काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। सोमबार मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री साहले नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित विकास साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताएका छन्। उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ पुस्ताका अवसर र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिँदै आपसी सम्मान, विश्वास र सद्भाव नै नेपाल–भारत सम्बन्धको बलियो आधार रहेको बताएका छन्। दुई देशबीच सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तामा ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउने विषयमा छलफल भएको जानकारी दिँदै उनले समझदारी तथा अघि बढाइएका पूर्वाधार परियोजनाको प्रतिफल जनताको जीवनमा देखिनुपर्ने बताएका छन्। किसानका खेतमा समृद्धि, युवाका हातमा रोजगारी र अवसर, विद्यार्थीका लागि नयाँ सम्भावना तथा उद्यमीका लागि नयाँ बजार र लगानीका अवसर सिर्जना हुनुपर्ने उनको भनाइ छ। जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र भारतले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री साहले हिमालयबाट गङ्गासम्म बग्ने नदीले दुवै देशको साझा भविष्य र नियतिलाई जोडेको बताएका छन्। नेपालमा भारतीय लगानीकर्तालाई स्वागत गर्दै उनले दुवै देशको आर्थिक समृद्धिका लागि साझेदारी गर्न आह्वान गरेका छन्। नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्ने वातावरण बनाउनुपर्ने तथा दुवै देशका विभिन्न शहरबीच सीधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनको भनाइ छ। दुई देशको साझा र समृद्ध भविष्य निर्माणका लागि संयुक्त दृष्टिकोण दस्तावेज प्रस्तुत गरिने तथा सहकार्यका उपलब्धिलाई संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने उनले जानकारी दिएका छन्। यस अवसरमा प्रधानमन्त्री साहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन्। भारतीय नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै उनले मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर, लुम्बिनी लगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाको भ्रमण गर्न आग्रह गरेका छन्। – न्युज एजेन्सी नेपाल
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, मोदीलाई नेपाल भ्रमणको निम्तो

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






