Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

मेटाले यसकारण छाड्यो सन् २०३० सम्म शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेटाले यसकारण छाड्यो सन् २०३० सम्म शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य
Photo / Coverage: टेक्नोलोजी खबर

मेटाले सार्वजनिक गरेको नयाँ वातावरणीय दिगोपनसम्बन्धी प्रतिवेदनमा सबैभन्दा महत्त्वपूर्ण विषय ओझेलमा परेको छ। कम्पनीले सन् २०३० सम्म शून्य कार्बन उत्सर्जनमा पुग्ने आफ्नै लक्ष्य पूरा गर्न नसक्ने लगभग निश्चित भएको छ। तर उसले नयाँ समयसीमा तोक्न पनि अस्वीकार गरेको छ। मेटाका डाटा सेन्टरका उपाध्यक्ष र्‍याचेल पिटरसन र कम्पनीका विश्वव्यापी शून्य कार्बन उत्सर्जन तथा दिगोपन प्रमुख ब्लेयर स्विडिनले सन् २०२६ को वातावरणीय दिगोपनसम्बन्धी प्रतिवेदनको सुरुमै लेखेका छन्, “हामी आफ्नो समयसीमा, कामको क्रम र बीचका लक्ष्यहरूको पुनर्मूल्याङ्कन गरिरहेका छौँ। यसमा शून्य कार्बन उत्सर्जनको लक्ष्यका लागि तोकिएको सन् २०३० को समयसीमा र निकट अवधिका उत्सर्जन तीव्रतासम्बन्धी लक्ष्य पनि समावेश छन्। हाम्रो दृष्टिकोण अहिलेको सञ्चालन अवस्थासँग मेल खाने बनाउँदै हरेक वर्षको प्रगति पारदर्शी रूपमा सार्वजनिक गर्ने हाम्रो प्रतिबद्धता कायम रहनेछ।” यति धेरै शब्द खर्च गरेर भन्न खोजिएको कुरा के हो भने कृत्रिम बुद्धिमता विस्तार गर्न आवश्यक परे मेटाले प्रदूषण जारी राख्नेछ। स्वेच्छिक लक्ष्यको जोखिम नै यही हो। कम्पनीहरूले यस्ता लक्ष्य निर्धारण गर्न र पछि छाड्न सक्छन्। त्यसो गर्दा उनीहरूले खासै केही गुमाउनुपर्दैन। प्रायः कम्पनीहरूले जनमतमा सामान्य असर पर्नेबाहेक अन्य ठूलो क्षति नहुने ठानेर लक्ष्य बेवास्ता गर्छन्। जनमत पनि परिवर्तनशील हुन्छ। क्याम्ब्रिज एनालिटिका प्रकरण सम्झनुहोस्, अहिले धेरै मानिसलाई त्यो घटना यादसमेत छैन। कम्पनीको आम्दानीमा पर्ने जोखिम पनि लगभग हुँदैन। मेटाका एक प्रवक्ताले भने, “हामी शून्य कार्बन उत्सर्जनप्रति प्रतिबद्ध छौँ। तर सन् २०३० को समयसीमा र बीचका लक्ष्यहरूको पुनर्मूल्याङ्कन गरिरहेका छौँ। हामी उत्सर्जन घटाउन लगानी जारी राख्नेछौँ र हरेक वर्ष आफ्नो प्रगति सार्वजनिक गर्नेछौँ।” केही वर्षअघि मेटालाई वातावरण संरक्षणका क्षेत्रमा राम्रो काम गर्ने ठूला कम्पनीमध्ये एक मान्न सकिन्थ्यो। कम्पनी स्वच्छ ऊर्जाको सबैभन्दा ठूलो खरिदकर्तामध्ये एक थियो र पानी संरक्षणका लागि पनि महत्त्वाकांक्षी लक्ष्य निर्धारण गरेको थियो। तर पछिल्लो समय लुइजियानास्थित आफ्नो हाइपेरियन डाटा सेन्टरका लागि प्राकृतिक ग्यासमा अर्बौँ डलर लगानी गर्ने निर्णयले कम्पनीको यसअघिको प्रगतिको ठूलो हिस्सा कमजोर बनाएको छ। प्राकृतिक ग्यास बाल्दा कोइलाभन्दा कम प्रदूषण हुन सक्छ र यो बढी प्रभावकारी पनि हुन सक्छ। तर यसलाई प्रयोग गर्न आवश्यक पूर्वाधारबाट ग्यास चुहिने समस्यासमेत जोड्दा विश्वव्यापी तापक्रम वृद्धिमा यसको असर कोइलाजत्तिकै हुन सक्छ। टेकक्रन्चका अनुसार वर्षौँसम्म स्वच्छ ऊर्जाको खरिदमा लगानी गरे पनि मेटाको हरितगृह ग्यास उत्सर्जन पछिल्ला चार वर्षमा दोब्बरभन्दा बढी भएको छ। सन् २०२४ र २०२५ बीच कम्पनीका डाटा सेन्टरबाट हुने उत्सर्जन १२ गुणाभन्दा बढीले बढेको छ। तर हाइपेरियन डाटा सेन्टर अझै सञ्चालनमा आएको छैन। प्राकृतिक ग्यासप्रतिको यही प्रतिबद्धताका कारण मेटाले जुलाईमा कर्पोरेट नवीकरणीय ऊर्जा पहल ‘आरई१००’ छाडेको थियो। कम्पनी एक दशकदेखि यस समूहमा आबद्ध थियो। तर नवीकरणीय ऊर्जासम्बन्धी लक्ष्यको प्रगतिबारे अझ कडा प्रतिवेदन प्रणाली लागू गर्न थालेपछि दुवै पक्ष अलग भएका थिए। पिटरसन र स्विडिनले प्रतिवेदनमा थप लेखेका छन्, “हामीले शून्य कार्बन उत्सर्जनको लक्ष्य निर्धारण गर्दा स्थिर वृद्धिदर, स्वच्छ ऊर्जाको घट्दो लागत र व्यापक ऊर्जा प्रणालीमा हुने परिवर्तनले हामीले परिकल्पना गरेको गतिमा प्रगति गर्न सहयोग गर्ने अपेक्षा गरेका थियौँ। तर वास्तविकता निकै जटिल देखिएको छ। कृत्रिम बुद्धिमताका पूर्वाधारको माग लगभग सबैको अनुमानभन्दा तीव्र गतिमा बढेको छ। यो माग दशकौँमा होइन, केही त्रैमासिक अवधिमै बढेको हो। यसलाई पूरा गर्न उद्योगले अहिलेसम्म प्रयास नगरेको गति र आकारमा पूर्वाधार निर्माण गर्नुपरेको छ।” यी सबै कुरा सत्य हुन्। तर यसरी प्रस्तुत गर्दा मेटासँग यस विषयमा कुनै विकल्प नै नभएजस्तो देखिन्छ। वास्तवमा कृत्रिम बुद्धिमताको क्षेत्रमा अघि बढ्ने निर्णय कम्पनी आफैँले गरेको हो। मेटाले आफ्ना प्रतिस्पर्धी कम्पनीहरूलाई पछ्याउनु व्यावसायिक जिम्मेवारी भएको तर्क गर्न सक्ला। ती कम्पनीहरू पनि कृत्रिम बुद्धिमताको क्षेत्रमा तीव्र रूपमा अघि बढिरहेका छन्। तर मेटाजस्तो लगभग पूर्ण रूपमा उपभोक्तामा केन्द्रित कम्पनीका लागि कृत्रिम बुद्धिमताले नाफा बढाउँछ भन्ने पुष्टि गर्ने तथ्याङ्क भने निकै कम छन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग म्युजको ऊर्जा दक्षता सुधार गर्दा यो अवस्था बदलिनेमा आशावादी छन्। तर सामान्य उपभोक्ताले आफ्ना सामान्य विचारलाई अनौठा मिममा बदल्ने सफ्टवेयरका लागि कति पैसा तिर्न चाहलान्? वा आमालाई जवाफ दिन नबिर्सियोस् भनेर इमेल निगरानी गर्ने सफ्टवेयरका लागि कति खर्च गर्लान्? मेटाले यस्ता सेवाबाट २०० अर्ब डलरभन्दा बढी लागतको डाटा सेन्टरलाई धान्न पुग्ने आम्दानी हुने विश्वास गरेको छ। सम्भवतः कम्पनीले यसभन्दा पनि ठूलो लगानी गर्ने योजना बनाएको छ। कृत्रिम बुद्धिमताको विस्तारका लागि कुन इन्धन प्रयोग गर्ने भन्ने निर्णय पनि मेटाले आफैँ गरेको हो। प्राकृतिक ग्यासबाट चल्ने विद्युत् गृहले चौबीसै घण्टा विद्युत् उत्पादन गर्न सक्छन्। तर ती कृत्रिम बुद्धिमताका डाटा सेन्टरका लागि त्यति उपयुक्त विकल्प भने होइनन्। ग्यास टर्बाइन निश्चित गतिमा निरन्तर चल्न