Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यी हुन् आज दिनभरका प्रमुख २० समाचार

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार साँझ जारी गरेको मौसम पूर्वानुमानअनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने कायमै रहेको छ । हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । शनिबार राति हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने तथा पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । रातिको समयमा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । २- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृतिहरू समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बसेको सचिवालय बैठकले न्यायाधीशहरूको नाम विभिन्न व्यक्तिहरूसँग जोडिएको विषय र अन्य विकृति समाधानका लागि संसदीय दललाई निर्देशन दिएर संसदबाटै प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । खरेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालत र सरकारबाट मात्र नभई संवैधानिक बाटो संसद भएकाले संसदबाटै न्याय निरूपण र पुनर्संरचनाको विषय उठाइने बताए । महाअभियोगबारे सोधिएको प्रश्नमा खरेलले उक्त विषय संसदीय दलमार्फत संसदमा प्रवेश गरेपछि मात्र स्पष्ट हुने जानकारी दिए । त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको टोली छिट्टै चीन भ्रमणमा जाने पनि उनले बताए । बैठकले संविधानले दिएको प्रेस स्वतन्त्रता र विधिको शासनको सम्मान गर्ने जनाउदै शुक्रबार पत्रकार/सञ्चारकर्ममाथि भएको धरपकड गर्ने कार्य गलत भएको निष्कर्ष निकालेको प्रवक्ता खरेलले जानकारी दिए । ३- पोल्यान्डमा प्रधानमन्त्री डोनाल्ड टस्क नेतृत्वको सरकार र राष्ट्रपति कारोल नावरोत्स्कीबीच संवैधानिक अदालतको नियन्त्रणलाई लिएर विवाद चर्किएको छ । अदालतका एक न्यायाधीशले अध्यक्ष र उपाध्यक्षलाई एक महिनाका लागि निलम्बन गर्दै आफैँले नेतृत्व सम्हालेपछि राजनीतिक तनाव बढेको हो । न्यायाधीश आन्ना कोर्विन पियोत्रोभ्स्काले अदालतका अध्यक्ष बोग्दान स्विएन्त्स्कोभ्स्की र उपाध्यक्षलाई निलम्बन गरेकी हुन् । नयाँ नियुक्त भएका न्यायाधीशलाई काम गर्न नदिएको भन्दै उनले यस्तो निर्णय लिएको बताएकी छन् । तर विपक्षी दलले यसलाई संवैधानिक संस्थामाथि नियन्त्रण जमाउने प्रयास भन्दै विरोध गरेको छ । विवादको जड सन् २०१५ मा सुरु भएको हो। तत्कालीन कानुन तथा न्याय पार्टीको सरकारले न्यायालयमा गरेको नियुक्ति र संरचनागत परिवर्तनलाई लिएर विवाद भएको थियो । सन् २०२३ मा सत्तामा आएको टस्क सरकारले न्यायालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रयास गरिरहेको छ। तर राष्ट्रपति र विपक्षी दलले सरकारका कदम संविधानविपरीत भएको आरोप लगाउँदै आएका छन् । यसैबीच, अदालतबाहिर सयौँ मानिसले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा केहीले प्रहरीमाथि वस्तु प्रहार गरेपछि अवस्था तनावपूर्ण बनेको थियो । घटनाकै कारण राष्ट्रपति नावरोत्स्की विदेश भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री टस्कले भने कानुनी शासन पुनःस्थापना गर्न कठिन निर्णय लिनुपर्ने बताएका छन् । ४- जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६ ख (हाल गढवा ३) का ५ जना, साविक सोनपुर ५क(हाल लमही नगरपालिका ३) का २ जना र साविक लालमाटिया ३त (हाल राप्ती गाउँपालिका वडा नं १) का १ जना भूमिहिन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो । लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन् । ५- ‘काँटे’, ‘काबिल’, ‘सुटआउट एट लोखण्डवाला’ र ‘मुम्बई सागा’ जस्ता चर्चित चलचित्र निर्देशन गरेका भारतीय निर्देशक सञ्जय गुप्ताको निधन भएको छ । ५७ वर्षीय गुप्ताको मुम्बईस्थित आफ्नै निवासमा लडेर टाउकोमा चोट लागेपछि निधन भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनी अक्टोबर ३० मा आफ्नो घरको भान्छामा लडेका थिए । तर उनको निधनको खबर शनिबार बिहान सार्वजनिक भएको हो । उनका निकट मित्र तथा चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी दिएका छन् । गुप्ताका साथी हनिफ चुनावालाले पनि भान्छामा लडेर टाउकोमा लागेको चोटका कारण उनको मृत्यु भएको पुष्टि गरेका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरीले मुम्बईस्थित उनको वर्सोवा निवासमा पुगेर अनुसन्धान सुरु गरेको छ । घटनास्थलमा फरेन्सिक जाँचसमेत भइरहेको मिडिया रिपोर्टमा उल्लेख छ । निर्देशकको निधनपछि अभिनेता सञ्जय दत्तले भावुक सन्देश सार्वजनिक गरेका छन्। उनले गुप्तालाई आफ्नो परिवारको सदस्य र नजिकको साथी भन्दै उनीसँग बिताएका समय र सम्झनाहरू सधैँ याद रहने बताएका छन् । सञ्जय गुप्ता र सञ्जय दत्तको जोडीले बलिउडमा थुप्रै चर्चित चलचित्र दिएका थिए । उनीहरूले पहिलोपटक सन् १९९४ मा ‘आतिश : फिल द फायर’ मा सँगै काम गरेका थिए । त्यसपछि ‘खौफ’, ‘जंग’, ‘काँटे’, ‘मुसाफिर’ र ‘जिन्दा’ लगायतका चलचित्रमा सहकार्य गरेका थिए । विशेषगरी ‘काँटे’ र ‘सुटआउट एट लोखण्डवाला’ उनका चर्चित चलचित्र हुन् । ६- सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल थालेको छ । विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभाका अवसरमा नेपाल पर्वतारोहण संघमार्फत सरकारले उक्त प्रस्ताव अघि बढाएको हो । प्रस्तावले अन्तर्राष्ट्रिय मान्यता पाए विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ । नेपालमा मात्रै यस्ता हिमालको संख्या १४ पुग्नेछ । नेपालले छुट्टै हिमालको मान्यता दिलाउन प्रस्ताव गरेका हिमालमा यालुङ काङ (८ हजार ५०५ मिटर), कञ्चनजङ्घा दक्षिण (८ हजार ४७६ मिटर), कञ्चनजङ्घा मध्य (८ हजार ४७३ मिटर), ल्होत्से मध्य (८ हजार ४१० मिटर), ल्होत्से शार (८ हजार ४०० मिटर) र यालुङ काङ पश्चिम (८ हजार ७७ मिटर) रहेका छन् । काठमाडौंमा सुरु भएको महासंघको साधारणसभामा विभिन्न देशका पर्वतारोहण महासंघका प्रतिनिधि, विज्ञ तथा सरोकारवालाहरू सहभागी छन् । नेपालले सन् १९८२ र २०११ पछि तेस्रोपटक महासंघको साधारणसभा आयोजना गरेको हो । प्रस्तावित हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको हिमाली पहिचान थप विस्तार हुनुका साथै नयाँ पर्वतारोहण गन्तव्य पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसले पर्वतारोहण गतिविधि विस्तार र साहसिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ । ७- नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममा प्रहरी हस्तक्षेप गर्ने कार्यप्रति आपत्ति जनाएका छन् । उनले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका कार्यालयमा प्रहरी परिचालन गर्ने, समाचार कक्षमा प्रवेश गरी पत्रकारलाई त्रसित बनाउने र कार्यस्थलबाट कर्मचारीलाई धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताएका छन् । उनले यस्ता गतिविधिलाई राज्यशक्तिको दुरुपयोग र प्रेस स्वतन्त्रतामाथिको हमला भनेका छन् । अदालतमा बिचौलियामार्फत सेटिङ भएको प्रकरण तथा उच्च सरकारी अधिकारीलाई सेवाबाट हटाउने विषयमा समाचार सार्वजनिक भएपछि पत्रकारमाथि धरपकड भएको उनको भनाइ छ । केही पत्रकारलाई पक्राउ पुर्जीबिनै नियन्त्रणमा लिइएको र केहीलाई साइबर ब्युरोमा बोलाइएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । आङदेम्बेले पत्रकार पक्राउ प्रधानमन्त्री कार्यालयकै दबाबमा भएको प्रहरी अधिकारीले बताएको दाबीसमेत गरेका छन् । यस्ता घटनाबारे प्रधानमन्त्रीको सचिवालय र गृह प्रशासन बेखबर देखिनु तथा प्रहरीबाट स्पष्ट जवाफ नआउनुले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठेको उनले उल्लेख गरेका छन् । उनले प्रधानमन्त्रीसहित राज्यका सबै निकायलाई कानुनअनुसार काम गर्न र स्थापित अनुसन्धान निकायलाई स्वतन्त्र रूपमा काम गर्न दिन आग्रह गरेका छन् । संविधानप्रदत्त वाक् तथा प्रकाशन स्वतन्त्रता र कानुनी शासनको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले पत्रकारमाथि भएका धरपकड र अनधिकृत हस्तक्षेपको भर्त्सना गरेका छन् । ८- जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने भनिएको खेल वर्षाका कारण रद्द भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारी वर्षाका कारण पानी जमेर मैदान खेल्न अयोग्य भएपछि टससमेत हुन नसकी खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन् । अंक बाँडेसँगै लुम्बिनी लायन्स तीन अंकसहित दोस्रो स्थानमा पुगेको छ भने समान तीन अंक रहेको चितवन राइनोज तेस्रो स्थानमा उक्लिएको छ । ९- नेपालका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचार तथा प्रवर्द्धन गर्न २०० भन्दा बढी कन्टेन्ट क्रियटर परिचालन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा नेपाल पर्यटन बोर्डले यस्तो अभियान सञ्चालन गर्न लागेको हो । प्रविधिको बढ्दो प्रयोगसँगै नेपालको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियानको उद्देश्य रहेको छ । यस अभियानमा खानपान, भेषभूषा, यात्रा, छायाचित्र, भिडियोग्राफी, कला, संस्कृति तथा जीवनशैलीलगायत विधामा सक्रिय २०० भन्दा बढी कन्टेन्ट क्रियटर सहभागी हुनेछन् । उनीहरूले देशका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी आफ्नै सिर्जनात्मक शैलीमा तस्बिर, भिडियो तथा अन्य सामग्री तयार गर्नेछन् । पर्यटन प्रवर्द्धनमा डिजिटल माध्यम र सिर्जनशील युवाको भूमिका महत्त्वपूर्ण हुने र यस अभियानलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी कन्टेन्ट क्रियसनलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्ने भन्दै सुरुवात गर्न लागिएको बताइएको छ । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत डिजिटल पर्यटन प्रवर्द्धन, तस्बिर तथा भिडियो सामग्री उत्पादन र डिजिटल कन्टेन्ट बैंक निर्माणलाई प्राथमिकतामा राखेको छ। सोही योजनाअनुसार विभिन्न विधाका कन्टेन्ट क्रियटरसँग सहकार्य गर्न लागिएको हो । व्यक्तिगत अनुभव, स्थानीय कथा, खानपान, संस्कृति र जीवनशैलीमा आधारित सामग्रीमार्फत स्थापित पर्यटकीय गन्तव्यसँगै ओझेलमा परेका नयाँ गन्तव्यको समेत पहिचान र प्रचार हुने बोर्डको अपेक्षा छ। यसबाट पर्यटन प्रवर्द्धनसँगै नयाँ प्रतिभालाई अवसर, रोजगारी र उद्यमशीलताको सम्भावना विस्तार हुने विश्वास गरिएको छ । १०- इजरायलको पछिल्लो निर्वाचनमा विदेशी हस्तक्षेप भएको आरोपबारे त्यहाँको गुप्तचर संस्था मोसादले अनुसन्धान गर्ने भएको छ। अनुसन्धानमा आन्तरिक सुरक्षा निकाय शिन बेट