Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाहको भारत भ्रमणः ‘एयर रुट’मा सहमतिको सम्भावना
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालले लामो समयदेखि उठाउँदै आएको नयाँ हवाई प्रवेशमार्ग (एयर रुट) का विषयमा महत्वपूर्ण सहमति हुने सम्भावना देखिएको छ । झण्डै डेढ दशकदेखि कूटनीतिक तथा प्राविधिक तहमा छलफल हुँदै आए पनि निष्कर्षमा पुग्न नसकेको यस विषयमा पछिल्लो समय भारतीय पक्ष सकारात्मक देखिएपछि प्रधानमन्त्रीको भ्रमणलाई निर्णायक अवसरका रूपमा हेरिएको छ । दुईदिने राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह भारत पुगेका छन् । भ्रमणका क्रममा नेपालले महेन्द्रनगर, नेपालगन्ज, भैरहवा र जनकपुरबाट थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । पछिल्लो द्विपक्षीय छलफलमा भारत महेन्द्रनगरबाट ३९ हजार फिट उचाइमा जहाजलाई नेपाल प्रवेश गर्न दिन सकारात्मक देखिएको छ । त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउने विषयमा पनि भारतीय पक्ष सकारात्मक रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव जयनारायण आचार्यका अनुसार हवाई प्रवेश बिन्दुका विषयमा भारतसँग प्याकेजमै छलफल भइरहेको छ । ‘महेन्द्रनगरबाट जहाज नेपाल प्रवेश गर्न पाउने गरी हवाई मार्ग उपलब्ध गराउन भारत तयार देखिएको छ । त्यस्तै, भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक छ,’ आचार्यले भने । उनका अनुसार भारतीय पक्षले सबै हवाई रुटका विषयमा एकैपटक प्याकेजमै सहमति खोजिरहेको छ । नेपालले भने तत्काल सम्भव हुने तीनवटा प्रवेश बिन्दुबाट हवाई मार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः कूटनीतिक तथा प्राविधिक संवादमार्फत टुङ्ग्याउने प्रस्ताव गरेको छ । मन्त्रालयका अनुसार कुन–कुन प्रवेश बिन्दुबाट हवाई मार्ग उपलब्ध हुने भन्ने विषयमा अन्तिम निर्णय भइसकेको छैन । यद्यपि पछिल्लो छलफलमा देखिएको सकारात्मक वातावरणले प्रधानमन्त्रीको भ्रमणका क्रममा सहमति जुट्ने अपेक्षा बढाएको छ । महेन्द्रनगरबाट नयाँ प्रवेशमार्गको अपेक्षा नेपालले लामो समयदेखि पश्चिमतर्फबाट अन्तर्राष्ट्रिय विमानलाई नेपाल प्रवेश गर्न सहज हुने गरी नयाँ हवाई मार्गको माग गर्दै आएको छ । हाल नेपाल प्रवेश गर्ने अधिकांश अन्तर्राष्ट्रिय जहाजले बाराको सिमरा प्रवेश बिन्दु प्रयोग गर्नुपर्ने अवस्था छ । महेन्द्रनगरबाट हवाई प्रवेशमार्ग उपलब्ध भएमा पश्चिम क्षेत्रबाट नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय उडानले वैकल्पिक मार्ग प्राप्त गर्नेछन् । यसले सिमरा प्रवेश बिन्दुमाथिको निर्भरता घटाउन तथा पश्चिमी क्षेत्रका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहज वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर प्रस्तावित ३९ हजार फिट उचाइको मार्ग व्यावहारिक रूपमा कति उपयोगी हुन्छ भन्ने विषयमा थप प्राविधिक अध्ययन आवश्यक हुनेछ । विमानको प्रकार, उडानको दिशा, हवाई यातायात व्यवस्थापन, मौसम र सुरक्षासम्बन्धी पक्षलाई ध्यानमा राखेर यसको सञ्चालन प्रक्रिया निर्धारण गर्नुपर्ने हुन्छ । भैरहवा र जनकपुरका लागि कम उचाइको रुट महेन्द्रनगरबाट उच्च उचाइमा हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयसँगै भैरहवा र जनकपुरबाट कम उचाइमा हवाई मार्ग सञ्चालन गर्ने प्रस्तावमा पनि भारत सकारात्मक देखिएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्न भारतीय हवाई क्षेत्रसँग जोडिएको सहज प्रवेश तथा बहिर्गमन मार्ग महत्वपूर्ण मानिन्छ । भारतीय हवाई क्षेत्रबाट सहज आवागमनको व्यवस्था नहुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालन तथा उडान विस्तारमा चुनौती देखिएको छ । त्यस्तै, जनकपुरबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि उपयुक्त हवाई मार्ग उपलब्ध भएमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न सकिने अपेक्षा गरिएको छ । नेपालले यी दुवै मार्गलाई प्राथमिकतामा राखे पनि प्रवेश बिन्दु, उडानको उचाइ र सञ्चालन प्रक्रियाबारे प्राविधिक सहमति हुन बाँकी छ । नेपालमा ठूलो लगानीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि अपेक्षाअनुसार अन्तर्राष्ट्रिय उडान विस्तार हुन सकेको छैन । थप हवाई प्रवेशमार्ग उपलब्ध भएमा यी विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उडान सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सहज हवाई सम्पर्क महत्वपूर्ण