Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

कुमालको पहिचान : इतिहास, अस्तित्वसँगै अधिकार

Share:WhatsAppFacebookX (Twitter)Telegram
कुमालको पहिचान : इतिहास, अस्तित्वसँगै अधिकार
Photo / Coverage: हिमालय टाइम्स

नेपाल सयौं जातजाति, भाषा, संस्कृति र परम्पराले सुसज्जित सुन्दर बगैँचा हो । यस बगैँचामा प्रत्येक समुदायको आफ्नै रङ, सुगन्ध र विशिष्ट महत्त्व छ । कुनै फूलको महत्त्व त्यसको आकारले मात्र निर्धारण गर्दैन, त्यसको मौलिकता र समग्र बगैँचामा पुर्‍याएको योगदानले पनि निर्धारण गर्छ । नेपालको सामाजिक तथा सांस्कृतिक विविधताभित्र कुमाल समुदाय पनि एउटा विशिष्ट फूल हो तर यस समुदायको इतिहास, भाषा, संस्कृति र मौलिक पहिचानबारे पर्याप्त अध्ययन, अभिलेखीकरण र सार्वजनिक बहस हुन नसक्नु चिन्ताको विषय हो । कुनै पनि समुदायको पहिचान उसको पेशा वा आर्थिक अवस्थाले मात्र निर्धारण हुँदैन । भाषा, संस्कृति, परम्परा, सामूहिक स्मृति, सामाजिक संरचना र ऐतिहासिक निरन्तरताले त्यसको विशिष्टता निर्माण गर्छन्। त्यसैले कुमाल समुदायको पहिचानको प्रश्नलाई पेशागत परिचयमा सीमित नगरी इतिहास, संस्कृति, भाषिक मौलिकता र संवैधानिक अधिकारसँग जोडेर हेर्न आवश्यक छ । धादिङको रामकोटको कुमाल गाउँबस्तीमा पुस्तौंदेखि कायम रहेको सामाजिक सहअस्तित्व यस विषयको एउटा महत्त्वपूर्ण आधार हो । एउटै गाउँबस्तीमा बस्ने, मेलापात गर्ने, दुःखसुख बाँड्ने, खोलानालामा सँगसँगै रमाउने र आपसी सहयोगमा जीवन चलाउने ग्रामीण परम्पराले विभिन्न समुदायबीचको सम्बन्धलाई गहिरो बनाएको छ । यस्तो सामाजिक निकटताले एउटा महत्त्वपूर्ण प्रश्न उठाउँछ-पुस्तौंदेखि सँगै जीवन बिताएको समुदायको इतिहास, भाषा र मौलिक पहिचानलाई राज्य तथा समाजले कति गम्भीरतापूर्वक अभिलेखीकरण गरेका छन् ? यो प्रश्न कुनै एउटा गाउँ वा जिल्लाको मात्र होइन । नेपालको जातीय विविधताको संरक्षण, ऐतिहासिक न्याय र समावेशी विकाससँग सम्बन्धित राष्ट्रिय प्रश्न हो । पहिचान र पेशाबीचको सम्बन्धराष्ट्रिय आदिवासी जनजाति उत्थान प्रतिष्ठानले कुमाललाई सूचीकृत आदिवासी जनजातिमध्ये एकका रूपमा उल्लेख गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुमाल समुदायको जनसंख्या एक लाख २९ हजार ७०२ छ । समुदायको उत्पत्ति, पुर्ख्यौली थलो, भाषा र धार्मिक–सांस्कृतिक पक्षबारे थप अध्ययन आवश्यक रहेको विभिन्न विवरणले देखाउँछन् । यसले कुमाल समुदायको पहिचानसम्बन्धी विषयमा अनुसन्धान र व्यवस्थित अभिलेखीकरणको आवश्यकता स्पष्ट पार्छ । कुमाल समुदायको परम्परागत पेशाका रूपमा माटाका भाँडा बनाउने कामको उल्लेख विभिन्न विवरणमा पाइन्छ तर कुनै समुदायको परम्परागत पेशाको उल्लेख हुनु र त्यस समुदायका सबै क्षेत्रका मानिसको पहिचानलाई एउटै पेशासँग जोड्नु फरक कुरा हो । समय, भूगोल, उपलब्ध स्रोतसाधन र स्थानीय सामाजिक परिवेश अनुसार जीविकोपार्जन तथा जीवनशैलीमा विविधता आउनसक्छ । त्यसैले कुमाल समुदायको पहिचानको अध्ययन गर्दा पेशागत विविधता र क्षेत्रगत