Tuesday, October 27, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बक्सअफिस : दशैँको सिक्वेलमा ‘आ बाट आमा २’ अगाडि

बक्सअफिस : दशैँको सिक्वेलमा ‘आ बाट आमा २’ अगाडि

Share:WhatsAppFacebookX (Twitter)Telegram
बक्सअफिस : दशैँको सिक्वेलमा ‘आ बाट आमा २’ अगाडि

काठमाडौं । यस वर्षको दशैँमा प्रदर्शनमा आएका तीन सिक्वेल चलचित्र ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ले अपेक्षानुसारको व्यापार गर्नसकेको देखिएन । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार आइतबारसम्म यी तीन चलचित्रले कूल आठ करोड ७४ लाख रुपैयाँभन्दा बढी ग्रस व्यापार गरेका छन् । तीमध्ये पल शाह अभिनीत ‘आ बाट आमा २’ व्यापारमा अगाडि देखिएको छ भने विराज भट्टको ‘१२ गाउँ २’ सबैभन्दा पछाडि छ । बोर्डको तथ्यांकनुसार ‘आ बाट आमा २’ले एक लाख ३१ हजार ४९१ टिकट बिक्री गर्दै चार करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ ग्रस कमाएको छ । असोज ३० गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रको निर्देशन चन्द्र पन्तले गर्नुभएको हो । चलचित्रमा पल शाह, विपना थापा, मलिका महत, प्रदीप रावत, साइग्रेस पोखरेल, आकाश श्रेष्ठ र नरेन खड्कालगायत कलाकारको अभिनय छ । व्यापारको दोस्रो स्थानमा ‘छ माया छपक्कै २’ले ८२ हजार ७५९ टिकट बिक्रीबाट दुई करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ ग्रस कमाएको छ । असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले पनि दर्शकको अपेक्षानुसारको व्यापार गर्न सकेको छैन । दीपेन्द्र लामाको निर्देशनमा बनेको यस कमेडी चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भट्टराई मुख्य भूमिकामा हुनुहुन्छ । सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रमा दीपाश्री निरौला, निर्मल शर्मा, रवीन्द्र झा, रमा थपलिया, मेक्सम गौडेललगायतका कलाकारको अभिनय छ । चलचित्रका निर्माता रोहित अधिकारी हुनुहुन्छ । यता, एक्सनप्रधान चलचित्र ‘१२ गाउँ २’को व्यापार भने कमजोर देखिएको छ । बोर्डका अनुसार यस चलचित्रले ५७ हजार ९८३ टिकट बिक्रीबाट एक करोड ८६ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कमाएको छ । दुई वर्षअघि प्रदर्शनमा आएको पहिलो भागले राम्रो व्यापार गरेको थियो । त्यसैले सिक्वेलबाट पनि ठूलो व्यावसायिक अपेक्षा गरिएको थियो । तर, प्रदर्शनको दश दिनसम्म पनि चलचित्रले दुई करोड रुपैयाँको आँकडा पार गर्न सकेको छैन । विराज भट्टको निर्देशन तथा अभिनय रहेको चलचित्रमा उहाँका छोरा समीर भट्टसहित अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, वर्षा इटनी, खुसी कार्कीलगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा तथा पटकथा सन्तोष सरकारले लेख्नुभएको हो । दशैँमा चलचित्र प्रदर्शन गर्न निर्माताबीच हुने प्रतिस्पर्धा यसवर्ष पनि देखिएको थियो । ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ दशैँको मुखमा प्रदर्शनमा आएका थिए । त्यसपछि कात्तिक ६ गतेदेखि ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ पनि हलमा लागेको छ । प्रदर्शनको सुरुवातदेखि नै दर्शकको उत्साहजनक साथ पाइरहेको ‘कबड्डी ५’का शोमा दर्शकको उपस्थिति बढेसँगै अन्य चलचित्रका शो प्रभावित भएका छन् । दयाहाङ राई मुख्य भूमिकामा रहेको यस चलचित्रका शो हाउसफुल भइरहेका छन् । यसले गर्दा ‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’का शो संख्या खुम्चिएका छन् । आगामी दिनमा घट्दो शो संख्याबीच यी चलचित्रले कति व्यापार गर्न सक्छन् भन्ने चासो बढेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको दुई दिनमै ‘सुपरहिट’को ट्याग पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाजले आफ्नो आधिकारिक वेबसाइटमार्फत चलचित्रलाई ‘सुपरहिट’ घोषणा गरेको हो । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले क्यूएफएक्सका हलमा दुई दिनमै डेढ करोड रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेपछि उक्त मान्यता पाएको हो । क्यूएफएक्सले प्रदर्शनको पहिलो साताभित्र आफ्ना हलबाट एक करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्ने चलचित्रलाई ‘सुपरहिट’को मान्यता दिने गरेको छ । त्यस्तै, दुई सातामा दुई करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गर्नुलाई पनि यस मान्यताको आधार मान्ने गरिएको छ । यसअघि यसैवर्ष प्रदर्शनमा आएका चलचित्र ‘गौंथली’ र ‘पेन्सन पट्टा’ले दोस्रो सातामा मात्रै क्यूएफएक्सबाट ‘सुपरहिट’को मान्यता पाएका थिए । तर, ‘कबड्डी ५’ले प्रदर्शनको पहिलो साता पूरा नहुँदै उक्त मापदण्ड पार गरेको हो । प्रदर्शनको सुरुवातदेखि नै उत्साहजनक व्यापार गरिरहेको चलचित्रका अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । निर्माण पक्षले चलचित्रले दुई दिनमा देशभर तीन करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको अनुमान गरेको छ । यद्यपि, निर्माण पक्षको यो दाबी आधिकारिक बक्स अफिस तथ्यांकबाट पुष्टि हुन बाँकी छ । बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपिन कार्की, मिरुना मगर र रिश्मा गुरुङलगायत कलाकारको अभिनय छ । चलचित्रमा निर्देशक रामबाबु गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ । यसैबीच, बोर्डले दशैँअघि प्रदर्शनमा आएका ‘गौँथली’, ‘पेन्सन पट्टा’ र ‘बाः एक योद्धा’को व्यापार विवरण पनि सार्वजनिक गरेको छ । बोर्डको तथ्यांक अनुसार ‘गौँथली’ले २६ करोड तीन लाख १४ हजार ९० रुपैयाँ, ‘पेन्सन पट्टा’ले १० करोड २३ लाख ५६ हजार १३८ रुपैयाँ र ‘बाः एक योद्धा’ले तीन करोड ५१ लाख ३९ हजार ४८ रुपैयाँ ग्रस कमाएका छन् । चाडपर्वमा दर्शकको उपस्थिति बढ्ने विश्वासका कारण दशैँलाई नेपाली चलचित्रका लागि महत्त्वपूर्ण प्रदर्शन समय मानिन्छ । तर, हिट चलचित्रका सिक्वेलसमेत अपेक्षानुसार चल्न नसक्नुले यसवर्षको दशैँमा प्रदर्शनमा आएका फिल्मको व्यावसायिक प्रदर्शनमाथि प्रश्न उठाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन
ताजा खबरJust now

