काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच असमझदारी बढ्दै गएको विषय सार्वजनिक हुनु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्। पछिल्लो समय रास्वपा र सरकारबीच विवाद बढिरहेको चर्चा भइरहेका बेला भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। रवि लामिछाने र बालेन शाहको तस्बिर फेसबुकमा राख्दै उनले नवोदित सत्तारूढ दलभित्र सरकार र पार्टीबीचको असमझदारी सार्वजनिक हुन थालेकोप्रति चिन्ता व्यक्त गरेका छन्। उनले नेपालको राजनीतिक इतिहासमा पार्टीभित्र देखिएका अन्तर्संघर्ष र विभाजनले देश, लोकतन्त्र तथा जनतालाई पुर्याएको क्षतिसमेत स्मरण गराएका छन्। भट्टराईले २००७ सालपछि नेपाली कांग्रेसमा बीपी कोइराला र मातृका समूहबीच देखिएको विवाद, २०४७ पछि कांग्रेसमा ७४ र ३६ समूहको विभाजन तथा २०५८ पछि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा समूहबीचको संघर्षको उदाहरण दिएका छन्। त्यस्तै, २०५२ पछि नेकपा एमालेमा महाकाली सन्धिका पक्षधर र विरोधीबीच तथा २०६४ पछि माओवादीमा संविधान निर्माण र जनविद्रोहको पक्षमा रहेका समूहबीच भएको अन्तर्संघर्ष र फुटले देशले ठूलो क्षति व्यहोर्नुपरेको उनको भनाइ छ। ‘इतिहास दोहोरिन्छ, किनकि मान्छेले आफ्ना गल्ती दोहोर्याउँछन्’ भन्ने भनाइ उल्लेख गर्दै भट्टराईले जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले विगतका राजनीतिक गल्ती दोहोर्याउन नहुने बताएका छन्। बरु इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गर्न उनले रास्वपा र सरकारलाई सुझाव दिएका छन्।
रवि र बालेनबीचको असमझदारी सार्वजनिक हुनु राम्रो होइन : बाबुराम भट्टराई

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