पनि सहभागी हुने जनाइएको छ । निर्वाचनमा कतारसहित केही विदेशी मुलुकले अरब मतदातालाई पैसा दिएर मतदान प्रभावित पार्न खोजेको आरोप लागेको छ । यस निर्वाचनमा अरब दलहरूले १९ सिट जितेका छन्, जुन उनीहरूको अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । यद्यपि, केन्द्रीय निर्वाचन आयोगले कथित हस्तक्षेपले निर्वाचन परिणाममा कुनै असर नपारेको स्पष्ट पारेको छ । यसैबीच, इजरायलमा अरब र यहुदी दलहरू मिलेर सरकार गठन गर्नुपर्ने मागसहित विभिन्न सहरमा प्रदर्शनको तयारी गरिएको छ । तर इजरायल बेतेनु पार्टीका प्रमुख अविग्दोर लिबरम्यानले अरब दलहरूको समर्थन रहेको सरकारमा सहभागी नहुने बताएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका छोरा यायर नेतान्याहूले पनि इजरायलका अरब नागरिकलाई देशको अस्तित्वका लागि ठूलो चुनौती भएको टिप्पणी गरेका छन् । उनको अभिव्यक्तिले इजरायलमा राजनीतिक तथा सामुदायिक विवाद थप चर्काएको छ । उता, नेतान्याहूको सहयोगी दल युनाइटेड टोरा जुदाइजमले विपक्षी नेता गादी आइजेनकोटलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने प्रस्ताव अघि सारेको छ । सात सिट जितेको उक्त दलले समर्थनका लागि धार्मिक समुदायका सदस्यलाई अनिवार्य सैनिक सेवाबाट छुट दिनुपर्ने माग गरेको छ । इजरायलमा सरकार गठनका लागि सामान्यतया संसद्का ६१ सदस्यको समर्थन आवश्यक पर्छ । ११- बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा विवाद हुदा स्थानीय र प्रहरीबीच झडप भएको छ । विरोधमा स्थानीयले १० भन्दा बढी मोटरसाइकलमा आगजनी गरेका छन् भने प्रहरीको गोली चलाउदा एक जना घाइते भएको दाबि गरिएको छ । भवनमा विद्युत्, खानेपानीलगायतका आधारभूत पूर्वाधारको व्यवस्था नगरी उद्घाटन गर्न लागिएको भन्दै स्थानीयले विरोध गरेका थिए । सोही विषयलाई लिएर विवाद भएपछि कार्यक्रममा गोली चलेको बताइएको छ । गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले स्थानीयको विरोधका बाबजुद जबर्जस्ती भवन उद्घाटन गर्न खोजेपछि विवाद चर्किएको थियो । घटनामा उनकै निर्देशनमा गोली चलेको आरोपसमेत लागेको छ । अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीका महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीमा आबद्ध थिए । १२- नेपाल र भुटानले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रको तापक्रम वृद्धिसम्बन्धी विषयलाई छुट्टै एजेन्डाका रूपमा समावेश गर्न संयुक्त प्रस्ताव अघि सारेका छन् । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुवै देशका तर्फबाट ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको प्रस्ताव पेस गरेकी हुन्। प्रस्तावमा बढ्दो तापक्रमका कारण हिमनदी पग्लिने, पानीको असुरक्षा बढ्ने तथा चरम मौसमी घटनाबाट हिमाली समुदाय र पारिस्थितिक प्रणालीमा गम्भीर क्षति पुग्ने जोखिम औँल्याइएको छ । नेपाल र भुटानले हिमाली क्षेत्रमा तापक्रम वृद्धिको वैज्ञानिक अध्ययनलाई प्राथमिकता दिन, हिमाल र जलवायु परिवर्तनसम्बन्धी वार्षिक उच्चस्तरीय संवाद आयोजना गर्न तथा हिमाली पारिस्थितिक प्रणालीसम्बन्धी कार्ययोजना निर्माण गर्न प्रस्ताव गरेका छन् । जलवायु अनुकूलन, वित्तीय सहयोग र क्षति तथा नोक्सानीसम्बन्धी निर्णयमा हिमाली क्षेत्रका प्राथमिकता समावेश गर्न पनि माग गरिएको छ । प्रस्तावमा सन् २०२६ को भोटेकोशी बाढीबाट करिब दुई अर्ब ७० करोड अमेरिकी डलर बराबरको क्षति भएको र पुनर्निर्माणका लागि चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने अनुमान उल्लेख छ । मन्त्री चौधरीले हिमाली क्षेत्रमा उत्पन्न हुने जलवायु जोखिम कुनै देशको सीमाभित्र मात्र सीमित नरहने बताएकी छन् । हिमाली क्षेत्रबाट बग्ने नदीमा निर्भर दुई अर्बभन्दा बढी मानिसको भविष्यसँग यो विषय जोडिएकाले अन्तर्राष्ट्रिय स्तरमा ठोस निर्णय आवश्यक रहेको उनको भनाइ छ । १३- त्रिभुवन विश्वविद्यालय, समन्वय महाशाखाद्धारा आयोजित त्रि.