नयाँ दिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँ दिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् । नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा भारतीय उद्योग परिसंघ (सीआईआई) द्वारा आयोजना गरिएको ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’लाई अर्थमन्त्री डा. वाग्लेले सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । उनले सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न र नेपालमा भएको लगानी विस्तार गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरे । “सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,” अर्थमन्त्री डा. वाग्लेले भने, “नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस् । नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो ।” कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानी अभिवृद्धिका लागि सरकारले कानुनी सुधारलाई सरलीकृत र लगानीमैत्री बनाउँदै लगेको पनि स्पष्ट पारे । उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता र नाफा फिर्ताको कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल लिइरहेको बताए । कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिन प्रसाद, सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीलगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपालबाट प्रधानमन्त्रीको भ्रमण दलमा रहेर भारत पुगेका उद्योगी व्यवसायीसहित डेढ दर्जन भारतीय उद्योगी व्यवसायी एवम् प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।
भारतीय व्यवसायीलाई निर्धक्क भएर नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

Read Complete Original Article
Published originally on नेपालन्युज






