यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- बंगलादेशको राजधानी ढाकामा सुरु भएको बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर २०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन् । तीन दिनसम्म चल्ने मेलामा नेपालको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक सम्पदा, पदयात्रा, पर्वतारोहण र साहसिक पर्यटनलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ । ‘एआईमा आधारित पर्यटन, दिगो गन्तव्य’ मूल नारासहित आयोजित मेलामा नेपाली पर्यटन व्यवसायीले बंगलादेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने तथा दुई देशबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेका छन् । यसअघि नेपाल पर्यटन बोर्ड र ढाकास्थित नेपाली राजदूतावासको सहकार्यमा अक्टोबर २८ मा ‘नेपालले बोलाइरहेको छ : भ्रमण गर्नुहोस्, अन्वेषण गर्नुहोस् र अनुभव लिनुहोस्’ नारासहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी प्रस्तुति, सांस्कृतिक प्रदर्शनी तथा पर्यटन व्यवसायीबीच व्यावसायिक छलफल भएको थियो । नेपाल पर्यटन बोर्डले भौगोलिक निकटता र सांस्कृतिक समानतालाई उपयोग गर्दै बंगलादेशलाई नेपालको महत्वपूर्ण पर्यटक स्रोत बजारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । नेपाललाई हिमाल र पदयात्रामा मात्र सीमित नराखी संस्कृति, वन्यजन्तु, आध्यात्मिकता, स्वास्थ्य तथा आरोग्य पर्यटनको गन्तव्यका रूपमा चिनाउने अभियानलाई बोर्डले प्राथमिकता दिएको छ । २- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूको नक्साङ्कन र विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कन तीव्र रूपमा अघि बढाइएको बताएका छन् । उनले आवश्यकताका आधारमा लगानी गरी विश्वविद्यालयमा हुने दोहोरो खर्च रोक्ने सरकारको योजना रहेको बताए । बागमती विश्वविद्यालयले हेटौँडामा आयोजना गरेको उच्च शिक्षा प्रणाली सुदृढीकरणसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै मन्त्री पोखरेलले विश्वविद्यालय स्थापना गर्दा भौगोलिक आवश्यकता, औचित्य र स्थानीय अवस्थालाई आधार बनाउनुपर्नेमा जोड दिए । उनले संघीय र प्रदेश सरकारअन्तर्गतका विश्वविद्यालयबीच समन्वय बढाउन आवश्यक संयन्त्र निर्माण गरिएको जानकारी दिँदै शिक्षा क्षेत्रमा नीतिगत तथा संरचनागत सुधार भइरहेको बताए । विद्यालय शिक्षा ऐन निर्माण र शिक्षा नियमावली संशोधनको प्रक्रिया पनि जारी रहेको उनको भनाइ थियो । दुई दिनसम्म चल्ने गोष्ठीमा उच्च शिक्षाको गुणस्तर सुधार, विश्वविद्यालयको संस्थागत विकास, शैक्षिक कार्यक्रमको प्रभावकारिता र संघ तथा प्रदेशबीचको सहकार्यका विषयमा छलफल भइरहेको छ । ३- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सफलतापूर्वक सञ्चालन भइरहँदा पनि दर्शकले भोग्नुपरेका आधारभूत समस्याबारे नेपाल क्रिकेट संघको ध्यान नगएको भन्दै गुनासो बढेको छ । मैदान र खेलको आकर्षण बढे पनि टिकट व्यवस्थापन, पार्किङ, शौचालय, खानेपानी र खानाको मूल्यजस्ता विषयमा दर्शकले असुविधा भोग्नुपरेको गुनासो गरेका छन् । दर्शकका अनुसार पहिलो संस्करणदेखि उठ्दै आएका समस्या दोस्रो र तेस्रो संस्करणसम्म पनि दोहोरिएका छन् । जस्तै, अनलाइनबाट टिकट खरिद गरेपछि पनि प्रवेशद्वारमा क्युआर सङ्केत देखाएर भौतिक टिकट लिनुपर्ने बाध्यताले अनावश्यक झन्झट थपेको छ । त्यस्तै, प्रयोग गरिएका टिकट च्यातेर मैदान परिसरमै फालिँदा फोहोर बढ्ने समस्या पनि देखिएको छ । पार्किङ व्यवस्थापन पनि दर्शकको अर्को प्रमुख गुनासो बनेको छ । खेल सकिएपछि राति ९ बजेसम्म पनि आफ्नो