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा यस वर्षको दसैँ बिदाका समयमा १५ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। हेटौँडाको पहिचानका रूपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म १५ हजार ६९४ जना पर्यटकले अवलोकन गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए। दसैँको बिदामा हरेक वर्ष पर्यटकको चाप बढ्ने गरेको बताउँदै उनले विशेष गरी दसैँको टीकाको ...

नेपालन्युज
ल्याटिन अमेरिका र बाँकी विश्वका लागि लुलाको अर्थपूर्ण जित
ताजा खबरJust now

ल्याटिन अमेरिका र बाँकी विश्वका लागि लुलाको अर्थपूर्ण जित

रियो डि जेनरियो । ल्याटिन अमेरिकामा सल्किँदै गएको दक्षिणपन्थी लहर ब्राजिलमा पुगेर रोकिएको छ । यससँगै पछिल्लो १८ महिनामा लगातार ल्याटिन अमेरिकाका सातवटा देशमा राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थीहरूले हासिल गरेको जितको शृंखलामा पूर्णविराम लाग्यो । आइतबार सम्पन्न निर्वाचनमा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ५१.८ प्रतिशत मत ल्याए । पूर्व राष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो यस निर्वाचनमा उनीसँग प्रतिस्पर्धामा थिए ...

केन्द्रबिन्दु
फलाउने विद्यार्थी, बेच्ने हेड सर
ताजा खबरJust now

फलाउने विद्यार्थी, बेच्ने हेड सर

गणेश खनालअर्घाखाँची, असोज १० गते । भूमिकास्थान नगरपालिका–३ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी दसैँ बिदामा आआफ्नै तवरले रमाउँदै थिए तर सोही विद्यालयका प्रधानाध्यापक (हेड... ...

गोरखापत्र
आजका लागि विदेशी मुद्राको विनिमयदर तय
ताजा खबरJust now

आजका लागि विदेशी मुद्राको विनिमयदर तय

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा,एक युरोको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play