मानिएको छ । यसबाट पर्यटन, व्यापार तथा आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । डेढ दशकदेखि उठ्दै आएको विषय नेपालले नयाँ हवाई प्रवेशमार्गको विषय लामो समयदेखि भारतसँग उठाउँदै आएको छ । विसं २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा पश्चिमतर्फबाट थप हवाई रुट उपलब्ध गराउने विषयमा सहमति भएको थियो । त्यसबेला दुवै देशका अधिकारीलाई छ महिनाभित्र यस विषयलाई टुङ्ग्याउन निर्देशन दिइएको थियो । तर त्यसयता विभिन्न उच्चस्तरीय भ्रमण र द्विपक्षीय बैठकमा छलफल भए पनि नेपालले अपेक्षित नयाँ हवाई प्रवेशमार्ग प्राप्त गर्न सकेको छैन । विसं २०८० जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा पनि हवाई रुटको विषय प्रमुख एजेन्डाका रूपमा समावेश गरिएको थियो । त्यसबेला भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई थप हवाई रुट उपलब्ध गराउने विषयमा भारत सकारात्मक रहेको बताएका थिए । तर सकारात्मक प्रतिबद्धताका बाबजुद प्राविधिक तथा कूटनीतिक प्रक्रियाले अन्तिम रूप लिन सकेको थिएन । प्रधानमन्त्रीको भ्रमणअघि कूटनीतिक छलफल तीव्र प्रधानमन्त्री शाहको भारत भ्रमणअघि नै हवाई रुटका विषयमा द्विपक्षीय सहमति खोज्ने उद्देश्यले नेपालले कूटनीतिक तथा प्राविधिक तहमा छलफल तीव्र पारेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल यस विषयमा छलफल गर्न भारत पुगेका थिए । नयाँदिल्लीमा मंसिर ४ देखि ६ गतेसम्म आयोजना भएको साङ्घाई सहयोग संगठन (एससीओ) को सिभिलाइजेशन डाइलग फोरममा सहभागी हुने क्रममा उनले भारतीय अधिकारी तथा सरोकारवालासँग थप हवाई रुट र पर्यटन सहकार्य विस्तारबारे छलफल गरेका थिए । यसअघि नेपाली प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भारतीय नागरिक उड्डयन मन्त्रालयका अतिरिक्त सचिव पुनित कंशलसँग पनि छलफल गरेको थियो । उक्त प्रतिनिधिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रशासन तथा योजना महाशाखा प्रमुख जयनारायण आचार्य, परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिण एसिया महाशाखा प्रमुख गेहेन्द्रराज भण्डारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोल सहभागी थिए । नेपालले तत्काल सम्भव हुने तीनवटा हवाई प्रवेशमार्ग सञ्चालनमा ल्याएर बाँकी विषयलाई क्रमशः वार्ताबाट टुङ्ग्याउने प्रस्ताव अघि सारेको छ । भारतले भने सबै विषयलाई समेटेर समग्र प्याकेजमै समझदारी गर्नुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा यस विषयमा कस्तो समझदारी बन्छ भन्ने चासो बढेको छ । डेढ दशकदेखि छलफलमा सीमित हुँदै आएको हवाई रुटको विषयमा सहमति जुटे नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, क्षेत्रीय विमानस्थलको उपयोग र पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना हुन सक्नेछ । -रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन  र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता सुरु भएको छ। नयाँ दिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्न विदेशमन्त्री जयशंकर पुगेपछि दुई नेताबीच छलफल सुरु भएको हो। जयशंकरसँगको भेटवार्तापछि आज साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री ...

केन्द्रबिन्दु
कवि तथा गीतकार टीका चाम्लिङप्रति श्रद्धान्जली अर्पण
Latest NewsJust now

कवि तथा गीतकार टीका चाम्लिङप्रति श्रद्धान्जली अर्पण

काठमाडौँ, मङ्सिर ६ गते । कवि तथा गीतकार टीका चाम्लिङको ५३ वर्षको उमेरमा शनिवार राति निधन भएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानमा आइतबार उहाँको पार्थिव शरीरलाई श्रद्धान... ...

गोरखापत्र
क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्ण सम्मानित
Latest NewsJust now

क्यान महासंघद्वारा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्ण सम्मानित

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्ना पूर्वअध्यक्ष तथा इजरायलका लागि नवनियुक्त नेपाली राजदूत सुरेश कुमार कर्णलाई बधाई तथा सम्मान गरेको छ। महासंघले खुसिबुस्थित सचिवालयमा विशेष कार्यक्रम आयोजना गरी कर्णलाई सम्मान गरेको हो। कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले उनको नियुक्तिलाई नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका लागि गौरवपूर्ण उपलब्धिका रूपमा स्वागत गरेका छन्। सन् ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement