Saturday, November 21, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बनोस्

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीको भारत भ्रमण फलदायी बनोस्
Photo / Coverage: हिमालय टाइम्स

प्रधानमन्त्री बालेन साहले आजदेखि भारतको दुई दिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । अत्यन्त छोटो समयको बसाइ हुने यो भ्रमण उहाँ प्रधानमन्त्री बनेको आठ महिनापछि मिलेको संयोग हो । नेपालमा जो प्रधानमन्त्री बने पनि पहिलो विदेश भ्रमण भारतबाट सुरु हुने परम्परा रहिआएको थियो तर पछिल्लो समयमा केही प्रधानमन्त्रीहरूले उक्त परम्परालाई पालना नगरी अन्य मुलुकबाट विदेश भ्रमण थालनी गरेका हुँदा भारत रिसाएको र सम्बन्धमा चिसोपन आएका उदाहरण पनि छन् । हुन त बालेन साहको पनि यो पहिलो विदेश भ्रमण भने होइन । उहाँले संयुक्त राष्ट्र संघको महासभामा जलवायु परिवर्तनले पारेको प्रभावका कारण नेपालमा हिमालहरू हिउँविहीन बन्दै गएको र ठूला प्राकृतिक विपत्तिहरूको सामना गर्नुपरेको सन्दर्भमा साना र जलवायु परिवर्तनको प्रभावले प्राकृतिक विपत्ति झेल्नुपरेका राष्ट्रहरूका तर्फबाट प्रतिनिधिमूलक आवाज उठाएर सम्बोधन गर्नुभएको थियो । नेपालको भोटेकोशी बाढी यसको एउटा जलन्त उदाहरण थियो र ठूला औद्योगिक राष्ट्रहरू जसले अत्याधिक कार्बन उत्सर्जन गरी साना मुलुकहरूमा नकारात्मक प्रभाव पार्दै आएकोमा क्षतिपूर्तिको माग गरेर उहाँले संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्नुभएको थियो । तर, त्यो निर्दिष्ट समय तालिका अनुसार आयोजित कार्यक्रम भएको कारणले उहाँले त्यहाँ गएर सम्बोधन गर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा भारतको भ्रमणभन्दा पहिले उहाँ त्यहाँ जानुभएको हो । उहाँको यस भ्रमणले पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा भारत भ्रमण नगरी पहिले चीनको भ्रमणमा जानुभएको बेलाको जस्तो भारत रिसाएको अवस्था अहिले छैन । बरू यसपटक भारतले नेपालका प्रधानमन्त्री बालेन साह प्रधानमन्त्री बन्नुभएको र भारतको भ्रमणमा रहनुभएकोमा खुशी नै व्यक्त गरेको छ । भारतकै मैत्रीपूर्ण निमन्त्रणामा नै यसरी प्रधानमन्त्री साहको भ्रमण तय भएको हो । पूर्ववर्ती प्रधानमन्त्रीहरू भारतको भ्रमणमा जाँदा केही ठूला खालका सम्झौता हुनेछन् र उहाँहरूले भारतले हाम्रो भूमि मिचेको र लिपुलेक, कालापानी तथा लिम्पियाधुरा अतिक्रमण गरेको विरुद्धमा पनि आवाज उठाउनु हुनेछ भन्ने अपेक्षा भइरहेको अवस्थामा उहाँहरू त्यतातिर कुनै आवाजै नउठाई सानातिना केही सम्झौता गरेर फर्किने गर्नुभएको इतिहास हामी सामु छ । यसपल्ट पनि नेपाली जनताका अपेक्षा शिखरसम्म चुलिएकै छन् । प्रधानमन्त्री बालेन साह पछिल्लो समयमा जनमानसमा नायकीय छवि लिएर उदाउनुभएको व्यक्ति हुनुहुन्छ । विविध कारणले भारतले पनि उहाँलाई मन पराएको अवस्था छ । पहिलो कुरा त उहाँ युवा हुनुहुन्छ र युवाहरूकै नेतृत्व गरी प्रधानमन्त्री बन्नुभएको छ । अर्कोतर्फ उहाँ तराई मूलको व्यक्ति भएका कारणले पनि भारतको गहिरो सहानुभूति उहाँप्रति रहनु स्वाभाविक हो । प्रधानमन्त्री साहका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ र यस भेटबाट आर्थिक सहकार्यका विषयमा छलफल हुने भनिएको छ । यसरी छलफल हुने प्रमुख एजेण्डा ऊर्जा र पूर्वाधारमा सहकार्य तथा प्राथमिकता हुनेछ । नेपालको अथाह जलस्रोतबाट ठूलो परिमाणमा ऊर्जा विकास गर्न सकिने सम्भावना छ र सम्भावनाको अहिलेसम्म नेपालले २ प्रतिशत मात्र जलविद्युत् उत्पादन