रुचाउँछन्। तर कृत्रिम बुद्धिमताका डाटा सेन्टरमा कामको चापअनुसार विद्युत्को माग तीव्र रूपमा बढ्ने र घट्ने गर्छ। त्यसैले यस्तो उतारचढाव व्यवस्थापन गर्न ब्याट्री आवश्यक हुन्छ। यसले एउटा प्रश्न उठाउँछ—सीधै राष्ट्रिय विद्युत् ग्रिडसँग जोडिएर बढी माग हुने समयमा आवश्यक ऊर्जा उपलब्ध गराउन ब्याट्री प्रयोग गर्नुको सट्टा प्राकृतिक ग्यासमै किन निर्भर हुने? एक विज्ञले पनि यही उपाय सुझाएका छन्। प्राकृतिक ग्यासमा मेटाले गरेको लगानीको समय पनि उपयुक्त नदेखिएको विश्लेषण गरिएको छ। लामो समयसम्म ऊर्जा भण्डारण गर्न सक्ने प्रविधि विकास भइरहेको छ भने अमेरिकाको विद्युत् ग्रिडमा भू–तापीय ऊर्जा अर्को प्रमुख स्रोतका रूपमा स्थापित हुने सम्भावना बढेको छ। फर्भो, मजामा र क्वाइजजस्ता कम्पनीले छोटो अवधिमै विभिन्न उपलब्धि हासिल गरिरहेका छन्। यी प्रविधिले सम्भावित रूपमा दशौँ गिगावाट विद्युत् उत्पादन क्षमता उपलब्ध गराउन सक्छन्। अहिले भू–तापीय ऊर्जा प्राकृतिक ग्याससँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैन। तर सन् २०३० को दशकको मध्यसम्ममा यो प्रतिस्पर्धी बन्न सक्छ। त्यो समय मेटाको हाइपेरियन डाटा सेन्टर निर्माण पूरा भएको केही वर्षपछिको हुनेछ। प्राकृतिक ग्यासको आपूर्ति शृङ्खलामा देखिने अवरोधबाट पनि भू–तापीय ऊर्जा प्रभावित हुँदैन। इरान युद्धका कारण प्राकृतिक ग्यासको आपूर्तिमा परेको असर यसको एउटा उदाहरण हो। त्यसबाहेक, सन् २०३० सम्म शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य छाड्ने मेटाको निर्णयले वास्तविक रूपमा प्रभावकारी नियमन ल्याउने खालको जनआक्रोश बढाउन सक्छ। त्यस्ता नियम मेटामा मात्रै लागू हुने छैनन्। त्यसैले व्यापक प्रविधि उद्योगका अन्य कम्पनीले पनि यसप्रति असन्तुष्टि जनाउनु स्वाभाविक हुनेछ। यस दृष्टिकोणबाट हेर्दा मेटाले लक्ष्य छाड्ने निर्णय सार्वजनिक गरेको समय निकै प्रतिकूल छ। विभिन्न सर्वेक्षणले सर्वसाधारणमा कृत्रिम बुद्धिमता र डाटा सेन्टरप्रति सकारात्मक धारणा नरहेको देखाएका छन्। प्रदूषण फैलाउने पूर्वाधारको तीव्र र प्रायः नियन्त्रणबाहिरको विस्तारमा यी प्रविधिको भूमिका रहेको सर्वसाधारणले महसुस गरेका छन्। प्रविधि उद्योगले तेल तथा ग्यास र सवारीसाधन उत्पादनजस्ता पुराना औद्योगिक क्षेत्रभन्दा आफू फरक रहेको प्रमाणित गर्न एक दशकभन्दा बढी समय खर्च गरेको छ। तर मेटाले एउटा पीडीएफ प्रतिवेदनमार्फत त्यस क्रममा आर्जन गरेको विश्वासको ठूलो हिस्सा गुमाएको हुन सक्छ। अब अर्को कुनै प्रविधि कम्पनीले स्वेच्छिक रूपमा घोषणा गर्ने शून्य कार्बन उत्सर्जनको लक्ष्यलाई कसले विश्वास गर्ने? The post मेटाले यसकारण छाड्यो सन् २०३० सम्म शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
चालु आर्थिक वर्षको तेस्रो महिनामा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा गिरावट
TechnologyJust now