सवारीसाधनसम्म पुग्न १० मिनेटभन्दा बढी हिँड्नुपर्ने र पार्किङ शुल्क महँगो भएको उनीहरूको गुनासो छ । मैदानमा पर्याप्त शौचालय र पिउने पानीको व्यवस्था नहुनुका साथै खानाको मूल्य महँगो हुँदा दर्शकलाई थप समस्या परेको बताइएको छ । एनपीएलको मैदान र खेलको स्तर राम्रो देखिए पनि दर्शकको सुविधालाई प्राथमिकता नदिइएको भन्दै समर्थकहरुले सामाजिक सञ्जालमा व्यापक रुपमा प्रश्न उठाए पनि क्यानले यसलाई नजरअन्दाज गरेको देखिएको छ । दर्शकले टिकट किन्नुका साथै समय, पैसा र मेहनत खर्च गरेर प्रतियोगितालाई समर्थन गरिरहेका छन् । त्यसैले उनीहरूले सहज प्रवेश, उचित पार्किङ, सफा परिसर, पिउने पानी, शौचालय र उचित मूल्यमा खाना पाउने व्यवस्था अपेक्षा गरेका छन् । अर्कोकुरा, नेपाली क्रिकेटलाई समर्थकको अपार समर्थनको कथा विश्वभर चर्चित छ तर डेढ अर्ब भन्दा बढीको कारोबार हुने गरि प्रतियोगिता संचालन भइरहदा यसका प्रमुख सरोकारवाला दर्शका न्युनतम सुविधामा पनि क्यानले ध्यान दिएको देखिएको छैन । यसअघि पहिलो र दोस्रो संस्करणमा पनि दर्शकले यी विषय उठाएका थिए तर क्यानले आगमी समयमा सुधार गर्ने बताएपनि त्यसलाई यस सिजनमा पनि बिर्सेको आम दर्शकको गुनासो छ । उनीहरुले दर्शकलाई भरिभराउ मैदान देखाउने माध्यमका रूपमा मात्र नभई प्रतियोगिताका महत्वपूर्ण साझेदारका रूपमा सम्मान गर्नुपर्ने प्रश्न उठाएका छन् । अर्को पक्ष, आइसीसीको मान्यता, डिआरएस प्रविधिले प्रतियोगिताको उचाई बढिरहेका बेला आउदा दिनमा दर्शकप्रतिको उपेक्षाले उनीहरु मैदानसम्म आउन छोडे भने के हुन्छ ? भन्ने तर्फ क्यानको समयमै ध्यानजानुपर्ने देखिन्छ । ४- महिलाबारे गरिएको विवादास्पद टिप्पणीलाई लिएर आर्मेनियाको संसदमा सत्तारूढ दल र विपक्षी सांसदबीच कुटाकुट भएको छ । बिहीबार भएको विवाद हात हालाहालमा परिणत भएपछि संसद्को बैठक नै स्थगित गर्नुपरेको मिडिया रिपोर्टमा उल्लेख छ । सत्तारूढ दलका सांसद तारोन चखोयानले विपक्षी नेता नारेक कारापेटयनसँग महिलाबारे गरिएको टिप्पणीका लागि माफी माग्नुपर्ने बताएका थिए । उनले कारापेटयनका परिवारका सदस्यले विगतमा दिएको विवादास्पद अभिव्यक्तिको विषय उठाएपछि विपक्षी सांसदहरू आक्रोशित भएका थिए । विवादको जड विपक्षी नेताका भाइ सर्गिस कारापेटयनले पोडकास्टमा महिलाको यौन सन्तुष्टि र देशको घट्दो जन्मदरबारे दिएको अभिव्यक्ति थियो । उनले आफ्नो पार्टी सत्तामा आए कुनै पनि महिला यौन सन्तुष्टिबाट वञ्चित नहुने बताएका थिए । उक्त टिप्पणीलाई लिएर सत्तापक्षका सांसद चखोयानले महिलासँग माफी माग्नुपर्ने माग गरेका थिए । संसद्मा सुरु भएको भनाभन केहीबेरमै कुटाकुटमा परिणत भएको थियो । झडपका क्रममा एक सांसद भुइँमा लडेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएका थिए। घटनापछि संसद्को कार्यवाही रोकिएको थियो । ५- नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीभन्दा देशलाई प्राथमिकतामा राखेर अघि बढ्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई आग्रह गरेका छन् । उनले सभापति गगन थापाको नेतृत्वमा आधुनिक, व्यवस्थित र बलियो कांग्रेस निर्माण गर्दै समुन्नत नेपाल बनाउने अभियानमा जुट्नुपर्ने बताएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीका सबै नेता तथा सदस्यले संस्थागत रूपमा निर्धारित जिम्मेवारी पूरा गर्नुपर्ने बताए । सभापतिले तयार पार्ने कार्ययोजनाअनुसार तोकिएको भूगोल र जिम्मेवारीमा काम गरी समयमै केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाउनुपर्ने उनको भनाइ थियो । उनले पार्टीमाथि उठ्ने आलोचना र प्रश्नलाई सकारात्मक