गरेको छ भनिन्छ । यसका अरू ९८ प्रतिशत सम्भावना बाँकी नै छन् । यसरी उत्पादन हुने बिजुली नेपालले आफूलाई बढी भएको परिमाण छिमेकी भारत बंगलादेशलगायतका देशहरूमा निर्यात गर्न सक्नेछ र यताकदा यसो गरेको पनि छ तर सुक्खा मौसममा विद्युत् उत्पादनका लागि बनाइएका जलभण्डारहरूमा पानीको सतह कम हुँदा नेपालले आवश्यक बिजुली उत्पादन गर्न नसकेको अवस्थामा भारतसँग निर्यात पनि गरेको छ । यसरी ऊर्जा आयातनिर्यातका सहकार्य पहिलेदेखि नै हुँदै आएकोमा यसको निरन्तरता र प्रवर्धनका विषयमा दुई देशबीच छलफल र सहमति कायम हुने योजना तय भएको हो । यसमा सफलता प्राप्त होस्, नेपाल पहिले पहिलेका सहमति र सम्झौताहरूमा जसरी ठगिनु नपरोस् । कोशी सम्झौता, गण्डकी सम्झौता, महाकाली सम्झौताहरूका कमीकमजोरीहरूको आलोचना र त्यसमा आफ्नो अनुहार जोगाउनुपर्ने (फेस सेभिङको) अवस्था बेलाबेलामा आइरहेकै छ । यससँगै हिमालको र वातावरणको सुरक्षा चासो र चिन्ता दुवैका लागि समान छ । नेपालमा भूस्खलन, वाढी पहिरोको विपत्ति, हिमपहिरोबाट हुने क्षति दुवै देशका जनताले भोग्नुपर्ने समस्या हुन् । यसवारे पनि विमर्श हुने अपेक्षा गर्नु अन्यथा हुने छैन । अब हुने ठूला खालका केही सम्झौताहरू भए त्यसमा यसरी आलोचना गर्ने प्रबल पक्षहरू नदेखिऊन् । बालेन्द्र-मोदी भेटघाट छोटो तर महत्त्वपूर्ण हुनेछ भनेर नेपाल सरकारले बताएको छ । यस भ्रमणमा नेपाल भारत सम्बन्धका सम्पूर्ण आयामहरूको बृहत् समीक्षा हुनेछ भनेर भारतीय विदेश मन्त्रालयले पनि भनेको छ । यसरी भारतले भनेनुसार हुने हो भने त्यसभित्र पर्ने थुप्रै विषय र सम्भावना रहनेछन् । यस्ता सम्भावना पारस्परिक हितमा हुनुपर्नेछ । एक देशलाई बढी फाइदा र अर्को देशलाई घाटा हुनेगरी यस्ता सम्झौताहरू हुनुहुँदैन । नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, सभ्यतागत एवं जनस्तरको बलियो सम्बन्धमा आधारित यस्ता विषयमा सम्झौता गरिनु आवश्यक छ ।भारतीय विदेश मन्त्रालयले पनि यिनै विषय उठान गरेको छ । यस भ्रमणका सिलसिलामा प्रधानमन्त्री साहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र परराष्ट्र मन्त्री डा.एस जयशंकरसँग पनि भेटघाट गर्नुहुनेछ । निश्चय पनि यी उच्चस्तरीय भेटघाट फलदायी बन्नेछन् भन्ने अपेक्षा गर्न सकिनेछ । नेपाल-भारत बिजनेस फोरमको छलफलसमेत आयोजना हुने जनाइएको छ । यसरी बिजनेस फोरमको कार्यक्रममा संलग्न भएर व्यवसायीहरूसँग भेटघाट गर्नाले दुई देशबीच व्यापार लगानी र आर्थिक सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा पनि गरिएको छ । भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुनेछ । यसरी केही परम्परालाई निरन्तरता र केही नयाँ खालका विषयमा छलफल र सम्झौता हुनेगरी तय भएको प्रधानमन्त्रीको यस भ्रमणले नेपाल भारतबीचको सांस्कृतिक, आर्थिक, सामाजिक र कूटनीतिक सम्बन्ध अझ मजबुत र कसिलो हुने अपेक्षा गर्न सकिन्छ भने पहिले पहिलेका प्रधानमन्त्रीहरूले गर्नेगरेका भ्रमणबाट हुनेभन्दा फरक लक्ष्य प्राप्ति हुने अपेक्षा पनि गर्न सकिन्छ । किनभने, वर्तमान प्रधानमन्त्रीको भारत भ्रमणलाई भारतीय पक्षबाट बढी प्राथमिकता दिएको आभास भइरहेको अवस्थामा नेपालले गर्ने प्राप्ति पनि पूर्ववर्ति सरकारका पालामा भन्दा भिन्न हुने अपेक्षा गर्नु स्वाभाविक हुनेछ । प्रधानमन्त्री बालेन साहको भारत भ्रमण फलदायी बनोस् र सार्थक रहोस् हाम्रोतर्फबाट शुभकामना ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मैथिल कोकिल विद्यापति
Latest NewsJust now