वि जनशक्ति विकास तथा कल्याण परिषद्को बार्षिक बैठकले आर्थिक वर्ष २०८३/०८४ को लागि बार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ । बैठकले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरुको व्यावसायिक दक्षता अभिवृद्धी गर्न विभिन्न ९ वटा शीर्षकमा ७७५ शिक्षक तथा कर्मचारीलाई सेवाकालिन तथा सेवा प्रवेश तालिम सञ्चालन गर्न १ करोड २५ लाखको बजेट स्वीकृत गरेको हो । कीर्तिपुर स्थित त्रिभुवन स्मृती भवनको सभाकक्षमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंहको अध्यक्षतामा बसेको उक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकले त्रिवि सेवामा प्रवेश गर्ने शिक्षक तथा कर्मचारीलाई विश्वविद्यालयको संगठनात्मक संचरना,कार्यप्रणाली, आचारंसहिता लगायत अधिकार र कर्तव्य बारेमा अभिमुखिकरण गर्ने; प्रशासनिक कर्मचारीका लागि आवश्यकता पहिचानमा आधारित क्षमता अभिबृद्धी तालिम सञ्चालन गर्ने; नेतृत्व तहका पदाधिकारीहरु,क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख तथा प्रशासनिक नेतृत्वको व्यवस्थापकीय क्षमता विकास गर्ने र कृत्रिम बुद्धिमता, सूचना प्रविधि प्रणाली तथा कार्यालय सञ्चालन सम्वन्धी दक्षता अभिबृद्धी गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा विभिन्न अध्ययन संस्थानका डीनहरु, क्याम्पसप्रमुखहरु एवं महाशाखाप्रमुखहरु लगायतको उपस्थिति रहेको थियो । १४- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका क्षेप्यास्त्र आक्रमणबाट बच्न अमेरिकाले ५०० वटा प्याट्रियट प्रतिरक्षा क्षेप्यास्त्र बिक्रीको अनुमति दिएको निर्णयको स्वागत गरेका छन् । उनले यसलाई महत्वपूर्ण निर्णय भन्दै क्षेप्यास्त्रको आपूर्ति तत्काल सुरु गर्न अमेरिकासँग आग्रह गरेका छन् । जेलेन्स्कीका अनुसार रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाइरहेको छ । अक्टोबरको पछिल्लो दुई सातामा मात्रै रुसले युक्रेनको विद्युत् प्रणालीका महत्वपूर्ण क्षेत्रमा ३० भन्दा बढी आक्रमण गरेको उनले बताएका छन् । आगामी जाडोयाममा विद्युत्, ताप, खानेपानी र अन्य अत्यावश्यक सेवाको सुरक्षाका लागि क्षेप्यास्त्र आवश्यक रहेको उनको भनाइ छ । युक्रेनले जाडोयाममा आफ्नो हवाई सुरक्षा बलियो बनाउन हरेक महिना औसत १०० वटा प्याट्रियट क्षेप्यास्त्र उपलब्ध गराउन माग गरेको छ । तर हालको सम्झौताअनुसार क्षेप्यास्त्र आपूर्ति हुन केही वर्ष लाग्न सक्ने भन्दै जेलेन्स्कीले अमेरिका र युरोपेली सहयोगी राष्ट्रलाई तत्काल मौज्दातमा रहेका क्षेप्यास्त्र उपलब्ध गराउन आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार ५०० वटा प्याट्रियट पीएसी–३ क्षेप्यास्त्रको सम्भावित बिक्रीलाई औपचारिक स्वीकृति दिएको जनाएको छ । उक्त सम्झौताको अनुमानित मूल्य २ अर्ब १० करोड अमेरिकी डलर रहेको छ । यसका लागि क्यानडा, जर्मनी र नर्वेले सहयोग गर्नेछन् भने युरोपेली सङ्घको ऋण सुविधाबाट पनि आर्थिक सहयोग उपलब्ध हुनेछ । युक्रेनले रुसबाट निरन्तर क्षेप्यास्त्र