काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको औपचारिक राजकीय भारत भ्रमण सफलताको शुभकामना व्यक्त गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको भ्रमण सफल, उपलब्धिपूर्ण र सुखद रहोस् भन्ने कामना गरेका हुन्। नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विशेष रहँदै आएको उल्लेख गर्दै रास्वपाले यस भ्रमणले दुई देशबीचको ऐतिहासिक, मैत्रीपूर्ण र बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। साथै, भ्रमणले आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा पार्टीले गरेको छ। प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधि सहभागी छन्। दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। भेटका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको विज्ञप्तिमा उल्लेख छ। भ्रमणका विषयमा प्रधानमन्त्री शाहले पार्टी सभापतिसँग भेट गरी विस्तृत छलफल र जानकारी गराएको पनि रास्वपाले जनाएको छ। सो अवसरमा सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका थिए।
बालेनको भारत भ्रमणले दुई देशको सम्बन्ध थप मजबुत बनाउने रास्वपाको विश्वास

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