मैथिल कोकिल विद्यापति

मैथिली भाषाका महाकवि, कवि कोकिल विद्यापतिको जन्म विक्रम सम्वत् १४०७ (सन् १३५०) मा आधुनिक भारत र प्राचीन मिथिलाको दरभंगा जिल्लाको विसपी भन्ने ठाउँमा भएको थियो । मिथिलालाई ज्ञान, विज्ञान, कला, साहित्य र संस्कृतिको केन्द्र मानिन्थ्यो । एक्काईसौं शताब्दीमा पनि मिथिला क्षेत्रको यो प्रभाव कायमै छ । कार्तिक शुक्ल (धवल) त्रयोदशीलाई विद्यापतिको अवसान दिवस मानिन्छ । नेपाल र भारत मात्रै होइन ...

हिमालय टाइम्स
विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन
Latest NewsJust now

विवाह : श्रीमान्-श्रीमतीको सम्बन्धमात्र होइन

विवाह एउटा केटा र केटीबीचको सम्बन्धमात्र होइन । विवाहपछि दुईजना मानिसमात्र जोडिँदैनन्, दुई परिवार पनि जोडिन्छन् । दुई फरक घर, फरक संस्कार, फरक सोच र फरक बानी भएका मानिसहरू एउटै सम्बन्धमा बाँधिन्छन् । त्यसैले विवाहलाई श्रीमान्–श्रीमतीको मायामा मात्र सीमित गरेर हेर्नु हुँदैन भन्ने मलाई लाग्छ । मेरो लागि बिहे भनेको श्रीमान्सँग मात्र जोडिनु होइन । बिहेपछि उहाँको परिवार, उहाँका आमाबुबा र ...

हिमालय टाइम्स
राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै प्रधानमन्त्री शाह, यस्ता छन् २ दिनका कार्यक्रम
Latest NewsJust now

राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्दै प्रधानमन्त्री शाह, यस्ता छन् २ दिनका कार्यक्रम

प्रधानमन्त्री वालेन्द्र शाह राजकीय भ्रमणका लागि आज मंसिर ६ गते भारत प्रस्थान गर्दै छन्। ३४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शाह आज आइतबार दिउँसो १:४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि... ...

नेपालखबर
कविता : नखाएको बीष
Latest NewsJust now

कविता : नखाएको बीष

मानव जातिको उन्नत्तिमारमाउने मेरो चाहानाआज तुषारा पात भएछस्वरूप हेरेर आनन्दको अनुभूति संगाल्नेमेरा प्रिय जनको अनायासै कत्लेयाय भएछ । आफ्नै पसिनाद्वारा धर्तिमा उज्ज्यालो छर्नेअन्तरमनको उत्कट अभिलाषामाभोल्कानोजले क्षेदविछेद पार्दैछघमण्ड र उन्माद द्वारा उत्पन्न विषत्त कार्बनद्वारामेरो वास्तविक स्वरूपको क्षयीकरण भएछ । सुन्दैछु मेरो अन्तिम गन्तव्यमा पनिसुनामी र मरुभूमीकरण बन्दैछमानव जाति आफूले आफैंलाई विभाजन कर्म गरिरहेछ । चील गाडी युद्धले धर्ती रगताम्य भएको छप्राकृतिक सौन्दर्य क्रमशः जीर्ण ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play