काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा दुई देशबीच बढेको अविश्वास अन्त्य गर्दै सम्बन्ध सुधारलाई प्राथमिकता दिन सुझाव दिनुभएको छ । भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै ज्ञवालीले पछिल्लो समय नेपाल र भारतबीच आपसी विश्वासको संकट देखिएको उल्लेख गर्दै त्यसलाई पुनःस्थापित गर्न प्रधानमन्त्री शाहले पहल गर्नुपर्ने बताउनुभएको हो । गत वर्ष सेप्टेम्बरका घटनाक्रम, त्यसपछि सम्पन्न निर्वाचन र नयाँ सरकार गठनसँगै काठमाडौं र नयाँदिल्लीबीच दूरी बढेको उहाँको भनाइ छ । प्रधानमन्त्रीको भ्रमणले दुई देशबीच विश्वासको वातावरण पुनःनिर्माण गर्न भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो । ज्ञवालीले भ्रमणका क्रममा नेपालका महत्त्वपूर्ण चासो र सरोकारका विषय पनि उठाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले लामो समयदेखि समाधान हुन नसकेको सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धिका केही प्रावधान पुनरावलोकन र नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिनुभएको छ । त्यस्तै, नेपाल र भारतबीच आर्थिक सहकार्यको सम्भावना पर्याप्त रहेको उल्लेख गर्दै उहाँले मूल्य तथा आपूर्ति श्रृङ्खला विकासमा सहकार्य गर्नुपर्ने बताउनुभएको छ । पुराना विवाद समाधान गर्दै सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्ने उहाँको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नोभेम्बर २२ देखि २३ सम्म भारतको दुईदिने भ्रमणमा हुनुहुन्छ । गत मार्चमा प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो भारत भ्रमण तथा पहिलो द्विपक्षीय विदेश भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
भारतसँगको विश्वासको दूरी घटाउन प्रधानमन्त्री बालेनलाई ज्ञवालीको सुझाव

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






