नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्ना गल्ती तथा कमजोरी ढाकछोप गर्न सभापति गगनकुमार थापाबारे अफवाह फैलाएको आरोप लगाउँदै धम्की दिँदैमा कांग्रेस नतर्सिने बताएका छन् । बिहीबार पार्टी मुख्यालय सानेपामा पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले बिचौलिया इनम सापकोटा र सभापति थापाबीच कुनै पनि प्रकारको चिनजान र लेनदेन नभएको स्पष्ट पारे । उनले बिचौलिया सापकोटा स्वयं प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा हिँडेको दाबी गर्दै सरकारले कांग्रेस र सभापति थापामाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिए । ‘अहिले जुन ढंगबाट हाम्रो सभापतिको बारेमा चर्चा परिचर्चा चलेको छ, यो विषयान्तर गर्नको लागि अफवाह फैलाइएको हो । यसले हामीलाई कुनै पनि प्रकारको असर गर्दैन । हामी कुनै पनि हिसाबले तर्सिँदैनौँ,’ उनले भने । सभापति थापा र सापकोटाबीच कुनै चिनजान तथा सम्बन्ध नरहेको कुरा यसअघि नै पत्रकार सम्मेलनमार्फत जानकारी गराइसकेको उल्लेख गर्दै पौडेलले सापकोटा प्रधानमन्त्रीको चुनावी प्रचारप्रसारमा कहाँ–कहाँ गएको थियो भनेर प्रश्न गर्नुपर्ने बताए । सरकारले लगाएको आरोप पुष्टि गर्नुपर्नेमा जोड दिँदै उनले राज्यले कानुनअनुसार मर्यादामा बस्नुपर्ने बताए । ‘पहिले त सरकारले जे आरोप लगाइरहेको छ, त्यो पुष्टि गरोस् न । सरकारले मर्यादामा बस्नु पर्दैन ? कानुन कार्यान्वयन गर्नुपर्दैन ? यस्तो हुन्छ राज्य ?’ उनले प्रश्न गरे । पौडेलले निष्पक्ष रूपमा अनुसन्धान गर्न कांग्रेसले सरकारलाई सहयोग गर्ने बताए । तर, अनुसन्धानका नाममा जबरजस्ती धरपकड गर्न खोजिए प्रतिवाद गर्ने उनको चेतावनी थियो । ‘हामीले स्पष्टसँग भनेका छौँ, छानबिन गर्न रोक्दैनौँ, छानबिन गर्नुस् । पक्राउ नै किन गर्ने ? पक्राउ गर्नको लागि त कानुनी आधार होला नि । सरकारले तर्क गर्नुपर्यो, त्यसको आधारमा हामी सहमत वा असहमत हुने कुरा होला,’ उनले भने ।
प्रदीप पौडेलको चेतावनी- सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ

Read Complete Original Article
Published originally on पर्दाफास






