युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले आफ्ना सहयोगी देशबाट रुसी क्षेप्यास्त्र आक्रमणबारे पूर्वचेतावनी प्राप्त हुन थालेको बताएका छन् । पछिल्लो समय रुसले गरेको क्षेप्यास्त्र आक्रमणअघि पर्याप्त सूचना नपाएको गुनासो गर्दै आएका उनले अमेरिकी अधिकारीहरूसँगको छलफलपछि पूर्वचेतावनी प्रणाली पुनः सञ्चालनमा आएको बताएका हुन् । नर्वेको भ्रमणमा रहेका जेलिन्स्कीले यसका लागि अमेरिकी पक्षप्रति आभार व्यक्त गरेका थिए। उनले क्षेप्यास्त्र आक्रमणबारे समयमै सूचना प्राप्त हुँदा सर्वसाधारणलाई सुरक्षित स्थानमा जान र सेनालाई क्षेप्यास्त्र रोक्ने तयारी गर्न सहयोग पुग्ने बताएका छन् । उनका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भएको टेलिफोन संवादलगायत अमेरिकी अधिकारीहरूसँगको छलफलपछि यस्तो परिवर्तन आएको हो । यसैबीच, रुसले युक्रेनका नागरिक बस्तीमा क्षेप्यास्त्र र मानवरहित विमानबाट ठूलो आक्रमण गरेको छ । अधिकारीहरूका अनुसार उक्त आक्रमणमा नौ जनाको मृत्यु भएको छ । जेलिन्स्कीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउन अमेरिका र युरोपेली देशहरूसँग आग्रह गरिरहेका छन् । नर्वेको राजधानी ओस्लोमा जेलिन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विटकफ, नर्वेका प्रधानमन्त्री जोनास गार स्टोरे र फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टबसँग पनि भेट गरेका थिए । रुस–युक्रेन युद्ध अन्त्य गर्न सहमति जुटाउने प्रयासमा रहेका विटकफ बुधबार रुसी सहर सेन्ट पिटर्सबर्ग जाने तयारीमा रहेको नर्वेली प्रधानमन्त्रीले बताएका छन् । त्यहाँ उनले रुसी अधिकारीहरूसँग भेट गरी ओस्लोमा भएका छलफल र अमेरिका तथा युरोपेली सहयोगीका प्रस्तावबारे जानकारी गराउने बताइएको छ । जेलिन्स्कीले युक्रेनसँग अमेरिकी निर्मित प्याट्रियट वायु रक्षा प्रणालीमा प्रयोग हुने क्षेप्यास्त्र रोक्ने गोला लगभग सकिन लागेको बताएका छन् । रुसी बलिस्टिक क्षेप्यास्त्रबाट हुने आक्रमण रोक्न यस्ता सामग्री अत्यावश्यक रहेको उनको भनाइ छ । उनले अमेरिकासँग थप क्षेप्यास्त्र पठाउन आग्रह गरेका छन् । तर, अन्य देशले युक्रेनका लागि खरिद गरेका क्षेप्यास्त्रको आपूर्तिमा अमेरिकी रक्षा मन्त्रालयले ढिलाइ गरिरहेको आरोप उनले लगाएका छन् । जेलिन्स्कीले रुबियोसँग युक्रेनलाई महत्त्वपूर्ण गुप्तचर सूचना उपलब्ध गराउने व्यवस्था निरन्तर कायम राख्न पनि आग्रह गरेका थिए। पछिल्ला दिनमा रुसी क्षेप्यास्त्र आक्रमणबारे सूचना नपाएको वा ढिलो प्राप्त गरेको उनको भनाइ थियो । युक्रेनी राष्ट्रपतिले अमेरिकी कम्पनी स्पेसएक्सको उपग्रहमा आधारित इन्टरनेट सेवा स्टारलिङ्कको सैन्य प्रयोजनका लागि प्रयोग गरिने संस्करणमा युक्रेनमाथि लगाइएको गति सीमासम्बन्धी प्रतिबन्ध पनि कायम रहेको बताएका छन् । यसले युद्धमैदानमा सैन्य कारबाही प्रभावित भइरहेको उनको दाबी छ । त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि लगाइएका प्रतिबन्धमा केही छुट दिएको भन्दै जेलिन्स्कीले आलोचना गरेका छन् । उनका अनुसार यस्तो कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण जारी राख्न सहयोग पुग्न सक्छ । अमेरिकाबाट प्राप्त हुने सहयोग सुस्त भएको आशङ्काबीच जेलिन्स्की र रुबियोबीच महत्त्वपूर्ण छलफल भएको थियो । जेलिन्स्कीले सामाजिक सञ्जालमार्फत रुबियोसँग विस्तृत कुराकानी भएको र सहयोगका लागि उनको तत्परताप्रति आभार व्यक्त गरेका थिए । रुबियोले भने अमेरिकाले युक्रेनलाई सहयोग गर्न छाडेको भन्ने दाबी अस्वीकार गरेका छन् । भारत भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिकी सहयोगमा कुनै परिवर्तन नभएको बताएका थिए । रुबियोका अनुसार युक्रेनलाई आवश्यक प्याट्रियट क्षेप्यास्त्रको आपूर्ति सीमित छ र विश्वका अन्य क्षेत्रमा पनि यसको माग छ । युक्रेनलाई क्षति पुर्याउने उद्देश्यले सहयोग रोक्न कुनै राजनीतिक निर्देशन नदिइएको उनले स्पष्ट पारेका छन् । यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनसम्बन्धी अमेरिकाका नयाँ प्रस्ताव सुन्न मस्को तयार रहेको बताएका छन् । यद्यपि, उनले वासिङ्टनबाट कुनै चमत्कारको अपेक्षा नरहेको टिप्पणी गरेका छन् । The post युक्रेन अमेरिका वार्ता: रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News
.jpg)
चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर
अनिल पराजुलीहेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भ... ...

भारतमा जीवित प्रमाणित गर्न सरकारी कार्यालय धाउँदै मतदाता सूचीबाट नाम हटेका 'मृतक' व्यक्ति
जीवितै रहेका कामतालाई मृतक भन्दै मतदाता सूचीबाट हटाइयो । दैनिक झन्डै २५० भारु ज्याला कमाएर परिवार पाल्ने गरेका कामता अहिले निर्वाचन आयोगको उक्त गल्ती सच्याउन आफ्नो काम छाडेर दिल्लीका विभिन्न कार्यालयहरू धाइरहेका छन् ...

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : सभापति लामिछाने
विपत्ति र शोकका बीच मनाइँदै गरेको यस वर्षको दशैँले नेपाली समाजलाई अझ सुदृढ एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। ...

दसैं : परम्परा, दर्शन र समकालीन जीवन
दसैं विगतमा भएको कुनै विजयको स्मरण मात्र होइन, वर्तमानमा पनि धर्म, विवेक र आत्मसंयमको पक्षमा उभिने संकल्प दोहोर्याउने अवसर हो। ...


