काठमाडौं- बसाइँसराइका कारण गाउँघरमा खेतबारी बाँझो रहने क्रम बढिरहेका बेला गुल्मीको छत्रकोट गाउँपालिका-२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले व्यावसायिक सयपत्री फूलखेतीबाट राम्रो आम्दानी गरिरहेकी छन्। उनले विगत पाँच वर्षदेखि अरूले छाडेका बाँझो जग्गा भाडामा लिएर फूलखेती गर्दै आएकी हुन्। महत्राले स्थानीयको सहमतिमा वार्षिक पाँच हजार रुपैयाँ भाडा तिर्ने गरी तीन रोपनी जग्गामा हाइब्रिड जातको सयपत्री फूल लगाएकी छन्। भारतको गोरखपुरबाट ८० हजार रुपैयाँको बीउ ल्याएर सुरु गरेको उनको व्यवसाय अहिले गाउँमा कृषि उद्यमको नमुना बनेको छ। उनले उत्पादन गरेका फूल स्थानीय बलेटक्सारस्थित पैंचो पसलले खरिद गर्दै आएको छ। पसलले थोक मूल्यमा प्रतिकिलो २२० रुपैयाँका दरले १५ क्विन्टल फूल खरिद गरिसकेको छ। गत वर्ष तीन लाख ५० हजार रुपैयाँको फूल बिक्री गरेकी महत्राले यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानी बढ्ने अपेक्षा गरेकी छन्। उनले तिहारका लागि थप तीन क्विन्टल फूल बिक्रीका लागि राखेकी छन्। यस वर्ष उनको कुल आम्दानी तीन लाख ९६ हजार रुपैयाँ पुग्ने अनुमान गरिएको छ। फूलखेती अन्य बालीको तुलनामा कम जोखिमपूर्ण रहेको महत्राको अनुभव छ। बाँदरले नोक्सान नगर्ने र चाँडै नकुहिने भएकाले यो खेतीप्रति आकर्षण बढेको उनले बताइन्। फूलमा लाग्ने डढेलो, किरा र पुतलीको प्रकोपलाई समयमै मलजल र औषधिको प्रयोग गरेर नियन्त्रण गर्न सकिने उनको भनाइ छ। करिब ९० दिनमा उत्पादन लिन सकिने यो खेतीमा उनलाई परिवारका सदस्यले पनि सघाउँदै आएका छन्। महत्राको फूलबारीमा तस्बिर खिच्न र टिकटक बनाउन आउनेको घुइँचो लाग्ने गरेको छ। उनी विदेश जानुभन्दा स्वदेशमै परिश्रम गर्न सके आत्मनिर्भर बन्न सकिने बताउँछिन्।
बाँझो जग्गामा सयपत्री खेतीबाट मनग्य आम्दानी

Read Complete Original Article
Published originally on नेपालन्युज






