प्रेसविरुद्ध निरन्तर सरकार

सरकारले फेरि एकपटक प्रेसविरोधी चरित्र देखाएको छ । केही पत्रकार र पत्रकारिताका संस्थामा विना वर्दी, विना पूर्जी, विना तर्क र आधार सुरक्षा संयन्त्रका मानिस पठाएर पत्रकारहरूलाई गिरिफ्तार गरेको निन्दनीय घटना सार्वजनिक भएको छ । वर्तमान सरकार प्रेस स्वतन्त्रताको विपक्षमा हिँडेको कुरा यो सरकार बनेयता यस सरकारले देखाएको व्यवहारले नै प्रष्ट देखाउँदै आएको छ । सरकारले प्रेस स्वतन्त्रताको आवश्यकता र महत्त्व नबुझेको भने होइन किनभने वर्तमान सरकारका धेरै सांसद र मन्त्रीहरू पत्रकारिताको पृष्ठभूमिका हुनुहुन्छ । गत फागुनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट पाएर संघीय सांसद पदमा विजय हुनुहुने व्यक्तिहरूमा धेरै पत्रकारहरू पनि हुनुहुन्छ । छापा पत्रकारिता, रेडियो तथा टेलिभिजन पत्रकारिता गरेका चर्चित व्यक्तिहरू अहिले सांसद हुनुहुन्छ । त्यतिमात्र होइन सञ्चारमन्त्री हुनुभएका व्यक्ति स्वयं पत्रकारिता पृष्ठभूमिबाटै आउनुभएको हो । पत्रकारिता र शिक्षण पेशा भनेको यस्तो पेशा हो जसमा जो कोही राजनीतिज्ञहरू एकपटक न एकपटक जोडिन पुगेकै हुन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत पत्रकारिता पृष्ठभूमिका हुनुहुन्छ । उहाँ एकताका टेलिभिजन पत्रकारिता गर्नुहुन्थ्यो । यसरी पत्रकारहरूको बाहुल्य भएको सांसद र सरकार भए पनि पत्रकारहरूले वर्तमान समयमा सबभन्दा बढी प्रताडना भोग्नुपरिरहेको छ । सबैभन्दा पहिले यो सरकार बन्नासाथ सरकारी क्षेत्रलाई बाहेक निजी क्षेत्रका मिडियाहरूलाई सरकारी विज्ञापन नदिने निर्णय गर्यो । यसबाट तमाम पत्रकारहरू प्रताडित हुन पुगे । मानसिक तनावमा रहेर पनि उनीहरू यो आठ महिनाको अवधिमा निरन्तर पत्रकारिता गरिरहेका छन् । उनीहरू निरुत्साहित भएका छैनन् । अदालतले पनि सरकारको निर्णय अमान्य गर्ने गरी फैसला गर्यो र निजी क्षेत्रलाई विज्ञापन दिन निर्देशन दियो तर अहिलेसम्म पनि विभिन्न बाहनामा सरकारले निजी क्षेत्रका सञ्चारमाध्यमहरूलाई सरकारी विज्ञापन दिइरहेको छैन । यसबाट के यो निरंकुशताउन्मुख सरकार हो भन्ने प्रश्न उठिरहेको छ । वर्तमान समय संसारभरि प्रजातन्त्रको चरम विकास भएको युगका रूपमा परिचित छ । प्रजातन्त्र सबैभन्दा उत्कृष्ट राज्यप्रणाली हो भन्ने पुष्टि भइरहेको छ तर यसरी प्रजातन्त्रको चरमोत्कर्षको समयमा बनेको हाम्रो वर्तमान सरकार भने निरंकुशताउन्मुख प्रवृत्ति देखाउँदैछ । यो नै विडम्बनापूर्ण अवस्था हो । पत्रकारहरूले विभिन्न समाचार खोजेर नागरिकहरूलाई सुसूचित गर्ने काम गरेका हुन्छन् । यसो गर्दा सरकारका समर्थनमा मात्र समाचार सम्प्रेषण हुँदैन, सरकार र सरकारका मानिसहरूबाट भएका अनियमितता, भ्रष्टाचार, बदनियतपूर्ण व्यवहारलाई पनि छर्लंग्याउने काम पत्रकारिताले गरेको हुन्छ । पत्रकारिता भनेको समाजको ऐना हो । यस ऐनामा आफ्नोमात्र अनुहार देखिँदैन अरूको पनि अनुहार देखिन्छ अर्थात् जसले ऐना हेर्यो त्यसकै अनुहार त्यस ऐनाले परावर्तन गरिदिन्छ । हालका दिनहरूमा पनि पत्रकारिताले त्यही कुरालाई पुष्टि गर्दै आइरहेको छ तर सरकारले आफ्ना व्यवहारहरूको विरुद्धमा लेख्ने, बोल्ने पत्रकारहरूलाई पक्राउ गरी हिरासतमा राख्ने र निरुत्साहित गर्ने काम निरन्तर गरिरहेको छ । समाचार संस्थाहरूको कार्यकक्षभित्रै साधा पोशाकका प्रहरीहरू प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने र उनीहरूका विरुद्धमा मुद्दा चलाउने थुन्नेजस्ता काम गर्दै आएको छ । सरकारको यो आलोच्य र भर्त्सनायोग्य व्यवहार हो । सरकारले आफ्नो आलोचना सुन्न सक्नुपर्छ र त्यसबाट सुध्रिनुपर्ने हुन्छ । आलोचना सुन्न नसक्ने सरकार लोकतान्त्रिक हुँदैन । एकताका भारतका प्रधानमन्त्री जबाहरलाल नेहरू विभिन्न छद्म नाममा आफैं लेखहरू लेखेर पत्रिकामा सरकारको आलोचना गरेर छाप्थे रे । उनले आफ्नै