Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/‘भारतविरोधी राष्ट्रवाद’ बारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले ल्यायाे तरङ्ग

‘भारतविरोधी राष्ट्रवाद’ बारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले ल्यायाे तरङ्ग

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘भारतविरोधी राष्ट्रवाद’ बारे अर्थमन्त्री वाग्लेको अभिव्यक्तिले ल्यायाे तरङ्ग

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो राजनीतिक प्रवृत्ति समाप्त भएको अभिव्यक्ति दिएपछि नेपालको राजनीतिक वृत्तमा बहस चर्किएको छ। उनको अभिव्यक्तिप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापा र एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले आपत्ति जनाउनुभएको छ। भारतको नयाँदिल्लीमा शुक्रबार आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने धारणा राख्नुभएको थियो। उहाँले दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध उल्लेख गर्दै व्यापार, ऊर्जा, पर्यटन र क्षेत्रीय आर्थिक सहकार्य विस्तारमा जोड दिनुभएको थियो। वाग्लेले नेपालमा राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने पुरानो राजनीतिक प्रवृत्ति अब समाप्त भएको बताउनुभएको थियो। उहाँको यस अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भारतसँगको सीमा विवादका विषयमा राजनीतिक बहसलाई थप तीव्र बनाएको छ। अर्थमन्त्री वाग्लेले भारतको आर्थिक विकासबाट नेपालले पनि लाभ लिन सक्ने बताउनुभएको थियो। भारतको बढ्दो मध्यम वर्गको क्रयशक्तिलाई नेपाली पर्यटन क्षेत्रले अवसरका रूपमा उपयोग गर्न सक्ने उहाँको भनाइ थियो। उहाँले भारतले सन् २०१५ को भूकम्प तथा पछिल्ला बाढीपहिरोका बेला नेपाललाई गरेको सहयोगको प्रसंग उल्लेख गर्दै द्विपक्षीय सहकार्य विस्तार गर्नुपर्ने धारणा राख्नुभएको थियो। बाँस्कोटाको आरोप : भारत पुगेर नेपालविरुद्ध बोल्ने प्रवृत्ति वाग्लेको अभिव्यक्तिप्रति एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले कडा आपत्ति जनाउनुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले अर्थमन्त्री वाग्ले भारत पुग्दा नेपाल राष्ट्रविरुद्ध अभिव्यक्ति दिने गरेको आरोप लगाउनुभएको छ। नेपालको राष्ट्रवादलाई भारतविरोधी भावनाका रूपमा व्याख्या गर्ने दृष्टिकोणप्रति असहमति जनाउँदै उहाँले राष्ट्रियता र राष्ट्रिय हितका विषयमा प्रश्न उठाउनुभएको हो। कमल थापाको माग : सरकारको आधिकारिक धारणा सार्वजनिक गरियोस् राप्रपा नेता कमल थापाले पनि अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्नुभएको छ। थापाले वाग्लेको भनाइले नेपाली राष्ट्रियताको अवमूल्यन गरेको टिप्पणी गर्नुभएको छ। उहाँका अनुसार नेपालको राष्ट्रवाद कुनै अर्को देशको विरोधमा आधारित नभई राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र जनताको हितको संरक्षणमा केन्द्रित छ। भारतसँग समानता र पारस्परिक सम्मानमा आधारित सम्बन्ध कायम गर्न चाहनुका साथै सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोधी गतिविधि नभई राष्ट्रिय हितको पक्षमा उभिनु भएको थापाको तर्क छ। उहाँले कुनै राजनीतिक प्रवृत्तिका आधारमा समग्र नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनाका रूपमा व्याख्या गर्न नहुने बताउनुभएको छ। आचार्यको प्रश्न : राष्ट्रिय हितलाई गौण बनाउन मिल्दैन एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पनि वाग्लेको अभिव्यक्तिको राजनीतिक सन्देश र कूटनीतिक औचित्यमाथि प्रश्न उठाउनुभएको छ। नेपाल सार्वभौमसत्तासम्पन्न राष्ट्र भएको र यसको आफ्नै स्वतन्त्र परराष्ट्र नीति रहेको उल्लेख गर्दै आचार्यले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा राष्ट्रिय हितको रक्षा गर्नु राष्ट्रवादको अभिन्न अङ्ग भएको बताउनुभएको छ। भारतसँगको सम्बन्ध सुदृढ बनाउनु नेपालको आवश्यकता भए पनि त्यसका लागि राष्ट्रिय सरोकार र दृष्टिकोणलाई गौण बनाउन नहुने उहाँको भनाइ छ। आचार्यका अनुसार कूटनीति अर्को देशको आलोचना वा प्रशंसा गर्नुमा मात्र सीमित हुँदैन। आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै पारस्परिक लाभका क्षेत्रमा सहकार्य विस्तार गर्नु यसको मुख्य उद्देश्य हो। उहाँले भारतसँग व्यापार, पारवहन, ऊर्जा, लगानी र सम्पर्क सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै सीमा विवादलगायत द्विपक्षीय सरोकारका विषयमा नेपालको अडान स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ। सीमा विवादकै बीच भारत नीतिबारे बहस नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्ध निकट रहे पनि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवादलगायत संवेदनशील विषय कायमै छन्। व्यापार तथा पारवहनका प्रश्न र विगतका नाकाबन्दीका अनुभवले पनि नेपालमा भारतसँगको सम्बन्धलाई संवेदनशील राजनीतिक विषय बनाउँदै आएका छन्। यही पृष्ठभूमिमा वाग्लेको अभिव्यक्तिलाई लिएर बहस भइरहेको हो। भारतसँग आर्थिक सम्बन्ध विस्तार गर्ने सरकारी प्राथमिकता र राष्ट्रिय स्वाधीनतासम्बन्धी संवेदनशीलतालाई कसरी सन्तुलनमा राख्ने भन्ने प्रश्न विवादको केन्द्रमा छ। वाग्लेले भारतसँगको आर्थिक सहकार्यलाई नेपालका लागि अवसरका रूपमा प्रस्तुत गर्दै नेपाली उत्पादनको भारतीय बजारमा पहुँच विस्तार, भारतीय पर्यटकलाई नेपाल आकर्षित गर्ने र ऊर्जा तथा व्यापारका क्षेत्रमा सहकार्य बढाउने विषयमा जोड दिनुभएको छ। भारत नेपालको प्रमुख व्यापारिक साझेदार हो। पेट्रोलियम पदार्थको आपूर्ति, पारवहन सुविधा, लगानी तथा सीमापार ऊर्जा व्यापारमा भारतको महत्त्वपूर्ण भूमिका छ। त्यसैले भारतसँगको सम्बन्धलाई आर्थिक अवसरका रूपमा उपयोग गर्नुपर्ने दृष्टिकोण वाग्लेको अभिव्यक्तिमा देखिन्छ। तर, आलोचकहरूले भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा राष्ट्रिय हितका संवेदनशील विषयलाई कसरी सम्बोधन गरिन्छ भन्ने प्रश्न उठाएका छन्। वाग्लेको अभिव्यक्तिले नेपाल–भारत सम्बन्धलाई आर्थिक विकास र व्यावहारिक सहकार्यका आधारमा अघि बढाउने दृष्टिकोण प्रस्तुत गरेको छ भने विपक्षी नेताहरूले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई भारतविरोधी राजनीतिक भाष्यसँग मात्र जोडेर हेर्न नहुने तर्क गरेका छन्। यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले सन् २०२६ को अन्त्यसम्म भारत भ्रमण गर्न सक्ने संकेत पनि वाग्लेले गर्नुभएको छ। यद्यपि, भ्रमणको औपचारिक मिति तय भइसकेको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

