प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन् । आज नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह: पूजाको अवसरमा देश तथा विदेशमा रहने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना दिँदै उनले उक्त भनाइ राखेका हुन् । राष्ट्रिय विभूति शङ्खधर साख्वा:ले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् चन्द्रमामा आधारित हाम्रो मौलिक समयचक्र र पहिचान भएको उनले उल्लेख गरेका छन् । “आजैका दिन नेवार समुदायमा हर्षोल्लासपूर्वक मनाइने ‘म्ह: पूजा’ को मर्म अति गहिरो छ: ‘म्ह:’ अर्थात् आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर, अष्टचिरञ्जीवीको प्रतीक मण्डपमा आफैँले आफैँलाई पूजा गर्ने यस परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउँछ”, उनले उल्लेख गरेका छन् । यस मौलिक परम्पराले नेवार समुदायभित्र आपसी सद्भाव, आत्मबल र पुर्ख्यौली संस्कृतिको जगेर्ना गर्दै जातीय एकतालाई अझ प्रगाढ बनाउने गरेको र यो हाम्रा लागि गौरवको विषय भएको उनको भनाइ छ । आजैका दिन भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँगै, कृषि कर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाइन्छ तथा हलो, फालीसहितका कृषि औजारहरूको पूजा गरी गोवर्धन पूजा तथा हली तिहार मनाइने उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ । “त्यसैगरी, हिजो भैलोका मीठा भाका र आज देउसेहरूको उल्लासमय आशीर्वादले छरछिमेकमा आपसी आत्मीयता र सद्भाव थप्ने गर्दछ”, उनले भनेका छन्, “हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गरून् ।” प्रधानमन्त्री शाहले पर्वको अवसरमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना पनि व्यक्त गरेका छन् ।
मौलिक चाडपर्वले सामाजिक एकता र सहिष्णुता बलियो बनाउँछन् : प्रधानमन्त्री शाह

Read Complete Original Article
Published originally on पर्दाफास






