काठमाडौं।भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माणमा भारतले सहयोग गर्ने इच्छा व्यक्त गरेको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न भारत तयार रहेको बताएका हुन्। बुधबार काठमाडौंमा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँग भएको छलफलमा मिस्रीले बाढीबाट नेपालमा भएको ठूलो क्षतिप्रति चासो व्यक्त गर्दै पुनर्निर्माणका योजनामा सहकार्य गर्न भारत इच्छुक रहेको बताए। उनले नेपालले पुनर्निर्माणका लागि अघि बढाउने परियोजनासम्बन्धी प्रस्तावमाथि थप छलफल गर्न भारत तयार रहेको स्पष्ट पारे। यस विषयमा यसअघि पनि प्रारम्भिक छलफल भइसकेको उनले स्मरण गराए। नेपाल र भारतबीच सुख–दुःखमा साथ दिने विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै मिस्रीले भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा भारतले सहयोग उपलब्ध गराएको पनि बताए। यसैगरी, भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा अघि बढाउनु पर्ने महत्त्वपूर्ण एजेन्डा र दुई देशबीचका सहकार्यका विषयमा पनि छलफल हुने उनले जानकारी दिए। त्यसका लागि विस्तृत कार्यसूची तयार गरिएको उनको भनाइ छ।
बाढीग्रस्त पूर्वाधार बनाउन भारतको चासो

Read Complete Original Article
Published originally on नेपालन्युज






