भैरहवामा ३ अर्ब ८२ करोड लगानीमा क्यान्सर अस्पताल बन्दै, २८५ जनाले रोजगारी पाउने

रुपन्देही । रुपन्देहीको भैरहवामा ३ अर्ब ८२ करोड रुपैयाँ लगानीमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने भएको छ। सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरमा प्रस्तावित अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो। कृषि, वन तथा वातावरण मन्त्रालयको २०८३ असोज १२ गतेको मन्त्रीस्तरीय निर्णयबाट अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएको हो। लुम्बिनी क्यान्सर हस्पिटल प्रालिमार्फत निर्माण गर्न लागिएको अस्पतालमा करिब ३ अर्ब ८२ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। प्रारम्भिक विवरणमा भने आयोजनाको लागत साढे चार अर्ब रुपैयाँ हाराहारी हुने उल्लेख छ। अस्पतालका सञ्चालक तथा लगानीकर्ता कमल भण्डारीका अनुसार ईआईए स्वीकृत भएसँगै निर्माणका बाँकी प्रक्रिया पूरा गरेर आयोजना अघि बढाइनेछ। वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार भौतिक संरचना निर्माण सम्पन्न गरी इजाजतपत्र प्राप्त गरेको तीन वर्षभित्र अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। आठ तलाको भवन, अत्याधुनिक उपचार सेवा प्रस्तावित अस्पताल करिब तीन बिघा क्षेत्रफलमा निर्माण हुनेछ। अस्पतालको कुल प्रस्तावित संरचना १९ हजार ६१६.०४ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ। अस्पताल भवनको क्षेत्रफल एक हजार ४५८.८८ वर्गमिटर रहनेछ भने ९०० वर्गमिटर क्षेत्रफलको बंकर संरचनासमेत निर्माण गरिनेछ। करिब ३५ मिटर अग्लो भवनमा बेसमेन्ट र भुइँतलासहित आठ तलाको संरचना रहने प्रस्ताव गरिएको छ। अस्पतालमा प्रयोगशाला, रेडियोलोजी, अल्ट्रासाउन्ड, प्याथोलोजी, शल्यक्रिया, सघन उपचार कक्ष (आईसीयू), बहिरङ्ग सेवा (ओपीडी), २४ घण्टे आकस्मिक सेवा, किमोथेरापी र रेडियोथेरापीलगायत सेवा उपलब्ध गराउने योजना छ। त्यसैगरी, बोनम्यारो प्रत्यारोपण तथा क्यान्सरसम्बन्धी अन्य विशिष्टीकृत उपचार सेवा पनि सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। भवनको बेसमेन्टमा पार्किङ, क्याफे तथा क्यान्टिन, भूमिगत पानी ट्याङ्की, जेनेरेटर कक्ष र वातानुकूलन प्रणाली रहनेछन्। भुइँतलामा आकस्मिक सेवा, रेडियोलोजी, फार्मेसी र २४ शय्याको व्यवस्था गरिनेछ। पहिलो तलामा प्रयोगशाला, रक्तसम्बन्धी सेवा, क्यान्सर उपचारको बहिरङ्ग सेवा र ३४ शय्या रहने प्रस्ताव छ। दोस्रो तलामा शल्यक्रिया कक्ष, शल्यक्रियापछिको उपचार कक्ष, केन्द्रीय उपकरण शुद्धीकरण सेवा र पेट स्क्यान मेसिन राखिनेछ। चौथो तलामा शल्यचिकित्सा वार्ड, आईसीयू, क्रिटिकल केयर र एचडीयूसहित ५० शय्या रहनेछन्। पाँचौँ तलामा प्रशामक उपचार तथा बाल क्यान्सर उपचार सेवासहित २५ शय्या प्रस्ताव गरिएको छ। अन्य तलामा ज्येष्ठ नागरिकका लागि डे केयर सेवा, प्रशासनिक कक्ष, बैठक तथा सम्मेलन कक्ष, योग तथा ध्यान, उपचार र पुनःस्थापना सेवा तथा खुला छतको व्यवस्था गरिनेछ। अस्पताललाई अपाङ्गतामैत्री तथा बिरामीमैत्री बनाउने योजना पनि छ। त्यसका लागि सातवटा लिफ्ट, ह्वीलचेयरमैत्री संरचना, अपाङ्गतामैत्री शौचालय र एम्बुलेन्स सेवाको व्यवस्था प्रस्ताव गरिएको छ। २८५ जनाले रोजगारी पाउने अनुमान अस्पताल सञ्चालनमा आएपछि २८५ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ। तीमध्ये २२० जना प्राविधिक तथा ६५ जना प्रशासनिक र अन्य अप्राविधिक कर्मचारी रहनेछन्। लगानीकर्ता भण्डारीका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका नागरिकलाई गुणस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने उद्देश्यले भैरहवामा अस्पताल निर्माण गर्न लागिएको हो। अस्पताल सञ्चालनमा आएपछि क्यान्सर उपचारका लागि काठमाडौं, चितवन तथा भारतका विभिन्न सहर जानुपर्ने बिरामीको बाध्यता कम हुने अपेक्षा गरिएको छ। विशेषगरी नियमित किमोथेरापी, रेडियोथेरापी तथा अन्य उपचारका लागि टाढा जानुपर्ने बिरामी र उनीहरूका परिवारलाई यातायात, बसोबास तथा खानपानमा लाग्ने खर्च घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ। रुपन्देहीसहित कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र दाङका बिरामीले समेत अस्पतालबाट सेवा लिन सक्ने अपेक्षा गरिएको छ। क्यान्सर अस्पतालनजिकै एडभान्स अस्पताल पनि बन्दै भण्डारीकै लगानी समूहले भैरहवामा १५० शय्याको एडभान्स अस्पताल निर्माण गरी सञ्चालनको तयारीसमेत गरिरहेको छ। प्रस्तावित एडभान्स अस्पताल र लुम्बिनी क्यान्सर अस्पतालबीचको दूरी करिब ५०० मिटर रहने जनाइएको छ। एडभान्स अस्पतालमा क्यान्सर उपचारबाहेक अन्य रोगको उपचार सेवा उपलब्ध गराउने योजना छ। यी दुई अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रको विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। ईआईए प्रतिवेदन स्वीकृत भएसँगै लुम्बिनी क्यान्सर अस्पताल निर्माणको प्रक्रिया अघि बढ्ने भए पनि निर्माण सुरु हुने निश्चित मिति र सेवा सञ्चालनको विस्तृत समयतालिका भने सार्वजनिक गरिएको छैन। लगानीकर्ता भण्डारीले अब आवश्यक प्रक्रिया मिलाएर निर्माण कार्य सुरु गरिने बताउनुभएको छ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News
_jngkj3r13m_7PHWnhfPpk.jpg)
कांग्रेसको वरिष्ठ उपसभापति अब नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको संयोजक हुने
काठमाडौँ । यसअघि उपसभापतिको नेतृत्वमा रहने नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अब वरिष्ठ उपसभापतिको संयोजकत्वमा हुने भएको छ । कांग्रेसले १५औँ महाधिवेशनमा विधान संशोधन गरी प्रतिष्ठानको नेतृत्व अब... ...

