सत्तारुढ दलका सांसदहरू यतिबेला विश्वका विभिन्न मुलुकको भ्रमणमा रहनुभएको छ । भ्रमणका उद्देश्य फरक-फरक होलान् र उहाँहरू फरक-फरक मुलुकको भ्रमण गरिरहनु भएको छ तर यसले नयाँहरू पनि पुरानै सरकार र दलहरूको पदचाप पछ्याउँदै अगाडि बढिरहनु भएको छ भन्ने पुष्टि गर्छ । सत्ता परिवर्तन भएर ३५ वर्षदेखिका निरन्तर पालोफेरोमा दोहोरिने तीन दलहरूभन्दा भिन्न लक्ष्य, उद्देश्य र मार्ग तयार गर्ने प्रतिबद्धताकासाथ आएको नयाँ दल र यसैगरी आएका व्यक्तिहरूप्रति जनताको ठूलो भरोसा थियो तर पछिल्ला दिनहरूमा देखिएका गतिविधिहरूले उक्त पार्टी र त्यस दलका सांसद तथा पदाधिकारीहरूका सुखसहेल, सत्तामोह, विदेश भ्रमणको लालच हेर्दा जनताको उक्त भावनामा तुषारापात हुने अवस्था देखिँदै गएको गएको छ । राजनीति गर्नेहरूको अन्तिम लक्ष्य सत्ता नै हुने र सत्तामा पुग्ने लक्ष्य राख्नुको कारण त्यहाँ पुगेर मानमर्यादा, सुखभोग, ऐसआराम र सम्पत्ति आर्जनको लक्ष्य नै पहिलो प्राथमिकतामा पर्ने गरेको देखिनु सुशासनको लक्ष्यण मानिँदैन । जो शासनमा पुगे पनि राजनीति भनेको समाजसेवा हो भन्ने भनाइ चाहिँ हात्तीको देखाउने दाँत जस्तोमात्र हुँदै आएको छ । यसले गर्दा जनता जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान सम्झिएर आफूलाई धिक्कार्नुबाहेक अरू विकल्प पाइरहेका छैनन् । अहिले सत्तारुढ दलका सांसदहरू चीन, टर्की, स्वीजरल्याण्डलगायत देशको भ्रमणमा रहनुभएको छ । एकैपटक यति ठूलो संख्यामा सांसदहरू विदेश भ्रमणमा रहनाले जनताको प्रतिनिधित्व हुने ठाउँ र उहाँहरूले गर्ने काममा रिक्तता पैदा भएको छैन होला र ? भन्न जेसुकै भनियोस्, भ्रमणको शीर्षक जेसुकै होस् तर ठूलो संख्यामा सांसदहरू देशबाहिर रहनुभएको कुरा भने यथार्थ नै हो । उहाँहरूको भ्रमणबाट देशका लागि के कति के कस्तो उपलब्धि हासिल हुने हो त्यो पनि प्रष्ट छैन तर चीन भ्रमणमा मालवारको लागेर जानेहरूले नेपालको कति पनि खर्च नभई सम्पूर्ण खर्च चीन सरकारले ब्यहोर्ने गरी यो भ्रमण तय भएको बताइएको छ । हुनसक्छ त्यसमा सत्यता होला । यो सरकार-सरकारबीचको मैत्रीपूर्ण भ्रमण होइन । यसलाई चिनियाँ कम्युनिष्ट पार्टीले नेपालको सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आमन्त्रण गरी दुई देशका प्रमुख दुई पार्टीका बीच असल सम्बन्ध स्थापित गर्नेगरी तय भएको भ्रमण मानिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका भ्रमणमा सहभागी सांसदहरूले भ्रमणमा जाँदा त्यहाँ रहँदा, खाँदाबस्दा र फर्केर आउँदासम्मको सम्पूर्ण भ्रमण खर्च चिनकै तर्फबाट हुने भनिएको छ । यसमा सत्यता छ होला तर अहिले उहाँहरू जतिजना विदेशको भ्रमणमा हुनुहुन्छ सबैको भ्रमण खर्च तत्तत् देशले व्यहोर्ने कुरा विश्वास गर्न सकिँदैन । कोही टर्कीमा हुनुहुन्छ, कोही स्वीजरल्याण्डमा, कोही चीनमा र कोही अन्यत्र हुनुहुन्छ । सबैको भ्रमण खर्च ती देशले व्यहोर्ने होइनन् देशले मैत्रीपूर्ण निमन्त्रणा गरेका हुनसक्छन् र कतिपय अवस्थामा त आफ्नो स्वार्थबाट प्रेरित भएर पनि ती देशको भ्रमणमा हाम्रा सांसदहरू गएका हुनसक्छन् । यस्तो अवस्थामा राष्ट्रले गर्ने खर्च उपलब्धिभन्दा बढी हुने अवस्था सिर्जना हुनसक्ला । कोप-३१ मा मन्त्री र सांसदहरूको लर्को लागेको अनुसार उपलब्धि भने हात पर्न सकेन । परराष्ट्रमन्त्रीको नेतृत्वमा अरू पाँचजना मन्त्री र सांसदसमेत यसका लागि टर्की पुग्नुभयो तर जलवायु सम्मेलन अर्थात् कोप-३१ मा नेपालको अपेक्षित प्रस्तुति रहन सकेन । नेपालले भोटेकोशी बाढी सन्दर्भमा राष्ट्रले इतिहासमै नबेहोरेको क्षति व्यहोर्नुपर्यो तर विश्व समुदायले त्यसलाई त्यति प्राथमिकताका साथ हेरेन । यस सवालमा औद्योगिक राष्ट्रहरूले जुन प्रकारको भूमिका निर्वाह गर्नुपर्थ्यो त्यसो गरेनन् । ती देशहरूले उत्सर्जन गरेको कार्बनका कारण हिमालय पग्लिने क्रम जारी छ तर न तिनीहरूले यो कुरा स्वीकार गरे न नेपाललाई क्षतिपूर्ति दिने निर्णय नै गरे । त्यस बाढीबाट जुन क्षति भयो त्यसको सम्पूर्ण अवस्थाको सामना प्रभावितले नै गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । अन्तर्राष्ट्रिय सहयोग पनि अपेक्षित मात्रामा रहन सकेन । यसैगरी देशभित्रैबाट पनि राजनीति भनेको समाजसेवा हो भन्ने पुष्टि हुन आएन । पुरानाले गर्न सकेनन् अब नयाँले गर्छन् भन्ने कुरा कुनै कोणबाट पुष्टि हुनसकेको छैन । माओवादीले ११ वर्षसम्म सञ्चालन गरेको सशस्त्र विद्रोहमा मुख्य नारा नयाँ नेपालको निर्माण भन्ने थियो । उक्त पार्टी त्यही नाराले सत्तामा पुग्यो । डेढ दुई दशक सत्ताको हालीमुहाली गर्यो तर अन्ततः उक्त पार्टी पनि अवसानको बाटोमा पुग्यो र नेपालको मुहार कति पनि फेरिएन । पार्टीका नेताहरूले भने ऐसआराम र भोगविलासको जीवन बिताउन पाए । सत्ताको लक्ष्य त्यहीमात्र हुने रहेछ भन्ने त्यसबेला पनि देखियो । अहिले सबैको ध्यान राष्ट्रिय स्वतन्त्र पार्टीले केही गर्छ भन्नेमा थियो । वर्तमान प्रधानमन्त्री बालेन साहप्रति जनताको भरोसा नदेखिएको होइन । तर अब त्यसमा बिस्तारै निराशाका बादल छाउन थालेका छन् । भेडाबाख्रा सरी सांसदहरू विदेशको सैरमा रहँदा सरकारले रोक्नसकेको छैन । सरकारी पैसा खर्च गरेर सांसदहरू यसरी विदेशको भ्रमणमा जाने प्रचलन पुराना दलहरूको पालादेखिकै हो । यस्तो परम्परालाई यस सरकारले निरुत्साहित गर्न सक्नुपर्थ्यो तर तिनले झन् प्रोत्साहन पाइरहेको अवस्था छ । भोका उडुसले झन् बढी रगत खान्छ भन्ने उक्तिलाई यस सरकारले पुष्टि हुनदिनु हुँदैनथ्यो तर उनीहरूले चाहिँ त्यसो गर्दा हुने हामीले गर्न किन नहुने ? भन्ने खालको व्यवहार वर्तमान सत्तारुढ दल र सरकारबाट देखिन आएको छ । यो सरकार बनेको अब सात महिना बितिसकेको छ । यसलाई धेरै लामो समय भन्न नसके पनि छोटो समय चाहिँ यो होइन । यसबीच अब केही सकारात्मक थालनीहरू देखिनुपर्थ्यो तर प्रतिशोध र पुराना परम्पराको निरन्तरतामै यो सरकार लागेको प्रष्ट हुन्छ । अब सरकारले यस्ता कुराहरूलाई निरुत्साहित गरेर देशको हित हुने काम गर्नुपर्छ र राजनीति भनेको समाजसेवा हो भन्ने कुरालाई पुष्टि गर्नतिर लाग्नुपर्छ । नत्र पुराना र नयाँको भिन्नता पुष्टि हुनसक्दैन र विद्रोहमा भएको राष्ट्रको क्षतिको पनि औचित्य पुष्टि हुनसक्दैन ।
पुरानाकै बाटोमा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