रूपमा ग्रहण गर्न तथा गलत विषयको खण्डन स्वस्थ र विधिसम्मत प्रक्रियाबाट गर्नुपर्नेमा जोड दिए । शर्माले परिवर्तनका चुनौती सामना गर्न नवनिर्वाचित केन्द्रीय कार्यसमितिले सरकारसँग प्रभावकारी सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले सभापति थापाको नेतृत्वमा संस्थागत र प्रभावकारी कार्यशैली अपनाउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । ६- जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान हिनामिना गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार विद्यालयको आर्थिक वर्ष २०७३/७४ को पुस्तकालय अनुदानबापत प्राप्त रकम तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनकबहादुर नेपाली, प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धिरेन्द्रबहादुर सिंहले मिलेमतोमा गैरकानुनी रूपमा बाँडेर लिएको आरोप छ । उनीहरूले विद्यालयको १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना गरी सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याएको आयोगको दाबी छ । अनुदानको रकम सापटी लिएको देखाएर फिर्ता नगरेको उजुरीपछि गरिएको अनुसन्धानमा रकम हिनामिना भएको देखिएको आयोगले जनाएको छ । आयोगले आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कैद, बिगो बराबर जरिवाना र हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरेको छ । आरोपितहरूविरुद्धको कसुर भने अदालतबाट ठहर हुन बाँकी छ । ७- प्रधानन्यायाधीश मनोजकुमार शर्माले ईनम सापकोटासँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट गरेका छन् । बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश शर्माले ईनमसँग आफ्नो प्रत्यक्ष वा परोक्ष चिनजान र सम्पर्क नरहेको बताएका हुन् । आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै उनले ती समाचार आधारहीन र कपोलकल्पित रहेको उल्लेख गरेका छन् । ईनम सापकोटा र न्यायाधीशबीचको कुराकानी र कारोबार देखिने विवरण सार्वजनिक ईनम सापकोटा र न्यायाधीशबीचको कुराकानी र कारोबार देखिने विवरण सार्वजनिक विज्ञप्तिमा शर्माले उक्त प्रसंगमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीशसमेत भइनसकेको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरु एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन। ती व्यक्तिहरुसँग मेरो प्रत्यक्ष एवं परोक्ष रुपमा चिनजान, सम्पर्क समेत छैन । मैले कहिँकतैं भेटेको पनि छैन । उक्त प्रसङ्गमा उल्लेखित मिति नोभेम्बर, डिसेम्बर, जनवरीमा म प्रधानन्यायाधीश पनि भइनसकेको अवस्था छ । यसरी आधारहीन, झुठ्ठा, कपोलकल्पित र जनतामा भ्रम छर्ने दुषित उद्धेश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु । यस्तो आधारहीन र कपोलकल्पित समाचारको भ्रममा नपर्न सम्पूर्ण जनमानसमा अनुरोध समेत गर्दछु ।’ ८- रुसको राजधानी मस्कोतर्फ अघि बढिरहेका करिब ३० वटा मानवरहित हवाई उपकरण (ड्रोन) आफ्नो वायु रक्षा प्रणालीले नष्ट गरेको रुसी अधिकारीहरूले बताएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार ड्रोनका अवशेष खसेका स्थानमा आपत्कालीन उद्धार टोली परिचालन गरिएको छ । रुसी सञ्चारमाध्यमका अनुसार वायु रक्षा प्रणालीले यसअघि पनि राजधानीतर्फ बढिरहेका ड्रोनहरू रोकेको थियो । ड्रोन आक्रमणको जोखिमका कारण मस्को क्षेत्रका वनुकोभो र दोमोडेदोभो विमानस्थलमा उडानसम्बन्धी अस्थायी प्रतिबन्ध लगाइएको छ । झुकोभस्की विमानस्थलमा भने प्रतिबन्ध हटाइएको छ। मस्कोबाट करिब ५० किलोमिटर दक्षिणपश्चिममा रहेको नारो–फोमिन्स्क नजिकै विस्फोटका आवाज सुनिएको स्थानीयले बताएका छन् । ९- परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय जलवायु सम्मेलन २०२६ को प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले हिमाली क्षेत्रको संरक्षणलाई विश्वकै साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताएका हुन् । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट अनुमानित ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको क्षति भएको उल्लेख गर्दै मन्त्री खनालले हिमाली पारिस्थितिक प्रणाली जोखिममा रहेको बताए । उनले जलवायु परिवर्तनबाट हुने क्षति तथा नोक्सानी सम्बोधन गर्न नेपाललाई २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रारम्भिक निर्णयलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । आगामी जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा नेपालले हिमाली क्षेत्रलाई विशेष प्राथमिकता दिने, क्षति तथा नोक्सानीसम्बन्धी सहायता कार्यान्वयन गर्ने, सहज रूपमा जलवायु वित्त उपलब्ध गराउने र जलवायु न्याय सुनिश्चित गर्ने विषय उठाउने उनले बताए । मन्त्री खनालले जलवायु वित्त अनुदानमा आधारित, नियमित र सहज पहुँचयोग्य हुनुपर्नेमा जोड दिँदै ‘सगरमाथादेखि समुद्रसम्म’को अवधारणाअनुसार राष्ट्रिय स्तरमा समन्वय गरेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साझा आवाज बलियो बनाउनुपर्ने बताए । १०- जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजलाई पराजित गरेको छ । विहिबार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले काठमाडौँलाई ८ विकेटले पराजित गरेको हो । काठमाडौँले दिएको ११६ रनको लक्ष्य पछाएको जनकपुर बोल्ट्सले १७.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । जनकपुरका लागि मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनाएका थिए भने सैफ हसनले अविजित ४० रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको काठमाडौँले १९.३ ओभरमा अल आउट हुदै ११५ रन बनाएको थियो । काठमाडौँका लागि भिम सार्कीले सर्बाधिक ३३ रन बनाएका थिए भने रशिद खानले १७ र समित पटेलले १३ रन बनाएका थिए । त्यस्तै समित महर्जनले १० रन बनाएका थिए । त्यसैगरी जनकपुर बोल्ट्सका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा १८ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै सैफ हसनले २ विकेट लिए भने हरमित सिंह, मोइन अली र ललित राजबंशीले एक एक विकेट लिएका थिए । पहिलो खेलमा कर्णाली याक्ससँग हारेको जनकपुरले दोस्रो खेलमा सहज जित हासिल गर्दै प्रतियोगितामा कमब्याक गरेको छ भने काठमाडौँले हारबाट प्रतियोगितामा शुरुवात गरेको छ । एनपीएल अन्तर्गत आजै कर्णाली याक्स र विराटनगर किंग्सबीच खेल हुदैछ । ११- नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर ८ अर्ब ५७ करोड ९८ हजार ८२३ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोपान फार्माको शेयर ८.७२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर ३.६५ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३५ करोड ६१ लाख बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको २५ करोड ३८ लाख बराबरको कारोबार भएको छ । १२- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण गरेका छन् । विहिबार, सानेपास्थित केन्द्रीय कार्यालयमा काँग्रेसको नव निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई सभापति गगन थापाले पद तथा गोपनियताको शपथ गराएका हुन् । यसअघि बडादशैँको फूलपातीको दिन पारेर सभापति गगन थापाले पद तथा गोपनियताको शपथ लिदै कार्यभार सम्हालिसकेका छन् । काँग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्बिरोध निर्वाचित भएका थिए । त्यस्तै खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य तथा समाबेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका थिए । त्यस्तै महामन्त्रीमा प्रदिप पौडेल र उदयशमशेर राणा विजयी भएका थिए भने महिलातर्फको महामन्त्रीमा डिला संग्रौला निर्वाचित भएका थिए । त्यस्तै, महाधिवेशनले ११ सहमहामन्त्रीसमेत निर्वाचित गरेको छ । नेपाली काँग्रेसको १५औं महाधिवेशनले २३१ सदस्यीय केन्द्रिय समिति निर्वाचित गरेको थियो । २९७ सदस्यीय काँग्रेसको केन्द्रीय समितिका बाँकी ४ सहमहामन्त्री, एक कोषाध्यक्षसहित केन्द्रीय सदस्यहरु सभापतिले मनोनित गर्ने व्यवस्था गरिएको छ । १३- नेपाली कांग्रेसले अदालतमा मुद्दा विचाराधीन रहेका चार नवनिर्वाचित केन्द्रीय सदस्यलाई तत्काल शपथ नगराउने भएको छ । पार्टीको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको पद शपथ ग्रहण प्रक्रिया रोकिएको हो । आज हुने केन्द्रीय सदस्यसहितको शपथमा उनीहरुलाई सहभागी नगराइने कांग्रेसका एक पदाधिकारीले जानकारी दिएका छन् । १४- निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै उठेका प्रश्नबारे संसदीय उपसमितिले प्रारम्भिक अध्ययन सुरु गरेको छ । बिहीबार बसेको उपसमितिको बैठकले कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी कार्यविधि तय गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट प्राप्त कागजात अध्ययन गरिरहेको छ । गत प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । उनीहरूको पोसाकका लागि करिब एक अर्ब रुपैयाँ निकासा भएको थियो । छोटो अवधिका लागि नियुक्त निर्वाचन प्रहरीलाई कमसल सामग्री उपलब्ध गराइएको भन्दै प्रश्न उठेपछि सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको थियो । झाको नेतृत्वमा गठित नौ सदस्यीय उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन् । १५- अमेरिकाले गत अगस्टमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका अमेरिकी नागरिकसहित अन्य पीडितको पहिचान गर्न नेपाल प्रहरीलाई थप डीएनए परीक्षण सामग्री उपलब्ध गराएको छ । अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोका सहायक कानुन कार्यान्वयन सहचारी राइली पाम्लट्रीले यसै साता अमेरिकी कम्पनी थर्मो फिसर साइन्टिफिकले उत्पादन गरेका दुई खेप सामग्री हस्तान्तरण गरेका हुन् । नेपालको द्रुत डीएनए परीक्षण प्रणालीलाई सहयोग गर्न अमेरिकाले उपलब्ध गराएको १० लाख अमेरिकी डलरको योगदानअन्तर्गत यी सामग्री प्रदान गरिएको हो । यसबाट बाढीमा बेपत्ता भएका आफन्तको खबर पर्खिरहेका परिवारलाई आफ्ना प्रियजनको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अमेरिकाले नेपालमा बाढीपछिको उद्धार तथा पुनःस्थापनाका लागि निरन्तर सहयोग गर्दै आएको छ। बाढी प्रभावितको जीवन रक्षा र विपद्पछिको पुनःस्थापनाका लागि अमेरिकाले हालसम्म तीन करोड ६० लाख अमेरिकी डलरभन्दा बढी सहायता उपलब्ध गराइसकेको जनाएको छ । १६- नागढुंगा–सिस्ने खोला सुरुङमार्ग प्रयोग गरेबापत कार्तिक १५ गतेदेखि टोल शुल्क लाग्ने भएको छ । सुरुङ प्रयोगबापत कार, बस, ट्रक र लरीका लागि सवारीको आकार र दिशा अनुसार छुट्टाछुट्टै टोल शुल्क तोकिएको छ । सरकारले यसअघि नै निर्णय गरेर राजपत्रमा सूचना जारी गरी सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरिसकेको छ । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ । त्यसैगरी मिनी बस, मिनी टिपर-ट्रकको प्रवेशका लागि ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तथा बस, ट्रक (सिङ्गल रियर एक्सल( प्रति सवारीसाधन प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ । मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० रुपैया र बाहिरिँदा २५० रुपैया तोकिएको छ । भुक्तानीलाई सहज बनाउन आरएफआईडी प्रविधिमा आधारित ‘एन–ट्याग’ र नगद दुवै माध्यमको व्यवस्था गरिएको छ । दुईपांग्रे, तीनपांग्रे, पैदलयात्री र डिजेल, पेट्रोल वा ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङ प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ । जापानको साढे २१ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब लगानीमा बनेको यो सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन एआरटी जेभीले पाँच वर्षका लागि पाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा शिलान्यास गरेको यो आयोजना कोभिड लगायतका कारण ढिलो गरी सम्पन्न भएपछि गत साउन ११ गते उद्घाटन गरेर सञ्चालनमा ल्याइएको थियो । १७- स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना खेलाडी किलियन एमबाप्पेको पछिल्लो अभिव्यक्तिबाट चिनियाँ जनतामा पर्न गएको असहजताप्रति माफी मागेको छ । क्लबले चीन, त्यहाँको इतिहास, संस्कृति र नागरिकप्रति आफ्नो गहिरो सम्मान रहेको जनाएको छ । साथै, रियल मड्रिडप्रति माया र प्रशंसा राख्ने लाखौँ चिनियाँ समर्थकको भावनाको पनि सम्मान गर्ने उल्लेख गरेको छ । रियल म्याड्रिडले एमबाप्पेले सार्वजनिक रूपमा माफी माग्दै आफ्नो अभिव्यक्तिप्रति दुःख व्यक्त गरेको र चिनियाँ जनताप्रति सम्मान दोहोर्याएको विषयलाई समर्थन गरेको छ । क्लबले आपसी सम्मान, सहअस्तित्व र सांस्कृतिक समझदारीका मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै चीन र त्यहाँका नागरिकसँगको मित्रता तथा आत्मीय सम्बन्धलाई थप बलियो बनाउने इच्छा व्यक्त गरेको छ । विवाद फ्रान्सेली कार्यक्रम ‘द ब्रिज’मा गरिएको कुराकानीबाट सुरु भएको थियो । आफूलाई तानाशाहका रूपमा चित्रण गरिएका इन्टरनेटका तस्बिरमध्ये सबैभन्दा रमाइलो लागेको तस्बिरबारे सोध्दा एमबाप्पेले आफ्नो अनुहार जोडिएको एक तस्बिरको उल्लेख गर्दै त्यसमा देखिएको व्यक्तिलाई ‘चिनियाँ तानाशाह’ भनेका थिए । उक्त तस्बिरमा उनको अनुहार चीनका पूर्वनेता माओत्सेतुङको शरीरमा जोडिएको थियो । एमबाप्पेको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि चीनमा उनको चर्को आलोचना भएको थियो । विवाद बढ्दै जाँदा चिनियाँ कम्पनीहरूले उनीसँगको व्यावसायिक सहकार्य अन्त्य गरेका छन् । साथै, चीनको सरकारी प्रसारण संस्थाले स्पेनिस लिगका खेल प्रसारण नगर्ने निर्णय गरेको छ । एमबाप्पेले यसअघि नै आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्दै आफूले गरेको टिप्पणी उचित नभएको बताएका थिए । उनको भनाइले चीन र विश्वभरका चिनियाँ समुदायका धेरै मानिसको भावनामा चोट पुगेको आफूले बुझेको उल्लेख गर्दै उनले चिनियाँ जनता र उनीहरूको इतिहासप्रति गहिरो सम्मान रहेको बताएका थिए । १८- ब्राजिलमा राष्ट्रपतीय निर्वाचनको नतिजालाई लिएर राजनीतिक विवाद चर्किएको छ । ब्राजिलबाट भागेर अमेरिका पुगेपछि सिनेटर फ्लाभियो बोल्सोनारोले सार्वजनिक पत्र जारी गर्दै आफूलाई ब्राजिलको वास्तविक निर्वाचित राष्ट्रपति दाबी गरेका छन् । उनले राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको विजयमाथि प्रश्न उठाउँदै निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् । तर, उनले आफ्नो आरोप पुष्टि