पर्वमा जनतासँग मन्त्री गौतम
चितवन।पर्वको समयमा धेरैजसो राजनीतिज्ञ पारिवारिक भेटघाटमा व्यस्त रहँदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम भने जनताका समस्या सुन्न व्यस्त रहिन्। उनले नदी तटीय क्षेत्रका समस्यादेखि गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासा सुनिन्। माडीमा धान काटिरहेका किसानहरुको खेतमा एकाएक उनी पुगेपछि धान काट्दै गरेका किसानहरू दङ्ग थिए। धान पाकेपछि चाडपर्व नभनी धान काटिरहेका किसानलाई भेट्न खेतमै मन्त्री गौतम पुगेपछि ...

हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ: कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको पहिलो समस्या नै रोजगारीको समस्या भएको बताएका छन् । रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीको समस्या समाधान गर्ने रोडम्याप उज्यालो नेपालले बनाएका बताए । ‘हरित क्रान्ति गरेर यो देशलाई समृद्ध बनाउँछौँ भनेर हामी लागेका छौँ, यसले गर्दा वातावरण मात्र होइन आर्थिक, सामाजिक हिसाबले पनि नेपाललाई समुन्नत ...

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, ४० प्रहरी घाइते
काठमाडाैँ । चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ । सरकारी अधिकारीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरी चौकी,... ...