भिन्नतालाई समेत ध्यान दिनुपर्छ । विशेषतः धादिङलगायतका पहाडी क्षेत्रमा बसाोस गर्ने कुमाल समुदायको पहिचान, भाषा, सांस्कृतिक अभ्यास र परम्परागत जीवनपद्धतिबारे स्थानीय अनुभव तथा लिखित विवरणको तुलनात्मक अध्ययन आवश्यक छ । अर्कोतर्फ, भक्तपुरमा परम्परागत रूपमा माटाका भाँडा बनाउने प्रजापति समुदायलाई नेवार समुदायभित्रको विशिष्ट समूहका रूपमा चिनिन्छ । यस सन्दर्भमा कुमाल र प्रजापति समुदायको ऐतिहासिक पृष्ठभूमि, सामाजिक पहिचान र पेशागत सम्बन्धबारे स्पष्टता आवश्यक देखिन्छ । यस विषयमा निष्कर्ष निकाल्न हतार गर्नु उचित हुँदैन । पेशा, थर, जातीय पहिचान र ऐतिहासिक सम्बन्धका आधारमा समुदायहरूलाई एकअर्कासँग मिलाउने वा अलग्याउने काम अनुमानका आधारमा गर्न मिल्दैन । सम्बन्धित समुदायका अग्रजको मौखिक इतिहास, पुराना अभिलेख, भाषिक प्रमाण, सांस्कृतिक अभ्यास र उपलब्ध शैक्षिक अनुसन्धानका आधारमा निष्पक्ष अध्ययन हुनुपर्छ । राज्यका अभिलेखमा कुनै त्रुटि वा अपूर्णता भएको प्रमाण भेटिएमा त्यसलाई सच्याउने व्यवस्था पनि हुनुपर्छ । पहिचानको सम्मान गर्नु भनेको एउटा समुदायलाई अर्को समुदायविरुद्ध उभ्याउनु होइन, प्रत्येक समुदायको विशिष्टतालाई यथार्थपरक ढंगले बुझ्नु र स्थापित गर्नु हो । भाषा : पहिचानको जीवन्त आधारभाषा कुनै समुदायको सञ्चारमाध्यम मात्र होइन, त्यसको इतिहास, ज्ञान, अनुभव र सामूहिक स्मृतिको भण्डार हो । भाषामा पुस्तौंदेखि सञ्चित जीवनदर्शन, प्रकृतिसँगको सम्बन्ध, सामाजिक व्यवहार र सांस्कृतिक मूल्यहरू अभिव्यक्त हुन्छन् । त्यसैले कुनै समुदायको भाषा कमजोर हुनु वा प्रयोगबाट हराउँदै जानु भनेको शब्दमात्र हराउनु होइन, एउटा मौलिक ज्ञानपरम्परा पनि संकुचित हुँदै जानु हो । कुमाल भाषाको संरक्षण र विकासलाई यसै दृष्टिकोणबाट हेर्नुपर्छ । राष्ट्रिय जनगणनामा कुमाल जातिको जनसंख्या र कुमाल मातृभाषा बोल्ने जनसंख्याबीच उल्लेख्य अन्तर देखिन्छ । यस अन्तरको कारण बुझ्न विस्तृत अध्ययन आवश्यक छ । भाषा पुस्तान्तरणमा आएको कमी, अन्य भाषाको बढ्दो प्रयोग, बसाइँसराइ, शिक्षा र सामाजिक परिवर्तनजस्ता पक्षले यसमा प्रभाव पारेका हुनसक्छन् । यद्यपि, प्रमाणित अध्ययनबिना कुनै एउटा कारणलाई निर्णायक मान्न सकिँदैन । रामकोटको कुमाल गाउँबस्तीमा प्रचलित भाषिक प्रयोगले यस भाषाको मौलिकता बुझ्न मद्धत गर्छ । उदाहरणका लागि, स्थानीय भाषिक व्यवहारमा ‘नाखौ’ शब्दलाई ‘हैन’ वा ‘छैन’ र ‘हखौ’ लाई ‘हो’ वा ‘छ’ भन्ने अर्थमा प्रयोग गरिन्छ । ‘हमर बाऊ मरल’ भन्ने अभिव्यक्तिले ‘हाम्रो बाउ मरे’ भन्ने अर्थ दिन्छ । यस्ता शब्द र वाक्यांश भाषिक अध्ययनका लागि उपयोगी सामग्री हुन् । यिनलाई व्यवस्थित रूपमा संकलन, लिप्यन्तरण र अर्थसहित अभिलेखीकरण गर्न सके भावी पुस्ताका लागि महत्त्वपूर्ण सम्पदा सुरक्षित रहनसक्छ तर एउटा गाउँबस्तीमा प्रचलित शब्दलाई सम्पूर्ण कुमाल भाषाको प्रतिनिधि मान्नु उचित हुँदैन । जिल्लागत तथा स्थानीय भाषिक भिन्नता हुनसक्छन् । त्यसैले विभिन्न बस्तीमा बोलिने भाषाको