आक्रमणको सामना गरिरहेका बेला अमेरिकाको यो निर्णय आएको हो । क्षेप्यास्त्र आपूर्तिको निश्चित समयसीमा भने सार्वजनिक गरिएको छैन । जेलेन्स्कीले आफ्नो देशलाई भविष्यमा नभई वास्तविक खतरा उत्पन्न भइरहेका बेला नै हवाई सुरक्षा सामग्री आवश्यक रहेको बताएका छन् । १५- गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न राष्ट्रिय राजमार्गका केही स्थानमा सडक अवरुद्ध भएका छन्। सडकमा लेदो, गेग्रान तथा पहिरो खसेपछि यातायात आवागमन प्रभावित भएको हो । प्राप्त विवरणअनुसार बीपी राजमार्गअन्तर्गत पिन्थलीलगायतका स्थानमा लेदो तथा गेग्रान जम्मा हुँदा सडक अवरुद्ध भएको छ । अवरोध हटाएर यातायात सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरिएको छ । त्यस्तै, कान्ति राजमार्गको मकवानपुर खण्डमा यातायात सञ्चालनमा रहे पनि ललितपुरको छपेलीलगायतका स्थानमा सडक अवरुद्ध भएको छ । ती स्थानमा पनि अवरोध हटाउने काम भइरहेको छ । मालढुङ्गा–बेनी–जोमसोम सडकअन्तर्गत लामाखेत, महाभीर, कागबेनी, छुसाङ र छोसेरलगायतका स्थानमा सडक अवरुद्ध भएको छ । वर्षा जारी रहेकाले मौसम र सडक सुरक्षाको अवस्था मूल्याङ्कन गरेर मात्रै यातायात सञ्चालन गरिने जनाइएको छ । अवरुद्ध सडक यथाशीघ्र सञ्चालनमा ल्याउन पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभाग र मातहतका डिभिजन कार्यालयहरूलाई सक्रिय रूपमा परिचालन गरिएको छ । सडक खुलाउने काम भइरहेको भए पनि वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राखेर यात्रा गर्न सरकारले आग्रह गरेको छ । १६- विश्वकै प्रमुख क्रिप्टोकरेन्सी कारोबार कम्पनीमध्ये एक बाइनान्सबाट ६ अर्ब ३६ करोड डलर चोरी भएको घटनामा अमेरिकी सुरक्षा निकायले अनुसन्धान तीव्र बनाएको छ । अमेरिकी गुप्तचर सेवा (सिक्रेट सर्भिस) ले चोरी भएको रकम पहिचान, रोक्का र फिर्ता ल्याउन निजी क्षेत्रका साझेदारसँग चौबीसै घण्टा काम गरिरहेको जनाएको छ । बाइनान्सले प्रारम्भिक अनुसन्धानका क्रममा सुरक्षा प्रणालीमा भएको कमजोरीका कारण आक्रमण भएको हुन सक्ने जनाएको छ । कम्पनीका अनुसार एक जना प्रणाली व्यवस्थापन इन्जिनियरको ल्यापटपमा अनधिकृत पहुँच बनाएर ह्याकरहरूले कारोबार स्वीकृत गर्ने प्रणालीसम्म पहुँच पुर्‍याएको हुन सक्ने देखिएको छ । अनुसन्धानकर्ताका अनुसार स्थानीय समय अनुसार बिहीबार राति २०: ०५ बजेबाट सुरु भएको चोरीमा करिब २० मिनेटभित्र बाइनान्सको खाताबाट अधिकांश रकम बाहिरिएको थियो । रकम चोरी हुनुभन्दा ३६ घण्टाअघि नै ह्याकरले कारोबारका लागि प्रयोग हुने एउटा खाता सक्रिय गराएको बताइएको छ । अनुसन्धानकर्ताहरूले यति तीव्र गतिमा रकम स्थानान्तरण हुनु लामो समयदेखिको तयारीको परिणाम हुन सक्ने बताएका छन् । अमेरिकी सुरक्षा निकायले चोरीमा संलग्न साइबर अपराधीको पहिचान गरी कारबाही गर्न सरकारी वकिलको कार्यालय र अन्य सुरक्षा निकायसँग समन्वय गरिरहेको जनाएको छ । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले आक्रमणकारीको पहिचान भने पुष्टि भएको छैन । तर ब्लकचेन अनुसन्धान संस्था टीआरएम ल्याब्स र चेनालाइसिसले उत्तर कोरियाली ह्याकर समूह ‘ट्रेडर ट्रेटर’ अर्थात् ‘लाजरस’ को संलग्नता रहेको उच्च विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाले भने यस्ता आरोप अस्वीकार गर्दै आएको छ । यसअघि सन् २०२५ मा बाइबिटबाट १ अर्ब ५० करोड डलर, सन् २०२१ मा पोली नेटवर्कबाट ६० करोड डलर र सन् २०२२ मा रोनिनबाट ५४ करोड डलर चोरी भएको थियो । पछिल्लो