उद्योग घाटामा जान सक्छन् । त्यसैले सरकारले स्पष्ट योजना ल्याओस्,” ओलीले भनेकी छन् । अबको प्रश्न : उद्योग खोल्ने मात्र कि दिगो बनाउने ? संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका भनाइमा रुग्ण उद्योग पुन: सञ्चालन गर्ने सरकारी तयारी प्रति समर्थन र सुझावका फरक–फरक स्वर देखिएका छन् । रास्वपाले सरकारको योजनालाई पूर्ण समर्थन गरेको छ । नेपाली कांग्रेसले निजी क्षेत्रलाई विश्वासमा लिएर स्पष्ट मोडालिटी बनाउनुपर्ने बताएको छ । नेकपा एमालेले उद्योग पुन: सञ्चालनसँगै दिगोपनमा ध्यान दिनु पर्ने आवश्यकता औंलाएको छ । पाली कम्युनिस्ट पार्टीले सरकार, निजी क्षेत्र र सर्वसाधारणको अपनत्वमा उद्योग सञ्चालन गर्नुपर्ने धारणा राखेको छ । श्रम संस्कृति पार्टीले सरकारी पहललाई सहयोग गर्ने बताउँदै व्यवहारमा उत्पादन सुरु हुनुपर्नेमा जोड दिएको छ । राप्रपाले भने पुरानो प्रविधिमा आधारित सञ्चालनबाट प्रतिस्पर्धा गर्न कठिन हुने भन्दै आधुनिक प्रविधि, जनशक्ति र व्यावसायिक योजनाको आवश्यकता औँल्याएको छ ।यी धारणाले रुग्ण उद्योग पुन: सञ्चालनको बहस उद्योग खोल्ने वा नखोल्ने भन्ने प्रश्नमा मात्रै सीमित नरहेको देखाउँछन् । सरकारी सम्पत्तिको संरक्षण, निजी क्षेत्रको सहभागिता, लगानीको प्रतिफल, प्रविधिको आधुनिकीकरण र बजारको सुनिश्चितता यसका प्रमुख पक्ष हुन् । सरकारले अघि बढाएको अध्ययनबाट कुन उद्योग सञ्चालन योग्य छन्, कति लगानी आवश्यक छ र कुन मोडालिटी उपयुक्त हुन्छ भन्ने स्पष्ट हुनुपर्नेछ । उद्योग सञ्चालनमा आएपछि त्यसले कति उत्पादन गर्छ, कति रोजगारी सिर्जना गर्छ र सार्वजनिक लगानीको प्रतिफल कस्तो दिन्छ भन्ने आधारमा मात्रै यसको सफलता मापन गर्न सकिनेछ । प्रधानमन्त्री साहले निर्वाचनका क्रममा व्यक्त गरेको प्रतिबद्धता र गृहमन्त्री गुरुङले सार्वजनिक गरेको स्वदेशी पोसाक उत्पादनको योजनालाई परिणाममा बदल्न सरकारले अध्ययन, लगानी र सञ्चालन व्यवस्थापनलाई एकीकृत गर्नुपर्ने देखिन्छ । अबको चुनौती पुराना उद्योगको ढोका खोल्नु मात्रै होइन, तिनलाई दिगो, प्रतिस्पर्धी र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने संस्थाका रूपमा स्थापित गर्नु हो । The post रुग्ण उद्योग ब्यूँताउने सरकारी तयारीमा दलहरूको मत: कतै समर्थन, कतै निजी क्षेत्रलाई विश्वासमा लिनुपर्ने सुझाव appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आउँदै जाँदै गरौँला सिमल बारुलै
Latest NewsJust now

आउँदै जाँदै गरौँला सिमल बारुलै

“पाँचैमा र मुखे हो रुद्राक्षको माला सिमल बारुलैजोगीले हजुर जपने सिमल बारुलै मरने र जति बैकुण्ठमा पुगे सिमल बारुलै आयौ है हजुर बाँचने सिमल बारुलै ।’’लोकगीतले समाजका विभिन्न पहलुलाई... ...

गोरखापत्र
डुबेर दुई बालकको मृत्यु
Latest NewsJust now

डुबेर दुई बालकको मृत्यु

सल्यान समाचारदातासल्यान, कात्तिक २१ गते । सल्यानको कालीमाटी गाउँपालिका–७ घुईयाबारीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय आठ वर्षीय योगेश बुढा र अंकित बुढा... ...

गोरखापत्र
कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
Latest NewsJust now

कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौँ। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ। सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play