ध्वनि, शब्दभण्डार, व्याकरण, लोककथा, उखानटुक्का, गीत र मौखिक इतिहासको अध्ययन विश्वविद्यालय, भाषाविद्, स्थानीय जानकार र समुदायको संयुक्त सहभागितामा गर्नुपर्छ । कुमाल भाषामा बालसाहित्य, शब्दकोश, लोककथा संग्रह, श्रव्यदृश्य सामग्री र आधारभूत सिकाइ सामग्री तयार गर्न सकिन्छ । विद्यालयमा मातृभाषा र स्थानीय संस्कृतिप्रति सम्मान जगाउने कार्यक्रम सञ्चालन गर्न सकिन्छ । नयाँ पुस्तालाई आफ्नो भाषा बोल्न र सिक्न प्रोत्साहित गर्ने वातावरण निर्माण गर्नु आवश्यक छ । भाषा संरक्षणको दायित्व समुदायको मात्र होइन, राज्य, शैक्षिक संस्था र समाज सबैको साझा जिम्मेवारी हो । संस्कृति र परम्परामा निहित सामाजिक ज्ञानकुमाल समुदायको सांस्कृतिक जीवनमा धार्मिक आस्था, चाडपर्व, सामूहिक श्रम, परम्परागत सीप र आपसी सहयोगको महत्त्वपूर्ण स्थान छ । रामकोटको कुमाल गाउँबस्तीमा वायुको पूजा, आइतबारे पूजा र चण्डी पूर्णिमाका अवसरमा गरिने गाइडु पूजाजस्ता स्थानीय परम्परा प्रचलित रहेको पाइन्छ । यसका अतिरिक्त दशैँ, तिहार, माघेसंक्रान्ति, साउने संक्रान्ति र चैते दशैँजस्ता पर्व मनाइन्छन् । यस्ता अभ्यासको स्वरूप स्थान, परिवार र समयअनुसार फरक हुनसक्छ । दशैँमा परिवार र आफन्तबीच भेटघाट, ज्येष्ठबाट टीका र आशीर्वाद ग्रहण गर्ने तथा पारिवारिक परम्परा अनुसार भोजभतेर गर्ने चलन पाइन्छ । तिहारमा दिदीबहिनी र दाजुभाइबीचको सम्बन्धलाई विशेष महत्त्व दिइन्छ । देउसीभैलो, लोकगीत र सामूहिक उत्सवले सामाजिक सम्बन्धलाई जीवन्त बनाउँछन् । यी परम्परालाई केवल धार्मिक कर्मकाण्डका रूपमा मात्र होइन, पुस्ताबीचको सम्बन्ध र सामुदायिक एकताको माध्यमका रूपमा बुझ्न सकिन्छ । परम्परागत जीवनपद्धतिमा प्रकृति र स्थानीय स्रोतसाधनसँगको सम्बन्ध स्पष्ट देखिन्छ । खेतीपाती, मेलापात, भरपर्म, सापटी र सरसहयोग ग्रामीण अर्थजीवनका अभिन्न पक्ष थिए । खोलामा माछा मार्ने, पानीको बहाव छेकेर माछा समात्ने तथा बाँसका चोयाबाट डोको, डालो र अन्य सामग्री बुन्नेजस्ता सीपले स्थानीय जीवनयापनमा सहयोग पुर्‍याउथे । माछा बोक्न प्रयोग गरिने परुंगो, खेतबारीमा काम गर्दा बोक्ने हँसिया र परम्परागत पोशाकले त्यस समयको श्रमसंस्कृति र वातावरणसँगको सम्बन्धलाई देखाउँछन् । चौतारीमा भेला भएर दिनभरिका अनुभव साटासाट गर्ने, गाउँका समस्या छलफलबाट समाधान गर्ने र झ्याउरे, ठाडो भाका तथा दोहोरी गीतमार्फत मनोरञ्जन लिने परम्परा सामुदायिक जीवनका महत्त्वपूर्ण पक्ष थिए । गाउँमा विवाद उत्पन्न हुँदा पञ्चभलादमीको बैठकबाट समाधान खोज्ने र सामूहिक कामका लागि कटुवालमार्फत सूचना प्रवाह गर्ने अभ्यासले स्थानीय सामाजिक संगठनको स्वरूप देखाउँछ । यी अभ्यासलाई विगतको जीवनशैलीको वर्णनमा मात्र सीमित गर्नुहुँदैन । यिनमा सामूहिक निर्णय, श्रमको सम्मान, आपसी सहयोग र स्थानीय विवाद समाधानसम्बन्धी ज्ञान निहित छ । यस्ता परम्पराको अभिलेखीकरण गर्दा तिनका सकारात्मक पक्ष संरक्षण गर्ने र समयानुकूल सुधार गर्नुपर्ने पक्षलाई विवेकपूर्ण ढंगले छुट्याउन सकिन्छ । सांस्कृतिक संरक्षणको अर्थ पुराना सबै अभ्यासलाई जस्ताको तस्तै निरन्तरता दिनु होइन । यसको उद्देश्य समुदायको मौलिकता, ज्ञान र पहिचानलाई सम्मान गर्दै उपयोगी परम्परालाई भावी पुस्तासम्म पुर्‍याउनु हो । राज्यको दायित्व : अध्ययन, संरक्षण र अवसरनेपालको संविधानले समानता, सामाजिक न्याय, समावेशिता र विविधताको सम्मानलाई महत्त्व दिएको छ । आदिवासी जनजातिको उत्थानसम्बन्धी कानुनी व्यवस्थाले उनीहरूको भाषा, संस्कृति, इतिहास, परम्परागत सीप र सामाजिक-आर्थिक विकासको संरक्षण तथा प्रवर्द्धनमा राज्यको भूमिका स्पष्ट पारेको छ । यस्तो व्यवस्थाको प्रभावकारी कार्यान्वयनले मात्र समुदायको पहिचान र अधिकार व्यवहारमा सुनिश्चित हुनसक्छ । कुमाल समुदायको हकमा पहिलो आवश्यकता तथ्यमा आधारित राष्ट्रिय तथा स्थानीय अध्ययन हो । समुदायको उत्पत्ति, ऐतिहासिक बसोवास, भाषिक अवस्था, सांस्कृतिक अभ्यास, परम्परागत ज्ञान र सामाजिक-आर्थिक स्थितिसम्बन्धी अध्ययनलाई प्राथमिकता दिनुपर्छ । यस कार्यमा सम्बन्धित समुदायका अग्रज, स्थानीय बुद्धिजीवी, भाषाविद्, इतिहासकार र शैक्षिक संस्थाको सहभागिता सुनिश्चित गर्नुपर्छ । समुदायबारे अध्ययन गर्ने तर समुदायको आवाज नसुन्ने प्रवृत्तिले पूर्ण र विश्वसनीय निष्कर्ष दिन सक्दैन । दोस्रो, कुमाल समुदायको भाषा र संस्कृतिको संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक छ । लोकगीत, लोककथा, मौखिक इतिहास, परम्परागत सीप र सांस्कृतिक अनुष्ठानलाई अभिलेखीकरण गरी स्थानीय तह, विद्यालय, पुस्तकालय र डिजिटल माध्यमबाट उपलब्ध गराउन सकिन्छ । स्थानीय सरकारहरूले समुदायसँग सहकार्य गरी सांस्कृतिक अभिलेख केन्द्र, भाषा सिकाइ कार्यक्रम र परम्परागत सीपको पुस्तान्तरणका कार्यक्रम सञ्चालन गर्न सक्छन् । तेस्रो, शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक अवसरमा समुदायको पहुँच विस्तार गर्नुपर्छ । विपन्न परिवारका बालबालिकाका लागि छात्रवृत्ति, विद्यालयमा निरन्तरता कायम गर्ने सहयोग, प्राविधिक तथा व्यावसायिक शिक्षा, सीप विकास र उद्यमशीलताका कार्यक्रम आवश्यक छन् । परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्न सके स्थानीय उत्पादन, हस्तकला र सांस्कृतिक पर्यटनबाट आयआर्जनका अवसर सिर्जना हुन सक्छन् तर विकासका नाममा समुदायको मौलिक ज्ञान र स्रोतसाधनको व्यावसायिक उपयोग गर्दा समुदायको अधिकार र लाभ सुनिश्चित हुनुपर्छ । चौथो, राज्यका नीति निर्माण र निर्णय प्रक्रियामा कुमाल समुदायको अर्थपूर्ण सहभागिता बढाउनुपर्छ । समुदायको नाममा कार्यक्रम सञ्चालन गर्नुमात्र पर्याप्त हुँदैन, ती कार्यक्रमको आवश्यकता निर्धारण, योजना निर्माण, कार्यान्वयन र मूल्यांकनमा सम्बन्धित समुदायको प्रतिनिधित्व हुनुपर्छ । लक्षित सहायता र सकारात्मक विभेदका कार्यक्रम आवश्यकतामा आधारित, पारदर्शी र परिणाममुखी हुनुपर्छ । शिक्षा, आय, भौगोलिक पहुँच र सामाजिक वञ्चितीकरणको वास्तविक अवस्था अध्ययन गरेर अवसरको असमानता घटाउने नीति बनाउन सकिन्छ । जातीय पहिचान