समय ठूला क्रिप्टोकरेन्सी कम्पनीसँगै व्यक्तिगत लगानीकर्ता पनि निशानामा पर्न थालेका छन् । डिजिटल माध्यमबाट रकम चोरी गर्ने र व्यक्तिलाई धम्क्याएर गोप्य विद्युतीय साँचो लिन बाध्य पार्ने घटना बढ्दै गएको भन्दै यस क्षेत्रको सुरक्षामाथि चिन्ता व्यक्त गरिएको छ । १७- पोखराको बेगनास ताल किनारमा छैटौँ संस्करणको बेगनास माछा महोत्सव सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । महोत्सव कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा नगर प्रमुख आचार्यले पोखरा महानगरभित्रका सबै ताललाई आपसमा जोड्ने सडक तथा अन्य सम्पर्क पूर्वाधार निर्माणको काम तत्काल अघि बढाइने बताए । उनले ताल संरक्षण, पर्यटन प्रवर्द्धन र विकासलाई एकीकृत रूपमा अघि बढाउने महानगरको योजना रहेको उल्लेख गरे । आचार्यले तालचोक–बेगनास सडक निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै बेगनास तालमा जलविहार तथा अन्य जलक्रीडा सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न सम्बन्धित पक्षलाई आग्रह गरे । शिशुवाचोकदेखि खुदीखोला पुलसम्मको सडक निर्माण सम्पन्न भएको र खुदीखोलादेखि रूपातालसम्मको सडक पनि निर्माणाधीन रहेको उनले बताए । महोत्सवमा बेगनास तालमा पाइने विभिन्न प्रजातिका स्थानीय माछाको प्रदर्शनी तथा माछाका परिकारको स्वाद लिन सकिने आयोजक संस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिए । महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति पनि रहनेछ । महोत्सवले बेगनास तालको पर्यटकीय पहिचान विस्तार गर्नुका साथै स्थानीय माछा व्यवसाय, होटल तथा रेस्टुरेन्ट व्यवसाय र समग्र आर्थिक गतिविधिमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ । १८- फ्रान्सेली घरेलु फुटबल प्रतियोगिता लिग वानअन्तर्गत भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लेहाभ्रेलाई ५–१ गोलले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित निकालेको हो । खेलको १८औँ मिनेटमा जोस माजाले गोल गर्दै लेहाभ्रेलाई सुरुवाती अग्रता दिलाएका थिए । तर पिएसजीले त्यसको आठ मिनेटपछि नै मिका गोड्ट्सको गोलबाट खेल बराबरीमा ल्यायो । त्यसको दुई मिनेटपछि अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफमा हाकिमीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिए । उनले ५५औँ मिनेटमा फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरे भने ६२औँ मिनेटमा सेनी मायुलुले गोल गर्दै पिएसजीको अग्रता ४–१ बनाए । खेलको ६९औँ मिनेटमा हाकिमीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । उनले यस खेलमा तीन गोल गर्नुका साथै दुई गोलका लागि अवसरसमेत सिर्जना गरेका थिए । उनको उत्कृष्ट प्रदर्शन पिएसजीको जितमा निर्णायक बन्यो । यस जितसँगै पिएसजीले लिग वानमा आफ्नो शीर्ष स्थान थप मजबुत बनाएको छ । नौ खेलबाट २० अंक जोडेको पिएसजी शिर्ष स्थानमा छ । यता लिगको पुछारमा रहेको लेहाभ्रे भने लगातार पाँचौँ हार बेहोर्दै दबाबमा परेको छ । १९- सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो। दुर्घटनामा १० जना घाइते भएका थिए । उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएकामध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णी बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन् । दुर्घटनामा घाइते हुनेमा सोही गाउँपालिका–२ का २४ वर्षीय देवबहादुर विक, ५८ वर्षीया सुशीला चलाउने, १३ वर्षीया