गर्ने ठोस प्रमाण भने प्रस्तुत गरेका छैनन् । फ्लाभियोले पत्रमा निर्वाचनको दोस्रो चरणमा लुलाले पहिलो चरणको तुलनामा एक करोडभन्दा बढी थप मत प्राप्त गरेको दाबी गर्दै यसले शङ्का उत्पन्न गरेको बताएका छन् । उनले मतदानको समय बढाउने निर्णयमाथि पनि प्रश्न उठाएका छन् । यसबाट मतदातालाई फरक–फरक नियमअनुसार व्यवहार गरिएको उनको आरोप छ । निर्वाचन अभियानका क्रममा सरकारी स्रोतसाधनको दुरुपयोग र राजनीतिक प्रभाव प्रयोग गरिएको दाबी गर्दै उनले लुला र उपराष्ट्रपति जेराल्डो आल्कमिनको निर्वाचन विजय रद्द गर्न माग गरेका छन् । यी आरोपका पक्षमा भने उनले प्रमाण दिएका छैनन् । फ्लाभियोले ब्राजिलको न्यायपालिका र सर्वोच्च अदालतलाई समेत राजनीतिक पक्षपात गरेको आरोप लगाएका छन् । आफूविरुद्ध भइरहेको न्यायिक कारबाहीलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै उनले राहदानी जफत गरिएको, विद्युतीय निगरानीमा राखिएको र पक्राउ पर्न सक्ने अवस्थाबारे पत्रमा उल्लेख गरेका छन् । आफ्नो परिवारलाई यस्तो परिस्थितिबाट जोगाउन आफू अमेरिका पुगेको उनले बताएका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईप्रति आभारसमेत व्यक्त गरेका छन् । अमेरिका पुगे पनि ब्राजिलको राजनीतिबाट आफू अलग नहुने फ्लाभियोले बताएका छन् । उनले अमेरिकाबाटै विपक्षी राजनीतिक शक्तिको नेतृत्व गर्ने घोषणा गर्दै समर्थकलाई एकताबद्ध रहन आग्रह गरेका छन् । लोकतन्त्र, मानवअधिकार र स्वतन्त्रताको रक्षाका लागि शान्तिपूर्ण तथा कानुनी बाटोबाट सङ्घर्ष जारी राख्ने उनको भनाइ छ । फ्लाभियो पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन्। उनले आफ्ना पिता र अन्य समर्थकविरुद्ध भइरहेको कारबाहीलाई पनि राजनीतिक प्रतिशोधको रूपमा व्याख्या गरेका छन् । निर्वाचनको नतिजा र न्यायिक प्रक्रियाबारे उनका दाबी सार्वजनिक भए पनि पत्रमा प्रस्तुत आरोप स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् । १९- स्पेनमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ भने दर्जनौँ घाइते भएका छन् । बुधबार म्याड्रिडबाट सेभियातर्फ गइरहेको रेलले रेलमार्गमा रोकिराखिएको अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करको तीव्रताका कारण रेलका केही डिब्बा रेलमार्गबाट तल खसेका थिए । यो दुर्घटना स्पेनको पछिल्लो १३ वर्षयताकै सबैभन्दा ठूलो रेल दुर्घटना भएको बताइएको छ । दुर्घटना म्याड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीच भएको थियो । स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेका अनुसार निजी रेल सेवा प्रदायक कम्पनी इरियोको रेलमा १४७ यात्रु थिए । विद्युतीय प्रणालीमा समस्या आएपछि रेल रोकिएको थियो । उनले प्रणालीमा समस्या आएपछि म्याड्रिडस्थित नियन्त्रण केन्द्रले रेल सञ्चालनको जिम्मेवारी लिने भए पनि कुनै गति सीमा नतोकी रेल अघि बढाउन निर्देशन दिइएको बताएका छन् । सरकारी रेल कम्पनी रेन्फेको रेलमा भने ३९७ यात्रु सवार थिए । दुर्घटनामा बाँचेका यात्रुहरूले अत्यन्तै भयावह दृश्य देखेको बताएका छन् । ठक्करका कारण यात्रुहरू उछिट्टिएका, केही डिब्बामा च्यापिएका र बाहिर निस्कन झ्याल फुटाउनुपरेको उनीहरूले बताएका छन् । एउटा डिब्बामा आगलागीसमेत भएको थियो । घाइतेहरू रगताम्य अवस्थामा सहयोगका लागि चिच्याइरहेका थिए भने केही यात्रु भग्नावशेषमा पुरिएका थिए । दुर्घटनास्थलबाट गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। मृतकको पहिचान गर्न केही परिवारका सदस्यबाट वंशाणुगत नमुना लिनुपर्ने स्पेनको नागरिक सुरक्षा बलले जनाएको