तथा जनगणनासम्बन्धी अभिलेखलाई विश्वसनीय बनाउनुपर्छ । कुनै समुदायको पहिचान, मातृभाषा वा ऐतिहासिक विवरणमा त्रुटि भएको प्रमाण भेटिएमा सम्बन्धित निकायले समुदायको सहभागितामा पुनरावलोकन गर्नुपर्छ । यस्ता विषयमा न त पूर्वनिर्धारित निष्कर्ष थोपर्नु उचित हुन्छ न त प्रश्न उठाउनै नहुने ठान्नु । प्रमाण, संवाद र निष्पक्ष अनुसन्धानका आधारमा यथार्थ स्थापित गर्नु उपयुक्त बाटो हो । संरक्षणसँगै सम्मान र समान अवसरकुमाल समुदायको पहिचानको प्रश्नलाई केवल सांस्कृतिक संरक्षणको विषय मानेर पुग्दैन । पहिचानसँगै सम्मान, प्रतिनिधित्व, अवसर र सामाजिक न्याय पनि जोडिएका छन् । कुनै समुदाय आफ्नो इतिहास र भाषाबारे पर्याप्त जानकारीबाट वञ्चित छ, उसका परम्परागत ज्ञानको अभिलेखीकरण भएको छैन वा विकासका अवसरमा उसको पहुँच कमजोर छ भने त्यसको समाधान प्रतीकात्मक सम्मानमा मात्र खोज्न सकिँदैन । समुदायका मानिसलाई उनीहरूको पहिचानका आधारमा रूढ छविमा सीमित गर्नु पनि अन्याय हो । कुमाल समुदायका सदस्यहरू आज कृषि, शिक्षा, व्यापार, रोजगारी, सेवा र अन्य विविध क्षेत्रमा संलग्न हुन सक्छन् । परम्परागत पेशा वा जीवनशैलीलाई मात्र समुदायको स्थायी परिचय बनाउँदा उनीहरूको बदलिँदो सामाजिक वास्तविकता ओझेलमा पर्नसक्छ । त्यसैले मौलिकताको संरक्षण र आधुनिक अवसरको विस्तारलाई परस्पर विरोधी होइन, परिपूरक रूपमा लिनुपर्छ । कुमाल समुदायको पहिचान, सामाजिक योगदान र ऐतिहासिक अनुभवलाई सार्वजनिक विमर्शको हिस्सा बनाउनु आवश्यक छ । समुदायको पहिचानबारे लेखन, अनुसन्धान र नीतिनिर्माण गर्दा सम्मानजनक भाषा प्रयोग गर्नुपर्छ । समुदायभित्रको विविधतालाई स्वीकार गर्दै समानता र साझा नागरिकताको भावनालाई बलियो बनाउनु महत्वपूर्ण छ । कुमाल समुदायको प्रश्न उठाउनु कुनै एउटा जातिको पक्षपोषणमात्र होइन । यो नेपालको बहुजातीय समाजलाई अझ न्यायपूर्ण, समावेशी र सभ्य बनाउने प्रयास हो । एउटा समुदायको भाषा र संस्कृति जोगिँदा राष्ट्रिय सम्पदा समृद्ध हुन्छ, एउटा समुदायले न्यायोचित अवसर पाउँदा लोकतन्त्रको आधार बलियो हुन्छ । नेपालको सुन्दर बगैँचामा कुमाल पनि आफ््नै मौलिक सुगन्ध भएको फूल हो । त्यसको सुगन्ध रामकोटको कुमाल गाउँबस्ती र धादिङका अन्य बस्तीमा मात्र सीमित नरहोस्स्, देशभरि फैलियोस् र विश्वले पनि त्यसको विशिष्टता चिन्न सकोस् । यसका लागि भावनात्मक प्रशंसामात्र पर्याप्त हुँदैन । तथ्यमा आधारित अनुसन्धान, सांस्कृतिक अभिलेखीकरण, भाषाको संरक्षण, आर्थिक अवसरको विस्तार र राज्यका निकायमा अर्थपूर्ण सहभागिता आवश्यक छ । कुमालको इतिहास खोज्नु विगतको खोजीमात्र होइन, वर्तमानको यथार्थ बुझ्ने र भविष्यको न्याय सुनिश्चित गर्ने अभियान हो । पहिचानलाई सम्मान, अधिकारलाई सुनिश्चितता र विकासलाई समान अवसरसँग जोड्न सकियो भनेमात्र नेपालको विविधतायुक्त राष्ट्रिय बगैँचा अझ सुन्दर, सुदृढ र सुगन्धित बन्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सामूहिक फूलखेतीले दिलाएको सफलता...
Latest NewsJust now