पिता मोतिलाल नेहरूका कामको समेत विरोध गर्थे रे तर प्रजातन्त्रको चरम विकास भएको यस अवस्थामा पनि हाम्रो सरकार भने निरन्तर रूपमा पत्रकार र पत्रकारिता अथवा आमसञ्चार क्षेत्रका थाप्लामा तातो भुत्भुते खन्याउँदै आइरहेको छ । वर्तमान सरकारका विरुद्धमा सत्तारुढ पार्टीकै सांसदहरूले संसद्को रोष्टममा उभिएर यसका कमजोरीहरू बताउने गर्नुभएको छ । यो सरकार फरक परिस्थितिबाट बनेको छ र यसका गतिविधिहरू पूर्ववर्ती सरकारहरूभन्दा फरक देखिएका छन् । फरक यस अर्थमा कि तिनले पूर्ववर्ती सरकारले गर्न नसकेका काम गरेर अथवा राम्रा काम गरेर देखाउन सकेको छैन बरू यस सरकारले जेजति र जेजस्ता काम गर्दै आएको छ ती सबै आलोचनामा पर्ने गरेका छन् । न्याय क्षेत्र तथा पत्रकारिता क्षेत्र नियमन गर्नेदेखि सबैतिरका कामहरू आफैंले प्रत्यक्ष नियन्त्रण गर्न खोज्ने यो सरकारले प्रत्यक्ष कार्यकारी सरकारजस्तो व्यवहार गर्दैछ । सबै क्षेत्रका निकायहरूमा भएका गतिविधिलाई नियन्त्रण र नियमन गर्ने फरकफरक संस्था छन् । ती सबैमा सरकारले हस्तक्षेप गर्नु र हात हाल्नु उपयुक्त हुँदैन । हुनसक्छ पत्रकारिता क्षेत्र पनि स्वस्थ र चुस्त नहोला तर त्यसलाई नियमन गर्ने प्रेस काउन्सिल, पत्रकार महासंघलगायत निकाय छन् । तिनका माध्यमबाट नियमन गर्नुको सट्टा प्रहरी पठाएर सञ्चार संस्थाका समाचार कक्षभित्र प्रवेश गरी पत्रकार पक्राउ गर्ने कार्य आलोच्य छ र भर्त्सनायोग्य छ । पञ्चायतकालमा समेत पत्रकारहरूप्रति सम्मानपूर्ण व्यवहार गरिन्थ्यो । व्यवस्था र राजाका विरुद्धमा लेख्न निरुत्साहित गरिन्थ्यो तर त्यसबाहेक अन्य विषयमा त्यत्रो ठूलो निगरानी हुँदैनथ्यो । अहिले यस सरकारले गरेका व्यवहार हेर्दा भने निरन्तर एकपछि अर्को पत्रकारलाई पक्राउ गर्ने, हिरासतमा राख्ने, थुन्ने, मुद्दा लगाउनेजस्ता काम गर्दै आएको छ । पहिलेका सरकारहरूले राम्रो गरेनन् भनेर नयाँ सरकार बन्ने हो । यो सरकार पनि त्यसरी नै आएको छ । राष्ट्रको ठूलो धनजनको क्षतिपछि आमूलरूपमा परिवर्तित अवस्थामा बनेको सरकार हो यो तर यसले अहिलेसम्म आठ महिनाको समय बित्दासमेत औंलामा गन्न सकिने राम्रा कामहरू गर्नसकेको छैन । बरू यसको सट्टामा विवादस्पद व्यक्तिहरूलाई काखी च्याप्ने, आफ्ना पार्टीका सांसद र कार्यकर्ताहरूले जेजस्ता गतिविधि गर्ने र अभिव्यक्ति दिने गरे पनि तिनलाई छानबिन हुँदैछ भन्दै पन्छाउँदै गरेर चोख्याउन खोज्ने प्रवृत्ति देखापरेको छ । सहीलाई सही र गलतलाई गलत भन्न यो सरकारले पनि सकेको छैन र विशेषगरी यसको वक्रदृष्टि पत्रकारहरूमाथि नै परिरहेको छ । सरकारले आफ्ना यस्ता गतिविधि तुरुन्त नियन्त्रण गरोस् र पत्रकारमाथि सम्मानित व्यवहार गरोस् । सरकारले पत्रकारमाथि गर्नेगरेको दुर्व्यवहार तुरुन्त बन्द गरोस् । सरकारका पत्रकारविरोधी यस्ता गतिविधिहरूको हामी घोर विरोधकासाथ तीव्र भर्त्सना गर्न गर्दछौं । यसकासाथै सरकारको यसशैलीका विरुद्ध सम्पूर्ण प्रेसजगत ऐक्यबद्ध हुनुपर्छ भन्ने हाम्रो दृढ अडान दोहोर्याउँछौं ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ । चालु आव २०८३/८४ का... ...

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार
हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ । ...

दुई पार्टीबिच कडा प्रतिस्पर्धा
अमेरिका, कात्तिक १५ गते । आउँदो मङ्गलबार अर्थात् नोभेम्बर ३ मा अमेरिकामा तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ र माथिल्लो सदन सिनेटको मध्यावधि निर्वाचन हुँदै छ । राष्ट्रपति निर्वाचनको... ...

अर्नब चक्रवातको प्रभाव कमजोर, आज कस्तो होला देशभरको मौसम?
अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएको मौसम पूर्वाचनुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै छ। हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ... ...