छ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले दुर्घटनास्थलको भ्रमण गर्दै देश शोकमा डुबेको बताएका छन् । उनले घटनाको गहिरो अनुसन्धान गरी लापरबाही भए नभएको पत्ता लगाउने प्रतिबद्धता जनाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता अल्बेर्तो नुनेज फेइखोले रेलमार्गको सुरक्षा प्रणालीमा कमजोरी भए कडा कदम चाल्नुपर्ने बताएका छन् । यातायातमन्त्रीले नियन्त्रण कक्षका कर्मचारीलाई दोष दिएर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाउँदै कर्मचारी सङ्गठनले उनको राजीनामा माग गरेको छ । यसअघि जनवरीमा स्पेनको कोर्डोबा नजिकै भएको तीव्र गतिको रेल दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटना एउटै रेलमार्गमा भए पनि स्थान फरक रहेको बताइएको छ । एकै वर्ष दुई ठूला रेल दुर्घटना हुनु अस्वीकार्य भएको प्रधानमन्त्री सान्चेजले बताएका छन् । सन् २०१३ मा सान्टियागो दे कोम्पोस्तेलानजिक भएको रेल दुर्घटनामा ८० जनाको मृत्यु भएयता बुधबारको दुर्घटनालाई स्पेनकै सबैभन्दा भयावह रेल दुर्घटनामध्ये एक मानिएको छ । २०- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । ललितपुर जिल्ला अदालतले बुधबार उनीहरूलाई धरौटीमा छाड्ने आदेश दिएको हो । खेल मिलेमतो, आर्थिक अनियमितता तथा ठगीसम्बन्धी आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो । यसअघि कोषाध्यक्ष जोशी १५ लाख र लेखापाल पाण्डे १२ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् । एन्फाभित्रको विवादसँगै नेपाली फुटबलमा संकट थपिएको छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०२६ जुन २४ देखि एन्फालाई निलम्बनमा राखेको छ । निलम्बनका कारण नेपाली राष्ट्रिय टोली र क्लबहरूको अन्तर्राष्ट्रिय सहभागितामा असर परेको छ । यसैबीच, एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा कार्यसमितिका बहुमत सदस्यले बैठक बोलाउने तयारी गरेका छन् । उनीहरूले कात्तिक १३ गते बैठक गरी एन्फाको आन्तरिक विवाद समाधान र फिफाको निलम्बन फुकुवाका लागि आवश्यक पहल गर्ने बताएका छन् । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

गगन थापालाई केही प्रश्न
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण शक्ति हो । यस पार्टीको नेतृत्वमा आउने व्यक्तिबाट संगठन सुधारको नारामात्र होइन, पार्टीलाई एकताबद्ध बनाउने, जनताको विश्वास जित्ने र देशलाई विकासको बाटोमा अघि बढाउने स्पष्ट दृष्टिकोण पनि अपेक्षा गरिन्छ । गगन थापा जी, तपाईंले विद्यार्थी राजनीतिमा प्रवेश गरेदेखि नै सुशासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक सुधार र देशको समृद्धिका विषयमा आवाज उठाउँदै आउनुभएको छ । विद्यार्थी ...

तिहारलक्षित सयपत्री फूल खेतीमा जमेका विष्ट
सुनसरी । तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आएका विष्टले यस... ...

किन उठिरहन्छ विवाद ?
बेलाबेलामा अनेक खालका प्रश्नहरू सिर्जना हुने क्रममा केही दिनयता लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिको सन्दर्भमा अनेक प्रश्न उठाइएका छन् । आनी बौद्ध भिक्षुणी हुनुहुन्छ । यसका साथै उहाँको कलाकारिता सर्वव्यापी चर्चामा रहँदै आएकै हो । केही समय अगाडि निधन हुनुभएका दुर्गालाल श्रेष्ठले लेख्नुभएको गीत ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार’ गाएर ख्याति आर्जन गर्नुभएकी आनी त्यस ...

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन
काभ्रेपलान्चोक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिने गरी पसलमा राख्न... ...