राधिका चलाउने, २२ वर्षीय दीपक रोका र १० वर्षीय युवराज परियार रहेका छन् । त्यस्तै, सिद्ध कुमाख गाउँपालिका–३ का १५ वर्षीय कमल बुढाथोकी र ७ वर्षीया रुपा बुढाथोकी पनि घाइते भएका छन् । घाइतेमध्ये देवबहादुर विक र कमल बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको र केही घाइतेलाई थप उपचारका लागि दाङ र नेपालगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि जिप चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउनेलाई नियन्त्रणमा लिइएको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २०- दुग्ध विकास संस्थान (डीडीसी) मा करिब १२ करोड १३ लाख रुपैयाँ गैरकानुनी लाभ लिई संस्थानलाई आर्थिक हानि पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । ब्युरोका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख तथा कर्मचारीहरूले पूर्वयोजना र मिलेमतोमा विभिन्न समूह बनाएर संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ हानि पुर्‍याई गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । पक्राउ पर्नेमा तत्कालीन महाप्रबन्धक तथा हाल संस्थानको प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जीव झा, तत्कालीन सिम्ले चिस्यान केन्द्रका प्रमुख विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन प्रमुख मनहरी शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन प्रमुख रामकेवल राय रहेका छन् । त्यस्तै, संस्थानका कर्मचारी जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय र विखबहादुर भण्डारी पनि पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौं, कास्की, सर्लाही र चितवनका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिम अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नियन्त्रणमा लिइएका उनीहरूमाथि थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

विवाद, अन्योल र पाँच ओभरको नाटकीय खेल : विराटनगरको पहिलो जित
ताजा खबरJust now

विवाद, अन्योल र पाँच ओभरको नाटकीय खेल : विराटनगरको पहिलो जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबिचको खेल मैदानको अवस्थालाई लिएर उत्पन्न विवाद, लामो अन्योल र पाँच ओभरको रोमाञ्चक प्रतिस्पर्धापछि टुङ्गिएको छ । वर्षाका... ...

रातोपाटी
युवाहरूलाई लक्षित गर्दै निःशुल्क अनलाइन एआई तालिम सञ्चालन हुँदै
ताजा खबरJust now

युवाहरूलाई लक्षित गर्दै निःशुल्क अनलाइन एआई तालिम सञ्चालन हुँदै

काठमाडौँ। युवाहरूलाई ‘एआई’ सम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले सरकारले निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानमार्फत ‘एआईको प्रभावकारी प्रयोग... ...

रातोपाटी
एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित
ताजा खबरJust now

एनपिएलः सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ, कात्तिक १४ गते । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । पहिलो जित निकाल्ने क्रममा विराटनगरले... ...

गोरखापत्र
करमा छुट र इन–एप पर्चेजको सुविधाका लागि गुगलसँग समन्वय गरिदिन सरकारसँग गेमिङ उद्योगको माग
ताजा खबरJust now

करमा छुट र इन–एप पर्चेजको सुविधाका लागि गुगलसँग समन्वय गरिदिन सरकारसँग गेमिङ उद्योगको माग

नेपालबाटै गेमिङ तथा आईटीबाट ‘ग्लोबल युनिकर्न’ कम्पनी जन्माउन वातावरण बनाउने प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play