सामूहिक फूलखेतीले दिलाएको सफलता...

तनहुँ । तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन् । स्थानीयस्तरमै उत्पादन भएको सयपत्री फूलले बजार पाएपछि व्यावसायिक फूलखेतीमा आबद्ध किसान... ...

रातोपाटी
मासु बिक्री गर्न छाप अनिवार्य
Latest NewsJust now

मासु बिक्री गर्न छाप अनिवार्य

काठमाडौँ, मङ्सिर १ गते । जारी भएको २८ वर्षपछि ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ मङ्गलबार आजदेखि कार्यान्वयनमा आएको छ । पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा य... ...

गोरखापत्र
अभिलेखमा विवरण नभएको कारण देखाएर मात्रै परिवार पुनर्मिलन रोक्न नमिल्ने सर्वोच्चको आदेश
Latest NewsJust now

अभिलेखमा विवरण नभएको कारण देखाएर मात्रै परिवार पुनर्मिलन रोक्न नमिल्ने सर्वोच्चको आदेश

काठमाडौं । वर्षौंदेखि आमाबुबाबाट टाढा रहँदै आएका झापाको बेलडाँगी शरणार्थी शिविरमा जन्मिएका तीन दाजुभाइ-दिदीबहिनीका लागि सर्वोच्च अदालतको एउटा आदेश आशाको नयाँ किरण बनेको छ । अमेरिकामा रहेका आमाबुबासँग पुनर्मिलनको प्रतीक्षामा रहनुभएका सोनिका अंकारी, सन्ध्या अंकारी र श्रीजन अंकारीले अब परिवारसँगै बस्न पाउने विश्वास गर्नुभएको छ । सर्वोच्च अदालतले उनीहरूलाई अमेरिकामा रहेका आमाबुबासँग पुनर्मिलनका लागि नेपालबाट बाहिरिने निकास अनुमति दिन सरकारका ...

हिमालय टाइम्स
पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
Latest NewsJust now

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाईंकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play