बजेट ढिला आउँदा दशौँ राष्ट्रिय खेलकुदको तयारीमा पछाडि पर्‍यो सुदूरपश्चिम
ताजा खबरJust now

बजेट ढिला आउँदा दशौँ राष्ट्रिय खेलकुदको तयारीमा पछाडि पर्‍यो सुदूरपश्चिम

धनगढी । प्रदेशको बजेट ढिला आउँदा दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिमको तयारी अन्य प्रदेशको तुलनामा पछाडि परेको छ। बजेट आएपछि बल्ल प्रदेशले खेलाडीको फारम संकलनदेखि प्रदेश छनोटसम्मका कामलाई तीव्रता दिने तयारी... ...

रातोपाटी
एनपीएल सिजन ३ पहिलेभन्दा विशेष बन्ने ४ मुख्य कारण
ताजा खबरJust now

एनपीएल सिजन ३ पहिलेभन्दा विशेष बन्ने ४ मुख्य कारण

तेस्रो सिजनमा प्रविधि, अन्तर्राष्ट्रिय मान्यता, विदेशी खेलाडीको सहभागिता र रंगशालाका सुविधा एनपीएलका प्रमुख आकर्षण बनेका छन्। यी चार पक्षले प्रतियोगितालाई अघिल्ला सिजनभन्दा फरक बनाउनेछन् । ...

कान्तिपुर
बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन
ताजा खबरJust now

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै देखिएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बाघ धपाउन हात्ती परिचालन गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जरविक्रम चौधरीले विगत चाररपाँच दिनदेखि सो क्षेत्रमा पाटेबाघ देखिएपछि बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको बताए । “लगातार बाघ देखिन थालेपछि हामीले निगरानी बढाउन सो क्षेत्रमा क्यामेरा पनि जडान गरेका थियौँ,” रेञ्जर चौधरीले भने, “गएराति पनि क्यामेरामा बाघ देखिएपछि ...

केन्द्रबिन्दु
भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, झडप हुँदा ४० प्रहरी घाइते
ताजा खबरJust now

भारतको बाँध परियोजनाविरुद्ध प्रदर्शन, झडप हुँदा ४० प्रहरी घाइते

नयाँदिल्ली – चीनसँग सीमा जोडिएको हिमालय क्षेत्रमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच भारतको अरुणाचल प्रदेशमा झडप भएको छ । सरकारी अधिकारीका अनुसार, प्रदर्शनकारीहरूले प्रहरी चौकी, सरकारी कार्यालय र जनप्रतिनिधिका घरमा तोडफोड गर्नुका साथै केही भवनमा आगजनी गरेका छन् । मुख्यमन्त्री पेमा खाण्डुका अनुसार, सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्ने प्रस्ताव […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play