काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण राजकीय हुने भएको छ। भारतले प्रधानमन्त्री शाहको भ्रमणलाई उच्च महत्व दिँदै राजकीय भ्रमणका रूपमा आयोजना गर्ने तयारी गरेको हो। प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत भ्रमणमा जाने र मंसिर ७ गते स्वदेश फर्कने तयारी छ। यद्यपि, दुवै देशले भ्रमणको औपचारिक मिति सार्वजनिक गरिसकेका छैनन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार एक-दुई दिनभित्रै भ्रमणको मिति औपचारिक रूपमा घोषणा गर्ने तयारी भइरहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। प्रधानमन्त्री शाहको भ्रमण टोलीमा चार मन्त्री सहभागी हुने भएका छन्। भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री खडकराज पौडेल सहभागी हुने तय भएको छ। भ्रमणका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग तथा आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने

Read Complete Original Article
Published originally on नेपालन्युज






