रोयटर्सका अनुसार यूरोपेली आयोगले सन् २०३० सम्म क्वान्टम प्रविधिमा विश्वको अग्रणी बन्ने लक्ष्यसहित बुधबार ५० अर्ब युरो (करिब ५४ अर्ब ७३ करोड अमेरिकी डलर) बराबरको इक्विटी लगानी कोष प्रस्ताव गरेको छ। यससँगै यूरोपेली कम्पनीहरूलाई सरकारी खरिद प्रक्रियामा प्राथमिकता दिने अन्य उपाय पनि प्रस्ताव गरिएको छ। प्रस्तावित ‘क्वान्टम ऐन’ ले कृत्रिम बुद्धिमता, चिप र क्लाउड कम्प्युटिङको विकासमा अमेरिका र चीनभन्दा पछाडि रहेको यूरोपलाई तेस्रो मुलुकमाथिको निर्भरता घटाउन सहयोग गर्ने उद्देश्य राखेको छ। युरोपमा आफ्ना उत्पादन तथा सेवा सञ्चालन हुन नदिन अमेरिकी कम्पनीहरूले कथित ‘किल स्विच’ प्रयोग गर्न सक्ने चिन्ताका बीच यो प्रस्ताव आएको हो। यस्तो चिन्ताले यूरोपेली संघलाई आफ्नै उत्पादन र सेवा विकास गर्ने प्रयास तीव्र बनाउन प्रेरित गरेको छ। यूरोपेली संघकी प्रविधि प्रमुख हेन्ना भिर्कुनेनले एक विज्ञप्तिमा भनेकी छन्, “क्वान्टम प्रविधिले उद्योग, सुरक्षा र नवप्रवर्तनको भविष्य निर्धारण गर्नेछ र हाम्रो समाजमा गहिरो प्रभाव पार्नेछ। युरोपले अहिले नै आफ्नो गति बढाउन आवश्यक छ।” प्रस्तावित कानुनलाई लागू हुनुअघि आगामी केही महिनामा यूरोपेली संघका सदस्य राष्ट्रहरू र यूरोपेली संसद्बीच छलफल गरी अन्तिम रूप दिनुपर्नेछ। यूरोपेली आयोगका अनुसार विश्वका कुल क्वान्टम प्रविधिसम्बन्धी कम्पनीमध्ये करिब एक तिहाइ यूरोपेली संघमा छन्। गत वर्ष क्वान्टम प्रविधिका लागि सार्वजनिक क्षेत्रबाट यूरोपमा ८ अर्ब ६० करोड यूरो लगानी भएको थियो। सोही अवधिमा अमेरिकामा ५ अर्ब ३० करोड युरो र चीनमा १३ अर्ब ६० करोड यूरो सार्वजनिक लगानी भएको थियो। तर, क्वान्टम प्रविधिसम्बन्धी स्टार्टअपमा युरोपको निजी लगानी १ अर्ब १० करोड यूरो मात्रै थियो, जुन अमेरिकाको ७ अर्ब यूरोको तुलनामा निकै कम हो। प्रस्तावित कानुनमा भनिएको छ, “सुरक्षा तथा संघको रणनीतिक हित र प्राविधिक स्वायत्तताका लागि क्वान्टम प्रविधिको सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारी खरिद प्रक्रिया संघको नियन्त्रणमा रहेका निकायले उपलब्ध गराउने उत्पादन, प्रणाली र सेवामा सीमित गर्नु आवश्यक छ।” यद्यपि, यूरोपेली संघसँग पारस्परिक साझेदारी सम्झौता भएका तेस्रो मुलुकका कम्पनीहरूले पनि सरकारी ठेक्काका लागि प्रतिस्पर्धा गर्न सक्ने प्रस्तावमा उल्लेख छ। The post यूरोपले क्वान्टम प्रविधिको विकासका लागि ५० अर्ब यूरोको कोष प्रस्ताव appeared first on Technology Khabar.
यूरोपले क्वान्टम प्रविधिको विकासका लागि ५० अर्ब यूरोको कोष प्रस्ताव

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