चालु आर्थिक वर्षको तेस्रो महिनामा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा गिरावट

नेपालमा चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना २०८३ असोज मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम तथा सङ्ख्यामा गिरावट आएको पाइएको छ। यसअघि साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा कारोबार रकम र सङ्ख्यामा उल्लेख्य बृद्धि भएको थियो। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८३ असोज मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकममा उल्लेख्य गिरावट भएको पाइएको हो। मोबाइल ...

टेक्नोलोजी खबर
बीसाइड्स काठमाडौं २०२६ सीटीएफ प्रतियोगितामा सफ्टवेरिकाको ऐतिहासिक वर्चस्व, शीर्ष तीन स्थानमै कब्जा
TechnologyJust now

बीसाइड्स काठमाडौं २०२६ सीटीएफ प्रतियोगितामा सफ्टवेरिकाको ऐतिहासिक वर्चस्व, शीर्ष तीन स्थानमै कब्जा

९ मंसिर, काठमाडौं। साइबर सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बीसाइड्स काठमाडौं २०२६ (BSides Kathmandu 2026) अन्तर्गत आयोजित ‘क्याप्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगितामा सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सका विद्यार्थीहरूले शीर्ष तीन स्थान हासिल गरेका छन् । नोभेम्बर २१, २०२६ मा काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित उक्त प्रतियोगितामा सफ्टवेरिकाका तीनवटा टोलीले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानमा कब्जा […] The post बीसाइड्स काठमाडौं ...

आइसिटी फ्रेम
एन्थ्रोपिकले सार्वजनिक गर्‍यो क्लोड शिप, अब एआई एजेन्टले कोड समीक्षा, सुधार र स्वीकृति दिन सक्ने
TechnologyJust now

एन्थ्रोपिकले सार्वजनिक गर्‍यो क्लोड शिप, अब एआई एजेन्टले कोड समीक्षा, सुधार र स्वीकृति दिन सक्ने

एन्थ्रोपिकले क्लाउडमार्फत कोड लेख्ने सुविधाबाट अघि बढ्दै अब विकासकर्तालाई उक्त कोड प्रयोगका लागि तयार छ कि छैन भन्ने निर्णय गर्न सघाउने भएको छ। सोमबार कम्पनीले कोड समीक्षा, त्रुटि सुधार र सामान्य कोड परिवर्तनको स्वीकृति प्रक्रियालाई स्वचालित बनाउने एआई एजेन्टहरूको समूह ‘क्लाउड शिप’ सार्वजनिक गरेको हो। यस नयाँ उपकरण समूहमा सबैभन्दा चासोको विषय कोड परिवर्तनलाई स्वचालित रूपमा स्वीकृति दिने सुविधा हो। यसअघि ...

टेक्नोलोजी खबर
एनभिडिया प्रकरणमा जोडिएका मेगास्पिड र अलिबाबाको सहायक कम्पनी अमेरिकाको कालोसूचीमा
TechnologyJust now

एनभिडिया प्रकरणमा जोडिएका मेगास्पिड र अलिबाबाको सहायक कम्पनी अमेरिकाको कालोसूचीमा

अमेरिकाले एनभिडियाका एआई चिप चीन पुर्‍याएको आशंकामा अनुसन्धानमा रहेका मेगास्पिड र अलिबाबाको सिंगापुरस्थित सहायक कम्पनी एपेक्स इन्टरप्राइज सोलुसन्सलाई व्यापारिक कालोसूचीमा राखेको छ। अमेरिकी वाणिज्य मन्त्रालयले सोमबार मेगास्पिड इन्टरनेसनल, एपेक्स इन्टरप्राइज सोलुसन्ससहित क्लाउड कम्पनीसँग सम्बन्धित अन्य पाँच कम्पनीलाई पनि ‘एन्टिटी लिस्ट’मा समावेश गरेको हो। अब यी कम्पनीले अमेरिकी प्रविधि तथा सामग्री आयात गर्न वाणिज्य मन्त्रालयको अनुमति लिनुपर्नेछ। यस्तो अनुमति अस्वीकृत हुने सम्भावना ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement